विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार असार ३० देखि

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र जेबिल्स फाइनान्स लिमिटेडको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टले जेबिल्सलाई एक्वीजिशन गर्ने विशेष प्रस्ताव पारित पारित भएको तथा नेपाल राष्ट बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि पत्र प्राप्त भइसकेको जनाइएको छ ।

देवः र वेष्टर्न बैंक आइतबार बन्द, सोमबारदेखि एकीकृत कारोबार

काठमाडौँ । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार असार २९ गते १ दिन बन्द हुने भएको छ । असार ३० गतेदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गर्न लागेको देवः विकास बैंक लिमिटेडले जनाएको छ । असार १२ गते दुबै कम्पनीको वार्षिक साधारण सभाबाट देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेपलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि स्वीकृत प्राप्त भइसकेको जनाइएको छ ।

सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल

काठमाडाैं । सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पाैड्याल नियुक्त हुने भएका छन् । पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्तावसहित बैंक सञ्चालक समितिकाे बैठक आज बस्दैछ । शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा यसअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका निरज श्रेष्ठले पद अस्वीकार गर्दै लेखेकाे पत्र पेस भएकाे थियाे । निरजकाे नियुक्ती प्रति सञ्चालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द दुगड असन्तुष्टि व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत नियुक्ति जस्ताे महत्वपूर्ण निर्णयमा सर्वसम्मति नभएकाे र यस विषयलाई  विवादकाे विषय बनाई सञ्चार मध्ययमा फैलाएकाे, राष्ट्र बैंकमा उजुरी गरेकाेले यस्ताे अवस्थामा पदभार समाल्दा राम्राे काम गर्न गाह्राे हुने भन्दै निरजले जिम्मेवारी नलिने पत्र लेखेका थिए । स्राेतका अनुसार जनक शर्मा पाैड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भन्नेमा शुक्रबारकाे बैठकमा समझदारी बनेकाे छ । तर शुक्रबारकाे बैठकमा प्रमुख कार्यकारी अधिकृत नियुक्ती सम्बन्धि प्रस्ताव नभएकाेले लिखित निर्णय भएकाे छैन । आइतबारकाे बैठकमा माइन्युट गरिने र निर्णय आइतबार नै सार्वजनिक गर्ने याेजना रहेकाे स्राेतले बतायाे । जनकराजसँग करिब तीन दशक लामाे बैंकिङ अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरू गरेका पाैड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लाेवल आइएमइ बैंककाे प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनले गत माघकाे पहिलाे साता ग्लाेबल आईएमई बैंककाे प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा गरेका थिए । राष्ट्र बैंककाे नियम अनुसार ६ महिनाकाे कुलिङ पिरियड पार भइसकेकाे छ ।

माछापुछ्रे बैंकको १२ लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न पाइने

काठमाडौं । माछापुछ्रे बैंकको प्रतिकित्ता रु १००० अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘१०.२५ प्रतिशत माछापुछ्रे बैंक लिमिटेड डिबेन्चर २०८५’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन गर्न पाउने जनाइएको छ । साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । ९ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १०.२५ प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

पञ्चकन्याको उत्पादन ‘‘डेकिङ्ग सिट’’ बजारमा

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग”सिट नेपाली बजारमा बिक्री वितरण थालेको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायति रहेको उनको भनाई छ । तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटर प्रुफ समेत रहेको यसको प्रमुख विशेषता रहेको कम्पनीको भनाई छ । कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्ने भएकोले भवनलाई भार कम पर्ने कम्पनीको दावी छ । साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध रहेको कम्पनीको भनाई छ ।

गौर डुबान भारतले होइन नेपालले गराएको होः अनिल झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’ उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे । सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’ बाढि, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झापको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । उनले भने,‘म काठमाडौंमा छु, म यहीँ बसेरपनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’

दुई अर्ब ३६ करोडको लागतमा बनेको वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । वीर अस्पताल पछिल्लो दिनमा गर्व गर्न लायक अस्पताल बन्दै गइरहेको उहाँले औँल्याए । अस्पतालमा कार्यरत कर्मचारी कर्तव्यनिष्ठ भएर काममा लाग्न उनले निर्देशन दिए । उनले भने, “म यो अस्पतालमा काम गर्छु भन्दा आफूलाई गर्व लाग्ने गरेर काममा लाग्नुपर्छ ।” चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा देवनारायण साहले नयाँ भवन निर्माण भएपछि जनआकाङ्क्षा बढ्ने हुँदा कर्मचारीले पनि थप काम गर्नुपर्ने बताए । कार्यरत कर्मचारी थप अनुशासित भएर काम गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “कर्मचारीहरु समयमा नै अस्पतालमा आउने र आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ ।” विसं २०७२ को भूकम्पका समयमा अस्पतालको यो भवन क्षतिग्रस्त बनेपछि जाइकाले पुनःनिर्माण शुरु गरेको हो । नवनिर्मित भवनमा कोर्डियोलोजी, ग्यास्ट्रोलोजी र नेफ्रोलोजी विभाग रहने अस्पतालले जनाएको छ । जाइकाले यो अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल एउटै आयोजनामा निर्माण गरेको हो । दुवै अस्पतालको गरेर जम्मा लागत रु दुई अर्ब ३६ करोड रहेको छ ।

टेकुमा पुल बनेरपनि गाडी सञ्चालन भएन, सडक विभाग भन्छ-‘मापदण्ड विपरित भो’

काठमाडौं । काठमाडौँ उपत्यकाको टेकु स्थित पुल निर्माण सकिएर गाडी सञ्चालन भएको केही समयपछि सञ्चालनमा रोक लगाइएको छ । पुलको बीचमा जाली लगाएर गाडी सञ्चालनमा रोक लगाइएको हो । ठेकेदार कम्पनी जेडआइइसी पप्पु जेभीले निर्माण गरेको पुलमा मापदण्ड पूरा नभएको भन्दै दिगो शहरी यातायात आयोजनाले सरकारलाई प्रतिवेदन दिएको थियो । प्रतिवेदनपछि पुलको बीचमा जाली लगाएर गाडी चलाउन बन्द गरिएको छ । जेडआइइसी पप्पु जेभीले सरकारी संयन्त्रसँग सहकार्य नगर्दा अहिले सर्वसाधारण पुल प्रयोग गर्नबाट बञ्चित भएका छन् । पुल निर्माणका क्रममा गम्भीर गल्ती गरेको भन्दै शहरी यातायात आयोजनाले कडा आपत्ति जनाउँदा पनि काम रोक्नुको साटो थप अघि बढाएको भन्दै आयोजनाले हदैसम्मको लापरबाही भएको ठहर छ । इञ्जिनियरले तत्काल काम अघि नबढाउन निर्देशन दिएको भए पनि ठेकेदार कम्पनीले आफ्नो तरिकाले पुल निर्माण गरको सम्पन्न गरेको थियो । सडक विभागका प्रवक्ता शिव सापकोटाले भने– ‘ठेकेदार कम्पनीले इञ्जिनियरको सुझाव नमानी निरन्तर काम अघि बढाएकोले यो सञ्चालनमा रोक लगाइएको हो ।’ मापदण्डभन्दा विपरीत निर्माण भएको पुल सञ्चालमा रोक लगाएको हो–उनले भने । पुल मापदण्ड अनुसार निर्माण सम्पन्न भएपछि मात्रै सञ्चालमा आउने सापकोटाले जानकारी दिए । स्थानीय राज महर्जनले पुल निर्माण पछि केही समय प्रयोगमा आयो, त्यसपछि पुलमा जाली लगाएर अवरोध सिर्जना गरियो । पुल प्रयोगमा आउँदा सडक जाममा कमि भएको थियो ।