भेहिकल ट्राकिङ र प्यान विवाद सल्टाउन ५ सदस्यीय कार्यदल गठन, शुक्रबार प्रतिवेदन बुझाउने
काठमाडौं । भेहिकल ट्राकिङ सिष्टम(भीसीटीएस) र स्थायी लेखा नम्बर (प्यान) विवाद समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित देशभरका उद्यमी व्यवसायीसँगको छलफलबाट अर्थमन्त्रालयका दुई, नेपाल उद्योग वाणिज्य महासंघका दुई र एक जना स्वतन्त्र विज्ञ सहितको ५ सदस्यीय कार्यदल गठन गरिएको हो । उद्यमी व्यवसायीसँगको करिब दुई घण्टाको छलफलपछि कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको अर्थ सचिव राजन खनालले बताए । ‘व्यवसायी र सरकारबीच भएको विवाद सल्टाउन गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ,’ खनालले भने- ‘कार्यदलले यहि शुक्रबार प्रतिवेदन बुझाउने छ । ‘अब कुनै अवरोध हुँदैन, महासंघकी अध्यक्ष भवानी राणाले भनिन्-‘सरकारी सिष्टमले काम गरिरहन्छ ।’ अहिले ढुवानीको विषयलाई लिएर देशव्यापी रुपमा आन्दोलन चलिरहेकोले यस विषयमा अर्थमन्त्रीसँग छलफल गरिएको बताइन् । प्यान नम्बर, भीसीटीआर तथा भ्याटमा देखिएका व्यवहारिक कठिनाइ हटाउने विषयमा छलफल भएको छ । विशेष गरी अस्थायी कर्मचारीका विषयमा प्यान दर्ता कसरी गर्ने कुरा भएको छ । सरकारले ल्याएको नीतिको विरोध गरेको होइन, यसको व्यवहारिक कठिनाईलाई बुझेर तीन महिनासम्म कुनै जरिवाना नगरी सरकारी कार्यक्रम अघि बढ्ने समेत उनले बताइन् । प्यान, भीसीटीएस, डिजेलहरूलाई भ्याट छुट विषयमा कुरा भएको नाडा अटोमोवाईल्स एशोसिएशनका पूर्व अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सबै नेपालीको प्यान हुनुपर्छ भन्ने कुरा अर्थमन्त्रीबाट आएको छ,’ उनले भने । गत बुधबार भीसीटीएस कार्यान्वयन आएको ५ दिनमा १६ हजार युजरले प्रणालीमा इन्ट्री गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
साताको पहिलो दिन परिसूचक घट्यो, २९ करोडको मात्रै कारोबार
काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर एक हजार २६८.७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर रु २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ०.८४ र अन्य २.८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २.९५, होटल १४.४८, विकास बैंक ९.२७, जलविद्युत् ९.६७, निर्जीवन बीमा १३.०५, उत्पादन ३०.६, लघुवित्त ०.१, जीवन बीमा ३७.३३, सामूहिक ०.०४ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक रु एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको रु एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.५० प्रतिशतले कमाउदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३.१० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०६ प्रतिशतले कमाए । यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९.६४, दिव्यश्वरी हाइड्रोपावर ६.७५, नबिल इक्विटी फण्ड ४.०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।
ग्वार्कोमा निसान र डाटसन गाडीको नयाँ शोरुम उद्घाटन
काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् । शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।
जीवन बीमा कम्पनीले आर्जन गरे ७१ अर्ब ८४ करोड बीमा शुल्क, कसले कति ?
काठमाडौ । जीवन बीमा गर्ने कम्पनीहरुले आर्थिक बर्ष २०७५/७६ मा ७१ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुको प्रथम बीमा शुल्क कुल २९ अर्ब २६ करोड रुपैयाँ र नविकरण शुल्क ३९ अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिले जनाएको छ । नेशनल लाईफ इन्स्योेरेन्सले बीमा शुल्क ७ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यसमध्ये प्रथम बीमा शुल्क २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने नबीकरण बीमा शुल्क बापत ५ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको हो । नेपाल लाईफ ईन्स्योेरेन्सले बीमा शुल्क २२ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९ अर्ब १ करोड रुपैयाँ रहेको छ भने नविकरण शुल्क भने १३ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले बीमा शुल्क १३ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ४ अर्ब ४९ करोड रुपैयाँ नबिकरण शुल्क ९ अर्ब १५ करोड रुपैयाँ रहेको छ । मेट लाइफ एलिकोले बीमा शुल्क ४ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ५४ करोड र नबिकरण शुल्क २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । एशियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ७१ करोड रुपैयाँ र नबिकरण शुल्क २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो । यसैगरी सूर्या लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने १ अर्ब १८ करोड रुपैयाँ नबिकरण शुल्क आर्जन गरेको छ । गुराँश लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क ७० करोड रुपैयाँ र नविकरण शुल्क १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको हो । प्राइम लाइफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ९७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीले नबिकरण शुल्क १ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ । यता, आइएमई लाईफ इन्स्योरेन्सले बीमा शुल्क ९० करोड रुपैयाँ आर्जन गरेको छ । युनियन लाईफ इन्स्योरेन्सले बीमा शुल्क २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने नबिकरण शुल्क २५ करोड रुपैयाँ आर्जन गरेको हो । ज्योति लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब रुपैयाँ आर्जन गरेको तथ्याङ्क बीमा समितिमा बुझाएको छ । कम्पनीले प्रथम बीमा शुल्क ८३ करोड रुपैयाँ र नविकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सले बीमा शुल्क ८६ करोड रुपैयाँ आर्जन गरेको छ, जसमध्ये प्रथम बीमा शुल्क ६९ करोड रुपैयाँ छ भने नबिकरण शुल्क १६ करोड रुपैयाँ आर्जन गरेको हो । रिलायन्स लाईफले बीमा शुल्क ७२ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४२ करोड रुपैयाँ र नबिकरण शुल्क ३० करोड रुपैयाँ आर्जन गर्यो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब २७ करोड रुपैयाँ र नबिकरण शुल्क भने ७ करोड रुपैयाँ रहेको छ । यता, सिटिजन लाईफ इन्स्योरेन्सले बीमा शुल्क १ अर्ब ११ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ४९ करोड रुपैयाँ र नबिकरण ६२ करोड रुपैयाँ आर्जन गरेको हो । सानिमा लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४३ करोड रुपैयाँ आर्जन गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । प्रथम बीमा शुल्क ३५ करोड रुपैयाँ र नविकरण शुल्क भने ८ करोड रुपैयाँ आर्जन गरेको हो । प्रभु लाईफ इन्स्योरेन्सले बीमा शुल्क ४५ करोड रुपैयाँ आर्जन गर्दा प्रथम बीमा शुल्क ३९ करोड रुपैयाँ र नबिकरण शुल्क ५ करोड रुपैयाँ रहेको छ । यसैगरी, महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा शुल्क २० करोड रुपैयाँ आर्जन गरेको छ भने कम्पनीको प्रथम बीमा शुल्क २० करोड रुपैयाँ रहेको छ । यता, राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क ६ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ ।
‘ई-सेवा’मा खाता खोल्ने २० लाख नाघे
काठमाडौँ । ‘ई-सेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि ई–सेवामा एकाउन्ट खोल्नेको संख्या तीब्र रूपमा बढ्दै गएको हो । ई–सेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । २५ जनवरी २००९ बाट सेवा सुरू ई–सेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । ‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भने । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।
दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माण कार्य शुरु गरिएको विमानस्थलमा कालोपत्रको काम बल्ल आएर शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । विमानस्थलमा कालोपत्रको काम एक हप्ताभित्रमा सकिने उक्त विमानस्थल निर्माणको जिम्मा पाएको सपना ग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइड प्रमुख राजेन्द्र विष्टले बताए । उनले भने, “मौसमले सात दिए हामी एक हप्तामा पिचको काम सक्छौँ र बाँकी काम त्यसपछि शुरु हुने छ ।” विमानस्थलमा रन वे रेखाङ्कन लगायतका काम गर्न भने बाँकी छ । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम शुरु गरेको दिपायलका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए । रासस
प्रहरीमाथि गोली चलाउने लागुऔषध कारोवारीको नाइके पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोवार गर्ने गरेको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोवार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौँमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् । राक्सिराङका अन्य गाँजा कारोवारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ । स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ । विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो । स्याङतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताएका छन् । रासस
म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने
काठमाडौं । म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने भएको छन् । हालै संसोधित ऐनमा भएको व्यवस्था बमोजिम कार्यविधि स्वीकृत नहुँदासम्म विभागले नयाँ शाखा खोल्न अनुमति नदिने बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । महानिर्देशक भूषालले विगतमा बैदेशिक रोजगार व्यवसायीहरुले विभागबाट नयाँ शाखा खोल्न अनुमति पाएको स्वीकृतिलाई विभागको सूचना प्रणालीमा अद्यावधिक गर्न पूरा गरिएको प्रक्रियासँग सम्बन्धित कागजात सार्वजनिक गर्दै फैलाएको हल्लाप्रति ध्यान केन्द्रित भएको बताएका छन् ।