विकासन्युज

चीनमा रोजगारको संख्या ७७ करोड, प्रति व्यक्ति आय अमेरिकी डलर ९७३२

बेइजिङ । नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ भने नयाँ चीन स्थापना भएको प्रारम्भिक अवधिभन्दा निकै धेरै बढेको छ । रोजगार मात्रा विस्तृत भएसँगै चीनको अर्थतन्त्रको स्थिर र लगातार विकास भएको देखिन्छ र रोजगार संरचनाको सुधार र मात्रामा वृद्धिले चीनलाई सम्पन्न समाजमा पुग्न सुदृढ आधार प्रदान गरेको छ । प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको छ । चुङयुआन बैङ्कका प्रथम अर्थशास्त्री वाङ च्युनको विचारमा रोजगार संरचना र मात्रा सुधार भएबाट सर्वसाधारणको आय बढाउन, उपभोग स्तरलाई उकास्न, समस्त समाजलाई खाना–कपडा स्तरबाट सम्पन्न समाजसम्म लैजान सुदृढ आधार बनाइएको छ । केही वर्षयता आफैँ व्यापार चलाउने अवस्था धेरै देखिएको छ । विभिन्न नयाँ उद्योग र मोड पनि उदाएका छन् जसले आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नका साथै रोजगारको स्थिरतालाई सुदृढ समर्थन पनि दिएको छ । पछिल्लो तथ्याङ्क अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको छ । विगत छ बर्षमा शहरी क्षेत्रमा रोजगारीको सङ्ख्या प्रतिबर्ष एक करोड तीस लाखभन्दा बढी पुगेको छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी सङ्ख्याको पचीस प्रतिशत पुगेको छ । निरन्तर मूल्यको अवस्था हेर्दा सन् २०१८ को कुल ग्राहस्थ उत्पादन सन् १९५२ को तुलनामा १७५ गुणा बढेको छ भने प्रति वर्ष ८.१ प्रतिशत बढेको छ । सन् २०१८ मा चीनको प्रति व्यक्तिको आय नौ हजार ७३२ अमेरिकी डलर पुगेको छ भने मध्य आय स्तर मुलुकको औसत स्तरभन्दा बढी भएको छ । रासस/सिन्ह्वा

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

पर्सा । केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट सूचनाअनुसारका प्रमाण फेला परेपछि अनुसन्धानका लागि गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले छापामारीका क्रममा विभिन्न केवल टिभीका सेन्टो बक्स, रिचार्ज कार्ड, विभिन्न बैंकको कागजात, ल्यापटप बरामद भएपछि केबुलको प्रसारणलाई बन्द गरी कार्यालयमा शिलबन्दी गरिएको बताए । पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएकोे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धानपछि कुन मुद्दा चलाउन उपयुक्त हुने सोहीबमोजिम मुद्दा चलाइने प्रजिअ भट्टराईले जानकारी दिए । हाम्रो टिभीको आडमा भइरहेको सिगनल बाइपासबाट महिनामा लाखौँ रुपैया राजश्व नेपाल सरकारले गुमाउनु परिरहेको प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छापामा जिल्ला प्रहरी कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकमगायतका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । रासस

‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान, व्यवसायीहरु भ्रमणमा

सोलुखुम्बु । नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाईमार्ग हुँदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ । पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ । स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो । घरको हेरविचार गर्ने एक जना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए । “अहिले क्रमैसँग खुम्बु सुनसान बन्दैछ”, श्रेष्ठले भने, “अहिले यहाँका विद्यार्थी र उनीहरुको हेरचाह गर्ने केही अभिभावकबाहेक अधिकांश भ्रमणमा निस्किएका छन् ।” पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन् । तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार मङ्गलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् । यस्तै बुधबार १० उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ । काठमाडौँ–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौँ जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ । केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाडौँबाट सिधै कार्गो ढुवानी गरिरहेका छन् । लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्कँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज मगरको भनाइ छ । सिजनअनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोहीअनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन् । प्रतिपटक एक हजार १०० केजीसम्म ढुवानी गर्नसक्ने विमान कम्पनी बताउँछन् । फाप्लुबाट लुक्लाका लागि प्रतिकेजी खाद्यान्न रु ५५ र निर्माण सामग्री रु ७५ मा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेशन इञ्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ लुक्लाका लागि भने प्रतिकेजी रु १२० सम्म पर्ने ढुवानीकर्ता बताउँछन् । यस गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोतनै पर्यटन रहेको छ । सगरमाथासमेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करीब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गर्छन् । रासस

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा, कुन कुन परे ?(सूचीसहित)

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, एशियन थाई फुड प्रालिलाई कारवाही गरेको हो । मेगा सिमेन्ट झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, मारुती सिमेन्ट, ओम सिमेन्ट, जस्मिन पेन्टस् चितवन, नेपाल शालिमार सिमेन्ट, पशुपति पेन्टस्, अम्बे सिमेन्ट कारवाहीमा परेका छन् । यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, नेपाल अम्बुजा सिमेन्ट, एशियन थाइफुड, युनिट वायर एण्ड केवल, मित्तल सिमेन्टलगायतलाई पनि कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । “कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको छ”, उनले भने । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताए । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । विभागको टोली उद्योगमा गएर अनुगमन गर्ने तथा केहीलाई बजारमा अनुगमन गरेर मापदण्डविपरीत उत्पादन भएको भेटिएमा कारबाही गर्ने गरेको महानिर्देशक पुडासैनीले बताए । रासस

आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुलेको छ । असार २५ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुलेको हो । जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।

प्रदेश ३ का मुख्यमन्त्री चीन भ्रमणमाः औद्योगिक क्षेत्रको विकास र विद्युतीय सवारी सञ्चालनबारे छलफल गर्दै

काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चिनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताएका छन् । चीनको ५ दिने भ्रमणका क्रममा विहीबार गान्सु प्रान्तमा भएको २५ औँ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उनले चीन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राखे । यो भन्दा अगाडिपनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चीनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पारे । मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चीनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए । चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘चीन त विशेष छँदैछ त्यसमापनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’ गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उनले परिबहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । नेपालले अहिले सुखि नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको बिकासको भुमिका हुनेपनि उाको भनाई थियो । नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उनले जानकारी दिए । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उनले प्रतिबद्धता जनाए । नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न पनि आग्रह गरे । अहिले नेपालमा सडक यातायात, रेलवे, बिमानस्थल, जल यातायात, र सूचना प्रविधिको बिकास अपरिहार्य रहेको बताए । नेपालले हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि, खनिज र ऊर्जाका क्षेत्रमा लगानी गर्न आब्हान गरिरहेको जानकारी दिए । नेपालप्रति चीनले देखाएको सदासयतालाई प्रति उनले खुशी प्रकट गरे । मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताए । नेपाल सङ्ग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले बिशेष अर्थ राख्ने उनको भनाई छ । चीनको भ्रमणमा रहेका मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्नेछन् । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसैगरी भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय सवारी संचालनका बिषयमापनि थप छलफल हुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो । यता, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको जनाइएको छ । मुख्यमन्त्री पौडेल नेतृत्वको टोली २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

अमेरिकी कुकुरलाई नेपालबाट छुर्पी निर्यात !

फिक्कल । इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिन्छ, जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ । मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका-३ का हरि पोख्रेल बताउँछन् । उहाँका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ । नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ । सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । उनले आफ्नो डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्ने गरेका छन् । हाल उनी आफ्नै डेरीबाट मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन् । उनी प्रतिकिलो छुर्पी रु ९५० र घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्छन् । देउराली, माईजोगमाई, मंगलबारे, सन्दकपुरमा कुकुरलाई ख्वाइने छुर्पी उत्पादन हुने गरेको छ । यहाँबाट उत्तिकै मात्रामा मानिसका लागि घिउसमेत उत्पादन भइरहेको किसानहरुले बताएका छन् । पहिला मानिसले खाने छुर्पी लेकाली भेगमा परम्परागत रुपमा मात्रै उत्पादन गरिन्थ्यो । यसले राम्रो बजार पाउन थालेसँगै यहाँ अहिले व्यावसायिक रुपमै उत्पादन गर्न थालिएको देउमाई नगरपालिकाका विष्णु चौलागाईं बताउँछन् । छुर्पीले जापानमा राम्रो बजार लिएको थियो तर, पछिल्लो समय गुणस्तरहीन छुर्पी पठाउँदा अहिले बजार नै बन्द भएको बताइन्छ । नेपाली छुर्पी खुवाएपछि कुकुरको भुत्ला झर्ने र खुइलिन हुनथालेपछि छुर्पीको माग घटेको यसमा संलग्न व्यवसायीहरु बताउँछन् । मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत नै हो । तर, कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एशियाका धनी देशहरु हुन् । धुवाँको बास्ना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी सुकाउन धुवाँको प्रयोग गरिन्छ । रासस

जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको स्वीकृति

काठमाडौँ । सरकारले जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिइएको हो । सो आयोजनालाई कूल ०.२२ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका ३५ वटा रुख बिरुवा हटाउन स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको बैठकले तल्लो खारे १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाको मार्गमा पर्ने रुख बिरुवा हटाउन र वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । दोलखाको सुरीबाट सिङ्गटीसम्म निर्माण हुने उक्त प्रसारण लाइन ४० किलोमिटर लामो रहेको छ । उक्त प्रसारण लाइनको टावर संरचना निर्माण गर्न गौरीशङ्कर संरक्षण क्षेत्रभित्रको कूल ५.४१ हेक्टर वन क्षेत्र प्रयोग गर्ने स्वीकृति सरकारले दिएको छ । दोलखाको गौरीशङ्कर बिगु र कालीञ्चोक गाउँपालिकामा रहेको ०.३० हेक्टर र अस्थायी तवरले ५.११ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा २५ वर्षका लागि प्रयोग गर्न र त्यहाँ रहेका ५१३ वटा रुख बिरुवा हटाउनेछ । यस्तै ऊर्जा दक्षता प्रवद्र्धन तथा नवीकरणीय ऊर्जा कार्यक्रम, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रमसम्बन्धी क्षेत्रमा उपयोग गर्ने गरी जर्मन सरकारबाट प्राप्त गर्ने गरी जर्मन सरकारका तर्फबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिव अथवा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवलाई अख्तियारी दिइएको छ । सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधन) कार्यविधि, २०७६ सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । माओवादी सेनाका घाइते अपाङ्ग लडाकु, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गता भएकाका लागि पुनः स्थापना र हेरचाह (प्रथम संशोधन) निर्देशिका, २०७६ समेत स्वीकृत गरेको छ । उक्त कार्यविधिले अपाङ्गता भएका र घाइतेको उपचार लगायतका सेवा पाउन सहजीकरण गर्नेछ ।