विकासन्युज

गायक उद्धव कार्कीको ‘उहीसँग बिहे गर’ भिडियो सहित सार्वजनिक

काठमाडौं । काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्की र पार्वती कार्कीको नयाँ गीत, ‘उही संग बिहे गर’ को म्युजिक भिडियो सार्बजानिक भएको छ । पार्वती कार्की र उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम थापा र पार्वती कार्कीले रचना गरेका हुन् । संगम र पार्वती कै संगीत रहेको गीतको भिडियोलाइ शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको हो  । प्रोसिस तिमल्सिनाको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनु पराजुली , बिक्रम र थपलिया , रिता थापा , उद्धब  कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ । अनिल रानाले गीतको भिडियो सम्पादन गरेका हुन् । भिडियो हर्ने क्लिक गर्नुहोस् । 

प्रभु बैंकले पायो ५ देशमा सम्पर्क कार्यालय खोल्ने सहमति, ६ महिनाभित्र सेवा शुरु गर्ने

काठमाडौँ । प्रभु बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ देशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने सैद्धान्तिक सहमति प्राप्त गरेको छ । अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति प्राप्त गरेको बैंकले जनाएको छ । प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क/प्रतिनिधि कार्यालयहरुबाट बैंकले सेवा प्रारम्भ गर्ने जनाएको छ ।

काठमाडौं महानगर र चीनको नानचिङ शहरबीच भगेनी सम्बन्ध, ‘धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा’

काठमाडौं । चीनको नानचिङ सहर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । नानचिङको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई नगरका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका हुन् । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र नानचिङ नगर कंग्रेसका स्थायी समिति अध्यक्ष लोङ स्याङले हस्ताक्षर गरेका छन् । समारोहमा बोल्दै उपमेयर खड्गीले नानचिङ र काठमाडौंका जनताबीचको सम्बन्ध सुमधुर बनाउँदै दुई सहरबीच कला, संस्कृति, पर्यटन, शिक्षा तथा प्रविधिको आदान–प्रदानमा सहकार्य हुने विश्वास व्यक्त गरिन् । अध्यक्ष लोङ स्याङले नानचिङ सहर घुम्न नेपालीलाई निमन्त्रणा गरे । नेपाली पर्यटकलाई नानचिङमा स्वागत गर्न आफू आतुर रहेको बताउँदै अध्यक्ष स्याङले भने, ‘नानचिङ नगरको जनसरकार र ८४ लाख नानचिङवासीको तर्फबाट नेपाली मित्रहरूलाई भ्रमणका लागि स्वागत गर्न चाहन्छु र दुई नगरबीचको मित्रता निरन्तर कायम रहोस् भन्ने कामना गर्छु ।’ नेपाल बेल्ट एण्ड रोड अवधारणाको महत्वपूर्ण क्षेत्र रहेको अवस्थामा काठमाडौंसँग अर्थ, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमाबलियो सहकार्य गर्न इच्छुक रहेको पनि अध्यक्ष लोङ स्याङले बताए । नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या वर्षेनि बढिरहेको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा नानचिङबाट धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा व्यक्त गरे ।

जलेश्वर कारागार डुबानमा, ब्यारेकसहित ४६३ कैदीबन्दी अस्तव्यस्त

काठमाडौं शुक्रबार बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करिब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको निमित्त जेलर प्रदीपकुमार साहले बताए । मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताएका छन् । उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ । जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् । त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ । वर्षाको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरिएको निमित्त जेलर साहले गुनासो गरे । रासस

बाँकेमा औद्योगिक माहौलः उद्योगमा भारतीय कामदार, होटलमा स्थानीयलाई प्राथमिकता

बाँके । बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो । सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२/६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि अर्को ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । एकपछि अर्को ठूला उद्योग खुल्दासमेत यहाँका स्थानीयवासीमा उत्साह देखिएन । कारण, स्थानीयवासीले स्थापना भएका उद्योगमा रोजगार पाउन नसक्नु नै हो । बाँकेमा सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको जानकी गाउँपालिका–५ का अध्यक्ष सुरेश यादवले भने, “हाम्रो वडामा दर्जनौँ उद्योग सञ्चालनमा छन् । तर पनि स्थानीयवासीले रोजगारी पाउन सकेका छैनन्, धुलो, धुवाँ र प्रदूषण मात्र पाएका छन् ।” बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलामजस्ता सामग्री उत्पादन गर्ने ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय छन् । बाँकेमा भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन । श्रम स्वीकृति लिन नपर्ने र श्रम अडिटको दायरामा आउन नसकेका कारण उनीहरूको तथ्याङ्क यकिन हुँदैन । सीमावर्ती भारतीय गाउँका मजदुर त बिहान साइकलमा आएर साँझ घर फर्किहाल्छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौँ नेपाली विदेश गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदार भरिभराउ भएका छन् । मजदुर नेताले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आए पनि उद्योगीले त्यसको बेवास्ता गर्ने गरेका छन् । यसरी, उद्योग सञ्चालकहरू भने बाध्यताका कारण स्थानीयवासीलाई रोजगारी दिन नसकेको बताउँछन् । उद्योगी चम्पालाल बोथ्रा भन्छन्, “सकेसम्म आफ्नै नेपाली दाजुभाइलाई काममा लगाउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर प्राविधिक सीपयुक्त जनशक्ति नभएकाले बाहिरबाट काममा ल्याउनुपर्ने बाध्यता छ ।” भारतीय कामदार राख्नुमा नेपालीमा सीप नभएको मात्र कारण भने होइन । भारतीय कामदार सङ्गठित भई आन्दोलन गर्न नसक्ने भएकाले पनि उद्योगले उनीहरूलाई रुचाउने गरेका छन् । सिमेन्ट, छडजस्ता उत्पादनमूलक उद्योग नेपालीका लागि नयाँ भएको र त्यसमा काम गर्न अभ्यास नभएकाले शुरुशुरुमा भारतीय कामदार राख्नुपर्ने बाध्यता रहेको उद्योगीहरूको भनाइ छ । विस्तारै सिक्दै जाँदा स्वदेशी कामदारको सङ्ख्या बढाउँदै लैजाने उद्योगहरूले बताएका छन् । तर, यता होटल क्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयवासीले काम पाउँदा हर्षित छन् । बाँके जिल्लामा उत्पादनमूलक उद्योगपछि सबैभन्दा धेरै लगानी होटल क्षेत्रमा भएको छ । यहाँ सयौँको सङ्ख्यामा रोजगारी सिर्जना भएको छ । तर त्यहाँ उत्पादनमूलक उद्योगमा जस्तो होटल क्षेत्रमा भारतीय कामदार छैनन् । अधिकांश नेपाली त्यसमा पनि स्थानीय कामदार नै धेरै छन् । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपाने भन्छन्, “सबै कर्मचारी स्थानीय नै छन् । देशमा रोजगारी सिर्जना गर्नुमा होटल क्षेत्रको भूमिका महत्वपूर्ण छ ।” बाँकेमा रहेका ठूला होटल सिद्धार्थ, सोल्टी, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु, किचन हट, सेन्ट्रल प्लाजा, स्नेहा, बाटिकालगायतका ठूला होटल मात्र नभई साना लगानीका होटलमा पनि स्थानीय कामदारले रोजगारी पाएका छन् । होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार बाँके जिल्लामा मात्रै करिब पाँच हजार बढी स्थानीयवासीले साना र ठूला होटलमा रोजगारी पाएका छन् । जसमा करिब ४० प्रतिशत महिला छन् । “जति होटल थपिँदै गयो त्यति नै रोजगारी पनि बढ्दै जाने हो”, वरिष्ठ उपाध्यक्ष काफ्लेले भने, “नेपालगञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै रोजगारी पनि त्यही अनुपातमा बढ्दै गएको छ ।” जिल्लामा साना लगानीमा सञ्चालित होटलमध्ये धेरैले स्तरवृद्धि गरिरहेका छन् । होटलको स्तरवृद्धि हुँदासमेत रोजगारीको अवसर बढ्दै गएको उनले बताए । “लगानीकर्ता होटलमा लगानी गर्न आकर्षित हुने क्रम बढ्दो छ”, उनले भने, “पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले होटल खुल्ने क्रम बढिरहेको छ । जति होटल खुल्दै जान्छन्, त्यति रोजगारी थपिँदै गएको छ ।” होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले पछिल्लो पाँच वर्षयता जिल्लाका मुख्य शहर नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा होटल खुल्ने क्रम बढेको बताएका छन् । उनले भने, “ती होटलमा स्थानीय कामदारले नै प्राथमिकता पाएका छन् ।” बाँकेमा दर्जन बढी स्तरीय होटलसँगै तीन हजार होटल छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० होटलहरू सञ्चालनमा छन् । रासस

इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक, १२००९ परीक्षार्थी उत्तीर्ण, यसरी हेर्नुहोस्

काठमाडौँ । सन् २०२० मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम (रिजल्ट) शुक्रबार सार्वजनिक गरेको छ । उत्पादनमूलक क्षेत्रतर्फ ९१४३ र कृषि क्षेत्रतर्फ २८७६ जना गरी कूल १२००९ परीक्षार्थी उत्तीर्ण भएका हुन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् जेठ २५ र २६ गते भाषा परीक्षा दिएका परीक्षार्थीको परिणाम सार्वजनिक गरिएको हो । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले भाषा परीक्षाको परिणाम तयार गरेर पठाएको र वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । सो शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिए । शाखाका अनुसार दुई दिनसम्म दुई-दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका थिए । सन् २०२० मा कोरियाको कृषि र सेवा क्षेत्रमा काम गर्न त्यहाँको मानव संसाधन विभागले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमूलक क्षेत्रमा सात हजार ५० जना गरी १० हजार ५० परीक्षार्थी छनोट हुनेछन् ।  

मालपोतमा जग्गा रोक्का गरेपछि उद्योगीले बुझाए जरिवानासहित विद्युत् महसुल

काठमाडौं । लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताए । यसरी मालपोतमा पहिलोपल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सूचना गरेपछि उक्त रकम बुझाएको बताइएको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले पनि लामोे समयसम्म बक्यौता रहेको रु १४ लाख ५० हजार विद्युत् महसुुुल बुझाएको बुझिएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने, अटेर गर्ने तथा विद्युत् चोरी गर्ने ७१८ जनाको विद्युत् लाइन कट्टा गरी जरिवानासमेत गरिएको छ । विद्युत् कट्टा गरिएकोमध्ये ७०० ले जरिवानासहित महसुल बुझाएका छन् । उक्त रकम रु तीन करोडभन्दा बढी रहेको छ । साथै कार्यालयले विद्युत् चुहावट रोक्न अनुगमनकार्य तीव्र पारेको छ । कार्यालयले विद्युत् महसुल इ–बिलिङमार्फत शुरु गरेको प्रमुख यादवले बताएका छन् । मासिक रु १७ करोडभन्दा बढी विद्युत् महसुल उठाउँदै आएको केन्द्रको ग्राहक सङ्ख्या ५० हजार हारहारीमा रहेको छ । हाल केन्द्रमा निवेदन दिएलगत्तै विद्युत मिटर जडान हुने गरेको छ । त्यस्तै कार्यालयले नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत विपन्न, गरिब तथा सुकुम्वासीलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरेको छ । रासस

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा ३२ जनालाई अवसर, कहिलेसम्म र कहाँ दिन आवेदन ?

काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा ३२ जना कर्मचारी माग गरेको छ । कम्पनीले सहप्रबन्धक(९ तह)देखि वरिष्ठ सहायक(५ तह) सम्मका पदमा कर्मचारी माग गरेको हो । प्रधान कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयमा रिक्त रहेका पदहरुमा लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीले जनाएको छ । सहप्रबन्धक(९ तह) २ जना, उपप्रबन्धक(८ तह, प्रशासन) ४ जना, उपप्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(७ तह, प्रशासन) ४ जना, सहायक प्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(कानून) १ जना, शाखा अधिकृत प्रशासन(६ तह) ४ जना, शाखा अधिकृत(लेखा) २ जना, बरिष्ठ सहायक(५ तह, प्रशासन) १० जना र वरिष्ठ सहायक(लेखा) ३ जना माग गरिएको हो । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवश्यक पदहरुमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेवसाइटबाट दरखास्त फारम डाउनलोड गरी कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौँमा बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । तह ९ र ८ को लागि १५००, तह ७ र ६ को लागि १२०० र तह ५ को लागि ७०० रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । थप समावेश समूहको लागि क्रमशः ५००, ४०० र ३०० रुपैयाँ थप लाग्नेछ । सम्बन्धित पदहरुमा माग भएको आवश्यक योग्यता अनुसार स्नातकोत्तर देखि दश जोड दुई उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् ।