काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि आएपछि अघिल्लो वर्षको तुलनामा ७ अर्ब ८२ करोड ८० लाख विदेशी लगानी प्रतिवद्धतामा वृद्धि भएको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका हुन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो ।
उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी साउन ६ गते सम्म) १३ अर्ब ५२ करोड ५० लाखको लगानी प्रतिवद्धता भएका ७६ वटा उद्योग दर्ता भएका छन् । गतवर्ष (२०७५ जेठ १ गतेदेखी साउन ६ गते) सम्म ५ अर्ब ६९ करोड ७० लाखको लगानी प्रतिवद्धतामा १३६ वटा उद्योग दर्ता भएका थिए । लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष १३६ उद्योग दर्ता भएको थियो भने यो वर्ष ७६ वटा मात्रै दर्ता भएको छ ।
२०७६ जेठ १ गतेदेखी साउन ६ गतेसम्मको तथ्यांक अनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ७६ उद्योगमध्ये उर्जा क्षेत्रका ४६ वटा छन् । उत्पादनमूलक उद्योग २३ वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २ वटा, सेवामूलकमा ४ वटा र कृषिजन्यमा १ वटा उद्योग दर्ता भएका छन् ।
उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्ता र लगानीमा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’
केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।