काठमाडौं । काठमाडौँ उपत्यकाको टेकु स्थित पुल निर्माण सकिएर गाडी सञ्चालन भएको केही समयपछि सञ्चालनमा रोक लगाइएको छ । पुलको बीचमा जाली लगाएर गाडी सञ्चालनमा रोक लगाइएको हो ।
ठेकेदार कम्पनी जेडआइइसी पप्पु जेभीले निर्माण गरेको पुलमा मापदण्ड पूरा नभएको भन्दै दिगो शहरी यातायात आयोजनाले सरकारलाई प्रतिवेदन दिएको थियो । प्रतिवेदनपछि पुलको बीचमा जाली लगाएर गाडी चलाउन बन्द गरिएको छ । जेडआइइसी पप्पु जेभीले सरकारी संयन्त्रसँग सहकार्य नगर्दा अहिले सर्वसाधारण पुल प्रयोग गर्नबाट बञ्चित भएका छन् ।
पुल निर्माणका क्रममा गम्भीर गल्ती गरेको भन्दै शहरी यातायात आयोजनाले कडा आपत्ति जनाउँदा पनि काम रोक्नुको साटो थप अघि बढाएको भन्दै आयोजनाले हदैसम्मको लापरबाही भएको ठहर छ । इञ्जिनियरले तत्काल काम अघि नबढाउन निर्देशन दिएको भए पनि ठेकेदार कम्पनीले आफ्नो तरिकाले पुल निर्माण गरको सम्पन्न गरेको थियो ।
सडक विभागका प्रवक्ता शिव सापकोटाले भने– ‘ठेकेदार कम्पनीले इञ्जिनियरको सुझाव नमानी निरन्तर काम अघि बढाएकोले यो सञ्चालनमा रोक लगाइएको हो ।’ मापदण्डभन्दा विपरीत निर्माण भएको पुल सञ्चालमा रोक लगाएको हो–उनले भने । पुल मापदण्ड अनुसार निर्माण सम्पन्न भएपछि मात्रै सञ्चालमा आउने सापकोटाले जानकारी दिए ।
स्थानीय राज महर्जनले पुल निर्माण पछि केही समय प्रयोगमा आयो, त्यसपछि पुलमा जाली लगाएर अवरोध सिर्जना गरियो । पुल प्रयोगमा आउँदा सडक जाममा कमि भएको थियो ।
