विकासन्युज

सीडीबीद्वारा अफ्रिकी परियोजनाका लागि ३ अर्ब २० करोड डलर ऋण स्वीकृत

बेइजिङ । चिनियाँ विकास बैंक(सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ । सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् । रासस/सिन्ह्वा

आइएमई मोटर्सद्वारा यूरो-४ मापदण्ड बस बिक्री आरम्भ, २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका सहरी बस बिक्री शुरु गरेको छ । सोमबार २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण गरी नेपालमा बिक्री वितरणको सुरुवात गरेको हो । एलवाइएनएक्स स्मार्ट बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको कम्पनीले जनाएको छ । यी बसका विशेषताको रुपमा इन्जिनमा एक समकालीन–४ सिलिण्डर सीआरएस डीजल जुन ईजीआर टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर रहेको छ । अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपीको अधिकतम शक्ति, २४०० आरपीएम, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ । आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडीहरुको आधिकारिक बिक्रेता हो । नेपालभर आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिकाले सेवा प्रवाह गर्दै आएको छ । युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रा लि नेपालमा महत्वपूर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडी बढीरहेको छ ।

मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा उनी सहभागी हुनुहुुने मुख्यमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेलका साथमा उनकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले, सत्तारुढ नेकपाका जुनेली श्रेष्ठ, कञ्चन खनाल एवं मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात पदाधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी रहेको उक्त कार्यालयका लेखा प्रमुख देवीप्रसाद गौतमले बताएका छन् । रासस

एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुर विजयी

काठमाडौं । मलेसियामा मंगलबारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । रासस

बैंकर्स संघको बैठकः ‘बिहे’ कसरी को सँग गर्ने थाहा छैन, तर तयारीबारे रिपोर्टिङ गर्ने सहमति

काठमाडौं । ब्याजदर र बैंकहरुको सम्भावित मर्जरमा लागि वाणिज्य बैंकहरुले छलफल अघि बढाएका छन् । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघको पूर्ण बैठकमा नेपाल राष्ट्र बैंकले दिएको मर्जरसम्बन्धी निर्देशन र बजारमा तोकिएको अधिकतम ब्याजदर सीमाको परिवर्तनका सम्बन्धमा छलफल भएको बताइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिभन्दा अघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि सम्भावित पार्टनर खोज्न निर्देशन दिँदै मौद्रिक नीतिमा बाध्यकारी मर्जरसम्बन्धी व्यवस्था आउन सक्ने संकेत गरेको थियो । राष्ट्र बैंकले दिएकै अवधिमा मर्जरका लागि पार्टनर खोज्न सम्भव नदेखेका बैंकरहरुले छलफल गर्ने छलफलमा जे विषय उठ्छ सोही विषयका सम्बन्धमा राष्ट्र बैंकलाई रिपोर्टिङ मात्रै गर्ने सहमति गरेका हुन् । ‘राष्ट्र बैंकले भनेजस्तो मर्जर सजिलोपनि छैन, कोही मर्जरमा जानै चाहँदैनन्, कोही गएपनि एक्विजिसन गरेर अरु बैंकलाई आफ्नोमा गाभ्न चाहन्छन्, मर्जर वा एक्विजिसनमा सहमत हुनेहरुपनि त्यसभित्रका अन्य विषयमा स्पष्ट हुन चाहन्छन्, राष्ट्र बैंकलाई हामी सहमतिमा पुग्यौं भनेर रिपोर्टिङ गरे, भोलि मर्जर सम्भव नभए कारबाही हुनसक्छ, त्यसैले राष्ट्र बैंकको निर्देशन नटेरेको जस्तो नदेखिने गरी रिपोर्टिङ गर्ने सहमति गरेका छौं, तत्कालै कुनैपनि बैंक मर्जरको स्पष्ट खाका बुझाउन सक्ने अवस्थामा छैनन्’ एक बैंकरले भने । ती बैंकरले मौद्रिक नीतिले दिने सहुलियतपछि मात्रै मर्जरका विषयमा गहन ढंगले अघि बढ्ने आशय बैंकरहरुमा देखाएको समेत बताए । ‘राष्ट्र बैंकले पक्कैपनि केही सहुलियत दिन्छ होला, त्यसपछि कुन मोडेलमा जाने भन्ने तय हुन्छ, त्यसैअनुसार हामीहरु अघि बढ्छौं’ उनले भने । बैठकमा मर्जरसम्बन्धी राष्ट्र बैंकको नीतिलाई कसैले विरोध नगरेको भएपनि राष्ट्र बैंकले लिन सक्ने बाध्यकारी नीतिका सम्बन्धमा भने विभिन्न आशंका व्यक्त गरेको समेत ती बैंकरले बताए । राष्ट्र बैंकको कडा निर्देशनपछि मर्जरको तयारीका लागि भन्दै केही बैंकहरुले ‘मर्जर कमिटी’ नै बनाएका छन् । यद्यपि मौद्रिक नीतिपछि मात्रै त्यो कमिटीको कार्यदिशा स्पष्ट हुने ती बैंकरको भनाई थियो । बैठकमा ब्याजदर नियमित गर्ने विषयमा पनि छलफल भएको छ । बैंकर्स संघले हाल तोकेको ब्याजदरको सीमालाई थप परिमार्जन गर्नुपर्ने माग केही बैंकरले गरेका थिए भने कतिपय बैंकरले यस्तो ब्याजदर निर्धारण नियम विपरित भएको भन्दै त्यसलाई खारेज गर्न माग समेत गरे ।

ग्लोबल आईएमई बैंकले अर्को बैंक प्राप्ति गर्ने, छलफल तेस्रो पुस्ताका बैंकसँग केन्द्रित

काठमाडौं । ग्लोवल आईएमइ बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गर्नको लागि आफ्ना संयन्त्रहरु परिचालन गरेको छ । बैंकले तेस्रो पुस्ताको बैंक प्राप्ति गर्ने लक्ष्य लिएको छ । ‘हामी तेस्रो पुस्ताका बैंकहरु मध्ये एउटा प्राप्ति गर्ने लक्ष्य लिएका छौं । मेगा र सेञ्चुरी बैंकसँग छलफल चलेको छ’ बैंकका उच्च अधिकारीले भने । पुरानो बैंकबाट कुमारी बैंकसंग प्राप्तिको लागि पनि कुरा चलिरहेको उनले बताए । अर्थमन्त्रीले बजेटमा ठूला बैंकलाई मर्जर जान प्रोत्साहित गर्ने नीति सार्वजनिक गरे लगत्तै ग्लोवल आईएमई बैंकले मर्जरलाई गम्भिर रुपमा लिएर उपयुक्त साझेदार बैंकको खोजी गर्न र समझदारीको लागि प्रयास गर्न आफ्ना संयन्त्र परिचालन गरेको उनले बताए । ग्लोबल आईएमईले आफू अर्को बैंकमा विलय नहुने निर्णय पनि लिएको छ । ‘हाम्रो नेटवर्क पनि ठूलो छ । ग्राहकको आधार पनि ठूलो छ । ब्राण्ड पनि स्थापित भईसक्यो । हामी अर्को बैंकमा विलय हुँदैनौ’ स्रोतले भन्यो । ‘हामीले मर्जर कमिटि पनि गठन गरेका छौं । विभिन्न चरणमा छलफल पनि अगाडि बढाएका छौं’ स्रोतले भन्यो । ग्लोवल आईएमई बैंकसँग विभिन्न बैंकले मर्जरको लागि चासो पनि दिएका छन् । मर्जरमा जाने उद्देश्यले बैंकले रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति नगरेको स्रोतले बतायो । ‘तीन महिनाभन्दा बढी सीईओ पद खाली राख्न नमिल्ने राष्ट्र बैंकको निर्देशन हो । हामी मर्जरको तयारीमा रहेकोले स्थिति सहज बनाउन नयाँ सीईओ नियुक्ती गर्न ढिलाई गरेका हौ । राष्ट्र बैंकलाई पनि अनौपचारिक रुपमा जानकारी दिएका छौं’ एक जना सञ्चालकले भने । हाल बैंकमा डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी समालिरहेको छन् । अर्थमन्त्री र गभर्नरलाई खुलापत्र-‘बैंकहरुबीच प्रेम होस्, करणी नहोस्’

धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली, मन्दिरको संरक्षण र विकासमा राज्यस्तरबाट ध्यान जाओस्

  काठमाडाैं । नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल गर्योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित सुपा देउरालीको मन्दिर छ । प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापाले जानकारी दिएका छन् । यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जातो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेता युगदेखि नै भएको विश्वास गरिन्छ । बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पुर्याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् । सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ । अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् । मन्दिरमा विशेषगरी शनिबार अत्याधिक भीड लाग्ने गरेको स्थानीयवासी चन्द्र खनालले जानकारी र्दिए । मन्दिरमा आउने भक्तजनबाट उठेको भेटी दानदातव्यबाट हुने आम्दानीले खाँचीको आदर्श मावि, सीतापुरको शान्ति माविलाई सहयोग गर्नुका साथै गाउँमा बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहतलगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन् । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई जना, पुजारी दुई जना र सहयोगी एक जना गरी पाँच जना खटाइएको अध्यक्ष थापाले जानकारी दिए । मन्दिरमा २२ जना खनाल पालैपालो खटिँदै आएका छन् । हाल रहेको मन्दिर नरनारायण बाबाको विशेष सक्रियता एवं भक्तजनको सहयोगमा २०६५ सालमा निर्माण भएको अध्यक्ष थापाले जानकारी दिएका हुन् । मन्दिरका कर्मचारी हरिप्रसाद घिमिरेका अनुसार मन्दिरमा गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठानलगायत देशभर तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । दिन प्रतिदिन धार्मिक पर्यटकको आकर्षण बन्दै गएको सुपा देउरालीको प्रबर्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले पनि चासो दिन थालेका छन् । नेपाल पर्यटन बोर्डको प्रबर्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा हालै सुपा देउरालीको प्रबर्धनात्मक भ्रमण गरिएको समितिका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । धार्मिक पर्यटकको आकर्षणयुक्त यस्ता स्थलको विश्वास एवं महत्वलाई उजागर गर्दै राज्यस्तरबाटै संरक्षण र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । रासस

रु ५६ लाखमा कञ्चनरुप नगरपालिकाद्वारा बारुणयन्त्र खरिद

काठकाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरिद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरिद गरेको नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले बताएका छन् । सांसद साझेदारी कार्यक्रमअन्तर्गत रु ५६ लाख २६ हजार ५०० मा पोर्टेवल पम्पसहित फायर फायटिङ बारुणयन्त्र खरिद गरी ल्याएको सामाजिक विकास शाखा प्रमुख राजेशकुमार यादवले बताए । नगरपालिकाले बारुणयन्त्र खरिद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । कञ्चनरूप नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह सप्तकोशी नगरपालिका, तिरहुत र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा समेत सेवा पुग्ने बताइएको छ । कञ्चनरुपमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम राजविराज र अन्यत्र जिल्ला सुनसरी, मोरङबाट मगाउनुपर्ने बाध्यता रहेको थियो । रासस