नेपाल इन्स्योरेन्सको एजीएम भदौ ८ गते, ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालक १ जना(चार वर्षका लागि) र साधारण सेयरधनी समूहतर्फ रिक्त १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि सञ्चालक समितिबाट नियुक्त गरिएकाले सो को पनि अनुमोदन गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि साउन २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।
युनाइटेड इन्स्योरेन्सकाे ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन, असाेज ६ गतेसम्म आवेदन खुला
काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.४ कित्ताका दरले) सेयरधनीलाई रु. ७२ करोड ५७ लाख ६० हजार रुपैया सेयर पूँजी बराबर रु. १०० अंकित दरको हकप्रद निष्काशन गर्न लागिएको हो । हकप्रद निष्काशन प्रयोजनको लागि साउन १४ गते सेयरधनी दर्ता किताब बन्द गरिएकाले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरकाे लागि आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
बाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्न पाउने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ । नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल ब्यवसायी अनुमति पत्रका लागि शिफारिस कार्यविधि २०७६ बनाई लागु भएको जनाएको छ ।
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन । यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्युत् ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ५२ लाख २८ हजार ६६७, मुक्तिनाथ विकास बैंकको रु एक करोड ७९ लाख ६६ हजार ३५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रु एक करोड ७० लाख ८२ हजार २५५, र प्रभु बैंकको रु एक करोड ६८ लाख दुई हजार ५४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् । स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९।९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।
लुः निभा बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ अनुसार काठमाडौँ डिभिजन सहकारी कार्यालयमा सो सहकारी दर्ता भएको छ । मन्त्रालयले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐन, २०७४ को दफा १०५ को उपदफा (१) अनुसार गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई तोकेको जानकारी मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकाराज जोशीले दिए । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार र ६३ हजार ब्यक्ति सहकारीमा आबद्ध छन् । रासस
काठमाडौं मेरिएट होटलमा एशियन विशेषताको रेष्टुरेन्ट ‘एडमामे’ उद्घाटन
काठमाडौँ । काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमाआफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । काठमाडौं मेरिएट होटलले नेपालका विशिष्टव्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो । उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरु भोजन गराइएको थियो । एडमामे एक आरमदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट हो, जसले जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पस्कन्छ । यो रेष्टुरेन्टमा विशेष गरी याकिटोरी ग्रिल, लाइभ सुशीबार, डिम सम स्टेशन तथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्ने बार पनि रहेका छन् । एडमामेमा भएको सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियन कलाले एशियन देशहरुमा भएको महशुस गराउँछ । यी डिजाइनले प्राचिन विश्वको केहि रहस्यमय घटनाहरुको संज्ञा गर्दछ र अनुपम भोजनको अनुभव प्रदान गर्न यो स्पेस अत्यन्तै पृथक रहेको छ । एडमामेका एक्जुकेटिभ सेफ संजीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादीष्ट बनाउन उच्च गुणस्तरीय सामग्री प्रयोग भएको सूनिश्चित गर्दछन् । यसको शुद्ध स्वाद हाइलाइट गर्न विशेष ध्यान दिएर हरेक अनुभवलाई यादगार बनाउन विशेष सावधानी अपनाएर दक्ष क्युलेनरी सीपको उपयोग गर्दै आएका छन् । उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुईस रिपोचेले भने–‘एडमामेमा हामी सिग्नेचर खानाभन्दा फरक क्युसाइन पेश गर्दछौं। जुसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रदान गर्दछ ।’ एडमामे २८ जुलाईबाट सबैका लागि खुल्ला गरिएको छ ।
कृषिमन्त्रीले भने-‘मल वितरणमा सुधार नभए सहकारी खारेज गर्छाै’
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको २.४७ प्रतिशत बजेट विनियोजन गरेकोमा उल्लेख प्रगति हासिल भएको विवरण सार्वजनिक गरिएको छ । उक्त २४अर्ब ८८ करोड ९२ लाख ०५ हजार रुपैयाँले पछिल्लो समय कृषिमा केहि परिवर्तन तथा उत्पादन वृद्धि भएको गत वर्षको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी विनोद भट्टाराईले उल्लेख्य प्रगति भएको बताएका हुन् । त्यस्तै उक्त कार्यक्रममा बोल्दै कृषिमन्त्री चक्रपाणि खनालले रसायनिक मल आयातमा पछिल्लो समय सहजता भएसँगै वितरणको प्रक्रियामा समस्या देखिएको हुँदा आगामी दिनमा यस्तो समस्या आएमा सहकारीको माध्यमबाट वितरण गर्ने प्रक्रिया खारेज गर्ने बताए । सातै वटा प्रदेशमा कोटा सिस्टमले मल आयातको प्रक्रियामा जाने र प्रदेशले नै ढुवानीको व्यवस्था एवंम वितरणको अवस्था नहेर्ने हो भने आगामी दिनमा रसायनिक मलभित्र ठूलो समस्या पैदाँ हुन सक्ने सम्भावना देखिएको उनको भनाई छ । पछिल्लो समय जति कामको गति तिव्र हुनु पर्ने हो त्यो नभएको हुँदा आधुनिकीकरणको परियोजनाले के हो यस सम्बन्धि स्पष्ट हुनु पर्ने कृषिमन्त्री खनालले बताए । कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कृषि उत्पादकत्व वृद्धि गरि पाँच वर्षमा दोब्बर उत्पादन बनाउन कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्नुका साथै कृषि क्षेत्रमा नै उद्योगको विकास र रोजगारी सिर्जना गरेमा नेपालको अर्थतन्त्रमा टेवा पुग्ने कृषिमन्त्रालयका सूचना अधिकारी भट्टाराई जानकारी दिएका छन् । उनले भने मन्त्रालयमा गत वर्ष नेपाल सरकारबाट ८५ प्रतिशत, वैदेशिक अनुदान ६ प्रतिशत र ऋण ६ प्रतिशत रकम विनियोजन गरेको थियो । यस्तो छ कृषि क्षेत्रको वार्षिक उत्पादन र कुल ग्रार्हस्थ उत्पादन वृद्धिको अवस्था :
सन्राइज बैक र चेम्बर अफ कमर्शबिच व्यापार साझेदार सम्झौता
काठमाडौ । सन्राइज बैक लिमिटेड तथा नेपाल चेम्बर अफ कर्मशका ‘महिला चेम्बर आफ कमर्श’ बिच व्यापार साझेदार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन राईज बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा पौडेल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई बैकको तर्फबाट ‘एडभाइजरी सर्भिसेस अन बैकिङ, एकाउण्टेन्ट एण्ड ट्याक्ससेसन’ सम्बन्धित विविध कार्यक्रम आयोजना गरी जानकारी उपलब्ध गराइने पाइएको छ । यस्तै, संघमा आवद्ध महिला आयात निर्यातकर्ताहरुलाई विद्यमान बैकिङ् सुविधा बारे जानकारी मुलक कार्यक्रम गरी उद्यमीहरुका अन्तर्राष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने बताए।