काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले नेपालमा आर्थिक विकास हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन् । इन्स्टिच्यूट फर इन्टिग्रेडेड डेभलपमेण्ट स्टडिज (आइआइडिएस) शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्रीले उक्त चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल इकोनोमिक्स आउटलुक २०१८/१९ सार्वजनिक पूर्व अर्थमन्त्रीहरुले भने-‘नेपालको आर्थिक क्षेत्रको विकास नहुनुमा नीतिगत अस्पस्टता र योजना लागु गर्न नसक्नु मुख्य कारण हो ।’
नीतिगत विषयमा विभिन्न छलफल भएपनि त्यसको कार्यान्वयत प्रक्रिया निकै कमजोर रहेको पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराइले बताए । विकासका लागि धेरै नीति बन्छन्, तर तिनको प्रभावकारी कार्यान्वयन हुँदैन, उनले भने-‘प्लान इम्प्लिमेन्टेसनदेखि इन्स्टिच्युसनल रिफर्म आवश्यक छ ।
यसैगरी, पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल विदेशवाट आउने रेमिटेन्सको भरमा चलिरहेकोले देशले आर्थिक फड्को मार्न नसकेको बताए । निर्यात र आयातमा सन्तुलन नहुनुले पनि नेपालको अर्थतन्त्रमा असर परेको छ– उनले भने । नेपालीहरुलाई नेपालमा नै काम गर्ने अवसर सिर्जना गरे मात्रै नेपालको विकास हुने उनको तर्क थियो । सरकारले कुनै काम गर्ने लक्ष्य बिना नै सस्तो लोकप्रियता कमाउनका लागि योजना मात्रै ल्याउने गरेको उनको आरोप थियो ।
त्यसैगरी, अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजी विकासमा र गुणस्तर दुबै आधारमा लगानी बृद्धि गर्नु पर्ने आवश्यकता औल्याए । नेपालमा पूँजीको आधार निकै कमजोर रहेकाले पूँजीको व्यवस्थापन, सुधारका र विकास प्रक्रियालाई प्रभावकारी रुपमा नीतिगत र प्रक्रियागत तरिकाले अगाडि बढाएमात्र समग्र आर्थिक विकास गर्न सक्ने बताए ।
अर्का पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको खर्च अनावश्यक ठाउँमा भैरहेको उल्लेख गरे । देशको अर्थतन्त्र उत्पादनमूलक क्षेत्रमाभन्दा पनि मन्त्री र प्रधानमन्त्रीको इच्छा अनुसार खर्च गर्ने प्रविधिले नै देशको अर्थतन्त्रमा विकास नभएको बताए । जनतासँग उठाएको कर जनताको हितका लागि भन्दा पनि नेताहरुको लागि प्रयोग भएकाले नै देशमा विकास हुन नसकेको उनले बताए ।