बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना
काठमाडौँ । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले मंगलबार मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको हो । यस्तै देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । यस्तै बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । रासस
लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले व्यावसायिक इमानदारीलाई अक्षुण राख्दै लेखापरीक्षकहरूले यथार्थपरक प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिएका छन् । वित्तीय सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लेखापरीक्षण प्रतिवेदन वास्तविक र यथार्थपरक हुनैपर्ने अपरिहार्यता औँल्याए । नेपाल चार्टर्ड एकाउण्टेटस् संस्था (आइक्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले वास्तविकताभन्दा बाहिर गएर लेखापरीक्षकले कुनैपनि संस्थाको वित्तीय स्वास्थ्य ‘जे हो त्यही नभने’ गम्भीर दुर्घटना हुने बताए । “बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्” पेशागत मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने । वित्तीय साक्षरता कायम गर्ने सरकारी नीति कार्यान्वयनमा सघाउन नियामक निकाय आइक्यानलाई आग्रह पनि गरे । मूल्यअभिवृद्धि कर (भ्याट) लगायत आर्थिक ऐनले निर्धारण गरेका कर सङ्कलनसम्बन्धी अव्यावहारिक प्रावधान भए छलफल गर्न आफू तयार रहेको मन्त्री खतिवडाले बताए ।
मकवानपुरमा भीषण वर्षा, शिवम् सिमेन्टमा कच्चा पदार्थ पुर्याएर फर्किएको गाडी खोलाले बगायो
हेटौँडा । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए । पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौँडा फाखेल काठमाडौँ सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । “उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ”, उनले भने । पानी केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ । रासस
शान्तिनगरस्थित तरकारी बजारको अनुगमन, सात व्यापारीमाथि कारवाही
काठमाडौँ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ । किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । छ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा पसललाई रु पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो । अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिए । तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको उनले बताए । यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ । माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए । राजधानीमा हरिया तरकारीको मूल्यवृद्धि भएसँगै अहिले माछा, मासुको मूल्य पनि अस्वभाविक रुपमा वृद्धि भएको छ । एक वर्षअघि एक हजारको हाराहारीमा पाइने खसीको मासुको मूल्य वृद्धि भएर अहिले करीब रु एक हजार ३५० पुगेको छ । रासस
नेप्से उकालो यात्रामा, ३६ करोड ८९ लाखको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ ।
संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य
काठमाडौँ । नेपाल चाटर्ड एकाउन्टन्ट्स संस्था(आइक्यान)का नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संस्थाको संस्थागत सुशासनका लागि आफु प्रतिबद्ध भएको बताएका छन् । संस्थाले मंगलबार काठमाडौंको लाजिम्पाटमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले संस्था, संस्थाका सदस्य र विध्यार्थीहरुको हक हितका लागि आफु सदैव प्रतिबद्ध हुने बताएका हुन् । उनले आइक्यानमा विभिन्न चुनौतीहरु रहेको बताउँदै ती समस्या र चुनौतीहरुको अध्ययन गरी समस्या समाधानतर्फ ध्यान दिने बताए । अध्यक्ष आचार्यले लेखा प्रणालीमा केही समस्या भएको बताउँदै त्यसलाई सुधार्न आफु लागि पर्ने बताए । उनलाई निवर्तमान अध्यक्ष जगताथ उपाध्याय निरौलाले सपथ गराएका थिए भने नव नियुक्त उपाध्यक्ष मदनकृष्ण उपाध्यायलाई अध्यक्ष आचार्यले सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
जनसेवी लघुवित्तको मूनाफा ३८० प्रतिशतले बृद्धी
काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ । संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको प्रुूख कार्यकारी अधिकृत कमल खत्रीले बताए । संस्थाले गत वर्ष रु.६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको थियो ।
एनएमवि लघुवित्तद्धारा आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो । ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरेका हुन् । हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया समेत मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण गरिएको थियो ।