विकासन्युज

एनसीसी बैंकद्वारा युसेप नेपाल पुस्तकालय चलाउन ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग उपलब्ध गराईएको हो । गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।

वर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । बर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने र पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायहरुलाई जागरुक बनाउने उद्देश्यले राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ । स्मार्ट वास र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त आयोजना तथ खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगमा यही साउन ११ र १२ गते रेइनवाटर हार्भेटिङ फर लाइभ्लीहुड, कम्यूनिटी एण्ड इकोसिस्टम रिलाइन्स विषयक राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधिहरुको सहभागिता रहने सो सम्मेलनको समुद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षामान पुनबाट हुनेछ । सम्मेलनको व्यवसायिक सत्रमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिय चक्र(इकोसिस्टम) आकाशे पानी संकलन प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तीय सहयोग, पानीको अभाव,जलवायु परिवर्तन र अनुकूलनसंग २५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । सम्मेलनको अवधिमा बर्षाको पानी संकलन प्रविधिका बारेमा काम गरिरहेका संघ संस्थाहरुले आफ्ना काम र उपयोगी प्रविधिका बारेमा सहभागी र अवलोकनकर्ताहरुलाई जानकारी गराउन प्रदर्शनी पनि गर्ने बताएको छ । सम्मेलन आयोजनाको निमित्त स्मार्ट वास सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा विभिन्न प्रतिनिधिहरु रहेको एक आयोजक समिति समिति गठन भएको छ । त्यस्तै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संकलन, छनौट र सम्पादन गर्न डा. गुणनीधि पौडेलको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति र स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई. रामदीप साहको अध्यक्षतामा एक व्यवस्थापन समिति बनेको छ । सबै समितिहरुले युद्धस्तरमा काम गरिरहेका छन् । शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समिति तथा स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहले भने–देशमा उपलब्ध पानीका स्रोतको हिसाबले नेपाललाई जलस्रोतको धनी मुलुक भनिए पनि नेपालका धेरै शहर,बजार र गाँउहरुमा खानेपानीको समस्या रहदै आएको छ । अन्य मुलुकहरुको अनुभवलाई हेर्दा पनि प्रकृतिले सित्तैमा दिने आकाशे पानीलाई उपयोग गर्न नसकिदासम्म खानेपानीको अभाव दीर्घकालसम्म रहने देखिन्छ । उनले अहिले विश्वको जनसंख्याको करिब १.३ प्रतिशतले आकाशे पानी संकलनबाटै आफ्ना घरायसी आवश्यकता पूरा गरेको र विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रका २.४ प्रतिशत जनसंख्याले यस्तो बर्षातको पानी संकलनबाट आफ्नो पानीको आवश्यकता पूर्ति गरिरहेको दावी गरे । नेपालको ८८ प्रतिशत जनसंख्याबीच पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको भए पनि जलवायु परिवर्तनका कारणले बर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र मुहान संरक्षणमा भएको वेवास्ताका कारण खहरे प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन् । हिमालबाट उत्पति भएर बाहै्र महिना निरन्तर बग्ने नदीहरुबाट सबै पहाडी भूभागमा खानेपानी पुर्याउन आर्थिक रुपले संभव छैन् । यी नदीहरु पहाड र तराई भेगका केही स्थानहरुलाई शोभा मात्र सिद्ध भएका छन् । पत्रकार सम्मेलनमा स्मार्ट वासका सल्लाहकार तथा पूर्वमन्त्री ई.गणेश साहले खानेपानी, ऊर्जा र खाद्यान्नमा नेपालीहरु उपभोक्ता मात्रै होइन, घर वा जग्गा वा दुवै हुने व्यक्ति उत्पादक पनि बन्न सक्ने अवस्था रहेकोले त्यसलाई उपयोग गर्न आग्रह गरे । उनले पानीको आवश्यकता पूर्ति गर्नका लागि कृषि, शिक्षा, सुरक्षा, पर्यटन, औद्योगिक क्षेत्रका सरोकारवाला र शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको लागि बर्षाको पानीको संकलन अपरिहार्य भैसकेको बताए । कार्यक्रममा ई. लक्ष्मीप्रसाद देवकोटाले भूकम्पले पानीको बर्षोदेखिको मुहानका स्रोतहरु छिन्नभिन्न पार्नुका साथै विकासको नाममा पहाडी क्षेत्रमा चलाइएको डोजर आतंकले कहि पानीको मुहान उधिन्ने र कही पुर्ने गरेकोले पहाडमा पानीको स्रोत सुक्दै गएको बताए । नेपालमा ४ महिना बर्षाको कारण पानी अधिक हुने,४ महिना तानतुन धानिनसक्ने र ४ महिना अभाव हुने भएकोले वर्षाको पानीको समुचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडीले विभागले खानेपानीका जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु विकास गर्न लागेको बताए । उनले जमिनको पानीको पुनःभरणमा पनि ध्यानुपर्ने अवस्था आइसकेको बताउदै यो सम्मेलनले ती विषयहरुलाई राम्रोसंग उठान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका डा.उद्धवराज खड्का,पूर्व सांसद विमल केडिया,स्मार्ट वासका निर्देशक ई.हरिप्रसाद शर्मा लगायतले बर्षातको पानी संकलन र व्यवस्थापनका विषयमा प्रकाश पारेका थिए । पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन् । समुन्द्र र महासागरको पानी जसले पृथ्वीको पानीको ९७.५ प्रतिशत अंश ओगटेको छ,त्यो नुनिलो छ । बाँकी २.५ प्रतिशत पानीमात्र ताजा र स्वच्छ र पिउनको लागि सुरक्षित पानीको रुपमा रहेको छ । यसमध्येको ठूलो अंश १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबमा हिउँको रुपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतको रुपमा जमिनमुनि रहेको छ । जमीनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य ताजा पानीको रुपमा उपलब्ध छ । त्यसैले ताजा पानी हामी सबैको अमूल्य जीवनका लागि अमूल्य रहेको छ । खानेपानीको क्षेत्रमा कार्यरत विज्ञहरु पानीलाई जीवन र सुरक्षित पानीलाई उत्तम जीवन भन्ने गर्दछन् ।

चोभारमा पाँच तारे स्तरको रिसोर्ट बनाउँदै सुमेरु ग्रुप, यसरी मनाइयाे २१ औ वार्षिकउत्सव

काठमाडौं । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २१ औ वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा सुमेरु ग्रुप अन्तरगत रहेका विभिन्न संस्थाहरुबीच ‘अन्तरसंस्था सप्ताहाव्यापी फूटसल प्रतियोगिता’ आयोजना गरिरएको छ । त्यस्तै, सुमेरु ग्रुपको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, विभिन्न सुरक्षा निकायहरु, महागनरपालिका, समाजसेवी संघसंस्थाका प्रतिनिधिहरुसहितको उपस्थितिमा ललितपुर महानगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष भरत महर्जनले बताए । वार्षिक उत्वसवको अवसरमा सुमेरु किड्नी अस्पतलामा दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ । अति विपन्न परिवारका एक महिला र एक पुरुषको मृगौला प्रत्यारोपण सफल भएको र दुबै विरामीको अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिए । त्यस्तै, ‘सुमेरु सामाजिक अभियान, गरौ रक्तदान गरौ जीवन दान’ भन्ने नाराको साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४७६ जनाले रक्तदान गरेका छन् । ‘स्वास्थ, शिक्षा, सहकारी, सम्वृद्धि , व्यवसाय र रोजगारी’ भन्ने मुल उदेश्यका साथ २१ वर्षअघि सुमेरु सहकारी स्थापना भएको थियो । सुमेरु सहकारीबाट उदायको यो संस्था हाल हाल ठूलो व्यवसायिक समूहको रुपमा स्थापित भएको छ । हाल सुमेरु ग्रुपभित्र १६ वटा संस्थाले शिक्षा, स्वास्थ्य, सहकारी सेवा दिदै आएका छन् । सबै संस्थामा गरी १२३५ जनाले प्रत्यक्ष रोजगारी पाएको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी दिए । सुमेरु ग्रुप भित्र सुमेरु सहकारी, सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, सुमेरु किड्नी अस्पताल, सुमेरु डाइनेष्टिक, सुमेरु मार्ट, सुमेरु मेडिकल कलेज, सुमेरु एशियन कलेज, सुमेरु मनी एक्स्चेज, सुमेरु मनी ट्रान्सफार, सुमेरु योग व्यायामशाला सञ्चालन छन् भने नयाँ परियोजना सुमेरु रिसोर्ट निर्माण हुँदैछ । सुमेरु ग्रुपले ३० करोड रुपैयाँ सेयर पुँजी लगानीमा चोभारमा सुमेरु रिसोर्ट निर्माण गर्ने भएको छ । त्यसको लागि ४० रोपनी जग्गा लिइसकेको उनले बताए । उक्त रिसोर्टमा बैंक कर्जासहित अर्बौ रुपैयाँ लगानी हुनेछ । रिसोर्टभित्र पाँच तारे होटलस्तरीय सेवा सुविधा हुने र ४ वर्ष भित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष महर्जनले जानकारी दिए ।

राष्ट्र बैंक पछि हट्यो, फोर्स मर्जर नीति नआउने, २२ वटा बैंक बने उल्लु

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई बलपूर्वक मर्ज गराउनेतर्फ कस्सिएको नेपाल राष्ट्र बैंक अन्ततः पछाडि हटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीति बनाउने तयारीका क्रममा बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपालले फोर्स मर्जरको नीति आउने बताएका थिए । साथै, गर्भनरले समयसीमा तोकेर मर्जरको लागि जोडी खोज्न सामूहिक निर्देशन दिएका थिए । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई सामूहिक रुपमा मर्जरको बाटो रोज्न, सातदिन भित्र जोडी खोजेर राष्ट्र बैंकलाई जानकारी दिन गभर्नरले निर्देशन दिएपछि २२ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक र ३ वटा लघुवित्तले मर्जरमा जाने सम्बन्धमा आफ्नो प्रतिवद्धता पत्र राष्ट्र बैंकमा दर्ता गरेका थिए । राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एनएमबी, सनराईज, सिटिजन्स, लक्ष्मी, सानिमा, एनसीसी, सिभिल, सेञ्चुरी, माछापुच्छ्रे, नेपाल एसबीआई, ग्लोवल आईएमई, जनता, नेपाल इन्भेष्टभेन्ट, एनआईसी एशिया, हिमालयन, कुमारी मेगा, सिद्धार्थ, प्रभु र बैंक अफ काठमाण्डूले आफूहरु मर्जमा जान तयार भएको पत्र राष्ट्र बैंकमा बुझाएका थिए । ग्लोवल आईएमई र जनता बैंकले मर्जरको लागि समझदारी पत्र समेत राष्ट्र बैंकमा बुझाएका छन् भने अरु बैंकले उपयुक्त पार्टनर खोजी भईरहेको र राष्ट्र बैंकले लिने नीति अनुसार मर्जरमा जान आफू प्रतिवद्ध रहेको जनाएका थिए । त्यस्तै, संयुक्त लगानीमा खुलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल बंगलादेश बैंक विदेशी लगानीकर्तासँग छलफल गरी उपयुक्त नीति अपनाउने जानकारी राष्ट्र बैंकलाई दिएका थिए । विकास बैंक तर्फ महालक्ष्मी, साग्रीला र सहयोगि विकास बैंकले मर्जरको प्रतिवद्धता पत्र बुझाएका छन् भने स्वाबलम्बन लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेपाल माईक्रोफाइनान्सले मर्जरमा जाने पत्र राष्ट्र बैंकलाई बुझाएका छन् । बलपूर्वक मर्जरमा नजाने नीतिसँग यी बैंक तथा वित्तीय संस्थाको प्रतिपद्धता पत्रको औचित्य समाप्त भएको छ । गभर्नरकाे माैखिक निर्देशन मान्ने बैंकर्सहरू उल्लु बनेका छन् । बैंक तथा वित्तीय संस्थालाई बलपूर्वक मर्जरमा लैजाने गभर्नरको चाहानालाई राष्ट्र बैंकका डेपुटी गभर्नरसहित अन्य सञ्चालकहरुले असहमति जनाएका छन् । त्यस्तै, राष्ट्र बैंकका विभागीय प्रमुख तथा कार्यकारी निर्देशकहरुले पनि बलपूर्वक मर्जरमा जान नहुने सुझाव गभर्नरलाई दिएका छन् । गत विहीबारदेखि गभर्नर चिरञ्जीवि नेपालले पनि बलपूर्वक मर्जरमा जाने पुरानो सोच त्यागेका छन् । स्रोतका अनुसार स्वेच्छिक मर्जरलाई प्रोत्साहित गर्ने पुरानो नीतिमा थप केही सुविधा दिने कार्यक्रम मौद्रिक नीतिमा आउँदैछ । मौद्रिक नीति यसै साता आउँदैछ । मौद्रिक नीतिलाई अन्तिम रुप दिन शनिवार पनि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेको छ । राष्ट्र बैंकका सञ्चालक राजन खनालको अनुपस्थितिमा मौद्रिक नीति लगभग टुङगिएको छ । ‘खनाल अर्थमन्त्रालयको सचिव समेत भएकोले अर्थमन्त्रालयको तर्फबाट केही राख्न वा थप्न वा हटाउनु पर्ने हुनसक्न । उहाँको उपस्थितिमा प्रस्तावित मौद्रिक नीतिका सबै बुँदामा छलफल हुन्छ । एक/दुई दिनमा हामी सबै कुरा टुङ्गाउँछौं’ स्रोतले भन्यो । फोर्सफूर्ली मर्जबारे राष्ट्र बैंकका सञ्चाकलबीच मतभेद भएको, राष्ट्र बैंकले प्रकाशन गर्दै आएको ११ महिनाको तथ्याङ्क तयार हुन ढिला भएको, अर्थसचिव खनाल एक साताको लागि विदेश गएको, अन्य केही सञ्चालकहरु पारिवारिक कामले काठमाडौं छोड्नु परेकोेले राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा ढिलाई भएको छ । जेठ १५ गते संघीय सरकारले बजेट संसदमा पेस गर्न थालेपछि राष्ट्र बैंकले असार अन्तिम साता मौद्रिक नीति जारी गर्ने गरेको थियो । अर्थमन्त्री र गभर्नरलाई खुलापत्र-‘बैंकहरुबीच प्रेम होस्, करणी नहोस्’ अर्थसचिव राजन खनाल भन्छन्-‘बैंकहरुलाई मर्ज गर्न बाध्य बनाइदैन’, राष्ट्र बैंकभित्र पनि असन्तुष्टि

अब काठमाडौँमै जापानी खाना ‘रामेन’, ७० प्रतिशत कच्चा पदार्थ नेपालकै

काठमाडौँ । जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी ग्राहकले सहजै चाख्न पाउने भएका छन् । ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन ‘रामेन’ नेपालमा भित्र्याएको हो । काठमाडौँमा दुई रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिकार बनाउने जापानी प्रविधि भित्र्याउनेदेखि जनशक्ति व्यवस्थापनसम्म गरी हालसम्म रु दुई करोड ७५ लाख लगानी भइसकेको होक्काइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । जापानमा लामो समयदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अर्घाखाँचीका अधिकारीसहित चार जनाको समूहले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । अधिकारीले जापानमा १२ भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । विदेशमा रेष्टुरेन्ट सञ्चालन गरेको अनुभवलाई नेपालमा सदुपयोग गर्ने तथा नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढाउने उद्देश्यका साथ जापानी परिकार भित्र्याइएको अध्यक्ष अधिकारी बताउँछन् । पहिलो चरणमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट र काठमाडौँ गेष्ट हाउसमा रामेनको परिकार उपलब्ध हुनेछ । पोखरा, बुटवल, भैरहवालगायत स्थानमा यसको विस्तार गर्ने योजना छ । रामेन जापानको लोकप्रिय खाना हो । यो नेपालमा प्रचलित खाना थूक्पासित मिल्दोजुल्दो हुन्छ । खानाको स्वाद भने फरक हुन्छ । लामो नूडल्सलाई आठ घण्टा लगाएर बनाइएको सुपमा तरकारी, अण्डा र मासु प्रयोग गरिएको हुन्छ । जापानका प्रसिद्ध रामेन सेफ माचुमुराले नेपालमा रामेनको प्रशिक्षण तथा प्रवद्र्धन गर्दै आएका छन् । जापानमा विभिन्न परिकार बनाएर अनुभव प्राप्त गरेका पुरनबहादुर चौधरी मुख्य सेफ हुन् । रामेन हाउसमा रामेन बाहेक अन्य ३० भन्दा बढी जापानी परिकार उपलब्ध गराइनेछ । नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘केजीएच’ ग्रुपसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको रामेन हाउसको शाखा तथा फ्रेन्चाइज अबको एक वर्षमा कम्तीमा सात स्थानमा विस्तार गरिनेछ । रामेनको परिकारलाई जापानी मापदण्डअनुसार उत्पादनका लागि आवश्यकपर्ने पानी तथा कच्चा पदार्थ जापानी विज्ञको प्रशिक्षणमा उत्पादित व्यावसायिक कृषिको लागि भैरहवालगायत स्थानमा गहुँ, जौ र फापर उत्पादन गर्न थालिएको छ । रामेनका लागि ७० प्रतिशत कच्चा पदार्थ नेपालकै हुने र बाँकी जापानबाटै ल्याइने जनाइएको छ । प्रति रामेनको मूल्य रु ५५० भन्दा बढी पर्छ । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा रामेनको परिकार नेपालमा पाइने भएपछि जापानका पर्यटकलाई नेपालको बसाइँ अवधि लम्ब्याउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । रामेन हाउसको पार्क भिलेजमा शनिबार नेपालका लागि जापानका राजदूत साइगो मासामिचिले उद्घाटन गर्ने आयोजकले जनाएको छ । काठमाडौँमा २७ भन्दा बढी जापानी रेष्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये १२ रेष्टुरेन्टमा रामेन पाइन्छ ।

बाढी पहिरोबाट पीडितलाई महिला चेम्बरको राहत

काठमाडौँ । असार २६ गतेदेखि मुलुकभर परेको अरिवलका कारण प्रभावितहरुका लागि नेपाल महिला चेम्बरले राहत सामाग्री हस्तान्तरण गरेको छ । महिला चेम्बरले राहत संकलन गरी नेपाल चेम्बर अफ कमर्शलाई हस्तान्तरण गरेको हो । चेम्बर भवनमा शुक्रबार भएको एक कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई संकलित राहत समाग्री र केही रकम हस्तान्तरण गरेकी हुन् । महिला चेम्बरले संकलन गरेको २०० किलोग्राम भन्दा बढी चिउरा, चिनी, चाउचाउ, औषधी, ४० पिस ब्याङ्केट, महिला, पुरुष, बालबालिका लागि लत्ता कपडा, विस्कुट सोलार ल्याम्प र केही रकम हस्तान्तरण गरेको महिला चेम्बरकी सचिव लीमा अधिकारीले जानकारी दिइन् ।

खाद्यान्नको मूल्य बढ्यो, काठमाडौंमा सबैभन्दा महङ्गो

काठमाडौं । बजारमा पछिल्लो समय खाद्यान्न, तरकारी तथा पेय पदार्थको मूल्य बढेको छ । बैंकले गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । आव २०७४/७५ मा खाद्यान्नको मूल्यवृद्धि ३ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो आवको जेठमा ११ प्रतिशतले बढेको तरकारीको मूल्य गत जेठमा मूल्य बढेर १४.६ प्रतिशत पुगेको छ । सो अवधिमा तरकारीको मूल्य ७.६ प्रतिशतले बढेको छ भने खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ । सो समूहको मूल्य बढेपनि गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिमा भने थोरै परिवर्तन आएको छ । अघिल्लो आवको जेठमा ५ प्रतिशतले बढेको मूल्य वृद्धि गत जेठमा पुग्दा ५.७ प्रतिशत पुगेको छ । यस समूहअन्तर्गत घरायसी सेवा तथा उपयोगका सामान र लुगा जुत्ताको मूल्य अघिल्लो आवको तुलनामा केही बढेको छ । क्षेत्रगत रुपमा काठमाडौं सबैभन्दा महङ्गो र पहाड सबैभन्दा सस्तो देखिएको छ । अघिल्लो आवमा हिमाल सबैभन्दा महङ्गो र काठमाडौं सबैभन्दा सस्तो थियो । छिमेकी मुलुक भारतभन्दा नेपाली बजारमा खाद्यान्न तथा गैर खाद्य पदार्थ करिब दोब्बर महङ्गो भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ । शोधनान्तर ९१ अर्ब घाटामा गत आवको ११ महिनामा मुलुकको शोधनान्तर घाटा ९० अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा यस्तो घाटा चार अर्ब ३४ करोडमात्रै थियो । निर्यातको तुलनामा आयातको कम हुँदा यस्तो घाटा बढेको हो । शोधनान्तर भन्नाले मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि यस्तो अवस्था देखिएको हो । गत आवको जेठसम्म आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँमात्रै भएको छ । आयातको तुलनामा निर्यात कम हुँदा ब्यापार घाटा उच्च दरले बढ्दा चालु खाता घाटा अघिल्लो जेठको तुलनामा करिब ३८ अर्ब रुपैयाँले बढेको छ । गत जेठमा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो । ११ महिनामा ५३ अर्ब ३८ करोडमात्रै आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो आवको जेठसम्म १ खर्ब ४४ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालन गरेको थियो । सरकारको नगद मौज्दात बढ्यो, विदेशी संचिति घट्यो गत जेठसम्म सरकारको नगद मौज्दात एक खर्ब ६४ अर्ब पुगेको छ । सो मौज्दातमध्ये ६३ अर्ब २२ करोड स्थानीय तहको खातामा रहेको रकम हो । पछिल्लो महिनामा विदेशी सञ्चिति घट्दै गएको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको विदेशी संचिति गत जेठसम्म आइपुग्दा घटेर १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ । अमेरिकी डलरमा हिसाब गर्दा १० अर्ब ८ करोड संचिति रहेकोमा ९ अर्ब २५ करोडमा झरेको छ । ११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो जेठसम्म ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । उक्त रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५ प्रतिशतले बढेको छ ।

आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितका लागि राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेको सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ । आप्सा नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी उक्त राहत सामाग्री हस्तान्तरण गरेको हो । विपद व्यवस्थापनको लागि सप्तरी जिल्लाको “तिलाठी कोईलाडी” गाउँपालिका संयोजक पत्रकार एवं अभियन्ता अनुराग अनन्तलाई आप्सा नेपालका अध्यक्ष लोकेशकुमार मान्धरले एक सय थान त्रिपाल र एक सय कार्टुन चाउचाउ हस्तान्तरण गरेका थिए ।