जापानद्वारा नेपाल सरकारलाई रु ६३ अर्ब ९९ करोड अनुदान
काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका हुन् । आजै ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापानले गौरव गर्छ भने । अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरेका छन् । रासस
बैदेशिक मुद्रा साट्न अनलाइनबाटै आवेदन, प्रभु बैंकले ल्यायो मोबाइल एप ‘प्रभु इजी फोरेक्स’
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुबिधालाई मोबाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक समारोहका बीच उक्त एप्लीकेशन शुभारम्भ गरेको हो । रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको छ । व्यस्त दैनिकीका बाबजुद पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनु पर्ने बाध्यता रहेको अवस्थामा प्रविधिमैत्री एप्लीकेशन ‘प्रभु इजी फोरेक्स’ उपयोगी हुने बैंकले विश्वास लिएको छ । ‘प्रभु इजी फोरेक्स’ मोबाइल एप हाल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ भने एप स्टोरमा समेत चाँडै उपलब्ध हुने बैंकले जनाएको छ । उक्त एप उपयोग गरी अनुकुल समयमा तोकिएका शाखा र काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सकिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित बैंकको काउन्टरबाट समेत यो सुबिधा उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।
‘नोटेन्सन किसानलाई पेन्सन’ भन्दै बाजुराकाे बुढीगङ्गा नगरले गर्याे शुरुवात
काठमाडौं । बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको छ । तेस्रो नगरसभामा बोल्दै नगरप्रमुख दीपकविक्रम शाहले चालु आर्थिक वर्षदेखि सबै किसानलाई पेन्सन दिने कुराको घोषणा गरेका हुन् । देशमा नै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानिय निकाय हो। उक्त नगरमा प्रत्येक किसानलाई शुरुमा रु ५ सयदेखि १ हजासम्मको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको र तत्काल यी कार्यविधि बनाएर चालु आर्थिक वर्षदेखि शुरुवात गरेकाे नगरका सूचना तथा सञ्चार प्रविधि अधिकृत खडकबहादुर बमले जानकारी दिए । चालु आर्थिक ५१ करोडको बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाँउ निर्माणदेखि कृषि पशुपालकलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोत शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको छ । १ करोड बजेट विनियोजन गरेर बुढीगङ्गा नगरपालिकाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै नगपालिकाले ‘तपाईको मेहनत हाम्रो लगानी’ भन्ने नाराको साथ अगाडी लैजान तथा स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट १ करोड विनियोजन गरेको छ । किसानलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको नगरका सूचना तथा सञ्चार प्रविधि अधिकृत खडकबहादुर बमले विकासन्युजसँग टेलिफोनमार्फत जानकारी गराएका छन् । पेन्सन दिने विषयलाई लिए पछिल्लो समय स्थानिय कृषकहरुमा हौसला एवं उर्जा थपिएको देखिने सूचना तथा सञ्चार प्रविधि अधिकृत बमले बताए ।
सवारी साधन खरिदमा प्रदेश ३ सरकारको २० करोड, कुन मन्त्रालयले कति ?
हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरिद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५/०७६ मा प्रदेश सरकारले करिब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरिदमा खर्च गरेको तथ्याङ्क छ । प्रदेश ३ का कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा रु सात करोड एक लाख ३५ हजारको सवारी खरिद गरेको थियो । चालू आवमा सबैभन्दा बढी सवारी प्रदेशसभा सचिवालयले खरिद गरेको छ । प्रदेशसभा सचिवालयले रु पाँच करोड ९३ लाख ६१ हजार ७९९ बराबरको सवारी खरिद गरेको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गत रहेका पाँचै वटा समितिका सभापति, प्रमुख सचेतक र मुख्य सचेतकका लागि गरी सात वटा सवारी र १० वटा मोटरसाइकल खरिद गरेको छ । यसैगरी, सामाजिक विकास मन्त्रालयले रु एक करोड ९८ लाख ३८ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक करोड ९८ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले रु एक करोड ९७ लाख ३७ हजार ७००, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक करोड ९८ लाख ९४ हजार तीनसय को सवारी खरिद गरेको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ७७ लाख २२ हजार ५००, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रु एक करोड २० लाख ८३ हजार बराबरको सवारी खरिद गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी, भौतिक पूर्वाधार मन्त्रालयले रु एक करोड ५९ लाख १२ हजार ३००, नीति तथा योजना आयोगले रु ५८ लाख एक हजार ५००, प्रदेश लेखा नियन्त्रण कार्यालयले रु ६८ लाख २५ हजार २९९ बराबरको सवारी खरिद गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । गत आवमा महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लगेकोप्रति चिन्ता व्यक्त गरी तत्काल सुधार गरेर अगाडि बढाउन निर्देशन दिएको जनाइएको छ । गत आवको तुलनामा संरचना ज्यादै बढेकाले खर्च पनि बढ्नु स्वभाविक भएको प्रतिक्रिया आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यालयले दिएको छ । आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालय तथा कार्यालयले सवारी खरिद गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले बताए । उनले विशेष गरी प्रदेशसभाअन्तर्गत समितिका सभापतिलगायतका लागि सवारी खरिद गर्दा खर्च बढेको बताए । जिल्लागत तहमा सवारी खरिद गरिएको तथ्याङ्क आउने क्रममा रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । रासस
सहुलियत दरको ऋण बारे धादिङमा जनचेतना
काठमाडौँ । २०७२ सालको भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा युके एडको सक्षम (एक्सेस टु फाइनान्स कार्यक्रम) ले धादिङमा तीन दिने जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम असार ३१ देखि साउन २ सम्म ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा सम्पन्न भएको हो । जनचेतना कार्यक्रमहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वैदेशिक सहायता संयोजन शाखाका प्रमुख दिव्यराज पोखरेल तथा प्राधिकरण कै बैंकिङ संयोजन विशेषज्ञन मिता पौडेलको सहभागिता रहेको थियो । धादिङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद खेमप्रसाद लोहनी ज्वालामुखी गाउँपालिकामा भएको कार्यक्रमका प्रमुख वक्ता थिए । साथै गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडा तथा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रतिनिधि आनन्दराज पाण्डे अन्य वक्ता थिए । नीलकण्ठ नगरपालिकामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, नगरपालिकाका उपमेयर मानराज भण्डारी, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका धादिङका परियोजना प्रमुख जयराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।धुनवेशी नगरपालिकामा भएको कार्यक्रमका नगरपालिकाका मेयर बालकृष्णआचार्य, उपमेयर निरु खरेल तथा नगरपालिका कै सुजनराज खनाल उपस्थित थिए । उक्त कार्यक्रममा सहुलियत ऋणका विविध पक्षका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोखरेल तथा पौडेलले संयुक्तरूपमा प्रस्तुति गरेका थिए । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने विभिन्न कागजातहरू लगायतका बारेमा व्याख्या गरिएका पर्चाहरुसक्षमले जारी गरेको थियो । सो अवसरमा आवास पुनर्निर्माण आयोजनाका प्रमुख विभुप्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वको बारेमा प्रष्ट पारेका थिए। उक्त कार्यक्रमहरूमा सम्बन्धित गाउँ र नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू, तथा लाभग्राहीको सहभागिता रहेको थियो ।प्राधिकरणका प्रतिनिधिहरू तथा सक्षमका अर्यालले कार्यक्रममा आएका जिज्ञासाहरूको उत्तर दिएका थिए।
आन्तरिक राजश्व कार्यालय भरतपुर लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको रु ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा रु २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार सङ्कलन भएको छ । त्यसैगरी, आयकर रु दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ रु १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ रु पाँच करोड ९३ लाख ४९ हजार राजश्व सङ्कलन भएको छ । यस्तै, स्वास्थ्य सेवा करतर्फ रु तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु एक करोड २७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उनले जानकारी दिए । उनका अनुसार विभागले कार्यालयलाई रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजश्व सङ्कलनको लक्ष्य तोकेको थियो । विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँ÷गाउँमा पुर्याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटक/पटक ताकेता गर्ने लगायतका काम गरिएको थियो । कार्यालयका प्रमुख सुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, कर्मचारीलगायतको सामूहिक प्रयासका कारण लक्ष्य अनुसार कर सङ्कलन गर्न सकिएको बताएका छन् । मन्त्रालय र विभागबाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीमा थपिएको ऊर्जाले लक्ष्यमा पुग्न सकिएको उनको भनाइ थियो । कार्यालयमा हाल आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि कर तर्फ आठ हजार ४५९, अन्तशुल्क तर्फ रु पाँच हजार १०३ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४३ हजार ४८३ करदाता रहेका छन् । रासस
प्रभु बैंकको शाखा चितवनको खैरहनी पर्सामा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबार चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं. ८ पर्सा बजारमा १८९औं शाखा कार्यालय बिस्तार गरेको छ । पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले उद्घाटन गरेका हुन् । पर्सा शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने
कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता गर्न लागेकाे हाे । कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताएका छन् । विगतका वर्षमा प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यसवर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको र यसबाट सङ्घीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन टेवा पुग्ने विश्वास आयोजकको छ । गत वर्षसम्म खुला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा प्रतिस्पर्धा गराइएकामा यस वर्षदेखि पुरुष डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । राष्ट्रियतर्फ ४५ प्लस भेट्रान्स तथा ५५ प्लस खुला र गण्डकी प्रदेशस्तरीय पुरुष डबल खुल्ला तथा पुरुष डबल्स खुला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । राष्ट्रिय खुल्लामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु ५० हजार, ३० हजार तथा रु १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् भने खुल्ला गण्डकीस्तरीय ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समूहले क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । प्रतियोगितामा २६० खेलाडीले भाग लिने अनुमान गरिएको छ । रासस