वार्षिक ८ करोडको पोते आयात, साउन महिनामा हरियो रङको माग
काठमाडौँ । नेपाली महिलाहरुले गहनाको रुपमा लिने पोते नेपालमा वार्षिक ८ करोडको हाराहारीमा भित्रने गरेको छ । देशभर बिक्री हुने पोतेको निर्यात काठमाडौँको इन्द्रचोकबाट हुने गरेको हो । इन्द्रचोकमा रहेको फिरोज स्टोर विदेशबाट पोते आयात गर्ने एक मात्र कम्पनी हो । जसले विभिन्न डिलर मार्फत देशभर पोते पठाउने गरेको छ । जापान, चेकस्लोभाकिया र चीनबाट नेपालमा पोतेको आयत हुने गर्छ । जापानको पोते अन्य देशको तुलानामा महंगो र राम्रो मानिन्छ । यस्तै चेकस्लोभाकियाबाट आयत हुने पोते मध्यस्तरको हुने र चीनबाट आयत हुने सामान्य खालको हुने गरेको व्यवसायीहरु बताउँछन् । केही समय अघि भारतबाट पनि नेपालमा पोते आयत हुन्थ्यो । तर त्यहाँबाट आउने पोतेको गुणस्तर राम्रो नभएकाले अहिले आउँदैन–ईन्द्रचोकमा १० बर्ष देखी पोतेको व्यवसाय गर्दै आएका आयुप हुसनले बताए । इन्द्रचोकमा पोतेको ठूलो बजार काठमाडौँको मुटुको रुपमा चिनिने इन्द्रचोकमा पोतेको ठूलो बजार छ । नयाँ नयाँ डिजाइनका पोते छानीछानी किन्नका लागि धेरै महिनाहरु इन्द्रचोक पुग्ने गर्छन् । हिन्दु र बौद्ध धर्माबलम्बीहरुले पोतेलाई गहनाका रुपमा लिन्छन्, तर इन्द्रचोकमा पोतेको ब्यापार गर्नेहरुमा चाँही मुस्लिम समुदायको बाहुल्यता देखिन्छ । कुन सिजनमा कारोबार बढी ? पोतेको कारोबार हरितालिका तीज, साउन र विवाहका लगन भएको महिनामा बढी हुने गरेको छ । इन्द्रचोकमा लामो समय पोतेको ब्यवसाय गर्दै आएका हुसन भन्छन्–‘तीजको समयमा एकै दिनमा १ लाखसम्मको ब्यापार हुन्छ ।’ अरु बेला सामान्य ब्यापार हुन्छ, तीजको ब्यापारले वर्षभरी कभर गर्छ–उनले भने । तीज र लगनको समयमा सबै रङका पोतेहरु बिक्री हुन्छ भने साउन महिनामा हरियो र पहेलो रङका पोते बिक्री हुने उनले बताए । साउन महिना शुरु भएको छ, तीज पर्व पनि नजिकिँदै छ । तर, विगतका वर्षमा पोते किन्न आउनेको भीड हुन्थ्यो, तर यो वर्ष अहिलेसम्म ग्राहकको चाप खासै नरहेको हुसन बताउँछन् । पोतेः आयात विदेशबाट, डिजाइन नेपालमै पोते नेपालमा बन्दैन, विदेशबाट आयात हुने पोतेलाई डिजाइन बनाउने, रंगहरु सम्मिश्रण गर्ने, धागोमा उन्ने कामहरु भने नेपालमै गरिन्छ । दिनहुँ लगाईने पोतेको मूल्य१० रुपैयाँदेखी डेढ सयको हाराहारीमा पर्छ । सुन जस्ता बहुमुल्य सामानमा प्रयोग गर्ने पोतेहरुको मुल्य ३०० सय देखि ७ हजारसम्म पर्छ । सस्तोको नभएपनि महङ्गा पोतेको भने ग्यारेन्टी पनि हुने व्यवसायीहरु बताउँछन् । नेपाली समाजमा के छ पोतेको महत्व ? पोतेको नेपाली समाजमा आफ्नै महत्व छ । विवाहको दिन युवतीले पोते पहिरिएपछी नछुट्टाई लगाउनु पर्छ भन्ने मान्यता छ । महिलाहरुले पोते लगाउँदा श्रीमान्को आयु लामो हुन्छ भन्ने विश्वास । हिन्दु महिनाहरुले विवाहपछि घाँटीमा पोते लगाउँछन् । अन्य कपडा र श्रृंगारमा सामाग्रीमा समेत पोतेको प्रयोग गर्ने क्रम बढेको छ ।
जीप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते
बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क१ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ भने अन्य घाइते हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारासहित रहेका छन् । तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ । घाइते बाँकी चार जनाको नाम खुल्न सकेको छैन । लगातारको पानीले सडक चिप्लो र उकालो भएकाले उकालोमा चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १३ जना सवार रहेको प्रहरीले बताएको छ । रासस
चियाकाे राजधानी इलाममा कफीको व्यावसायिक खेती
काठमाडौं । पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ । सर्वेक्षणका अनुसार प्रदेश नं १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिएका छन् । विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ । “व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क लिइएको छैन”, उनले भने, “तथ्याङ्क सङ्कलनको काम विसं २०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।” प्रदेश नं १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिक रूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश नं १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् । पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, सङ्खुवासभामा नौ हेक्टर, ओखलढुङ्गामा एक हेक्टर, धनकुटामा छ हेक्टरमा कफी खेती हुने गरेको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ । रासस
लोक सेवाको परीक्षामा मोबाइल र झोला लैजान निषेध
काठमाडौँ । लोक सेवा आयोगबाट लिइने परीक्षामा परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । लोक सेवा आयोगले सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । आयोगको सूचनामा त्यस्ता सामाग्रहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने जनाएको छ । लोक सेवाले स्थानीय तहका लागि खुलाएको विज्ञापन अन्तरगत शुक्रबार अधिकृत स्तरको र शनिबार एकै दिन सुब्बा र खरिदार पदको लागि पहिलो चरणको लिखित परीक्षा हुँदैछ । लोकसेवाको विज्ञापन रद्द गर्न सर्वोच्चले अन्तरिम आदेश दिएन लोकसेवाले नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो, माग १४ हजार, विज्ञापन ९ हजारको मात्रै
भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या
काठमाडौं। कर्माचारी भर्नामा अनमियतता गरेको आरोपमा भ्रस्टचार मुद्दा खेपिरहेका उपकुलपति (भिसी) कार्यलयका पुर्व कर्माचारी रामबहादुर पाण्डेको ६ तला माथिबाट हामफालेर मृत्यु भएको छ। उनले आत्माहत्या गरेको प्रहरी आशंका गरेको छ। बिहीबार दिउँसो २ बजे त्रिपुरेश्वोरको राधा भवन पेरिसरमा उनी मृत अवस्थामा फेला परेका हुन्। उनी भवनको छैठौं तलाबाट खसेका थिए। भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए । लमजुङका पाण्डे त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कापीहरु काट्ने काम गर्थिए। आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
हार्टअट्याक हुन लागेको कसरी थाहा पाउने ? एक्लै हुँदा बच्ने उपाय यस्तो छ
काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनैपनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ । त्यसैले यसबारेमा सबैले जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भए अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था हुँदैन । डाक्टर नआउनजेल सम्म के गर्ने ? यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने त्यस बखत तपाईसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ । तर, धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्नुभन्दा पहिले लामो श्वास लिनुहोस् र लामो समयसम्म खोक्नुहोस् । आफ्नो फोक्सोमा जमेको थुक, खकार बाहिर फाल्न लागे जसरी खोक्नुहोस् । प्रत्येक २ सेकेण्डमा नबिराई श्वास लिनुहोस् । यो प्रक्रिया डाक्टर नआएसम्म वा मुटुको धड्कन नर्मल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईँको मुटु र रक्त सञ्चारको गतिमा नियमितता ल्याउन मद्दत पुर्याउँछ । डाक्टर नआउञ्जेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो, जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भएसम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरुसम्म पुर्याउदा धेरैको ज्यान जोगाउन सकिन्छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद भ्रष्टाचार आरोपमा पक्राउ
लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन)का नेता हुन् भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो । “अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ” एक वरिष्ठ सरकारी अधिकारीले भने । नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तारसम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् । अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थियो । अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो । भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् । रासस÷एएफपी
रेडक्रसले बाढी, पहिरो पिडितकाे प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र गर्दै
काठमाडौं । मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ । यो तथ्याँक वढी प्रभावित देशका ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित हो । बुधवारसम्म नेपाल रेडक्रस सोसाइटी (नेरेसो)मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको छ । यसका अलावा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताए । द्रुत सवेक्षणको प्रतिवेदन तयार हुने ः नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताए। निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने जनाए । यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ हिजै पुग्नुभएको छ । सर्लाही पुग्नु भएका विशेषज्ञ सन्तोष न्यौपानेले टेलिफोनमा भने, “म चक्रघट्टामा खोलाको किनारमा बस्तीरहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा बसेको देख्दा भावुक भएँ ।” स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् । सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याँक आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई आजै अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताए । स्वास्थ्य समस्या वढ्न नदिन सहयोग : डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । पौडेलले भने, “सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् । पानी सुद्धिकरणको लागि एकलाखवटा ट्यावलेट र सरसफाई प्रवर्धन को लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको छ । आपतकालीन तटबन्धको लागि सहयोग : अविरल बर्षा सुरु भएसँगै सुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् । सहयोगका लागि हटलाईन ११३०ः महोत्तरीको बालुवाबाट जिवझ साहले सहयोगको लागि निशुल्क टेलिफोन हटलाइन ११३० मा जानकारी दिने वित्तिकै महोत्तरीको प्रतिकार्य समूहलाई यसबारे थाह दिइएको थियो । त्यहाँबाट साहले वडा नं ६ मा १०० घर डुवेका, औषधि पसलपनि बन्द भएको र खानेकुरा नपाएकोले सहयोगको लागि डायल गरेका थिए। झापा, उदयपुर, रौतहटबाट पनि यस्ता थुप्रै सूचनाहरु आइरहेका छन् जसले अवस्थाबारे बुझ्न र सम्बन्धित निकायमा सम्पर्क गर्न सहज बनाएका छन् ।