बैंक तथा वित्तीय संस्थाले उपयोग गरे २२ अर्ब ३९ करोड पुनर्कर्जा, ८३ प्रतिशतले बढ्यो

<p>काठमाडौं । उत्पादनशील क्षेत्रमा लगानी बढाएर निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान हुँदै आएको पुनर्कर्जा गत आर्थिक वर्षको असार मसान्तसम्म २२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो पुनर्कर्जा अघिल्लो असार २०७५ को भन्दा ८३ प्रतिशतले बढी हो । राष्ट्र बैंकले अघिल्लो असार मसान्तसम्म १२ अर्ब २३ करोड [&hellip;]</p>

काठमाडौं । उत्पादनशील क्षेत्रमा लगानी बढाएर निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान हुँदै आएको पुनर्कर्जा गत आर्थिक वर्षको असार मसान्तसम्म २२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो पुनर्कर्जा अघिल्लो असार २०७५ को भन्दा ८३ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले अघिल्लो असार मसान्तसम्म १२ अर्ब २३ करोड पुनर्कर्जा वितरण गरेको थियो । गत जेठसम्म भने यस्तो कर्जा २२ अर्ब ४० करोड थियो । कर्जा प्रवाह र भुक्तान भइरहने भएकोले कर्जा तलमाथि हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘राष्ट्र बैंकसँग ३५ अर्बसम्म पुनर्कर्जा दिन सक्ने क्षमता छ,’ उनले भने ।

२०७६ असार मसान्तसम्म राष्ट्र बैंकले प्रवाह गरेको पुर्नकर्जामध्ये करिब साढे १९ साधारण पुर्नकर्जा हो भने बाँकी अन्य निर्यात पुनर्कर्जा हो । विपन्न वर्गअन्तर्गत न्यून आयस्रोत भएका, सामाजिक रूपमा पिछडिएका जनजाति, महिला, शारीरिक अपांगता भएका र सीमान्तकृत समुदायलाई लक्षित गरी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले पुनर्कर्जामा लगानी बढाएका हुन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०१९/२० सालदेखि नै सहुलियतपूर्ण कर्जा (पुनर्कर्जा) सुविधा कार्यान्वयनमा ल्याएको हो । हाल तोकिएका उत्पादनशील क्षेत्र, विपन्न वर्ग, निर्यातलगायत क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै आएको छ । राष्ट्र बैंकले साधारण, विशेष, निर्यात, भूकम्पपीडितलगायत क्षेत्रमा विभिन्न दरमा पुनर्कर्जा सुविधा दिँदै आएको छ ।

सोमध्ये साधारण पुर्नकर्जा राष्ट्र बैंकले तीन प्रतिशतमा उपलब्ध गराउँछ भने बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ७ प्रतिशतको सीमामा रहेर उक्त कर्जा उपलब्ध गराउनु पर्ने हुन्छ । विशेष र निर्यात पुनर्कर्जा १ प्रतिशतले राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको छ । भूकम्प पीडितले भने शुन्य ब्याजमा यस्तो कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत ३५ अर्बको पुर्नकर्जा कोष बनाउने घोषणा गरेको थियो ।

Share News