विकासन्युज

नेपाल इन्स्योरेन्स कम्पनीले साढे ७ प्रतिशत बोनस दिने, सेयर मूल्य निरन्तर घट्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि ४० लाख २२ हजार नगद लाभांश दिने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ हुनेछ । कम्पनीले बोनस सेयर घोषणा गरेको दिन सेयर मूल्य भने घटेको छ । गत विहीबार प्रतिकित्ता ३५५ रुपैयाँमा कारोबार बन्द भएको यस कम्पनीको सेयर आईतबार ३५३ रुपैयाँमा बन्द भएको छ । दुई वर्षअघि यो कम्पनीको सेयर प्रतिकित्ता १५०० भन्दा माथि गएको थियो । पछिल्लो समय समग्र बीमा बजारको सेयर मूल्य घट्दै गएको छ ।

ओपोद्वारा एफ११ ‘ज्वेलरी ह्वाइट’ रंगमा सार्वजनिक, नेपाली बजारमा रु. ३५,४९० मा पाइने

काठमाडौँ । ओपोले आजबाट एफ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । नेपाली बजारमा कम्पनीले यसको मूल्य ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ११का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने-‘नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।’ फोनमा ४८एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओपोको एफ११ सिरिजले समग्र एफसिरिजलाई नै नयाँ उचाई प्रदान गरेको कम्पनीले दाबी गरेको छ ।

नुवाकोटका श्रेष्ठलाई बम–सरस्वती स्मृति पुरस्कारबाट सम्मान

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित २०६औँ भानुजयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उनलाई रु दश हजार नगदसहित सो पुरस्कारबाट सम्मान गरेको हो । नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ कविता, हाइकु सङ्ग्रह ‘ट्राफिक जाम’ लगायतका कृति प्रकाशित छन् । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा श्रेष्ठ पाँचौं प्रतिभामा परेका छन्। पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार श्रेष्ठले भाषा, साहित्यको क्षेत्रमा थप क्रियाशील हुन पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । नगरप्रमुख पौडेलले कुनै पनि समाज त्यहाँको कला, साहित्य र संस्कृतिबाट नै सभ्य तथा सुसंस्कृत हुने बताउँछन् । उनले साहित्य क्षेत्रको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गरे । विसं २०७२ मा स्थापित पुरस्कारबाट यसअघि पर्वतका साहित्यकार नारायण आचार्य, पाल्पाका पुष्कर ‘अथक’ रेग्मी, चितवनका ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ र बागलुङका प्रकाश समीर पुरस्कृत भइसकेका छन् । भानु जयन्तीका अवसरमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायतका कार्यक्रम गरेको छ । आदिकवि भानुभक्तको व्यक्तित्व र योगदानबारे धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले प्रकाश पारेका थिए । रासस

विजय लघुवित्तले स्वेडालाई एक्वीजिशन गर्ने, चुक्ता पूँजी अब २१ करोड

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वीजिशन गर्ने भएको छ । स्वेडालाई प्राप्ती गर्नको लागि असार २६ गते समझदारीमा हस्ताक्षर भएको विजय लघुवित्तका कम्पनी सचिव नारायण सापकोटाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई जानकारी गराएका छन् । कम्पनी सचिव सापकोटाका अनुसार १९ करोड ४८ लाख चुक्ता पूँजी भएको विजय लघुवित्तको स्वेडालाई प्राप्ती गरेपछि २१ करोड चुक्ता पूँजी पुग्नेछ । विजयको केन्द्रीय कार्यालय नवलपरासीको गैँडाकोट हो भने स्वेडाको केन्द्रीय कार्यालय धादिङको धार्केमा रहेको छ । विजयले ३६ जिल्ला र स्वेडाले ११ जिल्लामा सेवा दिंदै आएको विजयका कम्पनी सचिव सापकोटाले जनाएका छन् ।

त्रिविले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने, रु १६ अर्बकाे अनुमानित खर्च

चितवन । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो । विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा. रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश परीक्षाको सूचना प्रकाशित गरिएको जानकारी दिए । उक्त विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएर बाँकी रहेको ४० बिघा जमिनमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्न लागेको हो । सो स्थानमा रहेको त्रिविको कृषि क्याम्पस हटेपछि इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गरिने छ । सापकोटाका अनुसार रामपुरमा उक्त क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयको कार्यकारी परिषद् र मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि भौतिक संरचना बनिनसकेका कारण समयमै बजेट निकासा नभए यसै शैक्षिकसत्रबाट क्याम्पस सञ्चालन गर्न कठिन हुनेछ । कम्तीमा एउटा कार्यक्रम भए पनि यसै शैक्षिकसत्रबाट सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ । विश्वविद्यालयले रामपुरका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग पहिलो चरणका लागि तत्काल रु १५ करोड माग गरेको र यसै शैक्षिकसत्रको पढाई मङ्सिर १ गतेदेखि गर्ने तयारी गरिरहेको छ । यो समयमा एउटा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले तत्काल सरकारले बजेट उपलब्ध गराएमा सम्भव हुने भन्दै प्रवेश परीक्षाको सूचनामै प्रस्तावित क्याम्पसको नाम राखिएको हो । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको भएको उनले जानकारी दिएका छन् । सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न १९१ प्राध्यापक र १२८ कर्मचारी आवश्यक पर्ने, काठमाडौँको पुल्चोक र पोखरामा रहेका इञ्जिनीयरिङ क्याम्पस जस्तै व्यवस्थित क्याम्पस रामपुरमा पनि निर्माण गर्न लागिएकाले रु १६ अर्ब हाराहारी खर्च लाग्ने विश्वविद्यालयको अनुमान छ । रामपुरमा क्याम्पस सञ्चालनका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउँदै आएको छ । महानगरप्रमुख रेनु दाहालले आवश्यक बजेटका लागि सरकारसँग पहल गर्ने र नपुग केही बजेट आवश्यक भएमा महानगरले पनि सहयोग गर्ने उनले बताइन् । रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनीयरिङ क्याम्पस सञ्चालनका लागि आफू महानगरप्रमुख भएदेखि नै पहल गर्दै आएको जानकारी दिँदै उनले यसै शैक्षिकसत्रबाट कक्षा सञ्चालनका लागि आवश्यक पहल र सहयोग गरिने जानकारी दिएकी हुन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाँ चितवनवासी हुन् । कार्यकाल सकिनै लाग्दा रामपुरमा इञ्जिनीयरिङ क्याम्पस शुरु गर्ने धोको आफूमा रहेको खनियाँले बताउँदै आएका छन्। इञ्जिनीयरिङतर्फ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० निजी क्याम्पस छन् । विश्वविद्यालयले यसै वर्ष केमिकल इञ्जिनीयरिङ विषयसमेत पढाउने तयारी गरेको छ । योसँगै इञ्जिनीयरिङ सङ्कायमा १२ विषयको पढाई हुने भएको छ । विद्यार्थीको पहिलो रोजाइमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जिनीयरिङ क्याम्पस पर्ने गर्दछ । रासस

सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई दियो १ लाख

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवाआश्रम’लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवाआश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई १ लाख हस्तान्तरण गरिएको हो । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषणा गरे ।

मुक्तिनाथ विकास बैंक लि.र ऊँ समाज डेण्टल हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच सेवासम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी भएको उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ऊँ समाज डेण्टल अस्पतालका अध्यक्ष घिमिरेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । उक्त मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम.मार्फत आफ्ना छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । साथै, हालै मात्र यस बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता समेत सञ्चालनमा ल्याएको छ ।

साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ?

काठमाडौं । सेयर बाँडफाँट भएको तीन महिना लाग्दा समेत साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले सेयर सूचीकरणका लागि अहिलेसम्म निवेदन दिएका छैनन् । दुबै कम्पनीले अहिलेसम्म नेपाल स्टक एक्चेन्ज(नेप्से)मा आवेदन नबुझाएको प्रवक्ता मुराहरि पराजुली बताए । ‘सेयर बाँडफाँट भएको यति दिनमा सेयर सूचीकृत गरीसक्नु पर्ने भन्ने कुनै व्यवस्था नभएको जनाउँदै उनले भने- ‘नेप्सेमा आवेदन आएको एक महिनामा भने सूचीकृत गरी सक्नु पर्छ ।’ नयाँ आर्थिक वर्ष नजिकिदै जाँदा धितोपत्र बोर्ड तथा नेप्सेले लगाउने सूचीकरण शुल्क र स्थानीयको सेयर बाँडफाँटका कारण कम्पनीले सेयर सूचीकरण गर्न ढिला गरेको हो । एक महिनाअघि सेयर सूचीकरण हुँदा दुबै संस्थालाई ६०/६० लाख रुपैयाँ व्ययभार हुने भएपछि सो भार कम गर्न उक्त सूचीकरण ढिला भएको हो । अब सेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । नयाँ आर्थिक वर्ष लागेपछि रसुवागढीको सेयर सूचीकरण हुने चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । रसुवागढी सेयर सूचीकरण गर्ने प्रक्रियामा रहेको छ,’ उनले भने- ‘जतिसक्दो छिटो सेयर सूचीकरण हुन्छ ।’ धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त सेयरको सूचीकरणमा ढिलाइ हुन लागेको हो । ‘हाल सर्वसाधारण, संस्थाका कर्मचारी र संस्थापक कम्पनीका कर्मचारी समेत ६-६ लाख सेयरधनीहरु छन् । नेपाल स्टक एक्चेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायतका कम्पनीहरुमा नवीकरण शुल्क बापत प्रतिसेयरधनी वार्षिक करिब १० रुपैंया नवीकरण शुल्क तिर्नुपर्न हुन्छ । त्यसो गर्दा प्रत्येक वर्ष करिब ६० लाख शुल्क तिर्नु पर्ने भयो । अहिले सूचीकरण गर्दा फेरि साउनमा नविकरण शुल्क बुझाउनुपर्छ । यसो हुँदा एक महिनाकै लागि सो मात्रामा शुल्क तिर्नुपर्ने देखियो, नयाँ आर्थिक वर्ष सुरु भएपछि सूचीकरण भए एक वर्षको खर्च बच्ने भयो, त्यसैले ढिला भएको हो ।’ साञ्जेन हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ साउनभरीमा सेयर सूचीकृत भइसक्ने बताए । ‘अहिले हामी सूचीकरणको प्रक्रियामा छौं,’ उनले भने ‘बोर्डले निर्णय गर्दैछ ।’