सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई ११ प्रतिशत लाभांश बितरण गर्ने
काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि.को साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११% (कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००/-(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले बिस्तार गर्यो क्षेत्रीय सञ्जाल
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमानवाहक हिमालय एअरलाइन्सले बंङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०-२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ । केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नयाँ रुटले नेपालको एसियाली मुलुकसग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ । हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, मासफी बिन्ते साम्स्, नेपालका लागि बांङ्गलादेशी राजदूत, दीपकराज जोशी, नेपाल पर्यटन बोर्ड र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजयबहादुर श्रेष्ठ सहभागी थिए । साथै, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरुको बिदाईका निम्ति उपस्थित भएकी थिइन् । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन प्राधिकरण तथा नेपाल सरकारका विभिन्न कार्यालयहरुबाट आमन्त्रित विशेष अतिथि तथा विशिष्ट पाहुनाहरुको उपस्थितिमा उद्घाटन उडानको खुशीयालीमा केक काट्ने कार्यक्रम र्याडिशन एयरपोर्ट रेस्टुरेन्टमा सम्पन्न भयो । एअरलाइन्सको यो कदमलाई नेपालका लागि बंङ्गलादेशी राजदूत मासफी बिन्ते साम्सले बधाई ज्ञापन व्यक्त गरिन् ।
संघीय संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहका बीच उद्घाटन गरेका छन् । काउन्टर उद्घाटन गर्दैसभामुख महराले सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विद्युतीय एसयूभी एमजी जेडएसको प्रि-बुकिङ शुरु
काठमाडौँ । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रि-बुकिङको घोषणा गरेको छ । यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ, प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् । यस्ता छन् विशेषता विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । मूल्य ४९ लाख ९९ हजार नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मुल्य रु ४९,९९,००० रहेको छ र यस मुल्यमा ७ किवा एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ ।
माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न सकिने
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१,०००/– अङ्कित दरका ३०,००,०००/– कित्ता ऋणपत्र साउन ६ गतेदेखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुच्छ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये सामूहिक लगानी कोषका लागि छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ ।
एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको हो । बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक सोम गुरुङ लगायतको सहभागिता थियो । सो रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री बितरण गरिने बताइएको छ ।
काठमाडौं मेरिएट होटलद्वारा राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल आयोजना
काठमाडौँ । काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । फुड फेस्टिभलमा मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्वीलिनेरि उस्तादले बनाएको योे भोजनको अनुभव लिन सकिने छ । मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा उठाउनुहोस । यो खानाले तपाईंलाई राजस्थानी लोक भाकाको आनन्द प्रदान गर्दै तपाईंलाई नेपालमै बसेर राजस्थानमा भएको महशुस गराउँछ । बफे साँझ ६ः३० बजेबाट बेलुका १०ः३० बजेसम्म खुल्ला रहनेछ । यसको मुल्य नेपाली २४०० रुपैयाँ रहेको छ र रु ३००० तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन पनि सक्नुहुन्छ । काठमाडौं मेरिएट होटलमा यो मेवार र मारवार फुड फेस्टिभल २८ जुलाई सम्म जारी रहनेछ ।