विकासन्युज

म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा शाखा बिस्तार गरेको छ । साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । योसँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ । बेनीशाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतकोउपस्थिति रहेको थियो । यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

वीर अस्पतालमा प्रभु बैंकको २४ घण्टे क्यास काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालका उपकुलपति प्राडा देवनारायण साहले एक समारोहका बीच उक्त काउण्टरको उद्घाटन गरेका हुन् । बीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंक लिमिटेडको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा बीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

यातायात व्यवसायीको लगानी डुब्न दिदैनौँः मन्त्री महासेठ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीहरुको लगानी डुब्न नदिने बताए । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘यातायात क्षेत्रलाई सरकारको सधैँ साथ सहयोग रहन्छ ।’ उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले आफूहरु रुपान्तरित भएर कम्पनीमा आइसकेको बताए । अध्यक्ष कर्माचार्यले सरकारबाट थप सहयोगको अपेक्षा गरेको र सबै यातायात व्यवसायीहरु कम्पनीमा जाने समेत वताए । त्यसैगरी सिप्रदी सिईओ राजनबाबु श्रेष्ठले नेपालको बाटो र भौगोलिक क्षेत्रलाई हेरेर मात्र आफ्नो कम्पनीले गाडी भित्र्याएको बताए । लोत्से सहकारी संस्थाका अध्यक्ष दीपक कुवँरले सरकारले बसपार्कलाई व्यवस्थित र सहज बनाउनु पर्नेमा जोड दिएका थिए ।

यातायात व्यवसायी भन्छन्-भिसिटिएसबारे राज्य नै पूर्ण जानकार छैन, हामीले ट्रक कसरी चलाउने ?

काठमाडौं । यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको बताए । उनले भने-‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक त थियो नै, भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)बारे राज्य नै पूर्ण जानकार नहुँदा हामी व्यवसायी कसरी अभ्यासमा ल्याउन सक्छौँ ?’ पराजुलीले यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा राज्य ७० हजार ट्रक व्यवसायीसँग कर मात्र असुल्ने, मजदुरलाई हिरासतमा राख्ने र व्यवसायीलाई जरिवाना गराउने काममा मात्र सक्रिय भएकाले तत्काल ट्रक सडकमा गुडाउन नसक्ने बताए । उनले भने, ‘यातायात क्षेत्रका समस्या समाधान गर्नु पर्नेमा यातायात मन्त्रीज्यूले नै हामीसँग भेटसमेत दिनु भएन ।’ कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ हेटौँडाका महासचिव सरोजकुमार खनालले राजमार्गमा यातायात मजदुर असुरक्षित भएको र राज्यले यातायात व्यवसायमा भइरहेको लगानीलाई नै हतोत्साही पारिरहेकाले यथास्थितिमा सडकमा ट्रक ल्याउन नसकिने बताए ।

तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण, कुन ठाउँमा कति ?

दमौली । तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् । “विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको हो”, उनले भने । सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट तथा कार्यक्रममा विपद् व्यवस्थापन र खोज उद्धारकार्यको स्थानीय आवश्यकता परिपूर्ति गर्नका लागि प्रत्येक स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने उल्लेख गरेको थियो । सोही निर्णयबमोजिम जिल्लास्थित भिमाद नगरपालिकामा सात, आँबुखैरेनी गाउँपालिकामा ६, व्यास नगरपालिकामा ९, शुक्लागण्डकी नगरपालिकामा ८, भानु नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ६, रिसिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ४ र बन्दीपुर गाउँपालिकामा ६ ठाउँमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिए । उनका अनुसार भिमाद नगरपालिका–२ को थुम्सिङ, करङश्वारा, खोराकी, ८ को कोखे, ४ को पार्वती मावि, १ को काउले र ५ को घारुङभञ्ज्याङमा हेलिप्याड निर्माण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि, २ को ढकालटार, ३ को रामशाह मावि, ४ को पावरहाउस मावि, ५ को भुजुवा सतिडाँडा र ६ को हिलेखर्कमा हेलिप्याड निर्माण गरिएको छ । त्यस्तै, व्यास नगरपालिका–१४ को केशवटार उमावि, ७ को बोटेटार, १२ को कर्लुङ, ११ को धानगोदाम, ८ को वडा भवन र पुलिमराङ, ६ को शिशाघाट, ३ को जिल्ला प्रशासन कार्यालय अगाडि, ५ को कृष्णदल गण चापाघाट व्यारेक र १ को निर्मल मावि प्राङ्गणमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को गैछीश्वारा र अन्तरराष्ट्रिय युवा वर्ष प्रावि, १२ को जनप्रेमी उच्च मावि, ११ को आधारभूत मावि, ४ को नगरपालिका प्राङ्गण, श्री नं ३ बाहिनी अड्डा, ५ को झरौटा र २ को एक्लेखेतमा हेलिप्याड निर्माण गरिएको छ । भानु नगरपालिका–२ को मनकामना गण, १ को भन्सार खेलमैदान, ९ को काउरेटार र कालिका बहुमुखी क्याम्पस, ८ को मनोहर मावि प्राङ्गण, ७ को वसन्तपुर, १३ को ठूलोढुङ्गा खेलमैदान, ११ को मायाकु राष्ट्रिय मावि, १२ को अर्चले खेल मैदान र १ को हात्तीचौर व्यारेकमा हेलिप्याड निर्माण गरिएको छ । यसैगरी, देवघाट गाउँपालिका–४ को पार्वती मावि, ३ को वडा कार्यालय नजिक, ५ को केरीफाँट र पिपलटार, २ को कोटवैदी र डिही, रिसिङ गाउँपालिका–१ को शुक्ला मावि र शहीद गङ्गा मावि प्राङ्गण, ७ को पोखरीभञ्ज्याङ, ४, ८ को बडगाउँ र ५ को सुशेभञ्ज्याङ, घिरिङ गाउँपालिका–१ को अत्रौली, ५ को वडा भवन, ४ को गड्यौलीमा हेलिप्याड निर्माण गरिएको प्रजिअ पण्डितले जानकारी दिएका हुन् । त्यस्तैगरी, म्याग्दे गाउँपालिका–४ को गणेश मावि, ७ को तिलाटार, २ को पिपलडिही र ३ को सुरौदीखोला तट र बन्दीपुर गाउँपालिका–४ को टुँडीखेलमा हेलिप्याड निर्माण गरिएको उनले बताएका छन् । रासस

मेरो माइक्रोफाइनान्सले गठन गर्यो ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो । मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा राजा अर्याल, बद्रीप्रसाद पुडासैनी र सदस्य सचिवमा कम्पनीका सिईओ रामहरी दाहाल रहेका छन् ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सिइओमा प्रदीपकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा सम्पनी सचिवमा प्रदीपकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गरेको बैंकका प्रबन्धक सुदर्शन थैवले बताए ।

९२१ उजुरी विस्तृत अनुसन्धानमा, करोडभन्दा माथिका २८ मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२१ वटा उजुरीलाई विस्तृत अनुसन्धानमा राखेको छ । आयोगले छानविन तथा अनुसन्धान गरेर करोडभन्दा माथिका २८ वटा मुद्दा भने अदालतमा दायरा गरेको छ । अदालतमा दर्ता विगो सहित दर्ता गरिएका मुद्दामा सबैभन्दा बढी विगो सिक्टा सिँचाइ आयोजना निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको छ । उक्त आयोजनामा संलग्न २१ जनालाई दुई अर्ब १६ करोड लाख विगो सहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर गत आवमा गरेका काम कारवाही सार्वजनिक गरेको हो । अयोगले अनुसन्धानको क्रममा गत आवमा २ सय जना राष्ट्रसेवक कर्मचारीलाई रंगेहात पक्रिएको छ । सोमध्ये विशिष्ठ श्रेणीका दुई जना, सहसचिव वा सो सरहको दुई जना, उपसचिव तहको १० जना र शाखा अधिकृत तहको ३२ जनालाई कार्यस्थलबाट संगेहात पक्रिएको हो । रंगेहात पक्रियका अन्य कर्मचारी भने शाखा अधिकृतभन्दा तल्लो तहका रहेका छन् । रंगेहात कारवाहीमा परेका कर्मचारीमा सबैभन्दा बढी २७ जना गृह मन्त्रालयका कर्मचारी रहेका छन् । आयोगले गएको आवमा तीन सय ५१ वटा मुद्दा दर्ता गरेको छ । अघिल्लो आव २०७४/७५ मा यस्तो १९४ वटा मुद्दा दर्ता भएका थिए । आयोगले दर्ता गरेका मुद्दामा गत आवमा ८८.५ प्रतिशत र अघिल्लो आवमा ६७.८२ प्रतिशत मुद्दाले सफलता पाएका छन् । गत आवमा आयोगमा २४ हजार २८ वटा उजुरी परेका थिए । सो उजुरीमध्ये १५ हजार ६ सय ११ वटा फट्र्यौट भएृका छन् । अघिल्लो आवमा आयोगमा १९ हजार ४ सय ८८ वटा उजुरी परेकोमा १२ हजार चार सयमात्रै फट्र्यौट भएको थियो ।