विकासन्युज

अण्डा उत्पादक सङ्घको अध्यक्षमा शिवराम केसी पुनः विजयी

मुग्लिन । नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी भएका छन् । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ फराकिलो मतान्तरले पछि पार्दै केसी विजयी भएका हुन् । कूल ५९० मत खसेकामा केसीले ३९७ र भट्टले १८३ मत प्राप्त गरेका निर्वाचन संयोजक दिवाकर पौडेलले जानकारी दिएका छन् । तीन मत बदर भएको थियो । यस्तै, सदस्यहरुमा किरणभुषण ओली, प्रवीण केसी, विनोद अधिकारी, भरत कार्की, राजकुमार श्रेष्ठ र ललितबहादुर जिसी विजयी भएका छन् । यसैबीच, आज नै नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले शपथग्रहण गराएका छन् । सोही अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष केसीले सबै एकजुट भएर सङ्घलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका हुन् । केसीको सङ्घमा यो तेस्रो कार्यकाल हो । गत जेठ २४ गते भएको सङ्घको १५औँ साधारणसभाबाट सङ्घमा विवाद चुलिएर समानान्तर समिति बनेपछि चितवन प्रशासनले सङ्घको नयाँ अधिवेशन तोकेको थियो । यसअघि सङ्घका अध्यक्ष त्रिलोचन कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरी बहुमत सदस्यले शिवराम केसीलाई अध्यक्ष बनाएका थिए । त्यसपछि दुवै अध्यक्षहरुले आफू नै अध्यक्ष रहेको दाबी गर्दै हिँडेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गर्न पहल गर्दै विशेष अधिवेशनमा बोलाएको हो । सोहीअनुसार सङ्घको केन्द्रीय विशेष अधिवेशन सम्पन्न भएको हो । चुनावमा ८४ प्रतिशत मत खसेको थियो । एक अध्यक्ष र छ सदस्यका लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो । रासस

मनि ट्रान्सफरको रकम चोरी गर्ने दुई गिरोह पक्राउ

जनकपुर । मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको जनाइएको छ । रकमसहित शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ । त्यस्तै, अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन

हेटाैंडा । आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिएका हुन् । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ । खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् । रासस

एनएमबीको विशेष साधारण सभा साउन २८ गते, ओमलाई गाभ्ने अन्तिम स्वीकृति प्रदान गर्ने

काठमाडौँ । एनएमबी बैंकको विशेष साधारण सभा साउन २८ गते हुने भएको छ । साउन ९ गते बसेको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज) हल जावलाखेलमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने तथा दुई वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा भएका सम्झौता तथा निर्णयहरुलाई अनुमोदन गर्ने र एक आपसमा गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गर्न विशेष साधारण सभा आयोजना गरिएको हो ।

सार्वजनिक जग्गाको संरक्षण गर्न प्रविधिको प्रयोग, ६४ कार्यालयमा स्रेस्ता ‘स्क्यानिङ’

काठमाडौँ । देशभरका सरकारी तथा गुठीका जग्गा मिलेमतोमा बिक्री तथा कब्जा गर्ने प्रवृत्ति बढेपछि सरकारले त्यस्तो गैरकानूनी काम अन्त्य गर्न प्रविधिको प्रयोगलाई जोड दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका भूमि व्यवस्थित गर्न भूमि अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागू गरेको हो । सरकारी र सार्वजनिक जग्गा अब कुनै पनि व्यक्ति, संस्थाले दर्ता गर्न नसक्ने गरी उक्त प्रणालीको विकास गरिएको हो । विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म आइपुग्दा २५ वटा कार्यालयमा मात्र लागू भएको थियो । भूमि व्यवस्था, सहकारीमन्त्री पद्मााकुमारी अर्यालको सक्रियतामा अनलाइन सेवालाई गत आवमा ७५ वटा कार्यालयमा विस्तार गरिएको हो । चालू आवको शुरूआतमै थप एउटा कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याइएको छ । सरकारी जग्गा बेचबिखन तथा अतिक्रमण कार्य रोक्न भूमि व्यवस्था मन्त्रालयले उक्त सफ्टवेरमा देशभरका सरकारी जग्गाको विवरण उल्लेख गरेको छ । सोही सफ्टवेरमा उल्लेख गरेको विवरणका आधारमा कुन प्रदेशको कुन जिल्लाको कुन कार्यालयअन्तर्गत कुन वडामा कति सरकारी तथा अन्य जग्गाहरू रहेका छन् भन्ने विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागको प्राविधिक टोलीले तयार गरेको छ । जसअनुसार अब देशभरका सरकारी जग्गाको सबै विवरण हेर्न सकिनेछ । सरकारी जग्गाको खोजी गर्न आयोगको गठन गरेर काम भइरहेको छ । व्यक्तिका नाममा दर्ता गरिएका, अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको खोजी गरेपछि विभिन्न ठाउँमा रहेका त्यस्ता जग्गाको अवस्थाबारेमा सबैले जानकारी पाउन थालेका छन् । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका सूचनाप्रविधि निर्देशक रामदत्त जोशी सबै क्षेत्रको जग्गाको विस्तृत विवरण अब सफ्टवेरमा हेर्न सकिने बताउँछन् । “यो प्रणालीमा आज कुन जिल्लाको कुन कार्यालयमा के काम भइरहेको छ भनेर हेर्न सकिन्छ”, उनले भने, “कुन कार्यालयमा कति काम भयो, लिनेदिने व्यक्ति को–को थिए लिखतको विवरण, व्यक्तिको विस्तृत विवरण, आवश्यक कागजातहरू सबै हेर्न सकिन्छ ।” यी सबै कुराको नियमन केन्द्रबाटै गर्न सकिने गरी प्रणालीको विकास गरिएको छ । विभागमा रहेका तीन अधिकृत, दुई इञ्जिनीयरसहित १२ जनाको टोलीले उक्त काम गरिरहेको छ । अहिलेसम्म देशैभर तीन करोडभन्दा बढी जग्गाका कित्ताको संख्या रहेका छन् । ती सबै कित्ता अहिले सो प्रणाललीमा प्रविष्ट भएका छन् । “तर कतिपय कित्ता नम्बर दोहोरिएको पनि हुन सक्छ, त्यसलाई मिलाउनुपर्ने छ”, निर्देशक जोशीले भने । तीन वर्षअघिदेखि सो प्रणाली जडान गरिएको भए पनि गत सालदेखि मात्र यसले द्रुत गति लिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी बताउँछन् । “गत आर्थिक वर्षसम्ममा ७५ कार्यालयमा अनलाइन सेवा शुभारम्भ भएकामा यस आर्थिक वर्षको शुरुआतमै एक कार्यालय थप भएको छ”, उनले भने, “यो आर्थिक वर्षमा थप ४० कार्यालयमा अनलाइन प्रणाली लागू गर्ने योजनामा छौँ ।” सबै सरकारी जग्गाको विवरण सफ्टवेरमा प्रविष्ट भइसकेपछि अब सरकारी जग्गा जथाभावी कसैले पनि बेचबिखन गर्न नपाउने भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् । “सरकारी जमीनमाथि विभिन्न समयमा, विभिन्न पक्षबाट बदनियतपूर्ण ढङ्गले गरिएको बेचबिखन तथा अतिक्रमण रोक्न सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “त्यसअन्तर्गत नै हामीले अहिले सफ्टवेरमा सबै सरकारी जग्गाको विवरण प्रविष्ट गरेका छौँ ।” कलङ्की मालपोत भू–सेवा केन्द्र सरकारले केही समय अघिमात्रै कलङ्की मालपोत कार्यालयलाई नमूना कार्यालयका रुपमा सञ्चालन गरेको छ । त्यो ‘पब्लिक एक्सेस’ मोडल हो । जसलाई भू–सेवा केन्द्र भनिएको महानिर्देशकको भनाइ थियो । यसलाई थप कार्यालयमा विस्तार गर्ने तयारी गरिएको छ । “चालू आवमा २५ कार्यालयमा कर्मचारी र सेवा प्रदायकलाई तालीम दिने र १५ कार्यालयमा भू–सेवा केन्द्र सञ्चालन गर्ने भनेर योजना बनाएका छौँ”, उनले भने, “कलङ्कीमा यो कार्यक्रम लागू भइसक्यो ।” साँखुस्थित मालपोत कार्यालयमा तयारी सम्पन्न भइसकेकाले अनलाइन प्रणालीसहित तत्काल सेवा शुभारम्भ गर्ने तयारीमा मन्त्रालय रहेको छ । काभ्रेपलाञ्चोकसहित काठमाडौँका अन्य कार्यालयमा पनि यो प्रणाली लागू गर्न सूचनाहरू प्रवाह भइरहेका छन् । निवेदन दिनका लागि सूचना जारी गरिएको विभागले जानकारी दिएको छ । महानिर्देशक दुवाडीले भने, “काठमाडौँका बाँकी कार्यालय, काभ्रेपलाञ्चोको कार्यालय र कास्कीका दुई वटा कर्यालयमा चालू आवमा सेवा सञ्चालन गरिने छ ।” ६४ कार्यालयमा स्रेस्ता ‘स्क्यानिङ’ भूमिसुधार तथा मालपोत कार्यालयको स्रेस्ता ‘डिजिटलाइज्ड’ गर्ने कार्य पनि सञ्चालन भइरहेको छ । मन्त्री अर्यालको सक्रियतामा कलङ्की र साँखु मालपोत कार्यालयको श्रेस्ता ‘स्क्यानिङ’ गर्ने कार्य सम्पन्न भइसकेका छन् । अब ६२ वटा कार्यालयमा स्क्यानिङ गर्ने कार्यका लागि बोपलत्र स्वीकृति भइसकेको छ । मन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासन र चुस्तदुरुस्त सेवा प्रवाहमा जोड दिँदै आएकी छन् । मन्त्रालय अन्तर्गतका प्रायः सबै कार्यालयमा ‘सिसिटिभी’ जडान गरिएका छन् । २० वटा भूमिसुधार तथा मालपोत कार्यालय जडान गरिएका सिसिटिभीको ‘कनेक्शन’ सिधैँ केन्द्रमा गरिएको छ । ती कार्यालयमा के–कस्ता गतिविधि भइरहेका छन् भन्नेबारेमा केन्द्रमा मन्त्रालय तथा विभागबाट हेर्न सक्ने व्यवस्था गरिएको छ । यस आर्थिक वर्षमा थप २० वटा कार्यालयको सिसिटिभी केन्द्रमा कनेक्शन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । रासस

विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित

काठमाडौँ । असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ । बाढीपहिरो र डुबानले विभिन्न ६७ जिल्ला प्रभावित भएको थियो । अहिलेसम्म ३६ जिल्लाबाट प्राप्त विवरणअनुसार एक अर्ब छ करोड ४५ लाखको क्षति भएको गृह मन्त्रालयले जनाएको छ । विपद्बाट झण्डै ९० हजार घर प्रभावित भएका छन् । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले प्रारम्भिक अनुमानमा एक अर्ब बढीको क्षति भएको जानकारी दिँदै जिल्लामा विवरण सङ्कलन कार्य अझै पनि जारी रहेको बताए । बाढीबाट सबैभन्दा बढी एक अर्ब दुई करोडको क्षति भएको छ । पहिरोबाट दुई करोड ८८ लाख तथा भारी वर्षाका कारण ८० लाखको क्षति भएको जनाइएको छ । यस्तै साउन ७ र ८ गते लमजुङ र गुल्मीमा बाढी र पहिरोमा ठूलो जनधनको क्षति भएको छ । ९० हजार घर प्रभावित विपद्का कारण झण्डै ९० हजार घरधुरी प्रभावित भएको छ । विपद्बाट २२ हजार ६७० घरधुरी विस्थापित भएको, १९ हजार ९७४ घर पूर्ण क्षति र ४१ हजार ३४३ घर आंशिक क्षति भएको तथा छ हजार बढी घरमा सामान्य क्षति भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । अहिले विभिन्न क्षेत्रमा राहत वितरण कार्य जारी रहेको केन्द्रका प्रमुख खनालले जानकारी दिए । उनले राजमार्गमा भएको क्षतिको पुनःनिर्माणको कामसमेत जारी रहेको जानकारी दिए । राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधनलाई परिचालन गरिएको सरकारले जनाएको छ । मृतक परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको छ । प्रदेश सरकारले हरेक जिल्लालाई तत्कालीन राहतका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको छ । अहिले प्रदेश र स्थानीय तहको समन्वयमा एकद्वार प्रणालीमार्फत राहत वितरण कार्यलाई तीव्रता दिएको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसमेतबाट ४१ हजार बढी जनशक्ति परिचालन भएर उद्धार कार्य सञ्चालन गरेको थियो । स्थलमार्गबाट राहत वितरण गर्न नसकिएको क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरण कार्य जारी छ । अहिले भने मौसम कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मृत्यु हुने ११३ पुगे गृहमन्त्रालयका अनुसार विपद्मा परेर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन् । असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो । साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो । प्रभावित जिल्लाबाट तीन हजार ६०० भन्दाबढीको उद्धार गरिएको छ । गुल्मीमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन् । रौतहटमा मात्रै बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाएका थिए । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको सरकारले जनाएको छ । रासस

अलैँची जोन क्षेत्र बिस्तार, पूरै गाउँपालिकामा अलैँची खेती

पाँचथर । जिल्लाको सिदिन र एकतिनमा २०७३/७४ देखि शुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो । अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माका अनुसार पाँच सय ११ हेक्टर जग्गाबाट शुरु गरिएको उक्त कार्यक्रम हाल एक हजार ६५८ हेक्टर क्षेत्रफलसम्म विस्तार भएको छ । आव २०७५/७६ मा तीन लाखभन्दा बढी उन्नत जातका बिरुवा सो क्षेत्रमा वितरण गरिएको विश्वकर्माले बताए । उनका अनुसार क्षेत्र विस्तार गरी उचाइका आधारमा बिरुवा वितरण गरिएको हो । फालेलुङ गाउँपालिका–२ मा जिर्मले र गोल साई जातको बिरुवा वितरण गरिएको छ । वडा नम्बर १ मा राम साई जातका बिरुवा वितरण गरिएको छ । यस्तै वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा राम साई, सेरेम्ना र भार्लाङ जातका बिरुवा वितरण गरिएको विश्वकर्माले जानकारी दिए । “अलैँची उत्पादन वृद्धि गर्न साना सिँचाइ, बिरुवा वितरण, स्प्रिङ्कल, स्प्रेलगायत वितरण गरी उत्पादनमा वृद्धि हुने कार्यक्रम लागू गरिएको छ । प्रशोधनतर्फ गुणस्तरीय उत्पादन गर्न धुवाँरहित सुधारिएको अलैँची भट्टी वितरण गरिएको छ”, उनले भने । बजारीकरणलाई लक्ष्य गरी अलैँचीको आन्तरिक खपत वृद्धि गर्न जोन एकाइ कार्यालय, अलैँची जोन कार्यालयले अलैँचीको धुलो, मसला, गरम मसला, गोटा अलैँची, प्याकेजिङ गरी बजारीकरण गर्न विभिन्न कृषक समूहलाई अनुदान उपलब्ध गर्न थालिएको उनले बताए । “अलैँची जोनद्वारा यस क्षेत्रमा अलैँची रोग किरा नियन्त्रण गर्ने, माटो परीक्षण, उन्नत खेती प्रविधि तालीम, गोष्ठी कार्यक्रमलगायत गर्दै आएका छौँ”, विश्वकर्माले भने । जोन कार्यक्रम विस्तारले अलैँची उत्पादनमा वृद्धि भएको छ । फालेलुङ गाउँपालिकामा अलैँची उत्पादन प्रतिहेक्टर ०.३९३ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ । रासस

यतीको पाँचौँ एटीआर विमान भित्रियो, नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने लक्ष्य

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर-७२-५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने लक्ष्यका साथ यतीले विमान थपेको हो । उक्त लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग पुग्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताए । नयाँ एटीआर फ्रान्सेली–इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्वीन इञ्जिन टर्बोप्रोप विमान हो । सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले विभिन्न नौ गन्तव्यमा उडान भर्दै आएको छ । रासस