विकासन्युज

प्रभु वेलकम र प्रभु स्यालरी खातामा बीमा सुविधा, कति पाइन्छ ?

काठमाडौँ । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिने भएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत रु. ३ लाख र दुर्घटना बीमा बापत रु १० लाख सम्मको जोखिम बैंकले वहन गर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने छन् । अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ ।

प्राविधिक शिक्षालयलाई एनसीसी बैंकको ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । न्यूनतम सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम(युसेप नेपाल)द्वारा सञ्चालित सानोठिमी प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्य समितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई रकम हस्तान्तरण गरिएको हो ।

सिभिल बैंक मर्जरको अन्तिम तयारीमा, हिमालयन बैंकसँग सहमति नजिक

काठमाडौं । सिभिल बैंक लिमिटेड मर्जरको तयारी अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । नयाँ मौद्रिक नीति आएपछि नयाँ व्यवस्थाभित्र रहेर मर्जरको सम्झौता हुने उनले बताए । बैंकले आईएसओ २००९ः२०१५ प्रमाणपत्र पाएको अवसरमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘हामी मर्जरको अन्तिम तयारीमा छौं । मौद्रिक नीतिमा कस्तो व्यवस्था आउँछ भनेर कुरिरहेका छौं । मौद्रिक नीति आएपछि हामी फ्याट्ट क वर्गको बैंकसँग मर्जरको सहमति गर्छौ ।’ क वर्गका बैंकमा पनि विशेषगरी पहिलो पुस्ताको बैंकसँग मर्जरको तयारी भईरहेको उनले बताए । ‘कि मर्ज नै नगर्नु, मर्ज गरिसकेपछि राम्रोसँग मर्ज गर्नुपर्छ भनेर हामी लागेका छौं । हामी भन्दा राम्रो बैंकसँग मर्जमा जान्छौं’ उनले भने-त्यसो त सिभिल बैंक पनि नराम्रो छैन । नराम्रो बैंक भएको भए आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाउने नै थिएन ।’ मर्जरको तयारी भईरहेको बेलामा सिभिल बैंक आईएसओ ९००१ः२०१५ बाट सर्टिफाईड भएकाेले बैंकको नेगोसिएशनको प्वाइट बढेको उनले बताए । स्रोतका अनुसार सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरको विषयमा सहमति नजिकिदै गएको छ । यद्यपि अध्यक्ष तामाङले दोस्रो र तेस्रो पुस्ताका बैंकसँग पनि मर्जरको विषयमा छलफल जारी रहेको बताए । यी २ बैंकका धेरै प्रमाेटर एउटै व्यक्ति तथा संस्था रहेका छन् । दुबै बैंकमा नागरिक लगानी काेषकाे ठूलाे लगानी रहेकाे छ भने सिभिलमा मर्ज भएकाे आइएलएफसी फाइनान्स हिमालयन बैंकका प्रमाेटरले खाेलेका थिए । ‘हामी चाडैनै मर्जरको फाइनल स्टेजमा पुग्दैछौं’ अध्यक्ष तामाङले भने-‘बजार सानो छ । अर्थतन्त्र सानो छ । सानो सानो समाचारले पनि सेयरको मूल्यमा उचार चढाव हुन्छ । त्यसैले मैले अहिले नै फ्याट्ट यहि बैंकसँग हुँदैछ भन्यो भने अर्को समस्या आउँछ ।’ अनौपचारिक रुपमा ६ वटा वाणिज्य बैंकसँग कुरा चलिरहेको, तर मर्जर कमिटि तहमा ३ वटा बैंकसँग बैठकहरु बसिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विकासन्युजसँग भने । तर, उनले मर्जर कमिटि तहमा छलफल भएका बैंकहरुको नाम खुलाउन चाहेनन् ।

गत आवमा ९२ खर्ब २० अर्बको कारोबार गर्यो एनसीएचएलले, आईपीएसबाट मात्रै साढे १५ खर्ब

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस( एनसीएचएल) ले ९२ खर्ब २० अर्ब रुपैयाँको कारोबार गरेको छ । गत आवमा एनसीएचएलले गरेको कारोबार अघिल्लो आवको भन्दा करिब ३१ प्रतिशतले बढी हो । एनसीएचएलले अघिल्लो आवमा जम्मा ७० खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो । गत आवमा गरेको कारोबारमध्ये ७६ खर्ब ६७ अर्ब ३३ करोड विद्युतीय चेक राफसाफ (ईसीसी) प्रणालीबाट हो भने १५ खर्ब ५९ अर्ब १५ करोड अन्तर बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत भएको एनसीएचएलकी प्रमुख संचालन अधिकृत मुन्नीराज राजभण्डारीले जानकारी दिइन् । एनसीएचएलले अघिल्लो आवमा ६३ खर्ब ४१ अर्ब ७३ करोड ईसीसीमार्फत र ७ खर्ब ११ अर्ब ९५ करोड आईपीएसमार्फत कारोबार भएको हो । गत आवमा ईसीसी, आईपीएस र कनेक्ट आईपीएसमार्फत कुल एक करोड ६८ लाख ७३ हजार ६२ करोड भएको छ । क्लियरिङ हाउसले गएको आवमा ईसीसी प्रणालीमार्फत एक करोड १७ लाख ५५ हजार ७२ वटा चेक राफसाफ गरेको छ भने ४९ लाख ३१ हजार ९ सय ४९ कारोबार आईपीएसमार्फत गरेको छ । अघिल्लो आवमा ईसीसी ९६ लाख ८६ हजार २ सय ७७ वटा चेक साटिएका थिए । आईपीएसमार्फत १८ लाख ७९ हजार ६ सय ६३ वटा कारोबार भएको एनसीएचएलले जानकारी दिएको छ । एनसीएचएलले असार ३१ गते मंगलबारमात्रै एक खर्ब एक अर्ब ५६ करोडको कारोबार गरेको छ । कारोबारमध्ये ८५ अर्ब २५ करोड ईसीसीबाट भएको हो भने १६ अर्ब १६ करोड आईपीएसमार्फत भएको हाउसले जानकारी दिएको छ । हाउसले मंगलबार एक दिनमामात्रै एक लाख ६ हजार चेक क्लियरिङ गरेको छ भने आईपीएसमार्फत १४ हजार चार सय ५९ पटक कारोबार भएको छ । औसतमा दैनिक ४०/४५ हजार चेक क्लियरिङ गर्दै आएको एनसीएचएलले आर्थिक वर्षको अन्त्यको पछिल्लो साता र दशैंका बेला बढी प्रेसरमा काम गर्नुपर्ने हुन्छ । अन्य समयमा औसतमा ४० हजार चेक क्लियरिङ गर्ने गरेको नेपाल क्लियरिङ हाउसले आर्थिक वर्षको अन्त्यमा एक लाख ६ हजारभन्दा बढी चेक क्लियरिङ गरेको राजभण्डारीले बताइन् ।

साउन ८ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर, शैक्षिक कर्जा र हवाइ टिकेटमा बिशेष छुट

काठमाडौं। अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर साउन ८ गते हुने भएको छ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा फेयर हुन लागेको हो। फेयर बिहान ८ बजेदेखि सुरु हुनेछ। एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूत रहेका छन्। मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको छ । मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क र दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा के कसरी दिने रु भन्ने बारेमा एनएमबि बैंकका प्रतिनिधिहरुले जानकारी दिने शर्माको भनाई छ । उनले भने, ‘बैंकको प्रक्रियाका बारेमा जानकारी नहुँदा धेरै विद्यार्थी र अभिभावकले दुःख पाउने गरेको देखिन्छ । त्यो नहोस भन्नका लागि एनएमबिले स्टल नै राखेर विद्यार्थीहरुलाई सहज प्रक्रियाका लागि जानकारी दिने, निवेदन लिने जस्ता कुराहरु गर्नेछ ।’ अध्ययनका लागि अष्ट्रेलिया जाने इच्छा भएका विद्यार्थीहरुको लागि पहिलो शर्त भनेको आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा हो । शर्मा भन्छन्, ‘अष्ट्रेलिया जाने मात्रै भनेर भएन्, आईईएलटीएस, पीटीई कसरी पास गर्ने रु के के गर्नुपर्छ त्यसका लागि रु यस्ता कुराहरु बुझ्नु जरुरी छ । त्यो सबै कुरा बुझ्ने उपयुक्त फोरम पनि हो अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर ।’ अल्फाबिटा फेयरमा आईईएलटीएस, पीटीई दुवैका स्टल बस्दैछन् । दुवैबाट प्रतिनिधिहरु आएर विद्यार्थीलाई परामर्श दिनेछन् । पियर्शनको इण्डियाबाट प्रतिनिधि आउने कार्यक्रम छ भने आइडीपी तथा पियर्सन दुईले गिफ्ट भौचरहरु दिईनेछ। भौचर प्राप्त गर्नेले १९ हजार रुपियाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् । मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझन सकिन्छ । मेलामा आउने विद्यार्थीलाई आकर्षणको रुपमा गिफ्ट भौचरहरु पनि प्राप्ति हुनेछ । त्यसबाहेक अष्ट्रेलिया विद्यार्थी गईसकेपछि काम के गर्ने रु भन्ने अन्योलता हटाउन अधिकांश नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको कफि मेकिङ सम्वन्धी क्लासका लागि हिमालयन जाभालाई पनि मेलामा सहभागी गराइने छ । कफि मेकिङ सजिलो पनि काम भएकाले यसमा नेपाली विद्यार्थीको आकर्षण बढि देखिएको भन्दै शर्माले तीन हजार रुपियाँ लाग्ने १५ दिनको उक्त कोर्षका लागि हिमालयन जाभाले एक जना भाग्यशाली विजेता निःशुल्क तालिम पनि दिने जानकारी दिए

हालसम्म बाढीपहिरोमा परी ९० जनाको मृत्यु, २९ अझै बेपत्ता

काठमाडौं । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् । उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा छ–छ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा पाँच–पाँच जनाले ज्यान गुमाएका छन् । ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा तीन–तीन जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा दुई–दुई, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ । बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ । अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ । बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो । रासस

१ वर्षमा सम्पन्न भए ५ सय ४५ आयोजना, ५ लाखले पाए खानेपानी

काठमाडौं, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजनाहरु सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भईसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् । त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजनाहरु सम्पन्न भईसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् । मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्त सम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए । खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये चालु आर्थिक वर्षभित्र १२ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भईसकेको पिआइडीले जनाएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य अन्तर्गत सुरुङ मार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्याङ्कन भईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको गत २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार गरेर प्रतिनिधि सभामा दर्ता गराई पेश गरेको छ । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।

तत्काल प्यान दर्ता र बैंक मार्फत तलब भुक्तानी गर्ने अवस्था छैनः महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंक मार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको जनाएको छ । महासंघले विहीबार विज्ञप्ती प्रकाशित गरी थप समय उपलब्ध गराउन आग्रह गरेको हो । आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सवै कर्मचारी र मजदुरहरुलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागु गर्ने अवस्था नरहेको महासंघले विज्ञप्तीमा उल्लेख गरेको छ । साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरी त्यसको व्यवहारिक अनुभववाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागु गर्न श्रम मन्त्रालय र निजी क्षेत्रका बीच मौखिक सहमति भएको पुष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले आग्रह गरे । आन्तरिक ढुवानीमा गरेको काम तर्फ आव २०७६/७७ देखि लागु गर्न खोजिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) र ढुवानीमा मुल्य अभिबृद्धि कर लगाउने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगका कच्चा पदार्थ र उत्पादनको ढुवानी ओसार र पोसारमा प्रतिकुल प्रभाव पारी त्यसको उत्पादन प्रणालि लाईनै तहस नहस पार्ने हुँदा मुलुककै आपुर्ति व्यवस्था, बैदेशिक निर्यात व्यापार र रोजगारीमा समेत नकारात्मक प्रभाव पर्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । भिसिटिएसका लागि मोबाईल एप र अनलाईन पोष्टिङ्ग गर्ने जनशक्तिलाई सक्षम बनाउन र भरपर्दो ईन्टरनेट सेवा उपलब्ध गराउन समय लाग्ने हुँदा ढुवानीमा मुल्य अभिबृद्धि कर कार्यान्वयनका तयारीका लागि कम्तीमा १(एक) वर्षको समय उपलब्ध गराउन महासंघको आग्रह छ । मैदा, चिनी लगायतका थप विभिन्न खाद्य पदार्थमा लगाईएको मूल्य अभिबृद्धि करले स्वदेशी खाद्य वस्तुको मूल्य बृद्धि हुन गई साधारण जनताको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने हुँदा बाढी पहिरो र प्राकृतिक विपत्तीको यस परिस्थितीमा यसलाई स्थगित गर्न पनि महासंघले आग्रह गरेको छ ।