सिटिजन लाइफको प्रथम बीमा शुल्क १०० करोड नाघ्यो, ७५ करोडको आईपीओ आउने
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमा शुल्क रु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दीपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद दिए । साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गरे । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम् समुन्नतीसंगै कर्मचारीको वृत्ति विकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दाअझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताए । यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सहयोग पुर्याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ताहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु एवम् यो उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले रु. ७५ करोडको सेयर सर्वसाधारणलाई जारी गर्ने बताए । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साउनकाे आगमनसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र
विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरिद गर्न भ्याइनभ्याइ भएको छ । हिन्दू महिलाले साउन महिनालाई विशेष महिनाका रुपमा लिने गरेको पाइन्छ । त्यसैले, उक्त महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने परम्परा रहेको महिलाहरुको भनाइ छ । विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ । साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेकाले बजारमा यी सामानहरुको खरिद–बिक्री पनि बढेको पाइएको छ ।
पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै गर्न माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ । पूँजीगत लाभकरको निर्धारण सिडिएससी बाटै गर्न नेपाल इन्भेष्टर्भ फोरमले माग गरेको छ । फोरमका अध्यक्ष छोटेलाल रौनियारले विज्ञप्ती प्रकाशित गरी सिडिएससी र ब्रोकरले पूँजीगत लाभकरका विषयमा झण्झटिलो र अव्यवहारिक नियम ल्याएको उल्लेख गरेका छन् । तत्काल पूँजीगत लाभकरको निर्धारण सिडिएससीबाटै नगरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
दश वर्षदेखिको अलपत्र माडीपुल एघार महिनामै सम्पन्न
रोल्पा । शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ । पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महिनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा पाएको थियो । अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महिनामा सम्पन्न भएको हो । रू तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिएका छन् । “सम्झौता अनुसारको मेरो जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु”, ‘प्रोपाइटर’ घर्तीले भने । सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिने छ । ०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुआती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयवासीले आरोप लगाएका थिए । निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक सङ्घसंस्थाको टोली सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए । दुई वटा पिलर ठड्याएर रू एक करोडभन्दा बढी रकम भुक्तानी पनि निर्माण व्यवसायी दशौदीले निर्माणका क्रममा आफ्नो निर्माण सामग्री हराएको भन्दै क्षतिपूर्तीको माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियोे । स्थानीय राजनैतिक दल र नागरिक समाजको दबाबका कारण दोस्रो गरिएको बोलपत्र पछि उक्त पुल निर्माण भएको हो । वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या हुँदै आएकामा पुल निर्माणसँगै सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताएका छन् । पुल निर्माण स्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमासमेत निकै चुनौती व्यहोर्दै आएका थियौँ अब सो समस्या समाधान हुने भयो व्यवसायी थापाले भने । रासस
अशोक लेलैण्ड र कामना सेवाबीच सम्झौता, ग्राहकले ७५ प्रतिशतसम्म कर्जा पाउने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले कामना सेवा विकास बैंक लिमिटेडमा सहज रुपमा ७५प्रतिशतसम्मको कर्जा सुविधा पाउने भएका छन् । यग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुपमा ब्राण्ड अवार्नेसका लागि विभिन्न कार्यक्रमहरुमा सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।
डाेल्पामा बढ्याे हवाई यात्रुको चाप, कारण के हाे ?
जाजरकोट । डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन ।जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताए । जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी कटान सकिए पनि सडकको स्तरोन्नति र पुल निर्माण नभएकाले हवाईमाध्यमबाट यात्रा गर्नेको सङ्ख्य दैनिक बढिरहेको छ । औषधि, अन्य सामग्रीसमेत जहाजमार्फत नै ढुवानी हुँदै आएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रतिनिधि बालकृष्ण डाँगीले बताउँछन् । मौसम राम्रो हुनेबित्तिकै दैनिक तीन वटाभन्दा बढी उडान भर्ने गरेको नेपाल वायु सेवा निगमका जुफाल स्टेशन इञ्चार्ज सुमन विसीले बताएका छन् । उनले भने, “बिरामी, औषधि र आवश्यक काम सबै हवाईमाध्यमबाट हुने गरेको छ ।” सडक सञ्जालमा पुल निर्माण नभएका कारण सास्ती भोग्ने र दुःख पाउने भएपछि डोल्पा जाने र आउने यात्रु हवार्ईमार्गमार्फत यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोेलामा पानीको मात्रा बढेका कारण ठाउँ, ठाउँमा यातायातका साधन फेर्नुपर्ने बाध्यताले गर्दा थप समस्या भएको डोल्पा ठूलीभेरी नगरपालिका– ६ का लक्ष्मीचन्द्र कार्कीले बताएका हुन् । जाजरकोट–डोल्पा सडकखण्डमा एक दर्जन पुल निर्माण गर्न बाँकी छ । डोल्पा आउने अधिकांश पर्यटक हवाईमार्गमार्फत नै आउने गरेका छन् । त्रिपुरासुन्दरी दर्शनदेखि उपल्लो डोल्पा, शे–फोक्सुण्डोमा जाने पर्यटक सबै हवाईमार्गमार्फत आउने गर्दछन् । जुफाल विमानस्थल स्तरोन्नतिको काम सम्पन्न भए पनि अहिले यात्रा थप सजिलो भएको छ । जुफाल विमानस्थलमा एक्स–रे मेसिन नहुँदा सुरक्षा जाँचमा समस्या भएको विमानस्थलका सुरक्षा प्रमुख कमल शाहले बताए । हातले छामेर, हेरेर दैनिक हवाईमार्गमार्फत पठाउने सामग्रीको जाँच हुँदै आएको छ । यसले सुरक्षा चुनौती भएको उनको भनाइ छ । डोल्पाबाट नेपालगञ्जका लागि रु पाँच हजार ११० हवाई भाडा लाग्ने गर्दछ । यातायातका साधनमा यात्रा गर्दा नेपालगञ्जबाट डोल्पा आउन रु पाँच हजारभन्दा बढी लाग्ने गरेको प्रचण्डविक्रम शाही बताउँछन् । दश ठाउँभन्दा बढी स्थानमा यातायातका साधन बदल्नुपर्ने बाध्यता भएको शाहीले उल्लेख गरे । जुफालबाट दुनै जानका लागि रुपगाड खोलाको पुल नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् । जहाजको टिकट पाउनका लागि पनि ठूलै युद्ध जिते झैँ हुने गरेको उनले बताए । सरकारले यो आर्थिक वर्षमा यो सडक खण्डको स्तरोन्नति र पुल निर्माणका लागि विशेष पहल गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनाए । पहिलो चरणमा ट्र्याक खोल्ने काम पूरा भएको छ, अब स्तरोन्नति र पुल निर्माणमा ध्यान केन्द्रित हुने उनले भने । आज नै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले सडक अनुगमन गरेका छन् । उता सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले सडकको काम जारी रहेको बताए । रासस
दुहुना भैंसी पाल्ने किसानले पाए रु एक लाख अनुदान
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरेकी हुन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताए । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक लाखका दरले अनुदान हस्तान्तरण गरेको हो । गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही रु २५ हजार, व्याड बोकाका लागि २० लाई जनही रु ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही रु २५ हजारको चेक हस्तान्तरण गरिएको थियो । गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका हुन् । साथै, अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित हुन थप उर्जा मिलेकाे छ । रासस
विद्यार्थी समूहद्वारा वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड
चितवन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । यसै क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिएका हुन् । रासस