विकासन्युज

सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी नियुक्त

काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् । यसैबीच, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।

पूर्व अर्थमन्त्रीहरुको चिन्ताः नेपालमा आर्थिक विकास हुन किन सकेन ?

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले नेपालमा आर्थिक विकास हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । इन्स्टिच्यूट फर इन्टिग्रेडेड डेभलपमेण्ट स्टडिज (आइआइडिएस) शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्रीले उक्त चिन्ता व्यक्त गरेका हुन् । नेपाल इकोनोमिक्स आउटलुक २०१८/१९ सार्वजनिक पूर्व अर्थमन्त्रीहरुले भने-‘नेपालको आर्थिक क्षेत्रको विकास नहुनुमा नीतिगत अस्पस्टता र योजना लागु गर्न नसक्नु मुख्य कारण हो ।’ नीतिगत विषयमा विभिन्न छलफल भएपनि त्यसको कार्यान्वयत प्रक्रिया निकै कमजोर रहेको पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराइले बताए । विकासका लागि धेरै नीति बन्छन्, तर तिनको प्रभावकारी कार्यान्वयन हुँदैन, उनले भने-‘प्लान इम्प्लिमेन्टेसनदेखि इन्स्टिच्युसनल रिफर्म आवश्यक छ । यसैगरी, पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल विदेशवाट आउने रेमिटेन्सको भरमा चलिरहेकोले देशले आर्थिक फड्को मार्न नसकेको बताए । निर्यात र आयातमा सन्तुलन नहुनुले पनि नेपालको अर्थतन्त्रमा असर परेको छ– उनले भने । नेपालीहरुलाई नेपालमा नै काम गर्ने अवसर सिर्जना गरे मात्रै नेपालको विकास हुने उनको तर्क थियो । सरकारले कुनै काम गर्ने लक्ष्य बिना नै सस्तो लोकप्रियता कमाउनका लागि योजना मात्रै ल्याउने गरेको उनको आरोप थियो । त्यसैगरी, अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजी विकासमा र गुणस्तर दुबै आधारमा लगानी बृद्धि गर्नु पर्ने आवश्यकता औल्याए । नेपालमा पूँजीको आधार निकै कमजोर रहेकाले पूँजीको व्यवस्थापन, सुधारका र विकास प्रक्रियालाई प्रभावकारी रुपमा नीतिगत र प्रक्रियागत तरिकाले अगाडि बढाएमात्र समग्र आर्थिक विकास गर्न सक्ने बताए । अर्का पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको खर्च अनावश्यक ठाउँमा भैरहेको उल्लेख गरे । देशको अर्थतन्त्र उत्पादनमूलक क्षेत्रमाभन्दा पनि मन्त्री र प्रधानमन्त्रीको इच्छा अनुसार खर्च गर्ने प्रविधिले नै देशको अर्थतन्त्रमा विकास नभएको बताए । जनतासँग उठाएको कर जनताको हितका लागि भन्दा पनि नेताहरुको लागि प्रयोग भएकाले नै देशमा विकास हुन नसकेको उनले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) काे सम्मेलन भदौ २ देखि काठमाडौँमा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिएका छन् । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । एसिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुको सहभागिता रहने महानिर्देशक पोखरेलले जानकारी दिए । आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो । महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आगामी अक्टोबर महिनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ । महासभा हरेक तीन वर्षमा हुन्छ । महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुनेछ । रासस

प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच सहमति, विदेश जाने विधार्थीलाई सेवा दिने

काठमाडौँ । प्रभु बैंक लिमिटेड र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच शुक्रबार एक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्स प्रालिको प्रभु बंैक लि. आधिकारिक बैक रहेको र उक्त कम्पनीसंग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भई आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाहरुबाट सेवा पाउने छन् । सहमति पत्रमा विधार्थीहरुले बैंकका सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन पेमेन्ट र डाफ्ट आदिका माध्यमबाट गरिने आइइएलटीएस, टीओईइएफएल, पीटीई, सीएई, एसएटी, जीआरई, जीएमएटी र ट्यूशन फि आदी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्विट मेडिकल इन्ट्रान्स प्रालिका तर्फबाट कम्पनीका प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् ।

विश्वकप एशिया छनोटः कुवेतद्वारा कतार १० रनले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई÷दुई विकेट लिए । जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे । कुवेतका शिराज खान र जनदु हमौदले दुई÷दुई विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ । त्यस्तै, नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै, दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ । रासस

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

ओखलढुंगा । कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन् । मुख्य अभियुक्त भनिएका कर्ण तामाङ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ । पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ परेका थिए । उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । कीर्ते कागजात बनाउने तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए पनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारिससहितका कागजात कीर्ते हस्ताक्षर गरेर दिने गरेको खुलेको छ । सुनकोशी गाउँपालिका वडा नं ९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैद्यरुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेको पाइएको वडाध्यक्ष झनककुमार कार्कीले बताए । छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको कार्कीले बताएका छन् । कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेपछि घटना बाहिर आएको उनको भनाइ छ । “यहाँको निर्वाचित वडा अध्यक्ष म हुँ । मैले वडा सदस्यलाई कार्यवाहक छाडेको छैन तर कार्यवाहक भन्दै हस्ताक्षर गरेर काम गरेको भेटियो”, अध्यक्ष कार्कीले भने, “कसैलाई थाह नदिइ केही व्यक्तिले वडा कार्यालय नै खडा गरेर साथीले काम गरेका रहेछन् यो गलत भयो ।” तामाङले सिफारीश, नाताप्रमाणित, सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनी हुँदै नभएको फर्जी निर्णयको सिफारिश दिने कामसमेत गरेको पाइएको छ । सबै कागजातमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हो । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोवार भइरहेको सूचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए । वडा सदस्य धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाममा कीर्ते गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानविनका लागि आग्रह गरिएको थियो । कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लगत्तै पञ्चबहादुर तामाङले जग्गा कारोवार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गासमेत कारोवार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार थिए । पक्राउ परेका अन्य व्यक्तिले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर कारोवार गरेको पाइएको छ । कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने जिल्ला मालपोत कार्यालय र लेखापढी व्यवसायीकोसमेत संलग्नता रहेकाले छानविन गर्न स्थानीयले माग गरेका छन् । मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुरले वडा नं ९ कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा जग्गा पास भइसकेको र अरुको मिलेमतो रहेको रहस्य खुलेको हो । तीन जना पक्राउ परेपछि गिरोहकै रुपमा लामो समयदेखि कीर्ते कागजात तयार गरेर काम हुने गरेको घटना सार्वजनिक हुन थालेका छन् । रासस

यो वर्ष वाणिज्य बैंकका लगानीकर्ताले बोनस सेयर नपाउने

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले सेयरधनीलाई बोनस सेयर नदिने सम्भावना बढेर गएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण बैंकहरुले यस वर्ष सेयरधनीलाई नगद लाभांश मात्र दिन सक्ने सम्भावना बढेको बैंकर्सहरुले बताएका छन् । मौद्रिक नीतिले सबै बाणिज्य बैंकहरुको लागि कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु व्यवस्था गरेको छ । यसको अर्थ ८ अर्ब मात्र चुक्ता पुँजी भएको बैंकले पनि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नैपर्छ । ऋणपत्र जारी भएपछि बैंकको जोखिममा आधारित सम्पत्ति र पुँजी कोषको अनुपात दर वृद्धि हुन्छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुको पुँजी कोष अनुपात ११ प्रतिशतभन्दा तल आउनु हुन्न । हाल औषतमा पुँजी कोष पर्याप्तता अनुपात १३.५ प्रतिशत रहेको छ । थोरै बैंकको पुँजीकोष अनुपात करिव १२ प्रतिशत छ भने अधिकांश बैंकहरुको १३ प्रतिशतभन्दा माथि छ । केही बैंकको पुँजीकोष १८ प्रतिशतभन्दा बढी रहेको छ । ऋणपत्र निष्काशन गर्दा सम्बन्धित बैंकहरुको पुँजी कोष अनुपात वृद्धि हुने माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बताउँछन् । पुँजी कोष पर्याप्त भएको बेलामा बैंकहरुले सेयरधनीलाई नगद लाभांश नै दिने उनी बताउँछन् । सामान्यतया पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा माथि भएका बैंकका लागि बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्नुपर्ने दवाव हुँदैन । तर पुँजीकोषमा पनि वासल थ्री अनुसार टायर वान अन्तरगत पर्ने पुँजी कम भएका बैंकहरुको लागि भने चुक्ता पुँजी बढाउनै पर्ने बाध्यता हुने लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह बताउँछन् । अधिकांश बैंकहरुले विगत तीन वर्षसम्म टायर वानको पुँजी बढाएकोले अहिले टायर टु बढाउने छन् । ऋणपत्रबाट संकलन हुने पुँजी पनि टायर टुमा पर्छ । हाल बैंकहरुको कुल कर्जा लगानी करिब २९ खर्ब छ । मौद्रिक नीतिले २१ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसको लागि करिब ६ खर्ब रुपैयाँ कर्जा विस्तार हुनुपर्छ । लक्ष्यअनुसार कर्जा विस्तार गर्न बैंकहरु सफल भए भने पुँजी वृद्धि पनि सँगै हुने शर्माले बताए । कुनै पनि कम्पनीले बोनस सेयर दिन्छ भन्ने भयो भने सेयरको मूल्य बढ्ने, तर नगद लाभांश आउने भन्ने सन्देश आउँदा बजारमा सेयर मूल्य घट्ने गरेको सेयर ब्रोकर कम्पनी कालिका सेक्युरिटीजका प्रबन्ध निर्देशन नरेन्द्रराज सिजापति बताउँछन् । बैंकका संस्थापन तथा ठूला लगानीकर्ता नगद लाभांश चाहान्छन् । तर, सर्बसाधारण लगानीकर्तामा बोनस सेयरप्रतिको आकर्षण बढी देखिन्छ ।

जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध, निर्माणधीन सात टेलिफोन टावर अलपत्र

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । टावरको कभरेज कम भएकाले टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करिब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ । मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र नभइ सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको काम नगर्दा समस्या हुँदै आएको छ । टेलिकमले नियमित टावर मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयवासी प्रकाश शाहीले बताए  । यसरी, टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको एक वर्ष बितेको छ तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय जुनीचाँदेका रेशमबहादर खड्काले बताउनुभयो । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न दुई घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता छ । निर्माणाधीन सात टेलिफोन टावर अलपत्र जिल्लामा निर्माणाधीन सात ठाउँमा टावर अलपत्र अवस्थामा परेका छन् । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरवाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग दुई वर्षअघि सम्झौता भएको थियो । नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले टावर निर्माणमा लापरवाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताएका छन् । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन । दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । उनले भने, “रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ, टावरको क्षमताभन्दा मोवाइलकर्ताको सङ्ख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।” बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनी बताउँछन् । त्यस्तै, छिमेकी जिल्ला डोल्पाको मुड्केचुलाको नकुमा निर्माण गर्ने टावरका सामग्री वर्ष दिनदेखि रुकुमको त्रिवेणीमा अलपत्र अवस्थामा परेको छ । रासस