विकासन्युज

आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक शुरु(भिडियो लाइभ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले होटल र्याडिशनबाट मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । Live link Publiée par Bikashnews.com sur Mercredi 24 juillet 2019

६.९० अंकले बढ्यो नेप्से, मौद्रिक नीति पछि के होला ?

काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति आउने दिन बुधबार सेयर बजार बढेको छ । आज ६.९० अंकले नेप्से परिसूचक बढेको हो । ०.५४ प्रतिशतले परिसूचक बढ्दा १२८४.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज सेयर बजारमा १७० कम्पनीका १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ रुपैयाँको कारोबार भयो । आज वित्त र उत्पादनमूलक समूह बाहेका अरु सबै सूचकमा हरियाली छायो । बैंकिङ समूह ६.२३, होटल समूह ४०.३६, विकास बैंक समूह ८.५, जलविद्युत समूह २.२८, निर्जीवन बीमा समूह ६८.४४, अन्य समूह ३.१६, लघुवित्त समूह १४.९८, जीवन बीमा समूह ८.२१ र म्युचुअल फण्ड ०.०९ अंकले बढेका हुन् । त्यसैगरी वित्त समूह १ र उत्पादनमूलक समूह २.३४ अंकले घटेका हुन् । आज नेपाल बैंकको सबैभन्दा बढी ३ करोड ९९ लाख, कृषि विकास बैंकको २ करोड ६६ लाख, प्रभु बैंकको २ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५९ लाख र एनआईसी एशिया बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले नाफा कमाए भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज बढेको सेयर बजार मौद्रिक नीति पछि भोलिका दिनमा के होला यसै भन्न सकिन्न ।

सन् २०१९ मा नेपाल आउने पर्यटक बढे, भारतबाट सबैभन्दा बढी

काठमाडौं । अध्यागमन बिभागले दिएको तथ्यांक अनुसार सन् २०१९ जनवरीदेखी जुनसम्म ५ लाख ८५ हजार ५ सय ३१ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष यसै समयमको तुलनामा पर्यटक आगमन यो १२.६० प्रतिशतले बृद्धि हो । गत वर्ष सन् २०१८ मा ५ लाख २० हजार १४ पर्यटकहरु नेपाल भित्रिएका थिए । सार्क मुलुकबाट नेपाल आउने पर्यटकहरुको संख्या १ लाख ४४ हजार ९ सय ५७ रहेको छ । अघिल्लो वर्ष जनवरीदेखी जुनसम्मको तुलनामा यो २४.८ प्रतिशतले बृद्धि हो । सार्क मुलुकमा सबैभन्दा बढी भारतबाट १ लाख ३ हजार ४ सय ६१ पर्यटकहरु नेपाल भित्रिएका छन् । दोस्रोमा श्रीलंका, तेस्रोमा बंगलादेश रहेका छन् । श्रीलंकाबाट २८ हजार ७ सय ९० र बंगलादेशबाट १० हजार ५ सय ९० पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा कम पर्यटक भित्रिने देश पाकिस्तान रहेको छ । पाकिस्तान र बंगलादेशबाट आउने पर्यटकको संख्या तुलनात्मक रुपमा गत वर्षको तुलनामा घटेको छ । पाकिस्तानी पर्यटकको आगमनमा १४.४४ प्रतिशत र बंगाली पर्यटकको संख्यामा २४.३३ प्रतिशतका दरले कमी आएको हो । सार्क मुलुकबाहिरको तथ्यांक केलाउने हो भने सबैभन्दा बढी नेपाल भित्रिनेमा चाइनिज पर्यटक पर्छन् । अघिल्लो वर्ष सन् २०१८ को जनवरीदेखी जुनसम्म ७१ हजार ३ सय ७९ चाइनिज पर्यटक नेपाल भित्रिएका थिए । यस वर्ष ठ्याक्कै यही समयमा ८५ हजार ३ सय १८ चाइनिज पर्यटकहरु नेपाल घुम्न आएका छन् । यो गत वर्षको तुलनामा १९.५३ प्रतिशतले बृद्धि हो । एसियन मुलुकबाट एक लाख ७४ हजार २७ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष १ लाख ४४ हजार ३५ पर्यटकले नेपाल पाइला टेकेका थिए । गत वर्षको तुलनामा यो २०.८२ प्रतिशतले बृद्धि हो । युरोपियन मुलुकबाट भित्रिने पर्यटकहरुको संख्या १ लाख ४ हजार ७ सय ८३ सिमित थियो । अहिले त्यो संख्या बढेर एक लाख २ हजार ४ सय ४ पुगेको छ । गत वर्ष भन्दा यो २.३२ प्रतिशतले बृद्धि हो । त्यस्तै अस्ट्रेलियाबाट १६ हजार ७ सय ६१, अमेरिकाबाट ४८ हजार २ सय १, क्यानाडाबाट ९ हजार १ सय ५३ पर्यटक नेपाल भित्रिएका छन् ।

युरोपकाे सबैभन्दा ठूलाे बैंक ‘डच बैंक’ ३ अर्ब ६० करोड डलर घाटामा, २२ हजार कर्मचारी हटाइने

फ्रान्कफर्ट । जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक ‘डच बैंक’को दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ । पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ । बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताएका छन् । यसै महिनाको शुरुमा डच बैंकले सन् २०२२ सम्ममा विश्वभर छरिएर रहेका बैंकका करिब २२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । साथै, बैंकले शेयर कारोबारमा लगानी कम गर्ने तथा जर्मनी र युरोपेली मुलुकमा मात्र आफूलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरिसकेको छ । यसअघि दशौं वर्ष डच बैंकले अमेरिकी वालस्ट्रिटसँग प्रतिस्पर्धा गर्ने क्रममा बैंकको सञ्चालन खर्च ह्वात्तै बढेको थियो । बैंकले आफ्नो वार्षिक खर्चमा पनि झण्डै छ अर्ब युरो कटौती गर्ने योजना बनाएको छ । यसै वर्षको अप्रिलदेखि जुन महिनामा डच बैंकको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २० करोड युरो कमी भएको थियो । यसैबीच, डच बैंकले गरिरहेका कतिपय व्यापारिक कृयाकलापहरु बिक्री गर्न फ्रान्सेली बैंक बिएनपी परिवाससँग वार्ता जारी छ । डच बैंकले यही सिलसिलामा झण्डै ९०० कर्मचारी हटाइसकेको छ । रासस

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते, बुक क्लोज कहिले ?

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा(एजीएम) साउन २९ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने कमपनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारण सभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

निसान माेटरले १० हजार कर्मचारी हटाउने, कम्पनीकाे नाफामा ९० प्रतिशत गिरावट

टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ । निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । रासस

वार्षिक साढे छ अर्बको काठ आयात गर्छ नेपाल, बढी भारतबाट

काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट सो रकम बराबरका काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात भएका हुन् । कूल काठ आयातको ५४ प्रतिशत भारतबाट, १७ प्रतिशत इन्डोनेसिया, १३ प्रतिशत चीन, सात प्रतिशत म्यान्मा र तीन प्रतिशत मलेशियाबाट भएको तथ्याङ्क छ । बाँकी अन्य मुलुकबाट आयात भएको हो । सबैभन्दा बढी प्लाई प्रकारका काठजन्य करीब रु दुई अर्ब, चिरान एक अर्ब २७ करोड, फ्रेम तथा सोही प्रकारका अन्य सामग्री रु ७७ करोड, बोर्ड ५० करोड बराबरका आयात भएको तथ्याङ्क छ । बर्षेनी काठ आयात बढ्दै यसबाहेक काठको कोइला, काठको धुलो, सलाईदेखि दाँत कोट्याउने टुथपिकसम्मका काठजन्य सामान पनि आयात हुने गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिएका छन् । विभागका अनुसार आव २०७४/७५ मा रु पाँच अर्ब ७५ करोडको काठ तथा काठजन्य सामग्री आयात भएको थियो । त्यस्तै आव २०७१/७२ मा दुई अर्ब १३ करोड रूपैयाँ बराबरको काठ आयात भएको देखिन्छ । नेपालबाट काठको निर्यात भने नगण्य मात्रामा छ । गत आवमा रु पाँच करोड ५६ लाख बराबरका प्लाई तथा काष्ठकलाका विविध सामग्री भारत, चीन, अमेरिका, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकमा निर्यात भएको देखिन्छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७४/७५ मा मुलुकभित्र सरकारी, सामुदायिक र निजी वन क्षेत्रबाट गरी कूल एक करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने मुलुकभर वार्षिक तीन करोड घनफिटको हाराहारी छ । रासस

ग्लोवल आइएमइ बैंकको नाफा २ अर्ब ८० करोड, अघिल्लाे वर्षकाे तुलनामा ३३ प्रतिशतले बढी

काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ३३ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । त्यस्तै, कर्जा लगानी १ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको सेयर पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । रिर्जभसहित बैंकको कोर क्यापिटल पौने १६ अर्ब रुपैयाँ भएको छ । यस बैंकले ह्याथवे फाइनान्स एक्वाएर गर्दै छ भने जनता बैंक नेपाल पनि ग्लोबल आईएमई बैंकमा मर्ज हुँदैछ । त्यसपछि ग्लाेवल आइएमइ बैंक विभिन्न सूचकका आधारमा सबैभन्दा ठूलाे बैंक बन्ने छ ।