निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन
रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी भएको हो । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिएका छन् । यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नं ४ को वडा कार्यालयमा विद्युत् सेवा पुगेकामा अब स्थानीय तीन गाउँका करिब १८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको रु दुई करोड, गाउँपालिकाको रु ४२ लाख, स्थानीय बासिन्दाको जनश्रमदान गरी करिब रु तीन करोडको लागतमा २५ किलोवाट क्षमताको विद्युत् सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ । अहिले हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ । हावा र सौर्यशक्तिबाट बाह्रै महिना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताएका छन् । मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । पाल्पा सदरमुकामबाट करिब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् । रासस
स्वावलम्बन लघुवित्तले ३ लाख ७७ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गरिने भएको छ । प्रति सेयर मूल्य ३ सय रुपैयाँ रहेको छ । सो भन्दा बढी मूल्य अंकित गरी असार ३१ गतेदेखि साउन २९ गतेसम्म प्रति सेयर के कति दर रेटमा लिन कबुल गर्ने हो सो को शिलबन्दी बोलपत्र आवेदन बिद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १०० कित्ताको लागि आवदेन दिनु पर्ने र अधिकतम सेयर संख्याको लागि भने कुनै हद नलाग्ने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा साउन १७ गते, बुक क्लोज कहिले ?
काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारण सभा साउन १७ गते हुने भएको छ । तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि छलफल हुनेछ, साथै आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने कार्यतालितका रहेको छ ।
परीक्षा नियन्त्रक कार्यालय गोप्य शाखाका कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन हुँदा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सहायक पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले रकम दिई नतिजा फेरबदल पारेको पाइएको छ । परीक्षा नियन्त्रक कार्यालय मानविकी सङ्कायतर्फको एमए गोप्य शाखा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई रु एक लाख ५० हजार लिई सुरेन्द्रप्रसाद कोइरालाको स्तातकोत्तर अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले बढी प्राप्ताङ्क हुने गरी अनुचित ढङ्गले अङ्क थपेको पाइएको छ । यस्तै कर्माचार्यलाई नै सोही प्रक्रियाबाट ग्रामीण विकास र मानवशास्त्र विषयमा समेत परीक्षामा नै अनुपस्थित भए पनि उत्र्तीण गराएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार पदको दुरुपयोग गरी १५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थप गरी कूल २२४ अङ्क थप गर्न सुरेन्द्रप्रसाद कोइरालाबाट रु एक लाख ५० हजार र केदार भट्टराईले हासिल गरेको अर्थशास्त्र विषयको स्नातकोत्तरतर्फको पाँच विषयमा १०÷१० नम्बरका दरले ५० अङ्क थप गर्न कोइरालामार्फत रु तीन लाख गरी जम्मा रु चार लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको छ । आयोगले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कामु प्रशासनिक अधिकृत केदार भट्टराई, अङ्क थप गराउने रामबहादुर कर्माचार्य र सुरेन्द्रप्रसाद कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलास शाखामा कार्यरत शान्तिदेवी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार पारिदिने उद्देश्यले रु १० हजार घूस मागेको अभियोग लागेको छ । आयोगले अधिकारीविरुद्ध बिगोबमोजिम कैद सजायको समेत माग गरेको छ । त्यस्तै आयोगले भोजपुर हतुवागढी गाउँपालिकाका कार्यालयमा कार्यरत इञ्जिनीयर मिछुहाङ्ग किरातविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माण र स्तरोन्नति र पोखरी निर्माण कार्यको मूल्याङ्कनको बिल बनाइदिने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ५० हजार घूस लिएको आरोप लागेको छ । आयोगले आरोपी इञ्जिनीयरविरुद्ध बिगोबमोजिमको माग दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
विराटनगरमा प्रयोगशाला स्थापित, तरकारी र फलफूलको विषादी जाँच शुरु
विराटनगर । सङ्घीय सरकारले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी जाँचका लागि केही तयारी गर्ने भनी जनाएको केही दिनमै विराटनगरमा तरकारी र फलफूलमा देखिने विषादी जाँच शुरु भएको छ । देशभरमै पहिलो पटक प्रदेश नं १ सरकारले तीन टोलियास्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रयोगाशाला स्थापना गरी जाँच प्रक्रिया थालेको हो । तरकारी र फलफूलमा विषादी जाँच गर्ने प्रयोगशाला केन्द्रीय सरकारले यसअघि झापाको बिर्तामोडमा स्थापना गरिसकेको छ । यसअघि भारतबाट आयातीत तरकारी र फलफूल जोगवनीस्थित नाकाबाट विनाजाँच नेपाल भित्रिन्थ्यो । अब जाँच प्रक्रिया पूरा गरेपछि मात्र बजारमा आउने भएको छ । बाली संरक्षण प्रयोगशाला विराटनगरको कार्यालयमा एक एकाइ स्थापना गरी तरकारी र फलफूलमा विषादी प्रयोग भएको वा नभएको जाँच गर्ने काम आजदेखि शुरु भएको प्रयोगशालाका प्रमुख मुकेश यादवले जानकारी दिए । भारतबाट अत्यधिक मात्रामा विषादी प्रयोग भएको तरकारी र फलफूल नेपाल भित्रिने आशङ्कालाई प्रयोगशालाले मेटाउने छ । खानयोग्य हुने ती खाद्य पदार्थ मात्र नेपालमा आयात गर्न इजाजत दिइने प्रमुख यादवले बताए । सामान्य एक फलफूल वा तरकारीको नमूना परीक्षण गर्दा रु सात सयदेखि आठ सय खर्च लाग्छ । ठूला आयातकर्ता, ठूला व्यापारी र थोक बिक्रेताले अनिवार्य रुपमा विषादी परीक्षण गराउनुपर्ने प्रावधान छ । शङ्का लागेमा तरकारी र फलफूलका ठूला बजारबाट नमूना सङ्कलन गरी विषादी जाँच गर्ने तयारी पनि गरिएको प्रमुख यादवले स्पष्ट पारे । अधिकतम मानिसहरुले तरकारी र फलफूलमा विषादी हाल्ने गरेको जनगुनासो पाइन्छ । त्यस्ता तरकारी र फलफूल मानिसले उपभोग गरेमा स्वास्थ्यमा गम्भीर असर पर्ने प्रयोगशालाका प्रमुख यादवको भनाईँ छ । प्रयोगशाला सञ्चालन गर्न प्रदेश सरकारले आवश्यक पर्ने सबै उपकरण व्यवस्थापन गरिदिएको र यसलाई व्यवस्थित एवं प्रभावकारी बनाउन कर्मचारीलाई तालीम पनि दिइसकिएको बताइएको छ । हाल प्रयोगशालामा १० जनाको दरबन्दी कायम भएको छ । यहाँबाट यस क्षेत्रमा तरकारी र फलफूलमा विषादी प्रयोग भएको वा नभएको जाँच गरी नागरिकलाई स्वस्थकर हरियो तरकारी वा फलफूल खान मद्दत पुग्ने प्रयोगशाला प्रमुख यादवले प्रतिक्रिया दिए । केही दिनदेखि भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी जाँच गर्ने प्रयोगशाला नभएका कारण उत्पन्न समस्यालाई यसले समाधान गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
२१ औं शताब्दीले पचाउन नसकेको कला: ‘मैनदानी’
काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’ बाट प्रभावित भएर लेखिएको हो। १ घण्टा १० मिनेटको संयोग गुरागाईंको निर्देशन र परिकल्पनामा बनेको नाटकको पुरा कथा एउटा मैनदानीमा कोरिएको स्त्रीपुरुषको अन्तरंग दृश्यलाई लिएर त्यसैको वरीपरी केन्द्रित भएर घुमेको छ। कला-कलाकारलाई समाजले हेर्ने दृष्टिकोण र खोक्रो पत्रकारिताको गर्दै हिँडेका पत्रकारलाई लिएर ब्याङ्ग्य हान्दै बुनिएको कथा हो मैनदानी। एउटा गरीब परिवारका केशव आफ्नो बिरामी आमालाई उपचारमा खर्चमा सहयोग गरेका डाक्टरलाई रातो कपडामा बेरेर उपहारमा एउटा मैनदानी दिन्छन्। भर्खरै भर्खरै डाक्टरले आफ्नो छवीलाई राम्रो बनाउन प्रयास गरिरहेको अवस्थामा उपहारमा यौन लीलामा मग्न स्त्रीपुरुषको खोपिएको चित्र देखेर उनी अत्तिन्छन्। उनी आफुलाई समाजको नजरबाट हेर्न थाल्दछन् र आँफै लज्जित महसुस गरेर उपहारमा पाएको मैन्दानी आफ्ना वकिल साथीलाई दिन जान्छन्। वकिल साथीको सुरुमा कहिले उपहार नदिएको साथीले उपहार दिदा छक्क पर्छन् र मख्ख हुँदै उपहार स्विकार गर्छन्। तर जब खुशीले उनी उपहार खोल्छन् उनी अक्कनबक्क हुन्छन् उसले पनि आफुलाई समाजको नजरबाट हेर्छ र र उपहार राख्न अस्विकार गर्छन्। तर डाक्टर साथीको अनेक ढिपीको कारण उनी मैनदानी राख्न वाध्य हुन्छन्। त्यसपछी स्टेजमा वकिललाई भेट्न र्य्पार जोजो आईपुग्छन्। समाजले अस्विकार गर्ने डरले जोजोलाई वकिलले उक्त मैनदानी दिन्छन्। नाटकमा फरक सोच राख्ने एक मात्र पात्र जोजो खुशी हुँदै मैनदानी लिएर आफ्नो फ्लाट जान्छन्। उनी मुर्तीमा कला देख्छन् तर भर्खरै कन्ट्रोभर्सीबाट बाहिरिएका उनी आफुलाई फेरी त्यही विवादमा नपार्न र समाजको तिखो नजरबाट बच्नलाई अन्त्यमा त्यसलाई अस्विकार गर्छन् र अन्त्यमा सबैले अस्विकार गरेको मैनदानी गएर डाक्टरकै हातमा पर्न जान्छ। यौनबारे हाम्रो समाज कहिले पनि खुलस्त हुनसकेको छैन। यस बिषयमा कोही खुलस्त हुन्छ भने उसलाई छाडा व्यक्तीको ट्याग दिईन्छ। मैनदानीले उठाएको छोटो सोचले ग्रस्त समाज र खोक्रो पत्रकारीता समयसामायिक बिषय हो। हामी बसिरहेको समाज नामको २१ औ शताब्दीमा छ तर व्यवहारमा शायद १८ औं शताब्धी भन्दा कम छैन। समाजमा अझै पनि मानिसहरु यौनलाई लिएर निकै नै नकरात्मक देखिन्छन् तर केवल पर्दा बाहिर। पर्दा भित्र समाजलाई जे गरे नि चल्छ तर पर्दा बाहिर समाज हामीलाई यौनको बिषयको मुख नखोल्न आग्रह गर्छ। उनिहरु यौनको बिषयमा कुरा नगर्नेलाई सभ्य व्यक्तीको ट्याग दिन्छन्। यसकारण पनि धेरै व्यक्तीहरु यस बिषयमा मुख खोल्न लाज मान्छन्, उनीहरुको मनमा सधैं एउटै डर हुन्छ – समाज। लाईक र भ्युजको लागि एुउटा क्यामारा लिएर कलाकारको पछाडी दौडिने र साना साना बिषयलाई लिएर ठुलो विवाद खडा गर्ने पत्रकारहरुलाई नाटकले व्याङग हानेको छ। कलाकारको उतार चढाव आफ्नो हातमा भएको भन्ने सोच भएका केही पत्रकार उनको मेहनतलाई भने चानचुने सम्झने गरेका छन्। कथाले समाजमा भएको कला र अश्लिलता बीचको द्वन्द्व नाटकमा उतारेको छ। नाटकले तपाईलाई १ घण्टा १० मिनेट हँसाइ हँसाई एकपटक हाम्रो सोचलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटकको सबैभन्दा सबल पक्ष भनेको कलाकारको भावलाई प्रस्टाउन प्रयोग गरिएको लाईट रहेको छ। यस्तै स्टेजमा हरेक पटक स्थान बद्लिएको अवस्थामा प्रयोग भएका सबै सामानहरुलाई रंगाउन प्रयोग गरिएको कालो र सेतो रंगको संयोजन पनि राम्रैसँग भएको छ। यसले समाजमा साकरात्मक र नकरात्मक दुवै सोच भएका मानिसहरु रहेको भन्ने बुझ्न सकिन्छ। साथै नाटकमा रातो कपडामा बेरिएको मैनदानी, रातो कुर्सी, रातो रंगको लाइटले जोजोको क्रान्तिकारी भाव झल्काउँछ। जोजोले मैनदानी फिर्ता गरेसँगै सबै राता रंगहरु पनि हराएर जान्छन्। यो उनको क्रान्ति भाव प्रति समाजले लगाएको बन्देज हो भन्ने बुझ्न सकिन्छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, विकास पन्त,अंकित खड्का, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय हेर्न सकिन्छ। साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।
१७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएयता १७ वटा बैंकले मर्जरका लागि प्रतिवद्धता जनाएका छन् । सोमबार बेलुकासम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धता सहित राष्ट्र बैंकलाई पत्र बुझाएका हुन् । राष्ट्र बैंकले मर्जर जान प्रोत्साहन गरे बैंकहरू मर्जरमा जान तयार रहेको पत्र आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘ प्रोत्साहन भए आफूहरू मर्जर जान तयार भएको प्रतिवद्धता सहित पत्र राष्ट्र बैंकमा पेश भएको छ,’ उनले भने । सरकारी तीन सहित अन्य ११ बैंकले भने राष्ट्र बैंक समक्ष मर्जरका विषयलाई लिएर पत्र बुझाएका छैनन् । मर्चरमा अनिच्छुक बैंकहरूमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू र सिद्धर्थ बैंक देखिएका छन् । उनीहरू मध्ये केहीले माैद्रिक नीति सार्वजनिक हुनुपूर्व मर्जरमा जान तयार भएकाे प्रतिवद्धता पत्र पेस गर्न सक्ने अनुमान गरिएकाे छ । यी हुन् राष्ट्र बैंकमा पत्र बुझाउने १७ वाणिज्य बैंक: १.एनएमबी २.सनराइज ३.सिटिजन ४.लक्ष्मी ५.एनसीसी ६.सानिमा ७.सिभिल ८.माछापुच्छ्रे ९.सेन्चुरी १०.नेपाल एसबीआई ११.ग्लोबल १२.जनता १३. नेपाल इन्भेष्टमेन्ट १४.एनआईसी एशिया १५.हिमालयन १६. मेगा १७. कुमारी
ग्वार्कोमा खुल्यो सिप्रदीको ५१औँ सर्भिस सेन्टर
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर(सिओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै निर्देशक दाहालले भने–‘सन् १९८२ मा स्थापनाभएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ ।’ त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोमा जोड दिए ।