फाइनान्सियल टेक्नोलोजी सबैभन्दा चुनौती: गभर्नर नेपाल
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले फाइनान्सिय टेक्नोलोजी सबैभन्दा चुनौतीको विषय बन्दै गएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको बढ्दो उच्च लागतका कारण मर्जरमा जानु परेको बताउँदै उनले भने- ‘प्रविधिमा दिनप्रतिदिन लगानी बढ्दै गएको छ ।’ सूचना प्रविधिमा ठूलो लगानीको आवश्यकता छ, उनले थपे- ‘बैंक तथा वित्तीय संस्था सवल भए लगानी बढाउन सक्छन् ।’ नीति नियम समय अनुसार परिवर्तन र परिमार्जन गर्नुपर्ने संकेत गर्दै सवल र बलियो बैंक बनाउन मर्जर आवश्यकता भएको जानकारी दिए । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । नियामक निकायले लिएको नीतिलाई सबैपक्षबाट सहयोग गर्न समेत उनले आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्रलाई हेरेर राष्ट्र बैंकले नीति नियमहरू निर्माण र परिमार्जन गर्ने हो,’ उनले भने ।
वैदेशिक रोजगारीः वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली
काठमाडौँ । तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि, यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ । चर्को ब्याजको भारी बोकेर ठूलो धनराशी खर्चदैँ विदेशिएका युवाले वर्षौंवर्ष काम गर्दा पनि रित्तो हात फर्कनुपर्ने तीतो यथार्थ भने कमैले सुनेका हुन्छन् । अझै पनि सम्झौताअनुसारका काम र पारिश्रमिक प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनु सामान्य नै देखिएको छ । राम्रो कमाउने, घरपरिवारलाई सुखसाथ पाल्ने, सन्तानलाई उचित शिक्षादीक्षा दिने अभिलाषा राखी उडेका सयौँ नेपालीका सपना अझै पनि खाडीलगायत कतिपय गन्तव्य मुलुकमा ‘उडेका उड्यै’ छन् । कति त सपनालाई सधैँका लागि छाडेर बन्द बाकसमा फर्किन विवश छन् । यस्तै दैनिक गर्जो टार्न साउदी अरेबिया भासिएका सर्लाहीको तत्कालीन ब्रह्मपुरी गाविस–६ का ३६ वर्षीय सोमन साह रौनियार ४० महीनापछि झण्डै रित्तै स्वदेश फर्किएका छन् । साउँ–अक्षर नचिन्नुभएका उहाँ एजेण्टले थमाइदिएको श्रम स्वीकृति, करारपत्र र हवाई टिकटका भरमा साउदी उडे । एजेण्टले उनलाई ‘सेल्स म्यान’को काम भन्दै कृषि मजदूरको सम्झौता हातमा थमाइदिएको थियो । रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै रौनियारलाई सो स्थानबाट करीब ३३५ किलोमिटर टाढा जङ्गलमा लगियो । त्यतिबेलै उहाँलाई मनमा लागेको थियो, “सेल्स म्यानको कामका लागि जङ्गलमा त नलैजानुपर्ने ।” जङ्गलमा लगेपछि उहाँलाई जबर्जस्ती खेतीपातीको काम गर्न लगाइयो तर विना पारिश्रमिक । दुई वर्षको प्रवेशाज्ञा र श्रम स्वीकृति लिएर जानुभएका रौनियारलाई मुबारक फार्मले जबर्जस्ती झण्डै साढे तीन वर्ष काममा लगायो । मासिक साउदी रियाल एक हजार पारिश्रमिक र खाना–बस्न साउदी रियाल २०० दिने सम्झौता भए पनि उहाँले कुनै महिना पनि सम्झौताअनुसारको पारिश्रमिक प्राप्त गरेनन् । “सम्झौतामा उल्लेख भएअनुसार मैले झण्डै साउदी रियाल ५० हजार प्राप्त गर्नुपर्ने थियो”, अलपत्र कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा रौनियारले भने, “मैले विभिन्न चरणमा गरेर साउदी रियाल २१ हजार २५० मात्र पाएको छु ।” जङ्गलको बीचमा रहेको कृषि फार्ममा आफूलाई जबर्जस्ती काममा लगाइएको उनले बताए । “कहिले खेतमा ट्र्याक्टरले जोत्न लगाउँथ्यो”, उनले भने, “कहिले ऊँट, बाख्रा हेर्न लगाउँथ्यो ।” रौनियारले दुई वर्षको करार अवधि सकिएपछि नेपाल फर्कन्छु भन्दा आफूलाई मालिकले फार्मबाट बाहिर निस्कन नदिएर बन्दी बनाएको बताए । उनले पारिश्रमिक प्राप्त गर्ने आशामा आफू सो कम्पनीबाट भाग्न नसकेको सुनाए । उक्त फार्ममा छ जना नेपाली काम गर्दै आएका थिए । अन्य मुलुकबाट गएको श्रमिकलाई पनि जबर्जस्ती काममा लगाइएको उनको भनाइ छ । छ महीनाअघि रित्तो हात स्वदेश फर्कनुभएका रौनियार खाडीमा बगेको रगत र पसिनाको मूल्य खोज्न म्यानपावरको ढोका ढक्ढक्याउन राजधानीमा पापड पेल्दै छन् । उनी कसमस नेपाल ह्युमन रिसोर्सेस प्रालिबाट २०७२ सालमा साउदी उडेका थिए । यसैगरी मोरङका २९ वर्षीय दिनेश खड्का, धनुषाका ४९ वर्षीय रोशन प्रमानीलगायत युवा खाडीमा बगेका पसिनाको मूल्य खोज्दै कागजको ठेली बोकेर म्यानपावर धाइरहेका छन् । “न त पैसा कमाइयो, न त साथमा पैसा नै छ”, राजधानीस्थित प्रवासी नेपाली समन्वय समितिको आश्रयस्थलमा बस्दै आएका प्रमानीले भने, “सयकडा तीनका दरले ऋण काडेर विदेश गइयो, रित्तै हात फिर्नु परेको छ, अब कसरी घर जाऊँ ।” म्यानपावरले भने एक साताभित्र बाँकी रकम उपलब्ध गराइदिने वचन दिएको छ । रित्तो हात फिर्न विवश नेपालीलाई समितिले पसिनाको मूल्य खोज्न कानूनी सहायता उपलब्ध गराएको छ । उनीहरु अहिले समितिको आश्रयमा बस्दै आएका छन् । पारिश्रमिक नपाउने घटना कतारमा बढी सन् २०१८ मा गन्तव्य मुलुकका विभिन्न कम्पनीमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै समितिमा २५४ वटा घटना दर्ता भएको थियो । दर्ता भएका २५४ मध्ये १०० घटनालाई आधार बनाएर गरिएको नमूना अध्ययनमा सबैभन्दा बढी कतारमा काम गर्ने २९ नेपाली कामदारले पारिश्रमिकबाट वञ्चित भएको पाइएको छ । त्यस्तै साउदी अरबमा २५, मलेसियामा २१, संयुक्त अरब इमिरेट्स्मा १३, कुवेतमा छ, अल्जेरियामा पाँच र माल्दिभ्समा एक जनाले पारिश्रमिक प्राप्त नगरेको पाइएको समितिले जनाएको छ । अध्ययनका क्रममा ६७ जनाले कम्पनीको लापरवाहीका कारण आफूहरुले पारिश्रमिक नपाएको बताएका थिए । त्यस्तै १५ ले कम्पनीमा काम नभएकाले तथा आठ जनाले फरक कामको विरोध गरेकाले आफूहरुलाई पारिश्रमिकबाट वञ्चित गराइएको बताएका थिए । ‘प्रवासी कामदारका लागि प्रवासी कामदारद्वारा’ सन् २००९ मा स्थापित समितिले हालसम्म एक लाख २० हजारभन्दा बढी आप्रवासी कामदारको उद्धार तथा राहतमा सहजीकरण गरिएको जनाएको छ । स्थापनाकालदेखि नै विपद्मा परेका प्रवासी कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील समितिले हालसम्म ५०० भन्दा बढी प्रभावित कामदारलाई आवास सुविधा प्रदान गरेको छ । समितिले प्रवासमा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण, सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतामूलक कार्यक्रम सञ्चालन, पैरवी तथा वकालत, शैक्षिक सहयोग तथा कानूनी प्रक्रियाका लागि सिफारिसलगायत गतिविधि गर्दै आएको अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।
नेप्सेको ओरालो यात्रा कायमै, प्रभु बैंकको ११ करोड ४५ लाखको संस्थापक सेयर कारोबार
काठमाडौँ । आइतबार जस्तै सोमबारपनि सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ । स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको रु ११ करोड ४५ लाख ७० हजार बराबरको कारोबार भयो । यस्तै सिभिल बैंक रु तीन करोड ८० लाख २० हजार ९९६, साल्ट ट्रेडिङ कर्पोरेशनको रु तीन करोड आठ हजार, प्रभु बैंकको रु दुई करोड ७६ लाख २० हजार ३३९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ३६ लाख ८६ हजार ८८८, सेञ्चुरी बैंकको रु एक करोड ७५ लाख सात हजार ७७३ र मेगा बैंकको रु एक करोड ६० लाख ४८ हजार ३१० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०४, अरुण काबेली पावर ३.८५, घलेम्दी हाइड्रो ३.६१, सिनर्जी पावर ३.३७, र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.२५ प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले गुमाए । रैराङ हाइड्रोपावर ५.३०, वेस्ट फाइनान्स कम्पनी ४.७६, सगरमाथा इन्स्योरेन्स ३.८७, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.८४ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ प्रतिशतले गुमाए ।
मौद्रिक नीतिबारे राष्ट्र बैंकले लियो सुझावः ‘मर्जरमा बल नगर्नोस’
काठमाडौं । बैंकर्सहरूले बैंक तथा वित्तीय संस्थालाई बलपूर्वक मर्जरमा नलैजान सल्लाह दिएका छन् । राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि छलफल कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बलपूर्वक मर्जरमा नलैजाने सुुझाव दिएका हुन् । यदि मर्जरको आवश्यकता हो भने राष्ट्र बैंकले प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्छ, उनले भने– ‘बलपूर्वक मर्जरको नीति लिन नपरोस् ।’ सुझाव संकलन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैंकहरूलाई बलपूर्वक मर्जरमा लान नहुने बताए । बैंकहरूबीच विहे गराउने विषयलाई अग्रवालले मर्जर विवाह भन्दापनि संवेदनशील भएको बताए । मर्जर भनेको आत्मा शरीर दुबै एक हुने हो, उनले भने– ‘ यस्तो संवेदनशील विषयलाई बलपूर्वक मर्जरमा लानु हुँदैन ।’ फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मर्जर स्वतफूर्त हुुनुपर्ने धारण राखे । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले सहुलियत दिए लघुवित्तलाई पनि मर्जर गरेर ५० वटामा झार्न सक्ने बताए । हाल नेपालमा एक सय वटा लघुवित्त छन्, यसलाई आधामा झार्न सकिन्छ। उनले भने– ‘राम्रो सेवा, सुविधा र प्रोत्साहन पाए हामी ३०-३५ वटामा पनि झर्न सक्छौं ।’ राष्ट्र बैंकले मौद्रिक नीतिसम्बन्धि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३ प्रतिशतमा झार्न सुझाएकी छिन् । अहिले बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर अन्तर साढे चार प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरिएको छ । महासंघले यसअघि नै मौद्रिक नीतिका लागि २१ बुँदे सुझाव दिइसकेको छ । वित्तीय बजारमा लगानी योग्य पुँजी नहुँदा यसको चाप ब्याजदर परेको बताउँदै बैंकर्स संघका अध्यक्ष ढुंगाना भने– ‘आगामी वर्षमा ब्याजदरका लागि सहमति र सम्झौता गर्न नपरोस् ।’ खुला अर्थको विशेषताअनुसार ब्याजदर बजार निर्देशित होस् । भरसक ब्याजदर एकल अंकमा ल्याउने हाम्रो पनि चाहना हो ।’ कार्यक्रममा चेम्बरका उपाध्यक्ष अग्रवालले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशतमा राख्नुपर्ने बताए । कर्जामा कार्टेलिङ गर्दै आएका बैंकहरूलाई ब्याज सस्तो बनाउन राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । पुनरकर्जा कोष १ खर्बको बनाउनु पर्नेमा पनि अग्रवालले जोड दिए । सुझाव संकलन कार्यक्रममा बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले मर्जर बजारमा तरंग ल्याएको बताए । मर्जरले बैंकलाई सुदृढीकरण गर्ने बताउँदै उनले भने ‘अब पश्चाताप नगर्ने गरी तथा पछि पछुताउनु नपर्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताए । यसअघिको मर्जरमा हकप्रद सेयर निष्कासन गर्न नपाउने व्यवस्था गरिएको भए अहिले फेरि यो कदम चाल्नु पर्ने अवस्था आउन थिएन, उनले भने- ‘मर्जरमै जानुपर्ने भए लाइसेन्स किन दिएको त ?’
टाउकोमा गोली लागेका रामजी चेपाङको नर्भिकमा उपचार
काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ । कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिएभने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो । उनलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिए र असार १९ गते विहीबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो ।
एनआईसी एशियाको एकैसाथ तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौँ । एनआईसी एशिया बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले उद्घाटन गरे । यसैगरीे मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले र अमरदह शाखारहित बैंकिङ्ग सेवाकोसुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्ट उद्घाटन गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।
महिला उद्यमीहरूको कोरिया भ्रमण, व्यवसायमा सहकार्य गर्ने सहमति
काठमाडौं । महिला उद्यमशीलताको विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र कोरियन महिला उद्यमी संघबीच हालै कोरियाको राजधानी सिओलमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र कोरियन महिला उद्यमी संघको इन्चोन शाखाका सभापतिले हस्ताक्षर गरे । महिला उद्यमीहरूद्वारा संचालित व्यापार व्यवसायमा सहयोग एवं सहकार्य गर्ने, आपसी सम्पर्क विस्तारका माध्यमबाट सहकार्यका क्षेत्रहरू पहिचान गरी सहयोग बढाउने, सूचना तथा व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, महिला उद्यमीहरूद्वारा सञ्चालित उद्योग व्यवसायको क्षमता अभिवृद्धिका लागि सम्भाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलव्ध गराउने कुरा सहमतीपत्रमा उल्लेख गरिएको छ । नेपाल र कोरिया बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघको महिला उद्यमी समितिका सभापति श्रेष्ठको नेतृत्वमा कोरियाको भ्रमणमा गएको महासंघको प्रतिनिधिमण्डलले भ्रमणका दौरानमा कोरियाको साना तथा मझौला उद्यमीहरूको संस्थासंग आवद्ध उद्यमी व्यवसायीहरू, गैह्र आवासीय नेपालीहरू, नेपाली राजदूतावासका पदाधिकारीहरू समक्ष भेटवार्ता गरी दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा गहन छलफल गरेको थियो । भेटवार्ता फलदायी हुनुको साथै भ्रमणका दौरानमा भएका भेटवार्ता तथा छलफल कार्यक्रममा कोरियाका उद्यमी व्यवसायीहरूले नेपालको आर्थिक विकासमा सहयोग, सहकार्य गर्न र महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा सघाउने इच्छा प्रकट गरेका थिए । प्रतिनिधि मण्डलले भ्रमणका दौरानमा कोरियन उद्योग प्रतिष्ठानहरूको स्थलगत अवलोकन समेत गरेको थियो । प्रतिनिधि मण्डलका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू राजकुमार न्यौपाने, सुनिलगोपाल श्रेष्ठ, महिला उद्यमीहरू र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठ थिए । महासंघको प्रतिनिधि मण्डल साताव्यापी भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएको छ ।
जिल्ला अस्पताल एम्बुलेन्सविहीन, गण्डकी प्रदेश सरकारसँग माग
स्याङ्जा । जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करिब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ । पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् । जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठले बताए । जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करिब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताएका हुन् । पोख्रेलले भने, “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट दिए । शर्माले भने“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।