विकासन्युज

भ्रष्टाचार निवारणः एउटा चोरले अर्को चोर समातेको मात्र हो !

भ्रष्टाचार व्यक्तिगत हैन सामाजिक रोग हो । व्यक्तिगत रोग भएको हुन्थ्यो भने भ्रष्टाचार निवारण धेरै सजिलो हुने थियो र राज्यका यतिका भ्रष्टाचार नियन्त्रण गर्न गठित राज्य संयन्त्रहरू निकम्मा भैरहने/हुने थिएनन् । भ्रष्टाचार नियन्त्रणका नाममा गठित राज्यका विभिन्न संस्थाहरू ब्यक्ति नियन्त्रण तिर हैन कि राज्य कार्यसंस्कृति तथा संयन्त्र ईमानदार बनाउने जुक्ति विकसित गरेर लागू गर्ने तिर लाग्नुपर्छ । नीति रणनीति कार्यनीति, संगठन संस्कृति पद्दति, पारदर्शिता, जवाफदेहीता, भ्रष्टाचार विरूद्धको जनचेतना, करप्सन पर्सेप्सन अध्ययन कार्य र स्वच्छ निकायहरूलाई प्रोत्साहन गर्ने र भ्रष्टाचार के गर्दा कम हुन्छ त्यसो सर्च सर्टिफिकेसन गर्ने काममा ईनोभेटिभ भएर लाग्नुपर्ने हुन्छ । लामखुट्टे र झिंगा समाउने/मार्ने काम गरेर पार लाग्दैन र ती लामखुट्टेहरू पनि यिनै निकायमा बराबर सरूवा भईरहेका हुन्छन् जसका विगत सबैले थाहा पाईसकेकै हुन्छन् । एउटा चोरले अर्को चोर समाएको मात्र हो भन्ने जनभावनामा सत्यता छ । चोरको पछि हैन चोरी प्रोत्साहित गर्ने समाज र राज्य संयन्त्रप्रति गिदी खियाउनु पर्छ । नेपालमा आजसम्म भ्रष्ट्राचार नियन्त्रण गर्ने दिशामा कुनै ठोस योजना र पहल नै भएको छैन । एकाध झिंगा मच्छर मारेरै दिन गुजार्ने आधा दर्जन भ्रष्टाचार नियन्त्रण गर्न भनी स्थापित संस्थाहरूलाई बेफ्वॉकमा जनताले पाल्नुपरेको छ । भ्रष्टाचार डढेलो जसरी सल्किदै गएको तीन दशक नाघिसक्यो । सरकारले जनतालाई सुविस्था, राहत र दैनिकीमा केही प्रभावकारी काम गरिनसकेको आजसम्मको अवस्थामा नचाहिने नयॉ तपसीलका झमेलाहरूमा फस्नु वुद्धिमानी हुदैन । राम्रो काम गर्दै गएर जनसमर्थन र विश्वास बढ्दै गएपछि अप्रिय भएपनि अलि कडा सुशासन कायम गर्ने काममा हात हाल्न थाल्नुपर्छ । नयॉ सरकारहरू बनेपछिको आजसम्म जनताले कुनै सुविधा र सहजता पाएको महसुस न केन्द्र न प्रदेश न स्थानीय सरकारको तर्फबाट गरेका छन् भन्ने हेक्का सत्ताधारी पात्रहरूले राखे मात्र सरकार र जनताको भलाई होला है । नत्र त गईल भैंस पानी में हुन बेर लाग्दैन । जनता सन्तुष्ट भैरहेको दृष्टिगोचर छैन, सरकार त जहिले पनि कोही न कोही भईरहेको वा भैरहने नै छ । विश्वास र भरोसा गुम्यो भने अंक गणित काम लाग्दैन, किनभने सरकार अंकगणित हो भने जनभावना ज्यामीति हो। निजामति सेवा भनेको बेस्ट ब्रेनलाई वर्स्ट ड्रेनमा जाकिएको प्रशासन प्रणाली हो, निजामति भित्रपनि बेस्ट अफ द बेस्ट ब्रेन भनेका प्राविधिज्ञ वर्ग हुन् । तर जे जस्तो भएता पनि यसैले गर्दा नै आजसम्म पिंद नभएको लोटा जस्तो अस्थिर भॉडभैले राजनीतिक व्यवस्थाका अनेक रूप र रंगबाट मुलुकलाई ध्वस्त हुनबाट निरन्तर जोगाउदै आएको हो । भलै राजनीतिक सकारात्मक परिवेश र अनुकूल कार्यसंस्कृति एवम् वातावरण कहिले विद्यमान नहुँदा यसले नयॉ केही वनाउन सकेन र सकिरहेको छैन ।

मेचीनगरको तीन ठूला गौरवकै परियोजनाको बजेट फ्रिज, कारण के हो ?

काठमाडौं । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो । मेचीनगर–६ काँकडभिट्टास्थित पशु बधस्थलमा निर्माण गर्ने भनिएको बहुमतले व्यापारिक भवनका लागि आव २०७५/७६ को बजेटमा छुट्याइएको रु ५० लाख रकम फ्रिज भएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका २२ परिवारलाई व्यवस्थापन गर्न ढिलाइ भएका कारण व्यापारिक भवनको काम चालू आर्थिक वर्षभित्र शुरु गर्न नसकिएको वडाध्यक्ष ललित तामाङले बताएका छन् । यसैगरी, मेचीनगर–१० धुलाबारीमा साइन्स सिटी निर्माणका लागि छुट्याइएको रु ६५ लाख बजेट खर्च नभई फ्रिज भएको छ । विज्ञानसम्बन्धी उद्यान बनाउने यो योजना नगरपालिकाको गौरवको योजना मानिएको थियो । वडाध्यक्ष सुदय पनेरुले साइन्स सिटीका लागि निर्धारित स्थानमा अब फुटबल एकेडेमी निर्माणको पहल थालिएको जानकारी दिए । साइन्स सिटीको परियोजना अर्को वडामा लैजाने तयारी भइरहेको समेत उनले बताएका छन् । मेचीनगरलाई खेलकूदको हब बनाउने उद्घोषका साथ आव २०७५/७६ मा मेचीनगर–७ मा क्रिक्रेट रङ्गशाला निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको थियो । यो बजेटको रकम काम शुरु नभई फ्रिज भएको छ । सो वडाका अध्यक्ष चन्दन मेचेले क्रिक्रेट रङ्गशाला निर्माणका लागि वडाका तर्फबाट भरमग्दुर प्रयत्न गर्दा पनि जग्गादातासँग नगरपालिकाले सम्झौता गर्न नसक्दा काम शुरु नै नभएको बताए । चालू आर्थिक वर्ष २०७५/७६ मा मेचीनगर नगरपालिकाले रु एक अर्ब १५ करोडको बजेट निर्माण गरेको थियो । आगामी आव २०७६/७७ का लागि मेचीनगर नगरपालिकाले रु एक अर्ब ३४ करोडको वार्षिक बजेट सार्वजनिक गरिसकेको छ । नगरका तीन प्रमुख शहरका तीन ठूला गौरवका परियोजनाकै बजेट फ्रिज हुँदा नगरको खर्च गर्न सक्ने क्षमतामाथि प्रश्न उठेको छ । सामाजिक विश्लेषक गोविन्द न्यौपानेले ठूला परियोजनाकै बजेट शत्प्रतिशत फ्रिज हुनुले जनप्रतिनिधिको कार्य क्षमतामाथि प्रश्न उठेको बताउँछ । परियोजनाको छनोट सही ढङ्गले गर्न नसकेको र जनप्रतिनिधि विकास निर्माणप्रति प्रतिबद्ध नभएको परिणाम नै विकासका बजेट खर्च हुन नसकेको उनले बताए । रासस

गरिमाका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलले विशेष छुट दिने भएको छ । उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका भिजा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।

क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपालकाे उत्कृष्ट विजयी शुरूवात

काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । नेपालको लागि पवन सर्राफले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ । रासस

एसईईको ग्रेडवृद्धि परिक्षा साउनको अन्तिम साता

काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो। एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आएका विद्यार्थीहरुले ग्रेडवृद्धिको परिक्षा दिन पाउने छन्। यस्तै तीन वा तीन भन्दा बढी बिषयमा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले आगामी सालको चैत महिना कुर्नुपर्नेछ। एउटा मात्र ग्रेडवृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीले साउन २६ गते परिक्षा दिनुपर्ने र दुई वटामा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले साउन २७ मा परिक्षा दिनुपर्ने परिक्षा बोर्डले प्रकाशित सुचनामा जनाएको छ। परिक्षा बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।

बाजुरामा चार महिनामै स्याउ फल्न थाल्दा किसान भए हर्षित

काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महिनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिएका छन् । सो स्थानमा फुजी, गाला र गोल्डेन जातका स्याउ फल्न थालेको हो । लगाइएको तीन जातमध्ये गोल्डेन र गाला जातको स्याउ फलेको जेटिएको कट्टेलको भनाइ थियो । प्रतिबोट झण्डै रु एक हजार १०० पर्ने सो स्याउ एग्रो मनाङसँग समन्वय गरी इटालीबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हाल स्याउ, दाँते ओखर, आँप, अनार, जैतुन, लिचीलगायत सुख्खा ठाउँमा हुने फलफूललाई प्राथमिकता दिई उक्त गाउँपालिकाको देउरा क्षेत्रमा रोपिएको जानकारी दिएको छ । यसरी, कर्णाली करिडोरको बाटो खुलेसँगै गाउँपालिकाले फलफूल खेतीलाई जोड दिँदै माटो परीक्षण गरी ठाउँअनुसार फलफूल खेतीलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । । गाउँपालिकाले यो परीक्षण सफल भएपछि आगामी दिनमा थप विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । यसअघि जिल्लाको गौमुल गाउँपालिकामा समेत सोही प्रजातिको स्याउ फलेको थियो । उक्त गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश विकका अनुसार स्याउ लगाएको चार महिनामै फलेपछि आगामी दिनमा समेत सोही प्रजातिका स्याउ लगाउनेतर्फ किसान जागरुप भएको विकको भनाइ थियो । रासस

अब विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ

काठमाडौं । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका लागि अनुभवी तथा योग्य शिक्षक, गुणस्तरीय प्रयोगशाला, शैक्षिक सामग्री, शैक्षिक वातावरण, पुस्तकालय र अन्य शैक्षिक क्रियाकलापमा विद्यालयले ध्यान दिएको प्राधानाध्यापक धमेन्द्र खरेलले जानकारी दिएका छन् । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सामुदायिक विद्यालयको गुणस्तर तथा शैक्षिक वातावरण खस्किँदै गएको र यसमा राज्यको लगानी पानी बराबर भइरहेको अवस्थामा यो विद्यालयले गरेको प्रयासलाई विद्यार्थी र अभिभावकले सराहना गरिरहेका छन् । राम्रो शिक्षाका लागि विगतमा अभिभावक र विद्यार्थीका रोजाइ निजी तथा आवासीय विद्यालय थियो । यो अवस्थालाई सरकारले चाहेर पनि निर्मूल गर्न नसक्नुका कारण शिक्षकले राजनीतिक भूमिका नै मुख्य थियो । सरकारले लगानी गरेअनुसारको प्रतिफल सामुदायिक विद्यालयले दिन नसकेकाले विद्यार्थी र अभिभावको रोजाइ निजी तथा आवासीय विद्यालय थियो । अहिलेको अवस्थामा सरकारी विद्यालयको गुणस्तर सुधार्न स्वयं विद्यालय व्यवस्थापन समिति र शिक्षक लाग्नुपर्ने आवश्यकतालाई उक्त मावि उदाहरण बनेको छ । विराटनगरमा अहिले आदर्श मावि, पोखरीय मावि र जनता माविमा पनि अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ । पोखरीय माविमा जनता मावि गाभिएको छ । यी विद्यालयले शिक्षाको गुणस्तर र पठनपाठनमा देखाएको जागरुकता, तदारुकताले समस्त विराटनगर र वरपरका अभिभावक खुशी भएका छन् । सत्यनारायण माविका सञ्चालक समितिका अध्यक्ष कुलचन्द्र वस्तीले विद्यालयमा केही समय विकृति र विसङ्गतिले गर्दा गरिब, आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीमात्र आउने गरेका थिए तर विद्यालयले यस क्षेत्रमा गरेको प्रयास मेहनतले विद्यालयमा विद्यार्थीको भर्ना चाप बढ्दा सम्हाल्न पनि मुस्किल भइरहको अध्यक्ष वस्तीको भनाइ छ । शिक्षण राम्रो र परीक्षामा पनि राम्रो परिणाम आउन थालेपछि नाम चलेका निजी तथा आवासीय विद्यालय पनि त्रस्त छन् । यो अवस्थालाई हामी सबै मिलेर कायम राख्ने र अब विद्यालय शिक्षाको रोजाइ सरकारी विद्यालय नै बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता अध्यक्ष वस्तीले गरे । यस विद्यालयमा दश जोड दुईमा पत्रकारिता विषयको पढाइ पनि भइरहेको छ । उक्त माविका अर्का शिक्षक पुरुषोत्तम गुरागाइँले सरकारी विद्यालय सुधार गर्न सरकारले ठोस कदम चाल्ने पर्ने र निजी तथा सरकारी विद्यालयको भिन्नता देखाउन सकेमात्र सरकारले यस क्षेत्रमा गरेको लगानीले सही प्रतिफल आउने विश्वास व्यक्त गरेका छन् । रासस

मिर्गौला पीडितले पाउने भए निर्वाह भत्ता

काठमाडौं । इलामको देउमाई नगरपालिकाले मिर्गौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महिनादेखि उपलब्ध गराउने जानकारी दिएका छन् । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पुर्याउन यो कार्यक्रम ल्याएका हौँ”, उनले भने । यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताएका छन् । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताएका हुन् । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । रासस