ज्योति लाईफका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसंग साझेदारी सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ज्योति लाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र बुद्ध एयरका बिक्री तथा बजारीकरण विभागका निर्देशकरुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
उद्योग मन्त्री यादवले भने-‘सरकार पछि हटेको छैन, तरकारी र फलफूलको विषादी जाँच गर्छौँ’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादीयुक्त तरकारी र फलफूलको विषादी जाँचमा सरकारपछि नहट्ने बताएका छन् । प्रयोगशालाको व्यवस्था गरेर भारतबाट आयात हुने र नेपालमा नै उत्पादन हुने तरकारी तथा फलफूलमा विषादी जाँचमा कडार्इ गर्ने बताएका छन् । यसको लागि कतैबाट पनि पत्र नआएको पनि मन्त्रीले बताए । सोमबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भने-‘ आफूहरु निर्णयबाट ब्याक भएको नभई उल्टो नाकाबन्दी हुने अवस्था भएकाले पूर्ववर्ती अवस्थामा फर्केको हो ।’ जनतालाई सरकारले स्वच्छ तरकारी तथा फलफूल खुवाउनका लागि क्याविनेटमा छलफल गरेर चाँडै नै प्रयोगशालाको व्यवस्था गरेर विषादीको जाँचमा कडाई गर्ने उनको भनाई थियो । मन्त्री यादवले वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवले धोका दिएको बताए । सचिवहरुले गर्दा नै मलाई गाह्रो भयो, सचिवहरुले सबै मिलाउनु पर्ने थियो, सचिवहरुको गडवडी छ– मन्त्री यादवले भने । सचिवहरुप्रति पूर्ण विश्वास गरेकाले पनि अहिले मन्त्री बद्नाम भएको गुनासो गरे । सचिवले धोका दिएको कारण विषादी परीक्षणको निर्णय कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।
फूलवारी रिसोर्टको १ अर्ब ३१ करोड खराव कर्जा अब असुल हुने, नेपाल बैंकको नाफा बढ्दै
काठमाडौं । पोखराको फूलवारी रिसोर्ट एण्ड स्पामा डुबेको करिव १ अर्ब ३१ करोड रुपैयाँ कर्जा असुली हुने सम्भावना देखिएको संयुक्त कर्जा लगानीको नेतृत्व गरेको नेपाल बैंकले जनाएको छ । उक्त रिसोर्टमा लगानी भएको सावा रकम १ अर्ब ३१ करोडमा ६५ प्रतिशत नेपाल बैंकको , बाँकी रकम राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी संचय कोषको हो । तत्कालीन एनआईडीसीसहित चार वटा संस्थाले २०५१ सालमा फूलवारी रिसोर्टमा संयुक्त कर्जा लगानी गरेका थिए । एनआईडीसी राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भईसकेको छ । २०५३ सालदेखि नै उक्त कर्जाको सावा किस्ता र व्याज उठ्न छाडेको थियो । २५ वर्षसम्म खराव रहेको उक्त कर्जा असुलीको लागि पछिल्लो समय सकारात्मक प्रगति भएको नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए । फूलवारी रिसोर्ट निर्माण गर्दा परियोजना बाहेक बैंकको धितोमा रहेको विरगञ्ज, काठमाडौं र सराङकोटको जग्गा बिक्री गर्ने, त्यसबाट आएको सबै रकम बैंक खातामा जम्मा गर्ने, उक्त रकमबाट बन्द अवस्थामा रहेको रिसोर्ट मर्मत सम्भार गर्ने, ६ महिनाभित्र रिसोर्ट सञ्चालन गर्ने, सञ्चालनमा आएपछि त्रैमासिक व्याज भुक्तानी गर्ने, एक वर्षपछि कर्जाको सावा किस्ता भुक्तानी गर्ने गरी बैंक र होटल व्यवस्थापन समूहबीच सहमति भएको उनले जानकारी दिए । उक्त समझदारी नेतृत्व गर्ने नेपाल बैंक सञ्चालक समितिले अनुमोदन गरिसकेका तर संयुक्त लगानी समिति (कन्सोर्टियम कमिटि)बाट अनुमोदन हुन बाँकी रहेको बताईएको छ । रिसोर्ट व्यवस्थापनले एक वर्षसम्म कर्जाको व्याज र सावा किस्ता बैंकलाई नियमित भुक्तानी गरेमा विगतमा कर्जा नतिरेका कारण लागेको पेनाल र कम्पाउण्ड व्याज मिनाह गर्ने सहमति पनि भएको उनले बताए । ‘व्याज छुट हुँदैन, पेनाल र कम्पाउण्ड व्याज छुट दिन्छौं’ कामु सीईओ अधिकारीले भने । कर्जा भुक्तानी गर्न नसकेपछि यो रिसोर्ट र यसका मालिक प्यूउसबहादुर अमात्य कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेका छन् । कालोसूचिमा रहेका कुनैपनि व्यक्ति र संस्थासँग बैंकले नियमित कारोबार गर्न सक्दैन । बैंकको सिफारिसमा बढीमा ६ महिनाको लागि कर्जा सूचना केन्द्रले कालोसूचिबाट हटाउन सक्ने नियम भएकोले अमात्यलाई ६ महिनाको लागि कालोसूचिबाट हटाउने तयारी भएको पनि उनले जानकारी दिए । पाँच तारे होटल सरहको उच्च स्तरीय सेवा दिने लक्ष्यसहित खुलेको फूलबारी रिसोर्ट सशस्त्र द्वन्द्व र कमजोर व्यवस्थापनका कारण रुग्ण बनेको थियो । पछिल्लो समय यसको व्यवस्थापन अन्तराष्ट्रिय चेज होटल ‘म्यारियट अटोक्रयाफ्ट कलेक्सन रिसोर्ट’ले लिने गरी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमण वर्ष २०२० आउँदैछ । पोखरामा क्षेत्रीय विमानस्थलपनि बन्दैछ । अब पोखरामा पर्यटकिय गतिविधि पनि बढ्ने, व्यवस्थापन राम्रो हुने अपेक्षासहित डेढ वर्षदेखि बन्द रहेको फूलवारी रिसोर्ट पुन: सञ्चालनमा ल्याउन सबैतिरबाट सहयोग मिलेको अधिकारीले बताए । यो रिसोर्ट एशिया कै सूविधा सम्पन्न पहिलो बुटिक रिसोर्ट मानिन्छ । बैंकको खराव कर्जालाई पुर्नसंरचना गरि असल कर्जा बनाउँदा विगतमा गरिएको प्रोभिजन राईटव्याक हुने र बैंकको नाफा बढ्ने जानकारहरु बताउँछन् । तर, प्रोभिजन गरिसकेको कर्जा एकैपटक राईट व्याक नभई क्रमशः हुने भएको पुरै राइटव्याक हुन करिव डेढ वर्ष लाग्ने बताईएको छ ।
पाटा नेपालद्धारा लुम्बिनीमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङग होटल’ तालिम सम्पन्न
काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ शीर्षकमा एक हप्ते मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । पाटा नेपाल च्याप्टरद्वारा स्थापित ‘पाटा स्कुल अफ हस्पिटालिटी’ ले नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्य तथा सहयोगमा आयोजना गरेको यस कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीहरुले उत्साहजनक सहभागिता जनाउँदै तालिम प्राप्त गरेका छन् । यही जुलाई १ देखि ६ सम्म लुम्बिनीमा सम्पन्न उक्त कार्यक्रम लुम्विनी क्षेत्रका होटलहरुमा आवद्ध जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने तथा सेवामा स्तरोन्नति एवम् सदुढीकरण गर्दै दिगो तथा जिम्मेवार पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा होटल व्यवसाय सफल रुपमा सञ्चालनका लागि आधारभूत, नवीनतम तथा सफल अभ्यासहरु अन्तर्गत फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड प्रोडक्सन तथा सर्भिस (सेवा) ब्यवस्थापन का पक्षहरु, सीप र व्यक्तित्व विकास लगायत प्रभावकारी मेनु इन्जिनियरिङ्ग , स्रोतहरुको अधिकतम उपयोग, फोहर ब्यवस्थापन इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो । पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य एवम पाटा स्कुल अफ अस्पिटालिटी संयोजक खेम लकाईले कार्यक्रमको समापन समारोहमा कुनै पनि संस्था र राज्यको विकासमा जनशक्तिहरुको महत्वपूर्ण एवम् सर्वोच्च योगदान रहने तथा पर्यटनक्षेत्रमा जनशक्तिका लागि प्रचूर सम्भावना र अवसरहरु रहेको बताउँदै सहभागीहरुलाई प्रेरित गरेका थिए ।
राष्ट्रियसभामा उपप्रधानमन्त्री पोखरेलले भने, “सेनाको जनशक्ति घटाउने सरकारको योजना छैन”
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको जनशक्तिको सङ्ख्या मुलुकको आवश्यकताको उपज रहेको बताए । उपप्रधानमन्त्री पोखरेलले भने, “विगतको द्वन्द्वका बेला सेनाको सङ्ख्या बढेको हो, यसलाई कुनै डाउन साइज गर्ने नीति छैन, भएको सङ्ख्यालाई कसरी उपयोग गर्ने भन्ने सोच राखिनुपर्छ ।” राष्ट्रको सुरक्षाको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले विशेष प्रकारको जिम्मेवारी निर्वाह गर्दै आएको उनले बताएका हुन् । यसरी, सेनाको जवानलाई माथिल्लो तहका सेनाका घरमा काम गर्ने कर्मचारीका रुपमा नराखिएको र त्यस्तो कमजोरी कही देखिए सुधार गरेर लैजाने स्पष्ट पारेका छन् । त्यस्तैगरी,उपप्रधानमन्त्री पोखरेलले नेपाली सेना शान्ति सेना (मिसन) मा खटाउँदा १५ प्रतिशत महिला सैनिक खटाउने र ज्येष्ठताका आधारमा शान्ति सेनामा पठाउने गरेको जानकारी दिए । उनले नेपालको संविधानको समावेशीकरणको अभ्यासअनुरुप नेपाली सेना भर्नादेखि छनोटसम्म सबैलाई समावेशीकरणको व्यवस्था गरिएको जानकारी दिएका छन् । संयुक्त राष्ट्रको आह्वानमा विगत ६० वर्षदेखि नेपाली सेना विश्वमा नेपालको छवि उच्च राख्न सफल भएको छ । शान्ति सेनाको पठाउने मुलुकको स्थानमा नेपाल पाँचौँ रहेको छ । रक्षामन्त्री पोखरेलले नेपाली सेनामा भर्ना गर्नका लागि सबै भाषाभाषी र जातजातिका लागि उचित स्थान दिएको र त्यसमा दुर्गम क्षेत्रका मानिसलाई नेपाली सेनामा प्रवेश गर्न प्रोत्साहन गरिने सरकारको नीति रहेको बताउँछन् । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाको मूल्य र मान्यतामा असर नपर्ने गरी विकास निर्माण र विपद् व्यवस्थापनमा लगाएको र सेनाले गरेको काम पूर्ण पारदर्शीता र जवाफदेहीताअनुसार भइरहेको उल्लेख गरेका छन् । मुलुकको रक्षाको अस्तित्व, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय एकताका रुपमा रहीआएको उल्लेख गर्दै उनले नेपाली सेनालाई समयानुकूल सुदृढ बनाउन सरकार सकारात्मक रहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री पोखरेलले सैनिक पेशालाई थप आकर्षक र मर्यादिन बनाउने नीति रहेको उल्लेख गरेका छन् । रासस
आर्थिक रुपमा विपन्न छात्रालाई सांग्रिलाले गर्यो आर्थिक सहयोग
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ घरपोजङ गाउँपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ । विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारीरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ । जोमसोम स्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई चेक हस्तान्तरण गरेका हुन् ।
यात्रुको डाटा चोरेका अभियोगमा ब्रिटिस एअरवेजलाई २२ करोड ९० लाख डलर जरिवाना
लण्डन । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह इन्टरनेशनल एअरलाइन्स ग्रुप(आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुस पैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो । आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउण्ड स्टर्लिङको जरिवाना गरिएको छ ।” आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो । रासस/एएफपी
केबलकारको ‘बटम स्टेशन’ भवनको शिलान्यास, १५ महिनामा सक्ने लक्ष्य
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन सोमबार शिलान्यास गरेका हुन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन १५ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी दिएका छन् । उक्त लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा रु एक अर्ब ३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण गर्न लागिएको हो । केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ । रु ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको उनको भनाइ थियो । ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् । विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गा स्वाँराबाट शुरू हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । रासस