राष्ट्र बैंकको भवन शिलान्यास, ‘बैंकिङ प्रणाली ठीक नभए प्रतिकूल असर’
काठमाडौँ । दुई अर्ब आठ करोडको लगानीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन बन्ने भएको छ । बालुवाटारस्थित नयाँ बन्ने भवनको सोमबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरिन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले भण्डारीले राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारले अगाडि सारेका विकास र सुशासनका एजेण्डालाई कार्यान्वयनमा लैजानु पर्ने बताइन् । बैंक तथा वित्तीय संस्थाहरुले आम जनताबाट संकलन गरेको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी मुलुकमा रहेको मानवीय साधन र प्राकृतिक स्रोत र ब्यवसाय प्रवर्द्धन गर्न राष्ट्र बैंकले भूमिका खेलोस्-उनले बताइन् । राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन् । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो । उनले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । “कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।” यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले आफ्नो स्वायत्तताको प्रयोग जबाफदेही ढंगले गर्नु पर्ने बताए । उनले भने- ‘केन्द्रीय बैंक एउटा स्वायत्त संस्थाको रुपमा अघि बढ्नु पर्छ। नेपाल राष्ट्र बैंक ऐनले नै केन्द्रीय बैंको स्वायत्तता सुनिष्चित गरेको छ ।’नेपालको वित्तीय प्रणाली भनेको बैंकिङ प्रणालीकै आधिपत्य भएको प्रणाली भएको बताउँदै अर्थमन्त्री खतिवडाले यदि बैंकिङ प्रणाली ठीक भएन भने बीमा, धितोपत्र बजार, सहकारी प्रणालीहरुमा पनि प्रतिकूल असर पर्ने बताए । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भने । लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै मुलुकलाई विद्युतीय र बैंकिङ कारोबारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए । अर्थमन्त्री डा खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भएपनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाए । लागत २ अर्ब ८ करोड, २ वर्षमा बन्ने कूल रु दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।
डिएपी मलको आपूर्ति, धनगढी र बौनियाबाट बिक्री शुरु
धनगढी । कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई सोमबारबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिएका छन् । वीरगञ्जस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा मौज्दात रहेको डिएपी मलमध्ये ५०० मेट्रिक टन मल कैलालीमा आपूर्ति गरिएको पाण्डेले बताए । सरकारको अनुदानित उक्त ५० किलो प्रतिबोरा मलको रु दुई हजार २७६ मा बिक्रीवितरण गर्न लागिएको जनाइएको छ । रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मलको अभाव हुँदा किसान समस्यामा छन् । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कैलालीलगायतका जिल्लामा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन । सरकारी अनुदानको मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महिनामै सकिएको थियो । रासस
प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवः प्रदर्शनीमा बिक्री भए सात लाखको पुस्तक
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिएका छन् । विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करिब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करिब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करिब रु चार लाख बराबरको पुस्तक खरिद गरेको जनाइएको छ । नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो । प्रतिष्ठानको शुरुआतदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ । रासस
सवारी दुर्घटनामा तीव्र वृद्धि, ज्यान गुमाउनेमा पुरुष बढी
सिरहा । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५/७६ को ११ महिनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले जनाएको छ । चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, ट्राफिक नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् । जिल्लामा ट्राफिक जनशक्ति अपुग भएर सबै ठाउँमा ट्राफिकपोष्ट नभए पनि ‘सरप्राइज’ चेकिङ, जेब्राक्रसिङ निर्माण, सवारी चालकको स्वास्थ परीक्षण, विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम गरी सडक दुर्घटना न्यूनीकरणका लागि लगातार प्रयास गरिरहेको ट्राफिक प्रहरी निरीक्षक बस्नेतले बताउँछन् । ट्राफिक नियमको उल्लङ्घन गरी चलाएको बस, ट्रक, कार, जिप, ट्र्याक्टर, मोटरसाइकल तथा अन्य सवारीसाधनलाई कारवाही गर्दा आर्थिक वर्ष २०७५/७६ मा रु एक करोड ५० लाख ६१ हजार जरिवानावापत राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी नायब निरीक्षक मनोजकुमार चौधरीले बताए । गत आर्थिक वर्ष २०७४/७५ मा रु एक करोड ९८ लाख ८९ हजार विभिन्न सवारीसाधनलाई कारवाही गर्दा राजश्व सङ्कलन भएको थियो । जिल्लामा सदरमुकाम सिरहा, बन्दीपुर, मिर्चैया, गोलबजार, धनगढी, ठाडी र सुखीपुर गरी नौ स्थानमा ट्राफिक प्रहरी चेकपोष्ट कायम गरी ट्राफिक जाँच हुँदै आएको छ । रासस
८ वटा औषधी नमुना परिक्षणमा फेल, बजारबाट फिर्ता मगाईयो
काठमाडौं। ८ वटा औषधीहरु नमुना परिक्षणको क्रममा फेल भएका छन्। परिक्षणमा फेल भएको कारण ति ८ वटा औषधीहरुलाई बजारबाट फिर्ता मगाईएको छ। फेल हुनेम औषधीमा २ वटा भारतिय र ६ वटा नेपाली कम्पनीको रहेका छन्। विभागका अनुसार जीडी फर्मास्यूटिकल्स प्रालिले उत्पादन गरेको PITI-1702 Pantona, गोरखा आयुर्वेद कम्पनीका 1351 Avipattikar churna, Pet safa गरी दुईवटा, नेपाल फर्मास्यूटिकल्स लेब्रोटरी बीरगञ्जले उत्पादन गरेको LPN-74165 Formin -GI forte, आरोग्य भवन वर्क प्रालि र सगरमाथा आयुर्वेदिक औषधि उद्योगका क्रमश 0169 Aarogya Balbel churna, 014 Pushyanug churna सहित छ नेपाली उद्योगका औषधि रिकल गर्न भनिएको हो । यस्तै अलकेम लेब्रोटरिज मुम्बई भारत 8282346 Almok-500 , सागा लेब्रोटरिज अमदावाद भारत बाट Ex-014018 Amoxyn-500 आएका क्रमश व्याजका औषधि पनि गुणस्तरमा फेल भएका छन । नमूना परीक्षणका क्रममा फेल भएपछि बजारमा गएका सबै औषधिहरु रिकल गर्न निर्देशन दिइएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकरी दिए। उक्त औषधीहरु माईक्रोवेल टेष्ट र घुलनसिल क्षमतामा फेल भएको उनले बताए ।
द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला, अवैध महसहित दुई पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो । पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उनले बताए । त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो । बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ । रासस
सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दैः राज्यको नयाँ संरचनाले भने लगानी डुब्ने चिन्ता
पर्यटन व्यवसायलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा ठूला सुविधा सम्पन्न होटल खुल्नेक्रम बढ्दै गएको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँच तारेसहितका सुविधा सम्पन्न होटल खुल्नेक्रम बढेको होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताएका छन् । झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चारतारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन होटललगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको उनले बताए । अध्यक्ष काफ्लेका अनुसार एक दशकयता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै रु पाँच अर्ब लगानी भएको छ । यसरी, साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा राष्ट्रिय, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले भने झस्काएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्न थालेको छ । “पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायःहोटलका कोठा खाली हुने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन”, नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापा बताउँछन् । अर्कोतर्फ, नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न नै मुस्किल परेको अवस्था छ । “अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ”, होटल व्यवसायी सङ्घ प्रदेश ५ का अध्यक्ष काप्mलेको भनाइ छ । उनका अनुसार, नेपालगञ्जका ठूला सुविधा सम्पन्न होटलको मुख्य स्रोत मानिएको मानसरोवरका अधिकांश भारतीय तीर्थयात्री ट्राभल एजेन्सीमार्फत आउने र ट्राभल एजेन्सीले उधारोमा व्यापार गर्दा अपेक्षितरुपमा लाभान्वित हुन नसकेको अवस्था पनि यहाँ छ । यो वर्ष मानसरोवरका तीर्थयात्री घटेकाले यहाँका ठूला होटल व्यवसायी दोहोरो मारमा परेको अध्यक्ष काप्mलेले बताए । मानसरोवरका तीर्थयात्रीबाहेक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीको भनाइ छ । रासस
इण्डिगोले बजारमा ल्यायो वालमेट लोटस इफेक्ट्स पेन्टस्
काठमाडौं । इण्डिगो पेन्ट्सले वालमेट लोटस इफेक्ट्स एक्सटेरियर पेन्ट्स बजारमा ल्याएको छ । १० वर्षको प्रफमेन्स वारेन्टीका साथ ल्याइएको यो एक्सटेरियर पेन्ट्स सेल्फ क्लीरेङ्ग, वाटर रेपेलेन्ट, हाइ ग्लस्, डस्ट प्रूफ, इको फ्रेन्डली जस्ता विशेषता युक्त रहेको छ । वालमेट लोटस इफेक्ट्स वाटर वेस्ड इक्स्टिअरिअर पेन्ट हो । यो उत्पादन उच्च गुणस्तरीय त छ नै सँगसँगै मूल्यका हिसावले समेत प्रतिस्पर्धी छ । त्यसैले उपभोक्ताहरुले यो रंग मनपराउने विश्वास कम्पनीले लिएको छ । वि.सं. २०६५ सालमा उत्पादन शुरु गरेको यस कम्पनीले डिस्टेम्पर, इमल्सन, वेदरकोट, प्राइमर, वालपुट्टी लगायतका तीन दर्जन बढी सेगमेन्टमा रंगहरुको उत्पादन गर्दै आइरहेको छ । कम्पनी उत्पादन वातावरण मैत्री रहेका छन् । वार्षिक २५ सय टन उत्पादन गर्दै आइरहेको इण्डिगो पेन्ट्सले उद्योगको क्षमता विस्तार गरी आगामी वर्ष ३५ सय टन उत्पादन पुर्याउने लक्ष्य लिएको छ । प्रदेश नं. १,३,४,५,७ लगायतका प्रमुख शहरहरुमा ३ सय ५० डिलरहरुबाट कम्पनीका उत्पादन विक्री वितरण भइरहेका छन् । रंग उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिद्धारा प्रवद्र्धित सो कम्पनीले ६० जनालाई रोजगारी प्रदान गरेको छ । गुणस्तरीय र सुलभ मुल्यमा इण्डिगोका रंग उपलब्ध हुँदा नयाँ नयाँ उत्पादन बजारमा ल्याइरहेको कम्पनीले जनाएको छ ।