विकासन्युज

चेम्बरले लर्डबुद्धको सहकायर्मा सातै प्रदेशका १-१ छात्रालाई छात्रबृत्ति दिने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक-एकजना स्नातक तहका छात्रालाई छात्रवृत्ति दिने भएको छ । छात्रबृत्ति प्रदान गर्न चेम्बरले आवेदन आह्वान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्चशिक्षा हासिल गर्नबाट बञ्चित भएका मिहनति तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो । यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले एपीयूसँग आबद्ध एलबीइएफ(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ४ वर्षे बीए बिजनेस म्यानेजमेन्ट (बीबीएम–ई) स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउने छन् । यो योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्ने छन् । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने चेम्बरले जनाएको छ ।

चार हजार मकवानपुरवासीले पाए नागरिकता

हेटौडा । घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाले बढी नागरिकता लिएका छन् । शिविरमा महिलाले दुई हजार ७२१ र पुरुषले एक हजार ६५२ वटा नागरिकता लिएको बताइएको छ । आर्थिक वर्ष २०७५/७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १६ हजार ६५९ वटा नयाँ नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो । नागरिकता प्राप्त गर्ने पुरुष सात हजार १९ जना र महिला नौ हजार ५९४ जना छन् । वैवाहिक अङ्गीकृत नागरिकता १६ जनाले प्राप्त गरेका छन् भने ३० जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मकवानपुरमा गत वर्ष सात हजार ६८६ वटा प्रितिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए । सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले बताएका छन् । जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङ बताउँछन् । जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले बताए । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरुपमा निरीक्षण गरिएको उनको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका र अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको उनको दाबी छ । रासस

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बैंकहरूमा ८० अर्ब तरलता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय बजारमा अधिक तरलता देखिएका कारण प्रशोचन गर्न निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार आज साउन १९ गते १५ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएका बेला तरलता प्रशोचन गर्न ‘रिभर्स रिपो र न्यून तरलता भएका बेला बजारमा पैसा पठाउन रिपो जारी गर्ने गर्दछ । आज आइतबार बैंक तथा वित्तीय संस्थासँग ८० अर्ब तरलता रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए । वित्तीय बजारमा अधिक तरलता भएकोले हामीले तरलता प्रशोचन गर्न लागेका हौं,’ उनले भने । यद्यपि बैंकले त्यसलाई निक्षेप संकलन उपकरणको नाम दिएको छ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ । उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

एनसीसी बैंकको एजीएम भदौ २३ गते, १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव

काठमाडौँ । नेपाल क्रेडिड एण्ड कमर्श बैंक लि(एनसीसी बैंक) को २० औँ र २१ औँ बार्षिक साधारण सभा(एजीएम) भदौ २३ गते हुने भएको छ । साउन १७ गते बसेको सञ्चालक समितिको बैठक राष्ट्रिय सभा प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले आव २०७३/०७४ र २०७४/०७५ को लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र साही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बैंकको हालको चुक्ता पूँजी रु. ७ अर्ब १ करोड, ८५ लाख ८७ हजार ३ सय को १५.८९ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन पनि हुने छ । साधारण सभाले एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाम्ने र गाभिने(मर्ज गर्ने) वा प्राप्ति(एक्वीजिशन)गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति तथा दायित्व तथा कारोबार मूल्याङ्कन(डीडीए) गर्ने, अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव कपिल ज्ञवालीले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि बैंकको सेयर दाखिला खारेजको काम साउन २६ गते १ दिन बन्द रहने छ । साधारण सभामा एफपीओ निष्काशन गर्ने, सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको कार्य गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनी सचिव ज्ञवालीले जनाएका छन् ।

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस

रामग्राम नगरपालिकामा बौद्ध सङ्ग्रहालय स्थापना हुँदै, प्रदेश सरकारले दियाे एक करोड

परासी । महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका साथै रु एक करोड विनियोजन गरेको छ । अहिले सङ्ग्रहालय निर्माणका लागि आवश्यक जग्गा खोजी भइरहेको रामग्राम नगरपालिकालाई जग्गा उपलब्ध गराउन पत्राचार गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले राससलाई जानकारी दिएका छन् । उनले भने, “नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सूचना प्रकाशन गरिन्छ, यसै वर्ष निर्माण हुने उक्त सङ्ग्रहालयमा बुद्धकालीन पुरातात्विक वस्तु तथा चित्र सङ्ग्रह गरिनेछ, त्यसबाट बुद्धकालीन अवस्थाबारे देशविदेशबाट आउने पर्यटकले जानकारी पाउनाका साथै पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।” सङ्ग्रहालयमा बुद्धको जीवनीसँग सम्बन्धित वस्तु तथा बुद्धकालमा प्रयोग हुने गरेका भाँडाकुँडा, सिक्का, इँटा, त्यसबेलाका घरका आकृत्तिलगायत पुरातात्विक वस्तु राखिनेछ । प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षका अवसरमा रामग्रामलाई उच्च महत्व दिएर यसको प्रवद्र्धनमा लागेको हो। सन् १९९९ देखि २००२ सम्म स्तूप वरिपरि उत्खनन गरिएकामा त्यसपछि लामो समयसम्म यहाँ थप उत्खनन हुन सकेको छैन । उत्खननका क्रममा मौर्यकालदेखिका इँटाका विभिन्न खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रङका माटाका भाँडावर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मूर्ति, धातुका रड, बहुमूल्य पत्थर, जनावरका बङ्गारा, मानव अस्थिपञ्जरका साथै कला र अस्मिभूतका अवशेष भेटिएका थिए । पछिल्लो समय उक्त स्तूपको विकासमा प्रदेश सरकारले चासो लिन थालेपछि यहाँका नागरिक पनि उत्साहित छन् । मन्त्री चौधरीको पहलमा पूर्व–पश्चिम राजमार्गबाट रामग्राम स्तूपलाई जोड्ने गरी दुई वडास्तरीय सडकमार्ग निर्माण गरिएको छ । स्तूप र देउरवा जोड्ने पुल नहुँदा त्यहाँको विकास पछि परेको गुनासो आएकाले अहिले उनकै पहलमा पुल बनाउन पनि बजेट विनियोजन गरिएको छ । लुम्बिनी विकास कोषले स्तूपको चौतर्फी विकासका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाएको छ । कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीका अनुसार स्तूपलाई ५०० मिटर रेडियसमा राखेर जग्गा अधिग्रहणको काम शुरु गर्न लागिएको हो । सो स्तूप पश्चिम नवलपरासी जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । हालै १०० गन्तब्य सूचीमा समावेश यो स्थल विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पर्खाइमा छ । धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्व रहेको सो स्तूप झरही नदी किनारमा अवस्थित छ । सुन्दर बगैँचा एवं वनभोजका लागि उचित स्थान रमणीय पनि छ । रामग्राम बुद्धको अष्तुधातु यथास्थितिमा राखिएको स्थल भएको र बुद्ध धर्मावलम्बीले बुद्ध त्यहाँ जीवित रहेको मान्यता राख्ने गरेको स्तूप संरक्षण समितिका अध्यक्ष शम्भु उपाध्यायले बताए । “यसलाई बुद्धको महत्वपूर्ण धामका रूपमा लिने गरिएको छ, बौद्ध भिक्षु–भिक्षुणी तथा बौद्ध धर्मावलम्बी यहाँ प्रार्थना गर्दा शान्ति मिल्ने विश्वासले आउने गरेका छन्”, उपाध्यायले भने । रामग्राम महामानव गौतमबुद्धको मावली गाउँ भएको र उनको बाल्यकालको क्रिडास्थल तथा प्राचीन कोलीय गणराज्यको राजधानी रहेको विश्वास गरिन्छ । सो स्तूप पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा पर्दछ छ । झरही खोलाको किनारको समतल मैदानमा रहेको थुम्को नै रामग्राम स्तूप हो । असी फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको यो स्तूप माटोबाट बनेको छ । बौद्ध गन्थ्रअनुसार भगवान् गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भस्म नभई मोतीको आकारमा चम्किलो दाना बनेका थिए । तिनै दानालाई अस्तु धातु भनिएको हो । यी अस्तुधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शाक्य, कोलीय, गवराज र मल्लसमेत आठ राज्यका राजा आई बाँडेर लिएको र विभिन्न स्थानमा आठ वटा स्तूप निर्माण गरिएको ऐतिहासिक आख्यान छ । यहाँ आन्तरिक तथा बाह्य गरी वार्षिक ३० हजार बढी पर्यटक आउने गरेका छन् । स्तूपको विकास, प्रवद्र्धन र संरक्षणको जिम्मेवारी लुम्बिनी विकास कोषको अधिनमा छ । रासस

पोखरामा दक्षिण एशियाली खेलका लागि ह्याण्डबल प्रशिक्षणको शुभारम्भ

चिप्लेढुंगा । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताएका हुन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरेका छन् । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ । रासस

रामपुरमा ६० परिवारलाई गोबरग्यास वितरण गरिँदै

चितवन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा. माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारको कामसमेत भइसकेको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको आवास, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका आवास, प्रयोगशाला, गेष्टहाउस, खाजाघरमा जडान गरिएको हो । त्यहाँ चाहिने चुलो, लाइटर, सवमिटरसमेत खरिद गरिसकेको छ । आचार्यले दुई महिनाभित्र परीक्षणका रूपमा ग्यास वितरण गरिने बताए । प्लान्टको ट्याङ्कीमा शुरुमा दुई लाख किलो गोबर आवश्यक पर्ने भएकाले केही दिन समय लागेको उनको भनाइ छ । फार्ममै रहेका गाईको गोबर सङ्कलन गरी ट्याङ्की भर्ने काम भइरहेको छ । ती गाईको दैनिक तीन हजार किलो गोबर सङ्कलन हुने गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र कार्यक्रमको रु ६५ लाख लागतमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो । यो सफल भएमा कार्यक्रमका अन्य सात ठाउँमा ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । यसरी, छ महिनासम्म परीक्षणका रूपमा निःशुल्क ग्यास वितरण गरिने भए पनि त्यसपश्चात सवमिटर हेरेर राजश्व असुल गरिनेछ । यसले राष्ट्रियरूपमा महत्व र सन्देश दिने भएकाले सरकारका उच्च अधिकारी निम्ता गरेर औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । रासस