विकासन्युज

गत आवमा १३ खर्ब २१ अर्ब व्यापार घाटा: १४ खर्ब १८ अर्ब आयात, ९७ अर्बको निर्यात

काठमाडौं । गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड व्यापार घाटा भएको छ । वस्तुु तथा सेवा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिदै गएको हो । गत आर्थिक वर्षमा कुल १५ खर्ब १५ अर्ब वैदेशिक व्यापार भएको छ । सो अवधिमा १४ खर्ब १८ अर्ब रुपैयाँ विदेशी वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने जम्मा ९७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । देशको आन्तरिक उत्पादनले आम आवश्यकता धान्न नसकेपछि व्यापार घाटा चुलिदै गएको भन्सार विभागले जानकारी दिएको छ । अघिल्लो २०७४/७५ मा कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब थियो । गत आवमा आइपुग्दा १३.५५ प्रतिशतले व्यापार बढेर १३ खर्ब २१ अर्ब पुगेको हो । अघिल्लो आवमा १२ खर्ब ४५ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएको थियो भने ८१ अर्ब ३५ करोड निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा व्यापार घाटा अनुपात भने घटेको छ । गत आवमा आयात निर्यात अनुपात १४.६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात १५.३ रहेको थियो । अघिल्लो आवको तुलनामा आयात १३.९३ प्रतिशतले बढेको छ भने निर्यात १९.३६ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा आयातकोे हिस्सा ९३.६ प्रतिशत रहेको छ भने निर्यातको अंश ६.४ प्रतिशत रहेको विभागको तथ्यांक छ । अघिल्लो आवमा कुल व्यापारमा आयातको अंश ९३.९ प्रतिशत र निर्यातको अंश ६.१ प्रतिशत हिस्सा रहेको थियो ।

नेपालमा व्यापार सहज बनाउन भारतको सहयोग चाहिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा शुरु भएको नेपाल भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै ओलीले नेपालको व्यापारमा लगानी बढाउन, दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र व्यापार सहज बनाउन भारतको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न विकासका पूर्वाधारहरुका बारेमा बोल्दै उनले सडक, रेल र पेट्रोल लाईन सेवाको विस्तार गरेर दुई देशबीचको व्यापार तथा सम्बन्धलाई सहज र सुदृढ बनाउन वर्तमान सरकार लागि परेको बताए । उनले भारतबाट नेपालमा सहज ढंगले सामान ढुवानी गर्न पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट सहयोगको अपेक्षा रहेको बताए । यसका साथै ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा भएको बताउँदै व्यापारमा पनि सन्तुलित हुनु पर्नेमा पनि जो्ड दिए । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले सम्बृद्ध नेपाल सुखी नेपाली नारा रहेको नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं सकारात्मक रहेको बताए । उनले नेपनल भारतको वाणिज्य सम्बन्ध सकरात्मक रहेको बताउँदै पेट्रोलियम पाइपलाइन र रेलवेबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए । यस्तै कार्यक्रममा बोल्दै उद्योग वाण्ज्यि महासंघकी अध्यक्ष भवानी राणाले पारवहन सम्बन्धी समस्या समाधानका लागि सम्मेलनको आयोजना गरिएको बताईन् । कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रका विज्ञहरुको सहभागिता र छलफल रहने बताइएको छ । सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ ।

डिएन गिरीको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी गठन

काठमाडौं । बाँकेमा नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (एनआइपिएस) कार्य समिति गठन भएको छ । ९ जनाको सदस्यबाट गठन भएको उक्त एनआइपिएसकाे  नेतृत्व डि.एन. गिरीले लिएका हुन् । यसरी, उक्त कार्यक्रमले बाँके जिल्ला लगायत यस क्षेत्रको बीमा व्यवसायलाई अझ व्यवस्थित एवं परिस्कृत बनाई बीमा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । युनाइटेड इन्स्योरेन्सका डिएन गिरीको अध्यक्षतामा गठित समितिमा प्रिमीयर इन्स्योरेन्सका सागरराज शाक्य उपाध्यक्ष, त्यसैगरी, महासचिवमा प्रुडेन्सियल इन्स्योरेन्सका सुबोध श्रेष्ठ, सचिवमा राष्ट्रिय बीमा कम्पनीका नवीन शर्मा, कोषाध्यक्षमा सानिमा जनरल इन्स्योरेन्सका बसन्तराज घिमिरे चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा एभरेष्ट इन्स्योरेन्सका सन्जय गौतम (सन्जु बाबा), हिमालयन जनरल इन्स्योरेन्सका अन्जु सिग्देल, ओरेन्टल इन्स्योरेन्सका पि. अशोकन र प्रभु इन्स्योरेन्सका श्याम भक्त मल्ल रहेका छन् ।

मौद्रिक नीतिपछि सेयर बजारमा लगातार गिरावट, आइतबार १३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । यूनियन हाइड्रोपवर, युनाईटेड इन्स्योरेन्स, पाँचथर पावर, ग्लोवल आईएमई लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लगायत जलविद्युत, फाइक्रो फाइनान्स र बीमा कम्पनीहरुको सेयर मूल्य बढी घटेको छ । बजारमा गिरावट उच्च भए पनि केही केही कम्पनीको सेयरधनीले राम्रो लाभ लिएका छन् । सिर्जना फाइनान्स, यूनिभर्वल पावर, नविल इक्वीटि फण्ड, एनएमबी इक्वाटी फण्डको सेयर मूल्य बढेको छ । एनएमबी इक्वाटी फण्डले आइतबार नै लाभांश घाेषणा गरेकाे छ । मौद्रिक नीति सार्वजनिक भएपछि दोस्रो दिन पनि बजारमा मन्दी देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति गत साता बुधबार जारी गरेको थियो । विहीबार पनि १४ अंकले नेप्से घटेको छ । नयाँ मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष नकारात्मक असर पर्ने व्यवस्था गरेको छैन । तर बैंकहरुको आम्दानी नियन्त्रण गर्ने, बैंकास्योरेन्सलाई कडाई गर्ने, बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेकोले त्यसको नकारात्मक असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् ।

सरकारी गाडी किन्न पाँच वर्षमा २४ अर्ब भन्दा बढी खर्च

काठमाडौं । पाँच वर्षको अवधिमा सरकारी गाडी किन्न नेपाल सरकारको ढुकुटीबाट २४ अर्ब भन्दा बढी खर्च भएको छ । उक्त अवधिमा सरकारले ४९ खर्ब ६२ अर्ब १९ करोड ०६ रुपैयाँको बजेट ल्यायो, त्यसमध्ये रु. २४ अर्ब ९ करोड ९९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ सरकारी सवारी साधनमा खर्च भएको हो । कुन आवमा कति खर्च  ? आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट घोषणा गरे, जसमा २ अर्ब ७१ करोड ३३ लाख ४० हजार ३५७ रुपैयाँ सवारी साधन खरिदमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, आव २०७२/७३ मा पनि तत्कालीन अर्थमन्त्री डा. महतले नै ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरे, उक्त बजेट मध्ये २ अर्ब २१ करोड ९६ लाख ७१ हजार ८०८ रुपैयाँ गाडी किन्दामा खर्च भयो । यसैगरी आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९ खर्ब ५३ अर्ब ६६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे, जसमा ६ अर्ब ७१ करोड ३४ लाख ११ हजार २१७ रुपैयाँ सरकारी गाडी खरिदमा खर्च भएको थियो । यता, २०७४/७५ सालमा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट प्रस्तुत गरेमा सवारी साधन खरिदमा ६ अर्ब ६१ करोड ४५ लाख ३७ हजार ३ सय २४ रुपैयाँ खर्च भएको थियो । गत आव २०७५/७६ मा अर्थमन्त्री डा.युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ५ खर्ब ८३ करोड ८९ लाख ९२ हजार ७७९ रुपैयाँ सवारी साधनमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

मेडिकल काउन्सिलकाे लाइसेन्स परीक्षाफल प्रकाशित, बिडीएसतर्फ ६१ प्रतिशत अनुत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसैगरी, बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा. ढुण्डिराज पौडेलले जानकारी दिएका छन् । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ । यसैबीच, नेपाल चिकित्सक सङ्घको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा. बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महिनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन् । सङ्घको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औं सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । सङ्घमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् । रासस

क्यानडामा अध्ययनः पढाई पछी सजिलै पीआर

काठमाडौं । क्यानडा उच्च शिक्षा अध्ययनको लागी धेरै राम्रा देशहरु मध्ये एक हो । बर्सेनि हजारौं संख्यामा विद्यार्थीहरू क्यानडामा अध्ययनको लागि जाने गर्दछन् । त्यहाँको विश्वविद्यालयको डिग्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अन्य देशहरूको तुलनामा कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सक्छन् । पढाई शुल्क सस्तो मात्र होइन छात्रवृत्ति पनि सजिलै पाईने हुनाले विद्यार्थीले क्यानाडामा न्यूनतम शुल्कमा उत्कृष्ट शिक्षा पाउन सक्छन् । यद्यपि अमेरिकाको तुलनामा विश्वविद्यालयहरूको सङ्ख्या कम भएता पनि विश्वविद्यालयको शिक्षा स्तर अमेरिका र युरोपका विश्वविद्यालयहरू सरह रहेको बताइन्छ । पछिल्लो समय क्यानडा धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । पढाई पूरा गरिएसकेपछी सजिलै पीआर पाइने भनेकोले धेरै विद्यार्थीको रोजार्इमा क्यानाडा पर्न थालेको हो । शैक्षिक परामर्शदाताहरु मास्टर्स अध्ययनको लागि क्यानडा जान सुझाव दिन्छन् किनभने त्यसरी जाँदा विद्यार्थीलाई क्यानाडामा जीवनयापन गर्न सहज हुन्छ भन्ने उनीहरुको भनार्इ छ। त्यहाँको अध्ययनको खर्च विश्वविद्यालय पिच्छे फरक फरक रहेको छ । यधपी अन्तर्रास्ट्रिय विद्यार्थीले क्यानाडामा मास्टर्स अध्ययन गर्नको लागि १० हजार देखी २० हजार क्यानाडियन डलर अर्थात नेपाली ८ लाख देखी १७ लाख सम्म खर्च गर्नुपर्ने हुन्छ । अहिलेको क्यानाडाको १ बर्षको बसार्इ खर्च १२ हजार क्यानडियन डलर अर्थात नेपाली १० लाख रुपैंया रहेको छ। विद्यार्थीले काम गर्ने प्रावधान कस्तो छ ? क्यानाडामा अध्ययन भिसासँगै काम अनुमति भिसा विद्यार्थीहरूलाई दिइएको हुन्छ । क्यानडामा अध्ययनको क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्पस भित्र र बाहिर काम गर्न अनुमति दिइएको छ । विद्यार्थीलाई क्याम्पस भित्र काम गर्न कुनै अनुमति आवश्यक पर्दैन । क्यानडा सरकारले उनीहरुलाई हप्ताको २० घण्टा अनुमति दिएको छ । क्याम्पस बाहिर विद्यार्थीहरुको लागि होटलहरू, होस्टल, ट्यूशन टिचरको रुपमा पार्ट टाईम काम उपलब्ध हुन्छन् । स्नातक तह पूरा गरेपछि, विद्यार्थीहरूले दुई वर्षका लागि काम गर्न सक्छन् र काम गरेको एक वर्ष पुगेका विद्यार्थीहरुले क्यानडाको स्थायी निवासी(पीआर) हुनको लागि आवेदन दिन सक्छन् । क्यानाडाको आप्रवासन नियमले सजिलाई भिसा दिने गरेको छ । अध्ययनको क्रममा विद्यार्थीहरूले आफ्नो जीवनको आवश्यकतालाई पूरा गर्न हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यस्तै जाडो र गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गर्न पाउँछन् । क्यानडाका विश्वविद्यालय भित्र पनि थुप्रै अवसरहरू उपलब्ध छन्, जुन विद्यार्थीहरूको लागि धेरै धेरै उपयोगी छन् । यस्तै क्यानडामा स्नातकोत्तर पछि विद्यार्थीहरुलाई रोजगारको क्षेत्रमा धेरै अवसर रहेको छ। राम्रो सिप र ज्ञान भएका विद्यार्थीहरुले प्रतिष्ठित कम्पनीहरुमा काम पाउने सम्भावना एकदमै बढी हुन्छ। कति कमाउँछन् ? क्यानाडामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई घण्टाको १० क्यानाडियन डलर पे गरिने प्रावधान रहेको छ। यसको अर्थ विद्यार्थीहरुले हप्तामा २ सय क्यानाडियन डलर कमाउँछन् र महिनामा ८ सय क्यानडियन डलर कमाउँछन् । ८ सय क्यानाडियन डलर भन्नाले करिब नेपाली ७० हजार हो । यसको साथै जाडो, गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गरेर आफ्नो जिविकोपार्जन गर्न सक्छन् । कस्तो छ क्यानाडाको मौसम ? क्यानडाको मौसमको कुरा गर्नु गर्मी मौसम धेरै नै राम्रो हुन्छ । जाडो भने अलिक धेरै नै हुने गरेको छ । गर्मीको समयमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस सम्म माथि जान्छ । तर, जाडोको समयमा कम्तीमा २० डिग्री सेल्सियस सम्म पुग्नेछ । त्यसैले क्यानडामा मानिसहरु जाडो महिनामा धेरै समय घरभित्र नै बिताउँछन् । (ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनको लागि क्यानडाको शैक्षिक परामर्शदाता कपिल उप्रेतीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )

रङ्गशाला बनाउन महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा साढे ५१ लाखको सहयोग

रत्ननगर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस¬–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । महानगरपालिकाका २९ वटै वडाका कर्मचारी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो । उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि माहोल सिर्जना गर्नुपर्नेमा जोड दिइन् । सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् । गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो । रासस