ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन
काठमाडौं । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम सञ्चालनमा ल्याएको छ । नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्ने भएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’ त्यस्तै ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले भने “नबिल बैंकले एस महानगरपालिका परिसरमा जडँन गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरु लाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पु¥याउने छ । ” नबिल बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५सयभन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरसंगै अघि बढ्ने विश्वास राखेको बैंकले जानकारी दिएको छ ।
प्रभु बैंकको नाफामा छलाङ, ११३ प्रतिशतले बढेर २ अर्ब ५ करोड
काठमाडौं । प्रभु बैंकले नाफामा छलाङ मारेको छ । बैंकको नाफा ११३ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड नाफा गरेको यस बैंकले आर्थिक वर्ष २०७५/७६ मा २०५ करोड खुद नाफा गरेको हो । गत वर्ष बैंकले सञ्चालन नाफा ५ अर्ब ८७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा ३ अर्ब ९१ करोड रुपैयाँ थियो । बैंकको विजनेश एक्पान्सन पनि राम्रो देखिएको छ । असार मसान्तसम्ममा निक्षेप १ खर्ब १२ अर्ब रुपैयाँ भएको छ । गत वर्ष बैंकले निक्षेप १५ अर्बले वृद्धि गरेको छ । त्यस्तै कर्जा सापाटी १४ अर्बले वृद्धि गरी ८६ अर्ब रुपैयाँ बनाएको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले १४ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको सीडी रेसियो ७४.२५ प्रतिशत छ । राष्ट्र बैंकको नियमअनुसार यो अंक ८० भन्दा कम हुनुपर्छ । बैंकले निष्क्रिय कर्जा असुलीमा पनि राम्रो प्रगति गरेको छ । खराव कर्जा ३.९८ बाट घटेर २.३१ प्रतिशत भएको छ । बैंकको बेस रेटमा राम्रो सुधार भएको छ । बेस रेट १०.६२ प्रतिशतबाट घटेर ९.३६ प्रतिशत भएको छ । स्प्रेडदर ४.७० प्रतिशत भएको छ । यसलाई बैंकले अब ४.४ प्रतिशत भित्र ल्याउने पर्ने राष्ट्र बैंकको नियम छ । पुँजी कोष प्रयाप्तता ११.५८ प्रतिशत भएको छ । बैंकले सेयरधनीलाई बोनस सेयर धिएर पुँजी वृद्धि गर्ने सम्भावना देखिन्छ । तर चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्ने राष्ट्र बैंकको नयाँ नीति र ऋणपत्रलाई पुँजी कोषमा गणना गर्न पाइने सुविधाका कारण बैंकले बोनस सेयर नदिने निर्णय लिन पनि सक्छ । हाल बैंकको सेयर पुँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ भने पुँजी कोषमा १४ अर्ब ६५ करोड रुपैयाँ छ ।
सामाजिक सञ्जालमार्फत हुने भुक्तानी डलरमा गर्न पाइने
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनको भुक्तानी विदेशी मुद्रा( डलर) बाट गर्न पाउने बाटो खोलिदिएको छ । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ‘सामाजिक सञ्जाल तथा अनलाइनहरु मार्फत हुने विज्ञापन वापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ । फेसबुक, युट्युर तथा अनलाइनको विज्ञापनवापत भुक्तानी तथा प्राप्ती डलर मार्फत गर्ने बाटो राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खोलिदिएको हो । हालसम्म फेसबुक तथा युट्युब लगायतका समाजिक सञ्जालहरुमा गरिने विज्ञापनका लागि विदेशी मुद्राको भुक्तानी वैध मानिदैन थियो ।
बैंकमा सुन राखे ब्याज पाइने
काठमाडौं । अब सर्वसाधारणले बैंकमा सुन राखे ब्याज पाउने भएका छन् । राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले बैंकमा सुन राखे ब्याज पाउने नीति व्यवस्था गर्न लागेको हो । यसको अर्थ अब बैंक तथा वित्तीय संस्थाले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने नयाँ व्यवस्था आउन लागेको हो । सरकारले चालु आवको बजेटमार्फत सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्न अब सर्वसाधारणले लकरमा सुन राखेर पैसा तिर्नु पर्दैन । बैंकहरूले यसको ब्याज समेत दिने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै छ ।
बैंकको आम्दानीमा राष्ट्र बैंकले लगायो थप ४ अंकुस, बैंकर्स भन्छन्-‘अब नाफा घट्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा विभिन्न अंकुश लगाएको छ । मौद्रिक नीति २०७६/७७ मार्फत बैंकहरुको आयमा ४ ठाउँबाट नियन्त्रण गरिएको छ । कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशतमा झारिएको छ । एक वर्षअघिसम्म ५ प्रतिशत थियो । गत वर्ष ४.५ प्रतिशतमा झारिएको थियो । फेरी शुन्य दशमलव १ प्रतिशतमा झारिएको छ । २०७७ असार मसान्तसम्ममा बैंकहरुले व्याजदर अन्तर ४.४ प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । त्यस्तै, राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले यस्तो शुल्क लिनु नपाउने व्यवस्था गरिएको छ । ‘कृषि मात्र भनेको भए त्यसको प्रभाव कम हुुन्थ्यो, उद्यम तथा व्यवसाय प्रवद्र्धन पनि भनिएकोले १५ लाख भन्दा कम रकमको धेरै कर्जामा बैंकहरुले सेवा शुल्क लिन नपाउने अवस्था आएकोले बैंकहरुको आम्दानीमा ठूलो असर पर्ने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद लामछिानेले बताए । त्यस्तै, तोकिएको समय अगाबै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाईने व्यवस्था गरिएको गभर्नर चिरञ्जीवि नेपालले बताएका छन् । त्यस्तै पीएसओ (पोइन्ट अफ सेल) मेसिनबाट कारोबार गर्दा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको छ । राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको नाफा घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘स्प्रेददर पनि घटाएको छ । १५ लाखसम्मको कर्जामा सेवा शुल्क पनि लिन पाइदैन भनेको छ’ ढुंगानाले भने–‘बैंकले दिने सेवाहरु क्रमशः नि:शुल्क बनाउँदै लैजाने राष्ट्र बैंकको नीतिले बैंकको नाफा बढाउन कठिन हुन्छ ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सामाजिक दायित्व बढाउँदै लगेको, सेवा शुल्क घटाउँदै लगेको र निःशुल्क दिनु पर्ने सेवाको सूचि पनि ठूलो बनाउँदै लगेकोले बैंकहरुको नाफामा नकारात्मक असर पर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । बैंकहरूले सबै सेवा सित्तैमा दिनुपर्छ भन्न थालेपछि बैंकहरूले नाफा कमाउन नसक्ने ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवालीले बताए । व्यवसाय वृद्धिसँग कुल नाफा बृद्धि हुने तर व्यवासाय र नाफाको अनुपात भने क्रमशः घट्दै जाने बैंकर्सहरुको भनाई छ ।
बैंकमा खाता हुने नेपाली २ करोड ७३ लाख, साढे १४ लाखले लिए ऋण
काठमाडौँ । बैंकहरुमा खाता खोल्नेको संख्या २ करोड ७३ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमा उक्त तथ्याङ्क उल्लेख छ । २०७६ बैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा निक्षेपतर्फ २ करोड ७३ लाख र कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको हो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने नीति अनुसार २०७६ असारसम्ममा ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् भने २०७५ असारमा वाणिज्य बैंकको संख्या ६३१ रहेको थियो । यस्तै,२०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३,५३९, विकास बैंक १,२५०, वित्त कम्पनी २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३,५७० गरी कुल ८५६४ शाखा संख्या पुगेको मौद्रिक नीतिमा उल्लेख छ । २०७५ जेठ मसान्तमा भने बैंकहरूको शाखा संख्या ६४१४ रहेको थियो । २०७६ जेठ मसान्तको तथ्याङ्कलाई आधार मान्दा बैंक तथा वित्तीय संस्थाको एक शाखाबाट औसतमा ३४११ जनसंख्याले सेवा लिन सक्ने अवस्था रहेको छ भने २०७५ जेठ मसान्तमा यस्तो संख्या ४४९३ रहेको उल्लेख छ । यस्तै, २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको छ । त्यसैगरी मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको मौद्रिक नीति उल्लेख छ ।
७३२ स्थानमा बैंक शाखा पुगे, अझै २१ स्थानमा बैंक पुग्न वाँकी
काठमाडौं । वाणिज्य बैंकको शाखा ७ सय ३२ स्थानीय तहमा विस्तार भएको छ । वि.स २०७६ असार मसान्तसम्मको तथ्याङ्ग अनुसार ७ सय ५३ स्थानीय तहमध्ये जम्मा ७ सय ३२ तहमा मात्र बैक शाखा पुगेकाे हाे । वि.सं.२०७५ सालमा ६ सय ३१ स्थानीय तहमा बैंक शाखा विस्तार भएको थियो । अब २१ स्थानीय तह बैंक शाखा पुग्न रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६।७७ को मोद्रिक नीति प्रस्तुत गर्ने क्रममा बताएका हुन् । २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३५७० गरी कुल शाखा संख्या ८५६४ पुगेको छ । २०७५ जेठ मसान्तमा यस्तो संख्या ६४१४ रहेको थियो ।
मौद्रिक नीति सार्वजनिक समारोह यस्तो देखियो(फोटो फिचर)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन ८ गते आव २०७६/०७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । होटल र्याडिशनमा विशेष समारोहका बीच गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरे । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायी र आर्थिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।