विकासन्युज

एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउने छन् ।

देवः विकास बैंकको कार्यक्रममा ७० जनाले गरे रक्तदान

काठमाडौँ । देवः विकास बैंक लि.ले १३ औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोग एवं ब्लड डोनर्स एशोसियशन नेपाल, काठमाडौंको सहकार्यमा कार्यक्रमसम्पन्न भएको हो । यसैगरी सोही अवसरमा बैंकको पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै विद्यार्थीहरु, भक्तजनहरु एवम् स्थानीयहरुको समेत उपस्थितिमा स्थानीय घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई दैनिक आवश्यक खाद्यान्न वितरण गरिएको छ ।

आरएमडीसीद्वारा आमाघरलाई नगद तथा खाद्य सामाग्री सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले बृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सो आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठलाई रबिभवन स्थित आमाघरमै पुगी खाद्य सामाग्री ( चामल, दाल, चिउरा, तेल ) र खाना पकाउने ग्याँसका साथै आमाघरको नाममा रु. ५०हजारको चेक हस्तान्तरण गरेका हुन् । सो हस्तान्तरण कार्यक्रममा आरएमडीसी का नायव प्रमुख कार्यकारी अधिकृत रामदयाल राजबंशी, वरिष्ठ प्रवन्धक पृथबहादुर थापा, अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानुमाया भण्डारी र अन्य कर्मचारीहरुको साथै सो आमाघरका संचालक सदस्य तथा बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा आमाघरकी अध्यक्ष दिलशोभा श्रेष्ठले यस प्रकारको सहयोगले आमाघरलाई ठूलो मद्दत तथा हौसला मिलेकोमा खुसी व्यक्त गरे ।

नामी र इन्फोडेभ्लपर्सबीच विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग गर्ने सम्झौता

काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनधीले नामीका विद्यार्थीाई सूचना प्रविधिसंग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधीको क्षेत्रमा विश्वबजारमा भइरहेका नया नया अविष्कारसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधीको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधीले विश्वास लिएका छन् । शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुइ सस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ट व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभयासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ । साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने वित्तिकै रोजगारीमा जान पनि सघाउनेछ । समझौतापछि दुवै संस्थाले उद्यमसिल बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ । इन्फोडेभलपर्स सुचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो । सूचना प्रविधीसंग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियासिल छ ।

आईएमएस् केयरद्वारा न्यूरोड स्थित सेवा केन्द्र पुनः सञ्चालन

काठमाडौं । आईएमएस् केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्सले  सेवा केन्द्र पुन सञ्चालन गरेको छ । यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्राेनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवओम वन गु्रपका अध्यक्षश्री दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणयरत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्राले उक्त उद्घाटन गरेका हुन् । आधुनिक पूर्वाधार सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ । ग्राहकलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउदै जाने आईएमएस गु्रपका अध्यक्ष दिपक मलहोत्राले बताए । आईएमएस गु्रपको बारेमा आईएमएस ग्रुप विगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको छ । जुनकम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न अग्रसर रहेको छ ।

आजबाट भिसिटिएस प्रणाली लागु

काठमाडौं । ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) आजदेखि लागू भएको छ । राजश्व अनुसन्धान विभागद्वारा अर्थमन्त्री डा. युवराज खतिवडाले आज आयोजित एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गरेका छन् । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो । व्यावसायिक प्रयोजनका मालवस्तु आयात/निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले थोक स्तरमा बिक्री गर्दा यस प्रणालीमा प्रवेश गरेर ढुवानी गर्नुपर्छ । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को व्यवस्थाअनुसार गत असार २३ गते राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि यो प्रणाली लागू गरिएको हो । यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन् । विभागको वेबसाइटमा लग इन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् । भिसिटिएसको शुभारम्भ गर्दै अर्थमन्त्री डा. खतिवडाले भिसिटिएस व्यवसायलाई औपचारिक, वैध र पारदर्शी बनाउने कडी भएको बताए । उनले भने, “भिसिटिएस विधिमा आउने व्यावहारिक कठिनाइ हामी पनि बुझ्छौँ, अपारदर्शी अनौपचारिक व्यवसायबाट हामी पारदर्शी व्यवसायतर्फ रुपान्तरित हुने क्रममा छौँ । यो क्रममा हामी प्रविधिको प्रयोगले व्यवसायीसँग ‘फेसलेस’ विधिबाट ‘इन्टरफेस’ गर्न खोजिरहेका छौँ ।” उनले अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर र अनुहारका प्रतिक्रियाले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा पनि गर्ने अवस्था तथा प्रतिक्रिया पनि उत्पन्न हुने भएको उल्लेख गरे । अर्थमन्त्रीले भिसिटिएसले व्यवसाय तटस्थ हुने र स्वविवेकीय अधिकारलाई स्वतः कम गर्नाका साथै औपचारिक अर्थतन्त्रको निर्माण गर्नेतर्फ थप सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले भने, “भिसिटिएस लागू गर्ने क्रममा क्षमता विकास गर्दै जाने हो, सिक्दै जाने हो, प्रविधिबाट भाग्न पाइँदैन ।” मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको अवस्थामा वैध र अवैध कारोवार गर्नेलाई एकै डालोमा हालेर हेर्न थालियो भने मुलुकमा सुशासन कायम गर्न नसकिने उनको धारणा थियो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्सालले भिसिटिएसको प्रक्रियाका बारेमा बताउँदै यो लागू गर्न सहज भएको र यसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नाका साथै व्यवसायीको पनि समय र लागत बचत हुने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले भिसिटिएस लागू भएपछि सरकारी निकायबाट हुने अनावश्यक झञ्झटहरुको आगामी दिनमा अन्त्य हुने अपेक्षा गर्दै यस प्रणालीका बारेमा स्थानीयस्तरसम्म स्पष्ट जानकारीका लागि सचेतना कार्यक्रम गर्न आवश्यक रहेकामा जोड दिएका छन् । नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिश मोर र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भिसिटिएस लागू भएपछि राजमार्गमा रहेका ढाट हट्नु खुशीको कुरा भए पनि स्थानीयस्तरमा भरिया, ठेलागाडा, ट्र्याक्टरबाट हुने ढुवानीमा कठिनाइ उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराएका थिए । साथै उनीहरुले भिसिटिएस लागू गर्दा केही समय परीक्षणको अवधि तोक्दा सहज हुने सुझाव दिए । विभागका महानिर्देशक दीर्घराज मैनालीले भिसिटिएसको प्रक्रियाका बारेमा अवगत गराउँदै यो सरकार र व्यवसायी दुवैका हितमा रहेको दाबी गरेका छन् । रासस

प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट ८४% बोनस सेयर पारित, चुक्ता पूँजी १ अर्ब ७ करोड पुग्ने

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिको २५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको ५८ करोड ४० लाखको ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । कम्पनीले आव २०७४/०७५ मा कूल बीमा शुल्क १ अर्ब ५५ करोड ९ लाख ४१ हजार आर्जन गरेको र नाफा ९ करोड १३ लाख २ हजार आर्जन गरेको जनाएको छ ।

सेवानिवृत्त कर्मचारीले दोहोरो आर्थिक सुविधा लिन नपाइनेः समिति

काठमाडौं । सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उनीहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख गर्न आवश्यक रहेको बताए । निजामती सेवाबाट निवृत्त भई संवैधानिक पदमा नियुक्त कतिपय व्यक्तिले निवृत्तिभरण पनि लिइरहेको गुनासो व्यापक रहेको हुँदा यस्तो दोहोरो सुविधा लिन नपाउने गरी कानूनमा सुधार गर्नु जरुरी रहेको सांसदको भनाई थियो । नेपाल सरकारका सचिवबाट सेवा निवृत्त भई संवैधानिक निकायमा नियुक्ति पाएको व्यक्तिले नयाँ जिम्मेवारीको पदावधि सकिएपछि पुरानै निवृत्तिभरण पाउने व्यवस्था पनि गलत रहेको भनी त्यसलाई सच्याइनु पर्नेमा केही सांसदले जोड दिएका छन् । समितिका सदस्य राजकिशोर यादवले भने, “ भरणपोषणका नाममा जे सुविधा पनि स्वीकार गर्ने प्रवृत्ति ठीक होइन, यसलाई सच्याउनुपर्छ ।” सांसद जनार्दन शर्माले निजामती सेवामा रहेका पुराना व्यवस्था देखाएर यही गरौँ भन्ने भन्दा पनि परिवर्तनको अनुभूति कसरी देखाउन सकिन्छ भन्नेतर्फ सोच्न आग्रह गरे । सांसद् अन्जना विशङ्खे र प्रेम सुवालले निजामती सेवाबाट अवकाश भइसकेपछि अरु नयाँ जिम्मेवारीमा जान इच्छा गर्नेले पुरानोबाट प्राप्त गर्ने सेवा र सुविधा त्याग्नुपर्छ भनेका हुन् । सांसदद्वय पम्फा भुसाल र दिलेन्द्रप्रसाद बडूले नयाँ प्रवेशिका लागि तालिम र प्रशिक्षणका नाममा राज्यलाई पर्ने व्ययभार र निवृत्तिभरणको बोझ तत्कालका लागि केही घटाउन निजामती सेवामा उमेरको हद ६० वर्ष पुर्याउन सुझाव दिए । समितिका सदस्य रामकुमारी झाँक्रीले घरेलु तथा यौनहिंसा र जातीय छुवाछुतको आरोप लागी सजाय भोगेका व्यक्तिलाई निवृत्तिभरण उपलब्ध गराउन नहुने गरी कानून तर्जुमा गर्न आवश्यक रहेको सुझाव दिएका छन् । त्यस्तै बहालवाला कर्मचारीको तलबमान वृद्धि हुँदा निजामतीबाट सेवानिवृत्तलाई पनि निवृत्तिभरण बढ्ने व्यवस्था न्यायोचित नभएको भनी खारेजी गर्न सुझाव दिएका हुन् । उनीहरुले काम गरेपछि तलब बढ्ने कुरा स्वाभाविक भए पनि कामै नगर्नेको निवृत्तिभरण किन बढाउने भनी प्रश्न गरे । यसैबीच, नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले सेवानिवृत्तले विगतदेखि प्राप्त गर्दै आएको एक महिना बराबरको दशैं खर्चवापतको रकम कटौती गर्ने ढङ्गबाट कानून नबनाउन राज्य व्यवस्था तथा सुशासन समितिसमक्ष आग्रह गरेको छ । सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालमा परम्परागत रुपले सधैँ बहालवाला र निवृत्तकर्मचारीलाई एक महिना बराबरको चाडपर्व खर्च दिँदै आएकोमा कटौती नहोस्, निरन्तरता दिइयोस् ।” केही दिनअघि सेवानिवृत्तलाई चाडपर्व खर्च दिन आवश्यक नरहेको भन्ने कोणबाट समितिमा केही सांसद्ले कुरा उठाएका थिए । रासस