देशैभर वर्षाः दर्जनौँको मृत्यु, ठाउँठाउँमा राजमार्ग अवरुद्ध
काठमाडौँ । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्खाल भत्किँदा तीनको मृत्यु काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ । उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो । त्रिभुवन राजपथको बागझोरा अवरुद्ध यता, गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो । यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । ठाउँ ठाउँमा पहिरोः यात्रामा सास्ती मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पु¥याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ । पहिरोले घर पुर्दा दुईको मृत्यु अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए । पहिरोले घर बगाउँदा तीन बेपत्ता खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । रातो खोलाले वृद्धलाई बगायो महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । वर्षाले सडक अवरुद्ध निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । खोलाले बगाएर बालक बेपत्ता खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । अविरल वर्षाका कारण जनकपुर जलमग्न अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । सिस्नेरी सडक अवरुद्ध हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ । अविरल वर्षाका कारण दुईको मृत्यु केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो । वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन
काठमाडौं । नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालको पूर्वी जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन भएको र पहाडी क्षेत्रमा ५० लाख केजी अर्थोडक्ट चिया उत्पादन भएको छ । पछिल्लो समय पूर्वमा उत्पादित चियाले मूल्य नपाएको र बिक्रीको लागि भारतीय बजार सम्म पुर्याउने गरिएको छ । चिया उत्पादक र श्रमिकबीच विवाद हुने गरेको तथा बोर्ड समक्ष व्यापारीहरुले माग राख्दै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दीपक खनाल बताए । नेपाली बजारमा चियाको तथा कफी क्षेत्रमा सरकारको चाँसो कम रहेको निर्देशक खनालले बताए । आर्थिक वर्ष २०७६÷७७ सरकारले चियामा अक्सन मार्केट लागु गर्ने भनेसँगै यस क्षेत्रमा केहि सुधार हुने र चियाले राम्रो बजार मूल्य प्राप्त गर्नुका साथै व्यापारीमा उत्साह थप्ने माध्यम बन्न सक्ने जानकारी दिए । नेपालमा विशेषगरी सिटीसी, अथोडक्ट, ग्रीन टि, पेसियाल टि चिया उत्पादन हुँदै आएको छ । नेपालमा एक सय १३ वटा चिया उद्योग रहेका छन्, जसमा वार्षिक उत्पादन क्षमता ५२ हजार १ सय मेट्रिक टन छ भने हाल वार्षिक तयारी चिया १८ हजार ९ सय ५८ मेट्रिक टन रहेको छ । चालु आर्थिक वर्षमा करिब साढे तीन अर्बको निर्यात हुने अनुमान बोर्डको रहेको छ । भारतमा निर्यात हुने सिटीसी चिया बिक्रीको समयमा भन्सारमा व्यापारीले धेरै समस्या झेल्नु परेको गुनासो बार्डमा आइरहने र यस्ता समस्याहरुलाई सरकारलाई ध्यान नदिँदा चियाले उपयुक्त मुल्य नपाउने र व्यवसायीहरुमा नैराश्यता थपिने बोर्डले जनाएको छ । यस्तो छ विगत पाँच वर्षदेखि उत्पादित चियाको अवस्था :
४ लाख घुस रकम सहित डिएफओ पक्राउ
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।
जैसा करनी वैसा भरनी !
मुलुक दिन प्रतिदिन प्राविधिक तथा अनुसन्धानको दखल खोज्दैछ । प्राविधिक कल्चर र क्षमताका दृष्टिले नेपालको अवस्था निम्नस्तरको रहेको छ । दिन प्रतिदिन प्राविधिक क्षमता, जनशक्ति, संस्थाहरूको अवस्था खस्किदै गएको छ र यसैकारणले नेपालको आय बढेपनि प्राविधिक क्षमता र सक्षमता तन्नम हुदै जाने देखिन्छ । प्राविधिक, बैज्ञानिक, अनुसंधान, कार्यान्वयन संस्थाहरू बढाउँदै लैजानु पर्नेमा सामान्य प्रशासन, न्याय प्रशासन र अन्य सामाजिक आयोगहरू भरमार थप्दै, सेना–प्रहरीको संख्या बढाउदै गएर मुलुकको आयले नथाम्ने र विज्ञान प्रविधिका क्षेत्रमा लगानी गर्न बजेट नै उपलव्ध हुन नसक्ने भयावह स्थिति सिर्जना हुँदै गएको छ । ढल, फोहरमैला, दिसाजन्य लेदो व्यवस्थापन, बाढी नियन्त्रण, वर्षातको पानी निकास, खानेपानी, आईटी, ईशासन, ई बिजिनेस, सडक र यातायात व्यवस्थापन, प्रदूषण व्यवस्थापन, जलप्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन, यातायात संरचना एवं सडक मर्मत संभार, तहगत प्राविधिक जिम्मेदारी विभाजन, अधिकार र श्रोत परिचालनमा प्रविधिजन्य हस्तक्षेपिकरण जस्ता जटिल कामहरूमा कम्प्लेक्स संस्थागत व्यवस्थाको दरकार पर्छ । तर, यी पक्षमा कसैलाई कुनै मतलब छैन । देश-विदेशमा भएका विज्ञ सफल नेपालीलाई आकर्षित गर्ने र नेपालमा टिकाउन मतलब छैन, प्रदूषण बढाउने पर्यटकलाई बरू नेपालमा स्टे अवधि बढाउनेमा ढ्वाङ फुकिन्छ । मुलुकको प्राविधिक संस्था र क्षमतामा बढाउने तिर कसैलाई मतलब र रूचि देखिन्न, न राजनीति गर्नेमा त्यो क्षमता छ । नेपालमा वर्षाको वार्षिक परिमाण विगत दशौं दशकदेखि उही छ । तर वर्षाको घटना पहिले जस्तो तोकिएको महिनामा सन्तुलित वितरण देखिन्न । उपत्यका र सहरहरू समेतमा वर्षातको पानी बग्ने निकासहरू अधिकॉश भौतिक संरचना र निर्माण र अव्यवस्थित वस्ति विकासका कारण सॉघुरिएका वा अवरूद्ध वा थुनिएका छन्, खोलाहरू मिचिएका र सॉघुरिएका छन् । वर्षे पानी निकास गर्ने ढल पर्याप्त बनाएर वस्ति विकास गरिएकै छैनन् । त्यसैले वर्षेनि वर्षाको बेला डुबान र बाढी आउने गर्छ, आउनै पर्छ। प्रकृतिले विना भेदभाव आफ्नो काम गर्छ, कसैलाई काखापाखा गर्दैन । कुनै अचम्म होईन । हामी आफ्नै राजनीतिक विकासे र सामाजिक चर्तिकलारूपी कर्मको नतिजा भोगेका हौं र भोगिरहने छौं । जैसा करनी वैसा भरनी, भाग्य त्यस्तो हैन पुन्टे कर्म त्यस्तो !
१२४५९ पाए घोडीघोडाको १० कित्ता सेयर, २७३५९६ जनाको हात खाली
काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९० जनाको आवेदन रद्ध भएको थियो भने आइपीओका लागि आवेदन भर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ । आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ
इक्यान मेलाको दोस्रो दिन: मुसलधारे पानीमा पनि उत्साहजनक सहभागिता
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा बिहीबारदेखि सुरु १३ औं इक्यान शैक्षिक मेलामा दोस्रो दिन सकिएको छ । इक्यानका अनुसार दोस्रो दिन मुसलधारे पानीमा पनि विद्यार्थीको सहभागिता उत्साहजनक देखिएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे पानी परेकाले विद्यार्थीको चाप पहिलो दिनको तुलनामा केही कम देखिए पनि सहभागिता भने उत्साहजनक थियो । इक्यानका अनुसार शुक्रबार ५ हजार जनाले मेला अवलोकन गरेका छन् । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ । शुक्रबारको मेलामा विदेशमा उच्च शिक्षा लिएर फर्केका तीन जना यूवाहरुले विद्यार्थीसँग आफ्ना अनुभव समेत साटासाट गरे । कार्यक्रममा उच्च शिक्षाका लागि १३ वर्ष विदेशी भूमिमा बिताएका डा. समीरमणि दीक्षितले उच्च शिक्षाका लागि विदेशी मुलुक जान कुनै आपत्ति नमान्न आग्रह गरे । उनले भने, ‘उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो, तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ ।’ दीक्षितले आफ्नो उदारहण दिँदै भने, ‘विदेशमा पढ्न मात्रै जाने होइन, पढाइसँगै इन्टर्नसिप र काम पनि गर्नुहोस, नेटवर्क बनाउनुहोस, ताकी भविष्यमा नेपाल फर्किसकेपछि त्यसैलाई उपयोग गरी काम गर्न सकियोस ।’ पहिलेको तुलनामा अहिले विदेश गइ पढेर फर्कने विद्यार्थीको संख्या बढीरहेको बताउँदै यो मुलुकका लागि निकै फाइदाजनक भएको बताए । कार्यक्रममा बोल्दै, समाजवादी पार्टीकि नेतृ मानुषी यमी भट्टराईले विद्यार्थीहरु रहरभन्दा बढी बाध्यताले विदेश गइरहेको बताइन् । उनले भनिन, म आफै पनि बाध्यताले जेएनयू पढ्न गएकी हुँ । समयमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरिरहेकी म यहाँ गुणस्तरीय शिक्षा नभएकैल कारणले विदेश गएकी हुँ ।’ भट्टराईले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन पूरा भएपछि फर्काउनका लागि सरकारले समेत वातावरण बनाउनुपर्ने बताइन् । त्यस्तै, कार्यक्रममा बोल्दै बुलबुल चलचित्रका निर्देशक बिनोद पौडेलले आफूले बेलायतमा सिकेको गुणस्तरीय शिक्षा प्राप्त गरेकै भरमा चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेको बताए । बेलायतमा एमबीए सकाएर नेपालमा फर्की चलचित्र निर्माण क्षेत्रमा हात हालेका पौडेल अहिले राजधानीमा कलेज सञ्चालन गरिरहेका छन् । कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले कन्सलटेन्सी क्षेत्रमा शुद्धिकरणका लागि भएका प्रयासमा इक्यानको भूमिका महत्वपूर्ण भएको भन्दै यसका लागि सरकारले पनि साथ दिनुपर्ने बताए । उनले यस क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको भन्दै स्वदेशी व्यवसायीहरुले नै यसका लागि पर्याप्त भएको बताए ।
भक्तपुरको राधेराधेमा कामना सेवाकोे ९३औं शाखा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालिका वडा नं. २६ राधेराधेमा शुक्रबार ९३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुरुवात गरेका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत ग्राहकलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएको छ ।
सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत
काठमाडौं । चालु आर्थिक वर्षको यो अवधिसम्म सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत गरिएको छ । सहुलियतपूर्ण कर्जा दिन स्वीकृत गर्नेमा वाणिज्य बैंक अग्रणी स्थानमा रहेको छ । वाणिज्य बैंकहरूले ३२ अर्ब २३ करोड सहुलियत कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् भने विकास बैंकले दुई अर्ब आठ करोड दिन प्रदान गर्ने भएको छ । सरकारले सो कर्जाको लागि एक अर्ब १५ करोड ७४ लाख ब्याज अनुदान प्रदान गरेको छ । फाइनान्स कम्पनीले नौ करोड ३२ लाख ९० हजार कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ आए यता ७ सय ४९ जनाले अनुदान कर्जा लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३३ अर्ब ९४ करोड कर्जा स्वीकृत भएको छ । १५ हजार ४१२ जना कृषि उद्यमीले कर्जा लिन स्वीकृत गराएका हुन् । त्यसैगरी शिक्षित युवा स्वरोजगार कर्जा ९३ करोड ३५ लाख स्वीकृत भएको छ । १६ जनाले कर्जा स्वीकृत गराएका हुन् । त्यसैगरी विदेशबाट फर्केका युवा परियोजना कर्जा २ करोड ३१ लाख ५० स्वीकृत भएको छ, ३२ जना युवाले कर्जा स्वीकृत गराएका हुन् । यता, महिला उद्यमशीलता कर्जा ३७ करोड २३ लाख ३५ हजार स्वीकृत भएको छ । ५३५ जना महिला उद्यमीले सो कर्जा स्वीकृत गराएका हुन् । दलित समुदाय व्यवसाय कर्जा २ करोड ७२ लाख २० स्वीकृत भएको छ । ५० जनाले यो कर्जा स्वीकृत गराएका हुन् । यसैगरी उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५७ जनाले १ करोड ५८ लाख ६६ हजार र भूकम्प पीडिहरुको निजी आवास निर्माण कर्जातर्फ ७६ जनाले २ करोड १८ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।