विकासन्युज

प्रधानमन्त्री ओलीले पाए ‘बायोम्याट्रिक’ राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेको हो । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ । विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ । रासस

कृषि विकास बैंकद्वारा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई १ लाखको सामग्री हस्तान्तरण

काठमाडौँ । किर्तीपुर नगरपालिका-३ मा सोमबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लि. शाखा कार्यालय किर्तिपरले १ लाख १० हजारको सामाग्री हस्तान्तरण गरेको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई रु.१ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । स्थानीय नागरिकहरु र अपाङ्ग बच्चाहरुको उपस्थिती रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले अपाङ्ग बच्चाहरुको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंक लि. लाई धन्वाद दिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले अशक्त/असाह्य बच्चाहरुलाई सहयोग गर्ने मौका दिएकोमा संघलाई धन्यवाद दिंदै यस्ता प्रकृतिका लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिए ।

निजी बैंक धमाधम मर्जर प्रक्रियामा, सरकारी बैंक भने अलमलमा

काठमाडौं । बैंकिङ बजार यतिबेला मर्जर तथा एक्युजिशनको माहोलमा छ । २८ वाणिज्य बैंकमध्ये १७ वटा निजी बैंकले राष्ट्र बैंकमा मर्जर प्रतिवद्धता पत्र बुझाएका छन् । बाँकी बैंक तथा वित्तीय संस्था भने ‘पर्ख र हेर’को अवस्थामा छन् । राष्ट्र बैंकले यहि असार १२ गते मर्जरमा जान बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । १९ गतेसम्म पर्टनर खोज्न दिएको समयावधिसम्म सात वटा वाणिज्य बैंकले मर्जर सम्बन्धि आशयपत्र बुझाए थिए भने सोमबारसम्म मर्जर प्रतिवद्धता सहित राष्ट्र बैंकमा पत्र पठाउने बैंकको संख्या १७ पुगेको हो । ग्लोलब आइएमई र जनता बैंक एकआपसमा मर्ज हुने प्रारम्भिक समझदारीमा हस्ताक्षर नै भइसकेको छ । राष्ट्र बैंकले पछिल्लो समय लिन लागेको नीतिका सम्बन्धमा निजी बैंकमा गहनता देखिएपनि सरकारी बैंकमा भने यसको प्रभाव देखिएको छैन । राष्ट्र बैंकले बलियो, सवल र सक्षम बैंक बनाउन चालेको यो नयाँ कदममा निजी बैंकले केही तत्परता देखाएपनि सरकारी बैंक भने सरकारको मुख ताकेर बसेको छ । उनीहरू अहिलेको अवस्थासम्म अलमलमै छन् । सरकारी पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक आफैंमा सवल र सक्षम छ । सरकारी ठूलो बैंकको आडमा बसेको राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रको प्राथमिकता कृषिमा विशिष्टीकृत गर्दै अघि बढेको कृषि विकास बैंक र मुलुककै जेठो बैंक ‘नेपाल बैंक’ भने मौद्रिक नीतिको पखाइमा छन् । पूर्ण सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकले पनि अहिलेसम्म राष्ट्र बैंकले चालेको पछिल्लो कदमका विषयमा केही ठोस निर्णय गर्न सकेको छैन । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्यायले सरकारी नीति कार्यान्वयन गर्न कुनै समस्या नभएको बताए । ‘सरकारी नीतिलाई लागू गर्नुपर्छ, यस विषयमा बोर्डमा छलफल भएको छ,’ उनले भने– ‘मौद्रिक नीतिले केही रोडम्याट ल्याउन सक्छ ।’ हाइ भ्यालू बनाएर जमेर बस्ने कि बिग मर्जर जाने दुबै हुन सक्छ । मर्जरमा जानु नै पर्ने अवस्थामा आएमा जानुपनि पर्छ । क्यापिटल बेस बनाएर जानेकी विशिष्कृत भएर जाने यस विषयमा पनि छलफल हुनेनै छ । सीईओ उपाध्यायले भने- ‘सरकारबाट अहिलेसम्म कुनै ठोस निर्णय आएको छैन ।’ नेपाल बैंकले पनि राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह (बिग मर्जर)लाई मौद्रिक नीतिसम्म हेर्ने भएको छ । सरकारी हिस्सा र अग्रणी बैंकको रुपमा रहेको नेपाल बैंक अन्य कान्छा बैंकसँग मर्जर जाने की आफ्नो साख जोगाउने विषयमा अल्झिएको छ । मर्जर राष्ट्र बैंक र बजारले जन्माएको लहर हो । यसमा त्यति तुक नभएको नेपाल बैंक स्रोतले बताएको छ । केही बैंक कमजोर भए बलियो बनाउने अन्य प्रक्रियापनि हुन सक्छ,’ स्रोतले भन्यो ‘बलियो बैंकले कमजोर बैकसँग किन मर्जर गर्ने ? यो प्रश्न जन्मिएको छ । सरकारले लिएको वित्तीय सुधार नीति अनुरुप पछिल्लो समय सरकारी तीन वटै बैंक बलिया र सवल बैंकका रुपमा बजारमा पहुँच बढाउँदै छन् । राष्ट्र बैंकले आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको छ । १७ वाणिज्य बैंकले राष्ट्र बैंकलाई बुझाए मर्जरमा जाने प्रतिवद्धता पत्र(नामावली सहित) ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज गर्ने सहमति, लगानीकर्तालाई राम्राे प्रतिफल दिने प्रतिवद्धता  

नागरिक लगानी कोषको कर्जा भुक्तानी अब अनलाइनबाट, हिमालयन बैंकसँग सम्झौता

काठमाडौँ । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको(८०%) कर्जा भुक्तानीलाई अनलाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई कनेक्टआइपीएस ईपेमेन्ट प्रणालीबाट हुने भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमन नेपाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधानले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अनलाईन माध्यम मार्फत कनेक्टआइपीएस बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको कनेक्टआइपीएस प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुने जनाइएको छ ।

उपाधिका लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य

काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो । वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा रु तीन लाख मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको जानकारी दिएका छन् । “चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएकोे अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ । पक्राउ परेकालाई सोमबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईँले बताएका छन् । रासस

अण्डाको मूल्य बढ्यो, कृषकले अझै पाएनन् लागत मूल्य

चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ । अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ । पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताएका छन् । तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ । पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र रु एब अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए । रासस

पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै, तीन वर्षभित्र सक्ने लक्ष्य

खोटाङ । साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करिब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “प्रदेश सरकारसँगको सहकार्यमा साकेला गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने योजनाका साथ अगाडि बढेका छौँ”, उनले भने, “प्रदेश सरकारको क्रमागत योजनामा परेको तावाभञ्ज्याङमा निर्माण गरिने आधुनिक तथा नमूना कृत्रिम तालका लागि यस वर्ष गाउँपालिकाबाट रु ७० लाख बजेट विनियोजन गरिएको छ ।” समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा साढे ६०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ रहने गरी कृत्रिम ताल निर्माण हुने डिपिआरमा उल्लेख छ । प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुने भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । आगामी तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई करिब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेल्न मिल्ने, तालभित्र माछा तथा हाँसपालनलगायतका क्रियाकलाप गर्न सहज हुने गाउँपालिका प्रमुख खड्काले बताएका हुन् । प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्नसमेत सकिने ठाउँमा रहेको तावाभञ्ज्याङको तल्लो भेगमा पर्यटकलाई थप आकर्षित गर्न रेन्बोट्राउटको स्रोत केन्द्र बनाउने काम शुरु गरिएको छ । गत वर्ष प्रदेशसभा सदस्य रामकुमार राईको संसदीय विकास कोषको रु आठ लाखबाट शुरु गरिएको स्रोत केन्द्रका लागि यस वर्ष प्रदेश सरकारबाट रु २५ लाख बजेट प्राप्त भएको छ । भोजपुरको पाँचधारे तथा टेम्केको फेदमा पर्ने तावाभञ्ज्याङको माथिल्लो भेगमा शहीद उद्यान निर्माण गर्ने योजना प्रदेश सरकारबाट स्वीकृत भएर आएको गाउँपालिकाले जनाएको छ । शहीद उद्यानका लागि प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । नेपाल सरकारले निर्धारण गरेको १०० मुन्धुम ट्रेल (पदमार्ग) पर्ने टेम्के, मैँयू, पाँचधारेलगायतका रमणीय स्थान नजिकै रहेको तावाभञ्ज्याङमा निर्माण गरिने कृत्रिम ताल आवतजावत गर्न सडकसमेत निर्माण गरिएको छ । चारैतिरबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको तावाभञ्ज्याङमा कृत्रिम ताल बनेपछि तराईका जिल्लाबाट समेत पहाडी भूगोल अवलोकन गर्न पर्यटक आउने अपेक्षा गरिएको छ । तावाखोलाको शिर थुनेर निर्माण गरिने कृत्रिम ताललाई (मुन्धुम ट्रेल) पदमार्गसँग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको पर्यटन व्यवसायीले बताएका छन् । आधुनिक तरिकाले निर्माण गरिने कृत्रिम तालको आसपास रहेको पर्यटकीयस्थल पुग्न पदमार्गसमेत निर्माण गरिने जनाइएको छ । ताल निर्माणपछि आसपासमा पानीको स्रोत बढ्नुका साथै पर्यावरणमा समेत सघाउ पुग्ने विज्ञहरुले बताएका छन् । मुहान संरक्षण अभावमा अधिकांश पानीका स्रोत सुक्दै गएको अवस्थामा कृत्रिम ताल निर्माणले आसपासका पानीको स्रोत पुनः बढ्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । यसरी, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने तावाभञ्ज्याङ वरिपरि राष्ट्रिय फूल लालीगुँरास, चिमाल, सुनाखरी, चाँप, सुनपाती, भैरुङपातीलगायतका फूल तथा जडीबुटी प्रशस्तै पाइन्छन् । लेकाली जीवजन्तु तथा चराचुरुङ्गी हरिण, मृग, घोरल, खरायो तथा मुनाल, सिमकुखुरा, कालिज, प्युरा, हलेसो, ढुकुरलगायत प्रशस्तै भेटिने पर्यटकीयस्थल तावाभञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीयवासी रामकृष्ण राई बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि बजारसमेत विस्तार भएको तावाभञ्ज्याङमा अहिले सत्र घर स्थानीयवासीको बसोवास रहेको छ । होटल तथा अन्य व्यवसाय गर्दै आएका १७ घरमध्ये कृत्रिम ताल निर्माण गर्दा छ घर विस्थापित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । बहुउद्देश्यीय योजना रहेको कृत्रिम ताल निर्माणले विस्थापित हुने घरपरिवारलाई उचित क्षतिपूर्ति दिएर सुरक्षित ठाउँमा सार्ने पहलसमेत शुरु गरिएको गाउँपालिका प्रमुख खड्काले बताएका छन् । उनीहरुलाई आगामी दिनमा घरवास (होमस्टे) सञ्चालन गर्न तालिमको व्यवस्था गरिएको समेत जनाइएको छ । तावाभञ्ज्याङ आसपास होमस्टे सञ्चालनका लागि डिपिआर गर्ने कामसमेत शुरु गरिएको गाउँपालिकाले जनाएको छ । रेन्बोट्राउटको लागि निर्माणाधीन स्रोत केन्द्र आसपास होमस्टे सञ्चालन गरिने जनाइएको छ । रासस