काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासका गति संगसंगै लैजान चिनको गान्सु प्रान्तसंग भगिनी सम्बन्ध जोडेको बताएका छन् ।
चीनको ५ दिने भ्रमणका क्रममा विहीबार गान्सु प्रान्तमा भएको २५ औँ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्दै उनले चीन तथा गान्सु प्रान्तको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको धारणा राखे ।
यो भन्दा अगाडिपनि राष्ट्रपति विद्यादेबी भण्डारीसंग चिनको भ्रमण गरेको स्मरण गर्दै मुख्यमन्त्री पौडेलले चीनसंग सदैब राम्रो सम्बन्ध हुने प्रष्ट पारे । मुख्यमन्त्री पौडेलले दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको बताउँदै चीनसंग ऐतिहासिक, सांस्कृतिक, आर्थिक र भौगोलिक आधार पनि मिल्ने बताए । चीनको विकासबाट नेपालले धेरै कुरा सिक्ने भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘चीन त विशेष छँदैछ त्यसमापनि भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससंगै ३ नम्बर प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ ।’
गान्सु प्रान्तमा आफ्नो पहिलो भ्रमण रहेको स्मरण गर्दै उनले परिबहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको बताए । नेपालले अहिले सुखि नेपाली सम्बृद्ध नेपालको नारालाई आत्मसाथ गराउन चीनमा भएको बिकासको भुमिका हुनेपनि उाको भनाई थियो ।
नेपालको ७ प्रदेशमा सबै भन्दा ३ नम्बर प्रदेश महत्वपूर्ण स्थानमा रहेको भन्दै २ तिहाई उद्योग पनि ३ नम्बर प्रदेशमा नै रहेको समेत उनले जानकारी दिए । संयुक्त उद्योग सञ्चालनको लागि विदेशी लगानीलाई नेपालले प्रोत्साहित गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल धेरै क्षेत्रहरूमा व्यापारको लागि खुला रहेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न पनि आग्रह गरे । अहिले नेपालमा सडक यातायात, रेलवे, बिमानस्थल, जल यातायात, र सूचना प्रविधिको बिकास अपरिहार्य रहेको बताए । नेपालले हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि, खनिज र ऊर्जाका क्षेत्रमा लगानी गर्न आब्हान गरिरहेको जानकारी दिए । नेपालप्रति चीनले देखाएको सदासयतालाई प्रति उनले खुशी प्रकट गरे ।
मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताए । नेपाल सङ्ग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले बिशेष अर्थ राख्ने उनको भनाई छ ।
चीनको भ्रमणमा रहेका मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्नेछन् । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसैगरी भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय सवारी संचालनका बिषयमापनि थप छलफल हुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।
यता, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासका वियमा छलफल भएको जनाइएको छ । मुख्यमन्त्री पौडेल नेतृत्वको टोली २३ गते नेपाल फर्कने कार्यक्रम छ ।