विकासन्युज

कृषि क्षेत्रमा २ अर्ब ९१ करोडका परियोजना, वर्सेनि बढ्दैछ वैदेशिक सहायता

काठमाडौं । कृषि क्षेत्रमा हाल २ अर्ब ९१ करोड ४२ लाख ९० हजार रुपैयाँको सहयोगमा ८ आयोजना सञ्चालन भईरहेको छ । किसान तथा खाद्य सुरक्षा आयोजना, साना तथा मझौता कृषक आयस्तर बृद्धि परियोजना, नेपाल कृषि सेवा विकास कार्यक्रम, नेपाल कृषि बजार विकास कार्यक्रम, जलवायु प्रकोप समाधान निर्माण आयोजना, समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्रको आर्यक्रम, रानीजमरा कुलेरिया सिँचाई आयोजना र एनएलएसआईपी जस्ता आयोजना सञ्चालन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विकास महाशाखाका सहसचिव तथा प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार ती आयोजना वैदेशिक अनुदान ५० प्रतिशत, वैदेशिक ऋण ३६ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा संचालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय कृषि क्षेत्रमा वैदेशिक लगानी क्रमशः बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । विगत ६ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा ५ अर्ब ३६ करोड ५१ लख ९७ हजार, २०७१/७२ मा ६ अर्ब ३५ करोड २१ लाख १४ हजार, २०७२/७३ मा ६ अर्ब ८५ करोड ९८ लाख ६४ हजार, २०७३/७४ मा ७ अर्ब २५ करोड ४८ लाख ८० हजार, २०७४/७५ मा ७ अर्ब ४५ करोड १२ लाख २७ हजार रुपैयाँका कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिएको छ । कूल जनसंख्याको करिब ६३ प्रतिशत जनता कृषि क्षेत्रमा आबद्ध रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २६.९८ प्रतिशत योगदान रहेको अनुमान रहेको छ भने गत वर्ष २७.५९ प्रतिशत रहेको थियो । मन्त्रालयका अनुसार नेपालमा ७ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ । प्रत्येक वर्ष ६ लाख मेट्रिक टन चामल आयात हुँदै आएको छ भने गतवर्ष कृषि क्षेत्रमा वृद्धिदर २.७ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा लगभग ५.१ प्रतिशतले वृद्धिदर रहेको प्रवक्ता सुवेदीले बताए । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका सरकारी वैदेशिक सहयोगले मुख्य भूमिका निर्वाह गरेको उनले बताए । उनले भने– ‘दुई दशकको कृषि क्षेत्रको सर्वेक्षणलाई हेर्ने हो भने औसत ३.२ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।’ सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा १२ अर्ब बजेट विनियोजन गरेको थियो । हाल नेपालमा कुल वस्तु आयात हुँदै आएकोमा १४.६ प्रतिशत कृषि उत्पादन हो भने सोही अवधिमा कूल वस्तु निर्यातको ३१.१ प्रतिशत कृषि वस्तु मात्र निर्यात भएको छ । चालु आवमा वैदेशिक सहयोगमा सञ्चालित ८ आयोजना र बजेटः

१३ औं ईक्यान एजुकेसन फेयरको तयारी पुरा, असार २६ गते देखी भृकुटीमण्डपमा हुँदै

काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले असार २६ गते गतेबाट काठमाडौंको भ्रिकुटीमण्डपमा आयोजना गर्ना लागेको १३ औं एजुकेसन फेयरको तयारी पुरा भएको हो। फेयर असार २६ देखी २९ गते सम्म संचालन हुँदैछ। मेलामा १ लाख भन्दा बढी मानिसहरुले अवलोकन गर्ने ईक्यानले बताएको छ। मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुको पनि उपस्थिती हुने जनाएको छ। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वोदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चिन। बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागीता रहनेछ। नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उदेश्य रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए। यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्वो अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले आफ्नो पत्रकार सम्मेलनमा बताएको छ। यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा निशुल्क बससेवा व्यवस्थापन गर्ने जनाएको छ।

चेम्बर चिनियाँँ व्यवसायीबीच भेटवार्ता, नेपालमा लगानी गर्न प्रतिबद्ध छ चीन

पोखरा । पोखरा चेम्बर अफ कमर्श कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधिमण्डलसँग दुई देशबीच व्यावसायिक आदानप्रदान र नागरिकस्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले जानकारी गराएका छन् । सो चिनियाँ प्रतिनिधिमण्डलसँग पोखरा चेम्बर्सका पदाधिकारीले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधिमण्डलले आफूहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुनारले बताए । व्यावसायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता बैठकमा नेपाल–चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बाँस्तोलालगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो । रासस

प्राकृतिक विपद् सम्बन्धी पूर्व जानकारीः टेलिकमले मोबाइलमा पठाउँछ सन्देश

काठमाडौँ । बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी दिन मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको हो । हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको जनाएको छ । विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।

भारततर्फ जाने पूँजी रोक्दै सहकारी, करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित

  बाँके । कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायीकहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पुर्याउथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, बाँके जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन रोकिएको छ । जिल्लामा बचत तथा ऋणका साथै कृषि सहकारी संस्था खुल्ने क्रम तीव्र भएको छ । टोलटोलमा सहकारी खुलेपछि दैनिक करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित हुन थालेको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले बचत सहकारीको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको बताए । उनले स्थानीय सहकारीमा रकम जम्मा गर्ने बानी बसेपछि पूँजी पलायन रोकेको बताउँदै भारतमा बचत गर्नेको सङ्ख्या कम हुँदै गएको जानकारी दिएका छन् । अध्यक्ष सुवेदीका अनुसार जिल्लामा चार सयभन्दा बढी सहकारी सञ्चालनमा छन् । “बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध छन्”, उनले भने । सहकारीको सञ्चालक समितिमा दुई हजार ७०० भन्दा बढी व्यक्ति आबद्ध रहेको बताउँदै उनले दुई हजारले सहकारीमा रोजगारी पाएको जानकारी दिएका हुन् । अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक आठ हजार लिटर दूधको कारोवार गर्ने गरेको पनि जानकारी दिए । उनले भने, “बाँकेका सहकारीले वार्षिक एक हजार ५०० मेट्रिक टनभन्दा बढी धान र एक हजार मेट्रिक टन गहुँको बीउ तयार गर्छन् ।” जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन् । यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ । सहकारीको ऋण परिचालनले धेरैलाई स्वरोजगारसमेत बनाएको अध्यक्ष सुवेदीको भनाइ छ । “सहकारीमैत्री समाज बन्यो भने, कोही कसैको भर पर्नुपर्दैन, सहकारी भए घरघरमा रोजगारी हुने सिद्ध भइसकेको छ ।” अध्यक्ष सुवेदीका अनुसार महिलाले नेतृत्व गरेका सहकारीको वार्षिक कारोवार तुलनात्मक रूपमा राम्रो रहेको छ । स्थानीय तहमै सहकारी खुलेपछि महिलाले भारतीय बैंक तथा वित्तीय संस्थामा बचत गर्न छाडेका हुन् । “सहकारीले साँझ–बिहान चुलोचौको टार्न कठिन पर्नेलाई आयआर्जनमा सहयोग पुर्याएको छ”, पौरखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले भने, “सहकारीले सर्वसाधारणलाई जीवनयापन गर्न सजिलो बनाएको छ । हामीले सीपमूलक तालिमसमेत दिने गरेका छौँ । यसबाट सर्वसाधारण आत्मनिर्भर पनि बनेका छन् ।” ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन् । सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पुर्याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाइ छ । पौरखी सहकारीले एक महिनामा मात्र रु २२ लाख शेयर बिक्री गर्न सफल भएको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, “जेठ महिनामा मात्र रु २२ लाखको शेयर बिक्री गरेर सहकारीको कूल पूँजी रु एक करोडमाथि पुर्याएको छ ।” बैंकभन्दा सहकारी विश्वासिलो, भरपर्दो र सहज लाग्ने भएकै कारण शेयर खरिदका साथै बचत गर्नेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ, सामान्य खर्चका लागि श्रीमान्को मुख ताक्नुपर्ने महिला बचत गर्न थालेपछि आत्मनिर्भरसमेत भएको उनको भनाइ छ ।” बचत समूहमा आबद्ध केही महिलाले व्यावसायिक रुपमा पशुपालन (बाख्रापालन, कुखुरापालन) च्याउखेती, तरकारी तथा फलफूल खेती, घरेलु तथा साना उद्योग र व्यवसाय गरेको अध्यक्ष तिमिल्सिनाले बताए । “केही वर्ष अघिसम्म सामान्य परिवारका महिलाले स–सानो खर्चका लागि श्रीमान्को मुख ताक्नुपथ्र्यो, अब त्यो अवस्था रहेन ।” जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष सुवेदीले एक सहकारी एक उत्पादनको नीतिअनुसार स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको बताएका छन् । “एक वर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौँ”, उनले भने, “सहकारी बजार स्थापनापछि सहकारीलाई उत्पादनसँग जोड्ने लक्ष्य छ ।” रासस

सरकारबिरुद्ध अदालत जान लागे बाग्मती सिँचाई आयोजनाका कर्मचारी

काठमाडौं । बाग्मती सिँचाई आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीहरुलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत सहमति तत्काल कार्यान्वयन नगरे सरकारविरुद्ध अदालत जाने चेतावनी दिएको छ । राजधानीमा मंगलबार आयोजिता पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो । समितिका सदस्य तथा आयोजनामा वि.सं. २०४९ सालदेखि हालसम्म कार्यरत कर्मचारी (चौकिदार) शंकर साहले सरकारले आफूहरुसँग २०७५ बैशाख ३१ गते गरेको सहमति अहिलेसम्म कार्यान्वयन नहुँदा यसले दुःखी तुल्याएको सुनाए । साहले भने,‘हामीले जीवनको उर्जावान समय यही आयोजनामा बिताएका छौं । तर, सरकारले हामीलाई अहिलेसम्म राहतको लागि गर्नुपर्ने आवश्यक सहयोगको प्याकेजपनि केही उपलब्ध गराएको छैन । भएको सहमति पनि अहिलेसम्म कार्यान्वयन भएन । अर्थमन्त्रालयले विगत डेढ वर्षदेखि हामीसँग गरेको सहमति थन्काएर राखेको छ ।’ सहमतिको बावजुदपनि आयोजनामा कार्यरत कर्मचारीहरुलाई हटाउने प्रयास भएपनि आफूहरुको एकताको कारणले सरकारको उक्त कुचेष्टा सफल नभएको साहको दाबी छ । सहमति कार्यान्वयन नभएसम्म आफूहरुको संघर्ष जारी रहने उनले स्पष्ट पारे । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सिँचाई विभागअन्तर्गत विभिन्न योजना÷आयोजना÷कार्यालय अन्तर्गत विगत २० औं ३० औं वर्षदेखि अविछिन्न रुपमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी (पारिश्रमिक) मा कार्यरत हामी कर्मचारीलाई सेवा सुविधा सुनिश्चितताको लागि विगतदेखि नै मागपत्र आदि पेश गर्दै र बेलाबखत धर्ना, आन्दोलन हुँदै आएको र तत् तत् बखत अन्तिम महिनाको तलव अनुसार सो सेवा सुविधा वापतको रकम भुक्तानी गराउने, वर्षमान एक पटक महिना बराबरको रकम चाडपर्व खर्च उपलब्ध गराउने, पोशाक लगाउने भक्ता उपलब्ध गराउने र उचित दुर्घटना बीमाको व्यवस्था मिलाउने गरि लिखित रुपमा सम्झौता सहमति गर्ने गरिएको छ ।’ कार्यक्रममा सामाजिक अगुवा विजयकुमार यादवले पनि कर्मचारीहरुसँग सरकारद्वारा गठित वार्ता समितिले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने,‘कर्मचारीहरुले नियमसंगत माग गर्नुभएको छ । अर्थ मन्त्रालयले सहमति कार्यान्वयन गर्नुपर्छ । अहिलेसम्म सहमति किन पेण्डिङमा राखियो ?’ अब पनि सहमति कार्यान्वयन नभए कर्मचारीहरु संघर्षमा होमिने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा नेपाल सरकारले लिनुपर्ने पनि यादवको भनाई छ ।

सुरक्षा निकायको चेतनामूलक प्रशिक्षणले दुर्घटनामा न्युनीकरण

काठमाडौं । ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई गरिएको जरिवानामा समेत कमी हुँदै आएकाले ट्राफिक व्यवस्थापन राम्रो हुँदै आएको यहाँका बासिन्दा बताउँछन् । गत वर्ष सात हजार ६२६ सवारीसाधन कारवाहीमा परेका थिए भने चालू आर्थिक वर्षमा पाँच हजार ६५० सवारीसाधान कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । राष्ट्रिय राजमार्गमा सूचीकृत सडकमा भाडाका सवारी साधन गुडाउनुपूर्व यातायात कार्यालयको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था भएकाले सो नियम उल्लङ्घन गर्ने चालकबाट चालू आवमा रु ४२ लाख आठ हजार ५०० जरिवाना गरिएको ट्राफिक प्रहरी इञ्चार्ज रामशरण कुमालले जानकारी दिएका छन् । रासस

हङकङलाई हराउँदै नेपाल च्याम्पियन,एशिया कपमा प्रवेश

काठमाडौं । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस जितसँगै नेपाल यु –१९ एशिया कपमा समेत एशिया कपमा प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे । बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक /एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । रासस