विकासन्युज

एकल विन्दु सेवा केन्द्र शुरु भएपछिको उत्साह, ८ अर्बले बढ्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि आएपछि अघिल्लो वर्षको तुलनामा ७ अर्ब ८२ करोड ८० लाख विदेशी लगानी प्रतिवद्धतामा वृद्धि भएको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका हुन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी साउन ६ गते सम्म) १३ अर्ब ५२ करोड ५० लाखको लगानी प्रतिवद्धता भएका ७६ वटा उद्योग दर्ता भएका छन् । गतवर्ष (२०७५ जेठ १ गतेदेखी साउन ६ गते) सम्म ५ अर्ब ६९ करोड ७० लाखको लगानी प्रतिवद्धतामा १३६ वटा उद्योग दर्ता भएका थिए । लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष १३६ उद्योग दर्ता भएको थियो भने यो वर्ष ७६ वटा मात्रै दर्ता भएको छ । २०७६ जेठ १ गतेदेखी साउन ६ गतेसम्मको तथ्यांक अनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ७६ उद्योगमध्ये उर्जा क्षेत्रका ४६ वटा छन् । उत्पादनमूलक उद्योग २३ वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २ वटा, सेवामूलकमा ४ वटा र कृषिजन्यमा १ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्ता र लगानीमा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’ केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई संस्थाद्वारा २५ लाखको चेक हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ट्रष्टका कोषाध्यक्ष मदनलाल केडिया र युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त चेक हस्तान्तरण गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउँदै कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउँदै भने, “सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक  ट्रेड युनियन बन्द गर्न खोजेको छ भनेर सरकार र कर्मचारीबीच भ्रम छर्ने काम गरिरहेका छन् । उनले जबसम्म कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ र सेवाउन्मुख हुँदैन तबसम्म सरकार आफ्ना वाञ्छित उपलब्धि हासिल गर्न सक्दैन भनी उल्लेख गरे । यसरी, सरकारले मन्त्रिपरिषद्बाट गर्ने निर्णय कार्यान्वयन कर्मचारीले नै गर्ने भएकाले कर्मचारी र सरकारबीच विश्वासको वातावरण बन्नुपर्ने उनले बताए । देशका लागि योगदान गर्ने समय आएको बताउँदे आलीले चुहावट र अनियमितता हटाउनका लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू गरिएको पनि स्पष्ट गरेका छन् । यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्नका लागि ट्रष्टले प्रदेश नं २ का मुख्ममन्त्री लालबाबु राउतलाई रु ११ लाख प्रदान गरेको ट्रष्टका विमल केडियाले जानकारी दिए । रासस

शिखरको साधारण सभा साउन २८ मा, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे केन्द्रीय कार्यालय थापाथलीमा साधारण सभा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बृद्धि गर्नका लागि ३० प्रतिशतको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय पनि गरेको छ । साथै, कम्पनीको संस्थापक समूहको सञ्चालकहरुको पदावधी वार्षिक साधारण सभा अघि नै सकिने भएकाले पदावधी थप गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरिने छ । नियमनकारी निकाय बीमा समितिबाट जारी भएको गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७६ बमोजिम सम्पूर्ण प्रक्रिया अवलम्बन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने छ । साधारण सभा प्रयोजनको लागि साउन १५ गतेदेखि कम्पनीको सेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरिएको कम्पनी सचिव सुरज राजवाहकले जनाएका छन् ।

वैदेशिक रोजगार बोर्डले प्रस्तुत गर्याे कार्य विवरण, ६२ करोडबढी खर्च

काठमाडौं । आर्थिक वर्ष २०७५।०७६मा वैदेशिक रोजगार बोर्डले ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च गरेको तथ्याङ्क सार्वजनिक गरेकाे छ । गत वर्ष वैदेशिक रोजगारमा गएका मृतक कामदारका परिवारलाई बोर्ड ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेका छन् । ७ सय ५३ जनाको मृत्यु भएकोमा २३ जना महिला रहेका छन् । १४ सय ३३ जना वैदेशिक रोजगारका लागि छात्रवृत्ति वितरणका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च गरेको छ । त्यस्तै अंगभंग भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ प्रदान गरेको छ । ७ सय ८३ जना मृतकको शव घरसम्म ढुवानी गर्दा १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको तथ्याङ्क सार्वजनिक भएको छ । ७८ अलपत्र कामदार नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ खर्च भएको छ । १ हजार ४ सय ८० जना अभिमुखीकरण तालिमका लागि १० लाख ३६ हजार रुपैयाँ भने २९ जना कामदारको परिवारलाई औषधोपचारका लागि १२ लाख १५ हजार रुपैयाँ बोर्ड प्रदान गरेको तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ । २०६५ साल साउन १ देखि २०७६ साल असार २९ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ७ हजार ४ सय ६७ जना रहेका छन् । जसमा १ सय ७१ महिला र ७ हजार २ सय ९६ जना रहेका वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनवन्धु सुवेदीले जानकारी दिएका छन् । बोर्डले बर्षाैदेखि वैदेशिक रोजगारमा गई मृत्यु भएका सबै कामदारको परिवारलाई राहत र विदेशमा अल्पत्र परेका नेपाली युवाहरुलाई फर्काएर आत्मनिर्भर बनाउने काम बोर्डले गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । यस्ताे छ गत वर्षकाे तथ्याङ्क  ः

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय उडान भने नियमित

काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिएका छन् । उनका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थल मात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ । अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ ।पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् । आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुनेछ । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । रासस

विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा गर्यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो । नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् । रासस

नगरबस सञ्चालन गर्ने तयारीमा उपमहानगरपालिका, करिब साढे तीन करोडमा सात बस खरिद

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरिद गरेको हो । खरिद गरिएका बस एक महिनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिएका छन् । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । रासस

साउन ११ गते देखी ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौं। ग्लोबल रिच नेपालको अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । फेयर यही साउन ११ गते शनिबारदेखि चार विभिन्न ठाउँमा चार दिनसम्म सञ्चालन हुनेछ। फेयरमा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी हुने ग्लोबल रिचले बताएको छ। फेयरको पहिलो दिन जुलाई २७ (साउन ११ गते) काठमाडौंको होटल अन्नपूर्णमा हुने अष्ट्रेलियन एजुकेशन फेयर बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि  २८ तारिखमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा, २९ तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा र ३० तारिखमा बुटवलस्थित ग्लोबल रिचको कार्यालयमा  शैक्षिक मेला आयोजना हुनेछ । काठमाडौंको मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालयका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहन्छ भने अन्य स्थानका मेलामा २–४ वटा विश्वविद्यालय कम हुनसक्ने बताईएको छ। ग्लोबल रिचले हरेक बर्ष ठूलो संख्यामा अष्ट्रेलियाका विश्वविद्यालयलाई सहभागी गराई मेला गराउन सफल हुँदै आएको छ । विभिन्न संघसंस्था र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुले अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने गरेकोमा ग्लोबल रिचले बिना एजेन्ट स्वयम अष्ट्रेलियाका ठूलो संख्यामा चर्चित विश्वविद्यालयहरु सहभागी गराई हरेक बर्ष मेला गर्दै आएको छ । विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिन सकिने यो सबैभन्दा ठूलो शैक्षिक मेला भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजको भनाई छ । उनले अष्ट्रेलियाका विश्वविद्यालयको मेलामा आफै सहभागिता हुने भएकाले यहाँका स्थानीय साझेदारहरुको खासै भूमिका नहुने बताउँदै सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा आफूहरुले काम गर्ने बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताउँदै बजाजले मेलाबाट विद्यार्थीहरुले सबै कुरा बुझेर प्रक्रिया अघि बढाउन सक्ने बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहनेछन् । अष्ट्रेलिया पढ्न जाने सोच बनाएका विद्यार्थीलाई शैक्षिक कर्जादेखि भाषा परीक्षा, भर्ना प्रक्रिया जस्ता कुराहरु मात्रै नभएर भोलि पढन गइसकेपछि पनि कति समय काम गर्ने ? कस्तो काम गर्ने ? भन्ने कुराको समेत अन्योलमा मेलाबाट समाधान हुने भन्दै बजाजले जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको बताए  । ग्लोबल रिचले सन् २०१२ देखि यस किसिमको मेला गर्दै आएको छ ।