माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढेर १७० करोड पुग्याे, सेयरधनीले फेरी बोनस सेयर पाउने
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च प्रतिस्पर्धात्मक अवस्थामा पनि बैंकको वित्तीय विवरणमा राम्रो सुधार देखिएकोले सबैभन्दा पहिला विवरण सार्वजनिक गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको सेयर पुँजी ८ अर्ब ५ करोड रुपैयाँ छ । विभिन्न रिजर्भसहित बैंकको कोर क्यापिटल ११ अर्ब २४ करोड रुपैयाँ छ । पुँजी पर्याप्तता अनुपान १२.८८ प्रतिशत देखिएको छ । बैंकले असार मसान्तसम्ममा करिव ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा सापटी ७५ अर्ब २९ करोड र सेयरमा लगानी ११ अर्ब १५ करोड छ । तरलता अभागका वाबजुत बैंकले गत वर्ष १४ अर्ब निक्षेप वृद्धि गरेको छ भने १३ अर्ब कर्जा सापटी वृद्धि गरेको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले ३ अर्बभन्दा बढी लगानी थपेको छ । बैंकको वासलात १ खर्ब १२ अर्ब रुपैयाँको भएको छ । बैंकको महत्वपूर्ण परिसूचकहरुमा राम्रो सुधार देखिएको छ । खराव कर्जा शुन्य दशमलव ३७ प्रतिशतमा झरेको छ । बेस रेट घटेर १०.३७ भएको छ । त्यस्तै स्प्रेड दर ४.२७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार स्प्रेड दर साढे ४ प्रतिशतभन्दा कम हुनु पर्नेछ । कर्जा निक्षेप अनुपत करिव ७७ प्रतिशतमा सीमित रहेको छ । कष्ट अफ फण्ड केही बढेर ७.८८ प्रतिशत पुगेको छ । यस बैंकको सेयर मूल्य प्रतिकित्ता २७१ छ भने मूल्य आम्दानी अनुपात १२.४८ छ । प्रति सेयर नेटवर्थ १३९.५७ रहेको छ । पुँजी पर्याप्तता अनुपात टाइट हुँदै गएकोले चालु आर्थिक वर्षमा विजनेश विस्तार गर्ने बैंकले सेयरधनीलाई बोनस सेयर दिनुपर्ने देखिएको छ । यदि ऋणपत्र जारी गर्ने वा अन्य सहायक पुँजी थप्ने वा मर्जरमा जाने बाटो समात्यो भने बैंकले सेयरधनीलाई नगद लाभांश मात्र दिनसक्छ ।
धमाधम खुल्दैछन् उद्योग, ‘औद्योगिक हब’ बन्दै बाँके
बाँके । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा प्रवेश गर्यो । भैरहवामा छड उद्योग चलाइरहेको अम्बे समूहले त्यहाँको प्लान्टभन्दा ठूलो क्षमताको अम्बे स्टील उद्योग जानकी गाउँपालिकामै स्थापना गर्यो । यस उद्योगको पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने उत्पादनको तयारी भइरहेको छ । रु ३ अर्ब लगानीमा बनेको छड उद्योग पश्चिम नेपालकै सबैभन्दा ठूलो हो । विगत साढे दुई दशकदेखि खानेपानीका ट्याङ्की उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इण्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुरबाट पनि ट्याङ्की उत्पादन थाल्ने भएको छ । कोहलपुर नगरपालिकाको पिपरीमा १४ कट्ठा जमीन लिएर उसले पूर्वाधार निर्माणको काम शुरु गरिसकेको छ । वासुदेवपुरमा पाँच तारे होटल सोल्टी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ भने देशकै सबैभन्दा ठूलो भाटभटेनी सुपरमार्केट सन् २०१९ भित्रै नेपालगञ्जको कारकाँदोमा सञ्चालन हुने तयारीमा छ । अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठूला औद्योगिक समूहको आकर्षण बढेको यी तथ्यले पुष्टि गर्छन् । राज्यको पुनःसंरचनासँगै बाँकेले प्रशासनिक र राजनीतिक शक्ति गुमाएको छ तर, पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा ऊ छ । पूर्वमा मात्र केन्द्रित उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरतापछि देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा बाँकेलाई पनि मिलेको छ । राजनीतिक स्थिरतासँगै बाँकेमा ठूला उद्योग सञ्चालनको सङ्ख्या बढ्दैछ । बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै रहेको पाइन्छ । यो गाउँपालिका नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् । ठूला उद्योग स्थापना हुन थालेपछि बाँके लगानीका लागि अब्बल क्षेत्र हो भन्ने सन्देश देशभर प्रवाह भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनःस्थापना भएको र नयाँ स्थापना हुने क्रम तीव्ररुपमा बढेको उनको बुझाइ छ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । “राजनीतिक स्थिरता र ऊर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ, बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,” उहाँ भन्नुहुन्छ । बाँके जिल्ला लगानीकर्ताका लागि आफैंमा ‘सुनौलो’ ठाउँ भएको श्रेष्ठको भनाइ छ । राजनीतिक अस्थिरता र ऊर्जालगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वार बाँके भएकाले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । “अहिले अवस्था सुध्रिएको छ, एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,” श्रेष्ठले भने– “यो वातावरणलाई सधैं यस्तै बनाइराख्न जरुरी छ ।” नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमीन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकाँश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ । नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा शहर दुर्गन्धित हुने भयले पनि उद्योगीहरुले जानकीलाई रोज्ने गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए । यहाँ उद्योग सञ्चालन गर्दा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान ढुवानीसँगै कारोबारमा सजिलो हुने भएका कारण उद्योगी व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको हो । “शहरभन्दा यहाँ जग्गा सस्तो छ, त्यही भएर पनि यहाँ उद्योगीको आकर्षण छ,” श्रेष्ठले भने । जानकी गाउँपालिका औद्योगिक ‘हब’को रुपमा विकास भइरहेको छ । “अहिले अवस्था सुध्रिएको छ, गनापुर क्षेत्रमा ठूला उद्योग खुल्ने क्रम तीव्र छ,” श्रेष्ठले भने– “अब ठूला लगानीकर्तालाई बाँके नआएर सुखै छैन ।” यहाँ सिमेन्ट, आइरन, खाद्य, ईंटा, जडीबुटी, रोजिन एण्ड टर्पेन्टाइन, औषधिजस्ता ठूला उद्योगहरु सञ्चालनमा छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै ३० वटा उद्योग मात्र सञ्चालनमा रहेका बेला जानकी गाउँपालिकाको गनापुरमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरु सञ्चालनमा छन् । वडा ६ कार्यालय गनापुरका अनुसार ६३ उद्योगमध्ये ६ वटा उद्योग बन्द छन् । पाँच उद्योग सञ्चालनको क्रममा छन् । यहाँ जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीको शोरुम पनि जानकी गाउँपालिकामै छन् । धान र मसुरो प्रशोधन तथा बीउविजन उत्पादन केन्द्र, ठूला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ । “जानकी गाउँपालिका औद्यागिक क्षेत्रको ‘हब’को रुपमा विकास भएको छ,” गाउँपालिका अध्यक्ष रामनिवास यादवले भन्नुभयो । त्यसमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिका–६, गनापुरमा मात्र ६३ वटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्र बनाउने सरकारको कुनै योजना नभए पनि यहाँ स्वतःस्फूर्त रुपमा लगानीकर्ताले उद्योग स्थापना गरिरहेको वडाध्यक्ष सुरेश यादवले बताए । उनले उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको सङ्ख्या धेरै भएको जानकारी दिए । “ठूल्ठूला उद्योगको आर्कषण छ, अझै उद्योगहरु थपिइरहेका छन्, सञ्चालनका लागि मापदण्ड पु¥याएर आएपछि अनुमति दिनैपर्यो,” वडाध्यक्ष यादवले भने । पश्चिम नेपालमा एउटै वडामा यति धेरै सङ्ख्यामा उद्योग सञ्चालन भएको सम्भवतः यो एउटै मात्र वडा हो । आर्थिक वर्ष २०७४÷७५ मा बाँकेमा उद्योग सञ्चालनका लागि जयअम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका छन् । अनुमति पाएका अधिकाँश उद्योग सञ्चालनमा छन् । बाँकेमा स्टील उद्योगको आकर्षण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जयअम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु ४ अर्ब १५ करोड चुक्ता पुँजीसहित उद्योग सञ्चालनको तयारी गरिरहेको छ । पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै, सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २४ करोड चुक्ता पुँजीसहित उद्योग स्थापना गरेको छ । उद्योग विभागको दर्ता अनुसार नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवनपछिको यहाँको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु २४ करोड लगानी गरी उद्योग सञ्चालनमा ल्याइसकेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दैआएको छ । बाँकेमा रु २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत वर्षा रिसाइक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ भने विकास फ्लोर मिलले रु २ करोड ४५ लाख लगानी गरेको छ । भिभो मोबाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु ३० लाख लगानी गर्ने उद्देश्यसहित गत आर्थिक वर्षमा उद्योग विभागबाट दर्ता प्रमाणपत्र लिएको छ । विभागका अनुसार आव २०७३÷७४ भन्दा आव २०७४÷७५ मा बाँकेमा ठूला उद्योग स्थापनासँगै लगानीमा पनि तीव्र विस्तार भएको छ । आव २०७३/७४ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमार्फत रु ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । सङ्घीयतापछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ती दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने वस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नैपर्ने बाध्यता छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्र रुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । ठूलो परिमाणमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग सञ्चालनका लागि रोजेको शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथ्राले बताउनुभयो । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिँदैछ । पूर्वमा उत्पादित सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानीमा धेरै खर्च पर्छ । यहीँ उद्योग खोलेर उत्पादन गर्दा दीर्घकालीन रुपमा फाइदा हुने भएपछि उद्योगीहरु बाँकेमा उद्योग स्थापना गर्न तम्सिएको उनको बुझाइ छ । उनले भने– “बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहज रुपमा जग्गा प्राप्त गर्न सकिने हो,” उनले भने– “अन्य ठाउँभन्दा सहज रुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।” भारतसँग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकाले पनि बाँकेलाई उद्योगीले रोज्न थालेका हुन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल सञ्चालनमा आए त्यसले आयात–निर्यातमा समेत फाइदा पुग्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राख्दै सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।
बिहानै कालीमाटी र बल्खुमा अनुगमन, ‘तरकारीको मूल्य अनियन्त्रित’
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए । गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ । बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन । अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरीद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए । “बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरीद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहन्छन्”, उनले भने, “ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको छ, खरीद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही हुनेछ ।” खरिद गरिएको बिलबिजक, भरपाई तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उनको भनाइ छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ । बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारवाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ । विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्तको हकप्रद सेयर निष्काशन साउन २१ देखि
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्काशन साउन २१ गतेदेखि हुने भएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित दरको ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कशन गर्न लागिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ । साउन २१ गतेदेखि भदौ २३ गतेसम्म हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।
वाणिज्य विभागका महानिर्देशक गौचनले व्यवसायीहरुलाई भने-‘सही काम गर्नुस् डराउनु पर्दैैन’
काठमाडौँ । वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आयोजना गरेको वाणिज्य सम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेको बताए । विश्व व्यापार संगठनको सिद्धान्त अनुसार मुलुकको बाध्यताले अधिकतम भन्सार दर लगाइएको कुरा व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐन अनुसार लेवल लगाईएका वस्तु बिक्रि गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग भई कार्य गर्नुपर्नेमा जोड दिए । बजार अुनगमन निरन्तर प्रक्रिया रहेको भईरहेको जानकारी गराउँदै खरीद बिल जारी गर्दा र बिक्रि विल जारी गर्ने समेत अनिवार्य भएकोले सो नभएमा जरिवाना गर्ने कानूनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागेकोमा विश्वस्त हुन व्यवसायीलाई बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो कमजोरी छ पहिल्याएर त्यसमा नै पुर्नविचार गरी नयाँ ढंगले सोच्नुपर्ने कुरा औल्याए । सो कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने बताए ।
५० हजार घुस सहित इञ्जिनियर पक्राउ, रकम लिँदालिँदै अख्तियारको एक्सन
सर्लाही । घुस रकमसहित एक इञ्जिनियर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव बिहीबार मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
बाढी पहिरोले १ अर्बको अन्नबाली नष्ट
वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ । यस्तै २७१ हेक्टरमा लगाइएको धानको बेर्ना, १०७ हेक्टरमा लागाइएको तरकारीबाली, २३१ हेक्टरमा लगाइएको अन्नबाली तथा ४६ हेक्टरमा लगाइएको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । बाढीका कारण २६७ हेक्टरमा रोपाइँ गरेको धानबाली, धानको बेर्ना र सञ्चित गरिएको मकैसमेत नष्ट भएको छ । बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ । यस्तै बाढीबाट बारामा रु ५० करोडभन्दा बढीको अन्नबाली र तरकारीबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बाढीबाट आठ हजार हेक्टरमा लगाइएको चैतेधान, १५ हजार हेक्टरमा लगाइएको वर्षेधान, दुई हजार हेक्टरमा लगाइएको मकैबाली तथा दुई हजार ५०० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ । रासस
अनेरास्ववियुमा विवाद, माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार
काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा चरम विवादमा फसेको छ । विवादका कारण बिहिबार आयोजित पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधर नेताहरुले बहिस्कार गरेका हुन् । संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् । प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेतले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो । एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो । एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।