मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व
भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिएका छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट सरी आएका १७ तथा गत आव २०७५/७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्योट भएका थिए । झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन् । अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । रासस
फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई
काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए । त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।
अज्ञात रोगबाट एकैदिन २१ बाख्रा मरे
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै सोमबार नौ बाख्रा मरेका छन् । “भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष बहादुरसिंह महराले भने, “धेरै बाख्रा मरेको भन्ने खबर आएको छ, विवरण सङ्कलन भइरहेको छ, धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौँ ।” मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उनले बताए । एकपछि अर्को बाख्रा मर्न थालेपछि निकै क्षति व्यहोर्नुपरेको बाख्रापालक धानुक बताउँछन् । मरेका बाख्राको नमूना सङ्कलनको कार्यसमेत गरिएको छ । पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा. विष्णु धिताललगायत तीन प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाको टोलीले मरेका दुई बाख्राको परीक्षण गरी नमूना सङ्कलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले बताएका छन् । मथे नामक घाँस खुवाइएपछि धमाधम बाख्रा मरेको जानकारीका आधारमा पशु विज्ञले सो घाँसमा एक प्रकारको विषाक्त रसाइन पाइने हुनाले नखुवाउन बाख्रापालकलाई सुझाव दिएका हुन् । परीक्षण गरिएका बाख्रामा एक प्रजातिको जुकासमेत पाइएकाले जुकाको औषधि र लिभरटनिक खुवाउन सल्लाह दिएका छन् । अधिकृत भट्टले भने, मरेका बाख्राबाट लिइएका नमूनाको प्रयोगशालामा परीक्षणपश्चात मात्रै यो कारणले बाख्राको मृत्यु भएको भन्ने जानकारी हुनसक्नेछ । यसका लागि एक दुई दिन लाग्न सक्छ । रासस
ढुवानी व्यवसाय सुचारु, समस्या समाधानको उपाय खोज्न कार्यदल गठन
काठमाडौँ । ढुवानी व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । ढुवानीमा भ्याट र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली(भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली(भिसिटीएस)को विरोधमा उत्रिएका व्यवसायी आन्दोलन स्थगित भएको हो । ढुवानी व्यवसायीहरुले सरकारले ल्याएको नयाँ प्रावधानको विरोध गर्दै आ-आफ्ना सवारी थन्क्याएका थिए । मंगलबार ढुवानी व्यवसाय क्षेत्रमा देखिएका समस्याहरुका सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको उपस्थितिमा बसेको बैठक समस्या समाधानतर्फ सकारात्मक भएपछि ढुवानी व्यवसाय सुचारु गरेको बैठकमा सहभागी व्यवसायी गोकर्ण पराजुलीले बताए । बैठकले ढुवानी व्यवसाय तथा यातायात क्षेत्रका सम्बन्धमा हाल देखिएको विविध समस्याहरुको अध्ययन गरी ३० दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । कार्यविधि आफैं निर्धारण गरेर प्रतिवेदन बुझाउने कार्यदलका संयोजक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले जनाएका छन् ।
सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशत पुर्यायो, सनराइज बैंकले बेसरेट लुकायो
काठमाडौं । सिभिल बैंकले कर्जाको व्याज १८ प्रतिशतसम्म पुर्याएको छ । बैंकले ओभरड्राफ्ट कार्ड कर्जाको व्याज १८ प्रतिशत तोकेको छ । असार मसान्तमा बैंकको बेसरेट ११.११ प्रतिशत पुगेको छ । बेस रेटमा ६.८९ प्रतिशत व्याज थपेर ओभरड्राफ्ट कार्डको कर्जा १८ प्रतिशत तोकेको हो । सेवा शुल्क जोड्दा ऋणिले करिव १९ प्रतिशत व्याज तिर्नुपर्छ । सिभिल बैंकबाट ऋण लिँदा धेरै कर्जामा सेवा शुल्कसहित कर्जाको व्याज १८ प्रतिशत हुने भएको छ । व्यवसायिक सवारी तथा हेविइक्वीप्टमेन्टहरु किन्नको लागि बैंकले दिने सवारी कर्जाको व्याज १७.११ प्रतिशत छोकिएको छ । सेवा शुल्क जोड्दा १८ प्रतिशत नाघ्नेछ । निजी कार किन्नभने १६.११ प्रतिशत व्याज तिर्नु पर्नेछ । त्यसमा सेवा शुल्क जोडिनेछ । २०७२ सालमा भएको नाडा अटो शोको वेलामा सिभिल बैंकले स्कोडा ब्राण्डको कार किन्न ४.९९ प्रतिशत व्याजमा अटो कर्जा दिएको थियो । त्यतिबेला भन्दा अहिले सवारी किन्दा सवारी कर्जाको झण्डै ३५० प्रतिशत वृद्धि भएको छ । सिभिल बैंकबाट घर जग्गा किन्ने कर्जा, सुन धितो राखेर लिने कर्जा, शिक्षा कर्जा, व्यक्तिगत कर्जा, सेयर कर्जाको व्याज पनि करिव १७ प्रतिशत पर्ने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार विपन्न वर्गलाई दिनुपर्ने कर्जा, लघुवित्तहरुले लिने कर्जाहरुको व्याज भने ७ प्रतिशतभन्दा कम तोकिएको छ । यस बैंकले निक्षेपकर्तालाई ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिने जनाएको छ । सनराइज बैंकले भने निक्षेपकर्तालाई दिने व्याज घटाएको छ । यस बैंकले बचत खातामा ४ देखि ६ प्रतिशत व्याज दिने भएको छ भने मुद्दतिमा ७ देखि ९.२५ प्रतिशतसम्म व्याज दिने भएको छ । यस बैंकले बेसरेट लुकाएर कर्जाको व्याजदर अस्पष्ट रुपमा सार्वजनिक गरेको छ । अधिकांश कर्जामा बसेरेटमा ६ प्रतिशत जोडर व्याज लिने जनाएको छ । तर बेस रेट नखुलाएको कुन कर्जा लिँदा कति व्याज तिर्नु पर्ने हो सर्वसाधारणले जानकारी लिन सक्दैनन् ।
बिकेन हिमालयन बैंकको ऋणपत्र, साउन ३१ गतेसम्म समय थप
काठमाडौँ । हिमालयन बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुलाको समय थप गरिएको छ । तोकिएको समय भित्र सर्वसाधारणले पर्याप्त आवेदन नदिएपछि समय गरिएको हो । सात वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १००० अंकित ३० लाख कित्ता मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड ऋण पूँजी रकम साउन २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । तर यो समय अवधि भित्र उक्त डिबेन्चर बिक्री हुन नसकेको हो । यता, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले सर्वसाधारण आवेदकहरुको सुबिधालाई मध्येनजर गर्दै उक्त निष्काशनको बिक्री अवधि साउन ३१ गतेसम्म कायम गरिएको जनाएको छ । उक्त ऋणपत्र न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिलले जनाएको छ ।
नेटवर्किङ व्यवसायकोे नाममा ठगी गर्ने तीन पक्राउ
मुग्लिन । चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय डिबी भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी रहेका छन् । उनीहरुले प्रचलित कानूनविपरीत प्रतिबन्धित नेटवर्किङ एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौँमा दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाई चितवनका सर्वसाधरणहरूलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए । उनीहरूबाट पीडित भएकाहरुले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता कोइरालाले बताए । तीनै जनाउपर ठगी मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाको भनाइ छ । उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । रासस
साउन २३ देखि सिद्धार्थ क्यापिटलको इकाई निष्काशन हुने
काठमाडौँ । सिद्धार्थ बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को १४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार प्रति इकाई मूल्य रु.१० दरको १४ करोड इकाईको १५ प्रतिशतले हुन आउने २ करोड १० लाख इकाई वा सामुहिक लगानी कोष नियमवली २०६७ को नियम २९ को व्यवस्था बमोजिम तोकिएको न्यूनतम १५ प्रतिशतले हुन आउने इकाई कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गरी बाँकी इकाई विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको हो । न्यूनतम १०० र अधिकतम १ करोड ४० लाख इकाईसम्म दरखास्त दिन पाइने छ । साउन २३ गते निष्काशन खुला हुने र छिटोमा साउन २७ गते र ढिलोमा भदौ २० गते निष्काशन बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।