विकासन्युज

मेभोक्स हेलमेट नेपाली बजारमा, मूल्य २६ सयदेखि ५१ सय रुपैयाँसम्म

काठमाडौं । नेपाली बजारमा मेभोक्स हेलमेट औपचारिक रुपमा भित्रिएको छ । मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले रिटेलर मिट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको हो । सो अवसरमा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले कम्पनीले विशेष महत्व दिएकै कारणले भारतपछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको बताए । सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको र ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त भएको बताए । कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले कम्पनीले उत्पादन गरेको हेलमेटको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए । माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौती समेत थपिएको बताउँदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दा नै दुर्घटनाबाट धेरै राइडरको मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने बताए । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र तथा मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको बताए । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सयदेखि ५ हजार १ सय रुपैयाँसम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ । हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको बोनस दर ८७ रुपैयाँ कायम

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक बोनस दर रु.८७ सम्म कायम भएको छ । आव २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको असार २९ गतेको पत्रबाट स्वीकृत भएको भएको हो । स्थापनाकालदेखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत जीवनबीमाको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले बिमितहरुलाई सर्वाधिक बोनस दर रु.८७ घोषणा गरेर बोनस वितरणमा अब्बल प्रमाणित गरेको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले न्यून बीमा शुल्क दरमा नयाँ–नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवम् आधुनिक सेवा प्रदान गरिरहने र भविष्यमा पनि उच्चतम बोनस दर कायम गरी बीमितहरुलाई अझ बढी लाभान्वित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

भीमदत्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५/७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजश्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए । “विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजश्वमा गिरावट आयो”, प्रमुख भन्सार अधिकृत अधिकारीले भने, “तर विगतको भन्दा राजश्व सङ्कलनको दायरा पनि बढ्दै गएको छ ।” अघिल्लो आवमा भन्सार कार्यालयले रु ३२ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । गड्डाचौकी भन्सारबाट पिना (तोरीको) अदुवा, राइस ब्रान र जडीबुटीमा तेजपात तथा रिट्ठा निर्यात हुने गरेको छ । गड्डाचौकीपारि भारतको सिमा क्षेत्रमा प्लाण्ट क्वारेन्टाइन नहुँदा पनि यहाँबाट निकासी कम हुने गरेको अधिकारीले बताए । गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामान, तरकारी, लत्ताकपडा र हार्डवेयर सामानहरु बढी मात्रामा आयात हुने गरेको छ । रासस

एनआईसी एशियाका ग्राहकलाई मेघा हस्पिटलमा ३० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोरजंग राणाले हस्ताक्षर गरेका छन् ।

ईन्स्टाग्रामले हटायो पोस्टमा देखिने लाईकको संख्या, प्रयोगकर्तालाई सहज हुने

काठमाडौं। ईन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुको तस्विरमा देखिने लाईकको संख्यालाई नदेखिने बनाएको छ। यसलाई ईन्स्टग्रामले केही समयको परीक्षणको रुपमा लागु गरेको हो। प्रयोगकर्ताहरुले आफ्नो ईन्स्टाग्राममा पोस्ट गरेको तस्विर तथा भिडियोहरुमा कम लाइक आएको कारण तनाव लिने र कम लाईक आएका पोस्टहरु हटाउने गरेकोले ईन्स्टाग्रामले यो कदम लिएको हो। ईन्स्टाग्रामलाई फेसबुकले संचालन गर्दै आएको छ र फेसबुकको लागि अष्ट्रेलिया र न्यूजील्याण्डका नीति निर्देशक मिया गार्लिक भन्छिन्,’प्रयोगकर्ताको भलाइको र ईन्स्टाग्रामलाई प्रयोगकर्ताहरुको आफुलाई अभिव्यक्त गर्न सुरक्षित ठाउँ महसुस गराउनको लागि यो परिवर्तन लागू गरिएको हो।’ ‘आशा छ यो परिक्षणले मानिसहरुलाई धेरै लाईक नआएको कारण प्रयोगकर्ताहरुलाई प्रेसर दिदैंन र उनिहरु खुलेर आफुलाई मनपर्ने कुराहरु पोस्ट गर्न सक्छन्’, गार्लिकले बताईन्। मानिसहरु आजकाल धेर लाईक प्रती ध्यान दिने गरेका छन्। यसमा पनि युवा पुस्ताहरु यस बिषयलाई लिएर दुखी र खुशी हुने गर्दछन्। यधापी प्रयोगकर्ता आँफैले भने आफ्नो तस्विरको लाइक संख्या भन्ने देख्न पाउनेछन् भने उनको फलोअर्सहरुले भने देख्न पाउने छैनन्। ईन्स्टाग्रामको पोस्टामा आएका लाईकको संख्यालाई मानिसहरुले लोकप्रियताको उपमा दिनेगरेका छन्।

गृहमन्त्री थापाद्वारा साउदी अरब जाने १५६ हजयात्रीलाई बिदाइ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए । उनले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताएका छन् । हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा समेत उनले राखे । हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी थिए । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताएका हुन् । उनका अनुसार यस वर्ष करिब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन् । मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् । रासस

बीमा कम्पनीले पुर्याएनन् पूँजी, बीमा समिति भन्छ-‘एकसाता भित्र कारवाही’

काठमाडौँ । बीमा कम्पनीहरुले बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । समितिले आर्थिक वर्ष २०७५/७६ सम्म चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई एक अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । पूँजी पुर्याउन नसकेपछि मर्जर जानुको विकल्प नभएको पनि बीमा समितिले बताएको छ । बीमा समितिले २०७३ माघ १३ गते पहिलो निर्देशिका जारी गर्दै बीमा कम्पनीहरूलाई चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । त्यसपछि पनि समितिले दुई पटक समय थपिसकेको छ । उक्त निर्देशिकाले २०७५ असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । सो अवधिमा पूँजी नपुर्याएपछि २०७५ पुससम्म म्याद थपेको बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले बताए । यो अवधिमा कम्पनीहरूले निर्देशिकामा उल्लेख गरेअनुसारको पुँजी पुर्याउन नसकेपछि २०७६ असार मसान्त सम्म पुनः म्याद थपिएको थियो । तर, यो अवधिसम्म पनि अधिकांश बीमा कम्पनीहरूले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । एकसाता भित्र कारवाही पूँजी नपुर्याउने बीमा कम्पनीहरूलाई अब भने बीमा समितिले एक साताभित्र कारवाही प्रक्रिया अघि बढाउने भएको छ । समितिका अध्यक्ष चिरञ्जीबि चापागाईँले तोकेको सयममा पूँजी नपुर्याउने कम्पनीहरुलाई कारबाही गर्ने प्रक्रिया एक साताभित्र अघि बढाउने बताए ।‘के कस्तो कारबाही हुन्छ यस विषयमा भने संचालक समितिको बैठकले निर्णय गर्नेछ–उनले भने । चालु आवमा के गर्दै बीमा समिति ? समितिले बीमामा पहुँच बढाउन आगामी आवमा घुम्ती बीमा मार्फत बीमाको व्यापक प्रचार–प्रसार गर्ने कार्यक्रम पनि अघि सारेको छ । ‘घुम्ती बीमा मार्फत बीमा चेतनाको व्यापक प्रचार–प्रसार गर्न जुटने छौं,’ उनले भने । अघिल्ला आर्थिक वर्षमा हुँदै आएका काम–कारबाहीलाई थप समृद्ध बनाई बीमाको पहुँच बढाउने बीमा समितिको योजना छ । विगतमा भए गरेका कमी–कमजोरी सुधार गर्दै प्रविधि मैत्री बनाउने योजना बनाएको छ । यस आवमा समितिले पूर्ण रुपमा एनएफआरएस प्रणाली लागू गर्ने भएको छ । बीमा कम्पनीहरूले हालसम्म दुई वटा वित्तीय विवरण निष्काशन गर्दै आएका छन् । यस आवदेखि सबै बीमा कम्पनीले एउटामात्र ब्यालेन्स सिट बनाउने छन्-अध्यक्ष चापागाईँले बताए । जीवन बीमातर्फ मात्र हुँदै आएको बिमाङ्कीय मूल्याङ्कन अब निर्जीवन बीमा र पूनर्बीमा तर्फपनि हुने लागू हुनेछ । राज्यको पुनर्बीमा नीति समेत यसै आर्थिक बर्षमा बीमा क्षेत्रले प्राप्त गर्ने अध्यक्ष चापागाईँले जानकारी दिए ।

यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५ मा यस फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो । असार मसान्तको प्रारम्भिक रिपोर्ट अनुसार फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करिब ८ प्रतिशत लाभांश दिनसक्छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । फाइनान्सको पुँजीकोष अनुपात करिव २२ प्रतिशत भएकोले सेयरधनीले नगद लाभांश पाउने सम्भावना छ । सम्भावित लाभांश दर कम देखिए पनि फाइनान्सको वित्तीय अवस्था राम्रो छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७०.६६ प्रतिशतले बढेको छ । फाइनान्सले असार मसान्तसम्ममा निक्षेप ६ अर्ब ५५ करोड, कर्जा सापटी ६ अर्ब ८ करोड र लगानी ४७ करोड रुपैयाँ छ । खराव कर्जा अनुपात शुन्य दशमलव ६५ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ । बेसरेट १२.६९ भएकोले यस फाइनान्सबाट कर्जा लिन अझै महँगो पर्ने देखिन्छ ।