विपद्बाट १९५ को मृत्यु, १२ हजार ९९० घरपरिवार प्रभावित
काठमाडौं । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताए । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदङ्श छ, हवाई दुर्घटनाबाट तीन जना र अन्य तीन जनाको मृत्यु भएको बताएका छन् । विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार ती घटनामा करिब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ । सबैभन्दा बढी क्षति बाढीबाट एक अर्ब पाँच करोड पाँच लाख चार हजार रुपियाँ क्षति भएको छ । बाढीपछि आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख तीन हजार रुपियाँ, चट्याङबाट २६ लाख दुई हजार रुपियाँ, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय रुपियाँ र जनावर आतङ्कबाट नौ लाख १९ हजार रुपियाँ क्षति भएको जनाइएको छ । उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका हुन् । यसैगरी, आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ । त्यस्तैगरी, एक हजार १७८ पशु चौपाया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनावर आतङ्कबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट छ वटा चौपाया मरे । केही दिन अघि आएको अविरल वर्षाका कारण करिब ९० जनाको ज्यान गएको थियो । रासस
इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन
इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । तर , पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा छ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा एक करोड ५९ लाख ७० हजार ६७२ दशमलव आठ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार ४१५ दशमलव छ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले ०७४ /०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार ५९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार ६०१ चिया व्यवसायी रहेको देखिएको छ । यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा छ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ । सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार ९२६ दशमलव पाँच किलोग्राम, तेह्रथमुमा एक लाख ५० हजार ७४२ दशमलव छ किलोग्राम, पाँचथरमा सात लाख ६४ हजार ५५५ दशमलव आठ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भएपनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय भएको छैन । सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि नेपालमा चिया खेतीले व्यावसायिक रूप लिएको हो । सर्वेक्षणअनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यावसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलव नौ प्रतिशत मात्र प्राङ्गारिक चिया खेती हुने बगान रहेको पाइएको छ । चिया खेतीमा अधिकांश पुरुष नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा सबैभन्दा बढी चिया सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ । त्यस्तैगरी, नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेट्रिक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने गरेको छ । रासस
मुक्तिनाथका ग्राहकलाई ग्राण्डी इन्टरनेशनलमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको अंकुश, आफू खुशी सेवा शूल्क लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब कर्जा प्रवाह गर्दा आफूखुसी सेवा शूल्क लिन नपाउने भएका छन् । बैंक तथा वित्तीय क्षेत्रले सेवा शुल्कमा मनोमानी गरेको गुनासो आएपछि राष्ट्र बैंकले यस्तो अंकुश लगाएको हो । अब कर्जा प्रवाह गर्दा लिने प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिवद्धता शुल्क बाहेक अन्य कर्जासँग सम्बन्धित सम्पूर्ण शुल्कहरू ब्याजदरमै स्पष्ट पार्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकहरुले ग्राहकैपिच्छे फरक फरक सेवा शुल्क लिने गरेको गुनासोलाई सम्बोधन गर्न राष्ट्र बैंकले मनोमानी रुपमा लिँदै आएको शुल्कमा रोक लगाएको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले एकै प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग ०.२५ प्रतिशतभन्दा बढी कर्जा लिन पाइने छैन । बैंकहरूले ०.२५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म सेवा शुल्क लिँदै आएका छन् । इलेक्ट्रोनिक माध्यमबाट हुने चेक क्लियरिङका सम्बन्धमा २ लाख रुपैयाँभन्दा कमको चेक क्लियरिङ कारोबारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै किसिमको शूल्क लिन नपाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । ग्राहकले आफ्नो स्वीकृत कर्जाको सीमा वार्षिक औषत ६० प्रतिशतभन्दा कम रकम उपयोग गरेमा कम हुने रकममा मात्र बैंकहरुले प्रतिवद्धता गरेको रकम सेवा शूल्क लिन सक्नेछन् । यस्तो शूल्क अग्रिम रुपमा लिन पाइने छैन । आवधिक कर्जाको हकमा प्रतिवद्धता शुल्कमा एक पटकसम्म लिन पाइने छ । ५० लाख रुपैयाँसम्मको सीमा कायम भएको जुनसुकै प्रकारको कर्जा भुक्तानी गर्दा अग्रिम भुक्तानी शूल्क लाग्ने छैन । उक्त सीमाभन्दा बढी कर्जाको हकमा भने कर्जा लिँदाको बखतमा तोकिएको शर्त वा ब्याजदर परिवर्तन भएको कारण अग्रिम रुपमा कर्जा चुक्ता गर्न चाहेमा त्यस्तो अग्रिम भुक्तानी गरेबापत कुनैपनि शूल्क लिन पाइदैन । परियोजना कर्जाको हकमा कर्जा लिँदाको बखत ऋणीसँग गरिएको सम्झौतामा उल्लेखित ब्याजदर लगायतका अन्य शर्तहरु ऋणीको सहमति बिना बैंकले एकतर्फी रुपमा परिवर्तन गरेको कारणले ऋणीले कर्जा अग्रिमरुपमा चुक्ता गर्न चाहेमा त्यस्तो अग्रिम भुक्तानी गर्दा कुनैपनि शूल्क लिन पाइने छैन ।
तिलगङ्गा आँखा प्रतिष्ठानले प्राप्त गर्याे ‘डब्लुएचओ समन्वय केन्द्र’ को मान्यता
काठमाडौं । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था भएको छ । भक्तपुरस्थित सार्क क्षयरोग केन्द्रले सो सङ्गठनबाट समन्वय केन्द्रको मान्यता पाएको छ । आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले राष्ट्रिय एवम् अन्तरराष्ट्रियरूपमा महत्वपूर्ण काम गरेवापत सङ्गठनले यहाँ आज आयोजित कार्यक्रममा प्रतिष्ठानलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डब्लुएचओका देशीय प्रतिनिधि डा. जोस भ्यान्डेलारले प्रतिष्ठानका कार्यकारी अधिकृत प्रा. डा. रीता गुरुङलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सङ्गठनले हालसम्म ८० देशका ८०० केन्द्रलाई समन्वय केन्द्रको मान्यता दिएको छ । समन्वय केन्द्रको प्रमाणपत्र पाएसँगै प्रतिष्ठानका आँखा उपचार सेवा, शिक्षा, तालीम, उत्पादन तथा जनशक्तिले अन्तरराष्ट्रिय मान्यता पाएको छ । सन् १९९४ मा स्थापित प्रतिष्ठानले हालसम्म ६११ नेत्ररोग विशेषज्ञ, ७३२ आँखा स्वास्थ्यकर्मी, १० हजार ३०५ सामुदायिक स्वास्थ्य कार्यकर्ता र छ हजार ९१६ चिकित्सा क्षेत्रका विद्यार्थीलाई तालीम प्रदान गरेको छ । यसैगरी, आँखा स्वास्थ्यको अनुसन्धानमा प्रतिष्ठान अग्रस्थानमा रहेको छ । प्रतिष्ठानले हालसम्म २१० योजनामा सफल अनुसन्धान गरी १८३ शोध लेख प्रकाशन गरेको छ । त्यस्तै मोतियाविन्दु शल्यक्रियामा हालसम्मको नवीनतम प्रविधि फिमटोसेकोण्ड लेजर एसाइसटेड क्याक्टर सर्जरी सेवा शुरु गर्न लागिएको छ । यसरी, हालसम्म प्रतिष्ठानले ६० लाखभन्दा बढी आँखा उपचार सेवा र चार लाखभन्दा बढीको अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरी ज्योति प्रदान गरेको छ । अर्कातर्फ भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, चीन, म्यान्मा, इण्डोनेसिया, मलेसिया, दक्षिण कोरिया, थाइल्याण्ड, अर्जेन्टिना, इथियोपिया र घानाका नेत्र चिकित्सक प्रतिष्ठानमा आई मोतियाविन्दु चिकित्सा विधिका बारेमा ज्ञान लिएका छन् । यसैगरी, १७ सामुदायिक आँखा केन्द्रमार्फत सेवा, आँखा बैंकमा १० हजारभन्दा बढी आँखाको नानी सङ्कलन, ८५ हजारभन्दा बढी व्यक्तिको आँखाको नानी दान गर्ने इच्छापत्र हस्तान्तरण तथा ५० लाखभन्दा बढी लेन्स उत्पादन गरी ७० देशमा वितरण गरिँदै आएको प्रतिष्ठानले जनाएको छ । रासस
महोत्तरीमा सडक दुर्घटनाः २८ भारतीय तीर्थयात्री घाइते, सातको अवस्था गम्भिर
बर्दिवास । बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोक फर्कने क्रममा वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ नं को पिकअप भ्यान आज सोमबार दिउँसो पल्टेको हो । घाइते यात्रुको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार शुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन् । घाइते सबै महोत्तरीकै सीमावर्ती भारतीय जिल्ला सीतामढीको सुरसण्ड प्रखण्डमा पर्ने बघारी गाउँका भएको पुष्टि भएको छ । सोमबारे मेलामा सिन्धुली जिल्लाको लङ्गुरखोलास्थित दूधेश्वरनाथ महादेवको दर्शन गरेर भारतीय भक्तजन टुटेश्वर पुगेका थिए । सामान ओसार्ने पिकअपमा कोचाकोच यात्रु राखेर फर्किएको सो गाडी पूर्व–पश्चिम राजमार्ग नपुग्दै वनक्षेत्रमा पल्टेको प्रहरीले जनाएको छ । गाडी पल्टनेबित्तिकै चालक फरार भएका थिए । सहचालक सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका ३० वर्षीय वीरेन्द्रसिंह घाइते भएका छन् । घाइते तीर्थयात्रीमा १० वर्षीया बालिका काजलकुमारीसहित ११ महिला छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रनाउ थापाले बताए । टुटेश्वरनाथबाट फर्केको पिकअप तीव्र गतिमा हुइँकिँदा आपूmलाई डर लागेर विस्तारै चलाउनोस् भन्दा चालकले झन् हौसिएर गुडाउँदा गाडी पल्टेको तीर्थयात्री समूहकै ३५ वर्षीय सिल्टु साहले बताएका छन् । रासस
अन्न भण्डारमै आयात हुँदै करोडौंका चामल, हराउँदै खाद्य उद्योग
बाँके । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई÷चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायी बताउँछन् । विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कलाई मात्रै हेर्ने हो भने नेपालगञ्ज भन्सार नाका हुँदै रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठूलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौँ मूल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै वस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ । गत आर्थिक वर्षमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताएका छन् । उक्त परिमाणको चामल आयात गर्दा रु छ अर्ब ४७ करोड रकम नेपालगञ्ज नाकाबाट मात्र बाहिरिँदा सरकारको खातामा रु पाँच करोड भन्सार राजश्व सङ्कलन भएको छ । नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ता बताउँछन् । बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठूलो मात्राको धानकै कारण ठूलो लगानीमा सञ्चालनमा रहेका चामल मिल पनि अहिले बन्द भएका छन् । धान उत्पादन घटेसँगै मिल बन्द भएको व्यवसायी बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् । नेपालगञ्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउँछन् । धान उत्पादनसँगै बाँके र बर्दियामा ठूलो परिमाणमा तोरी उत्पादन हुनेहुँदा यहाँबाट तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउथ्यो । हाल दाङको तोरी नेपालगञ्ज आउन छाडिसकेको छ । बाँके र बर्दियामा रहेका धेरैजसो तेल मिल पनि बन्द भइसकेका छन् भने बाँकी बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै खाद्यवस्तु ठूलो परिणाममा किनबेच हुन्थ्यो । “यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घ्यु उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घ्यु निर्यात हुने गरेको थियो । बाँकेमा सञ्चालित केएल दुगडले तेल मिल चलाउनकै लागि भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगञ्ज क्षेत्र अहिले परनिर्भर भए पनि जानकी गाउँपालिका भने औद्योगिक केन्द्रका रूपमा विकसित भइरहेको छ । यहाँका साना, ठूला र मझौला गरी दर्जन बढी उद्योग सञ्चालनमा आइसकेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए । बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समय नयाँ उद्योग खुल्नेक्रम तीव्ररूपमा बढिरहेको छ । रासस
नेप्सेमा सामान्य सुधार, ३१ करोड ६६ लाखको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार २७१.२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१९ विन्दुले बढेर २७३.५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१.८३, जीवन बीमा ६.४ र सामूहिक लगानी कोष ०.१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.३४, होटल १७.०९, विकास बैंक १.७, जलविद्युत् ५.७३, वित्त ०.८७, उत्पादन ७.४५, अन्य २.०६ र लघुवित्त ७.४८ विन्दुले बढेको छ । लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६.९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५।६१, प्रुडेन्सियल इन्स्योरेन्स ३.७०, नेशनल माइक्रोफाइनान्स ३.५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.९७ प्रतिशतले कमाए । यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७२, समिट लघुवित्त वित्तीय संस्था ५.०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.१०, नेपाल हाइड्रो डेभलपर ३.९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५५ प्रतिशतले गुमाए ।