विकासन्युज

१३ वर्षीय रिम्पुको आत्मविश्वासले भन्छ, ‘मैले त क्यान्सरलाई जितेँ, तपाई पनि जित्न सक्नुहुन्छ’

काठमाडौं। ‘साथीहरु खेलिरहेको समयमा म भने अस्पतालको शैयामा छ्ट्पटाउँदै थिएँ । विद्यालय जाने र साथीहरुसँगै रमाउने उमेरमा मलाई भने केनुलाको पीडाले असह्य हुन्थ्यो । मलाई साथीहरुसँगै विद्यालय जाने र रमाइलो गर्ने रहर कहाँ नभएको हो र ? तर अस्पतालको शैयामा पल्टिरहन म विवश थिएँ ।’ १३ वर्षका रिम्पु योल्मोले शनिबार सानेपा स्थित हेरिटेज गार्डनमा भएको यस्ता मार्मिक अभिव्यक्ति दिइरहँदा कार्यक्रममा उपस्थित सबैका आँखा रसाएका थिए । ‘सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प शो’ उनले व्यक्त गरेका वाक्यहरुले कार्यक्रममा सहभागीहरु भावविभोर भएको उनीहरुको मलिन मुहारले प्रष्ट पार्थ्यो । ११ वर्षको उमेरमै यति ठूलो रोगसँग सामना गर्नुपरेको अनुभव र संघर्षहरु सुनाउँदै रिम्पुले क्यान्सर रोगबाट बच्न र अपनाउनु पर्ने प्रेरणात्मक उपायहरु पनि जानकारी गराए । स्थायी घर कास्कीको पोखरा भएका रिम्पु हाल गोंगबुमा आफ्ना मामाको घरमा बस्दै आएका छन् । बुवा नोर्बु योल्मो र आमा रमना थापा योल्मोको कान्छा छोरा हुन् रिम्पु, उनका दुई दिदी छन् । रिम्पुको बालापन साथीहरुसँगै हाँस्दै खेल्दै बितिरहेको थियो। पोखराको रामबजारमा बस्दै आईरहेका रिम्पु एकदिन सामान्य बिरामी परे । उनको खुट्टामा उनले केही फरक अनुभुती गरे । खुट्टामा निलो डाम र गाँठो देखिने थाल्यो र उनलाई बिस्तारै दुखाई अनुभव हुन थाल्यो । उनले बुवालाई आफ्नो समस्या बताए र विद्यालयमा एक दिन बिदा लिएर उनका बुवा नोर्बु योल्मोले उनलाई चिनजानका बाल बिशेषज्ञ डा. नवराज सुवेदीसँग सिबिसी र टिडीएस टेस्ट गराए । डाक्टरले रिम्पुलाई तुरुन्त काठमाडौंको कान्ती बाल अस्पताल लैजान सुझाव दिए । त्यसलगत्तै रिम्पुलाई उनका बुबाले काठमाडौं ल्याएर सबै चेकजाँच गरे र रिपोर्ट आएपछि रिम्पु र उनको परिवारलाई भावविह्वल बनायो । रिपोर्टमा रिम्पुलाई ब्ल्ड क्यान्सर भएको देखायो । रिम्पु आफ्ना बुबाआमासँगै कति दिनरात रोएर बिताए । ११ वर्षका छोरालाई यस्तो अवस्थामा देख्नु पर्दा परिवारमा ठूलै आँधी आयो ।  रिम्पु अहिले १३ वर्षका भए । २ वर्ष देखी अस्पतालमै आफ्नो बढी समय बिताईरहेका छन् । उनले कक्षा ७ देखी विद्यालय जान पाएका छैनन् । उनलाई दिनुपर्ने मेजर किमोहरु दिईसकिएको छ र उनी हाल औषधी खाईरहेका छन् र फलो अपको लागि अस्पताल धाईरहेका हुन्छन् । क्यान्सर भएको थाहा पाउँदा ः रिम्पुलाई क्यान्सर भएको पहिलोपटक थाहा पाउँदा क्यान्सर भन्ने रोग हुन्छ भन्ने मात्र थाहा थियो, तर यसको उपचार सम्भव छ भन्ने उनलाई थाहा थिएन । उनलाई खुब डर लाग्यो। आमाबुवा दिदी बहिनी खुब रोए । उनी पनि धेरै रोए। उनलाई धेरै दुःख लागेको थियो । बुवाआमाले उनलाई सन्चो हुन्छ पिर नलिउ भनेर जहिले भनिरहनु हुन्थ्यो । तर, रिम्पु जब अस्पतालमा उपचारको लागि भर्ना भए, तब उनले उनी जस्तो धेरै साथीहरु भेट्टाए । उनको मन त्यसपछि धेरै शान्त भयो । सम्झन चाहदैनन् किमो लगाउँदाको क्षण ः रिम्पु केमो लगाएको दिनहरु सम्झन चाहदैनन् । उनी भन्छन्- त्यो क्षणले दुःख मात्र दिन्छ । त्यस समयमा उनलाई खाना खान मन लाग्दैन थियो । खायो कि वान्ता हुन्थ्यो, शरीरमा तागत सिद्धिसकेको थियो । एकपटक उनलाई किमो चढाउने बेलामा डाक्टरले सलाईन चढाउन बिर्सेछन्, जसका कारण उनको छाला पुरै डडेको थियो । उनका कपालहरु पनि धेरै झारे र कपाल खानामा पर्छ भनेर एकदिन उनका बुवाले कपाल पुरै काटी दिए। किमो चढाएको समयमा बढी रेडिएसनको कारण क्यान्सर बिरामीहरुको कपाल झरेर जाने गर्छ । किमो लगाउँदा धेरैको नशा भेटिदैन थिए र नशा पत्ता लगाउनको लागि उनीहरुलाई औषधी दिइन्थ्यो, जसले नशाहरु सुनिन्थ्यो र दुख्थ्यो । अझै त्यस समयमा विशेष सरसफाईमा ध्यान दिनु पथ्र्यो, ईन्फेक्सन हुन्छ भनेर मानिसहरुसँग टाढा बस्नुपर्ने, डाक्टर र पोषणविद्ले भने अनुसार सफा र स्वस्थ्य खानेकुरा मात्र खानु पर्छ भन्नु हुन्थ्यो । अब स्कुल जाने चाहना ः रिम्पु अब छिट्टै नै कक्षा ८ मा भर्ना हुने सोचमा छन् । उनी २ बर्ष पछि विद्यालय जान लागेका हुन् । उनले उपचारको समयमा विद्यालय र साथीहरुलाई खुब मिस गरे । उनलाई बुवाले अब चाँडै नै विद्यालय भर्ना गरिदिने भन्नुभएको छ । उनी विद्यालय जानको लागि उत्साहित छन् । उनीसँगै पढ्ने साथीहरु कक्षा ९ मा पुगिसकेका छन्, तर उनलाई यसको केही चिन्ता छैन । उनी भन्छन्,–‘यस्तो कुरालाई लिएर नरमाइलो मान्नु हुन्न् ।’ रिम्पु पोखरा वा काठमाडौं कहाँ पढ्ने भन्ने कुरा तय भएको छैन । उनका बुवा अस्पतालहरु नजिक भएको कारण उनलाई काठमाडौं नै पढाउने सोच्दै छन्, तर अर्कोतर्फ छोरालाई लामो समय आफुहरुबाट टाढा नराख्ने कि भन्ने नि उनी सोच्छन् । मैले त क्यान्सरलाई जितेँ, तपाईहरुले पनि जित्न सक्नुहुन्छ ः रिम्पुको स्वास्थ्यमा सुधार भइरहेको छ । उनलाई हेर्दा ब्लड क्यान्सर भएको जस्तो देखिदैन । हँसिलो अनुहार अनि उनको त्यो मिठो बोलीले जो कोहीलाई पनि मोहित बनाउँछ । रिम्पु भन्छन्,–‘मेरो आत्माबलको कारण म आज स्वस्थ छु । म जस्ता क्यान्सरका बिरामीहरुलाई म आफ्नो आत्मबल जहिले पनि बलियो राख्न अनुरोध गर्न चाहन्छु । उनी भन्छन्–‘मैले त क्यान्सरलाई जिंते तपाईले पनि जित्न सक्नुहुन्छ ।’ विश्वमा क्यान्सर रोगको अवस्था  ः विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाखको हाराहारीमा क्यान्सरका बिरामी रहेका छन् । प्रत्येक वर्ष ९० लाख मानिसको मृत्‍यु क्यान्सरका कारण हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ , प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ। नेपाल जस्तो विकासाेन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगाेलिकता, गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याउन सकिने स्थिति छैन । समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउँछन् । उनी भन्छन्–‘समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ आयोजकहरुले कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता गरेका छन् ।

इन्जिनियरिङ्गका विद्यार्थीले गरे २२ दिनसम्म चल्ने व्याट्रीको विकास

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थी २२ दिनसम्म चल्ने व्याट्रीको विकास गर्न सफल भएका छन् । कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरे आफ्ना पर्यवेक्षक दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठका अधिनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन् । उनीहरुले वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास गरेका हुन् । एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी सो उपकरण बनाउन उनीहरुलाई सफलता मिलेको हो । यो व्याट्री २२ दिनसम्म चलाउन सकिनेछ, दुवै विद्यार्थीले एकैसाथ भने । एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट मात्रै चलाई साढे दुई दिन चलाउन सकिने निष्कर्ष उनीहरुको छ । अझ व्याटीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए । युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेस विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्दशेनमा विद्यार्थीले सो उपकरणको प्रोटोटाइप बनाउन सफल भएका हुन । वातावरणको परीक्षण डेटा संकलन, जनावर टेकिंग, वायु तथा जल गुणस्तर निगरानी अपबाद निगरानी जस्तै थुप्रै उर्जा संकेतमा खटाउन सकिने विद्यार्थीको दावी छ । साथै कार्यखर्चलाई न्युन गर्दै वनाएको उपकरणबाट मोटामोटी ६ किमिसम्म डेटा प्रसारण गर्न सकिने उनीहरुले बताए । अत सो प्राप्त डेटा क्लाउड कम्युटिंगमार्फत सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य उनीहरुले लिएका छन् । विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन् । स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने यो उपकरण बनाउँंदा आइपरेका विभिन्न बाधा तथा चुनौतीलाई पार गर्दै यस चरणसम्म आएको यस उपकरण मानब तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष निकालेका छन् । हाल सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक कलेजद्धारा सञ्चालन गरिएको खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट सम्मानित सो प्रोजेक्ट संकलित उर्जा बचत गर्दे प्रयोगमा ल्याउने आउँंदो समयमा निकै लाभदायक हुने कुराहरु पनि जानकारी गराइयो । यस्तै दोश्रो स्थानमा इलेक्टोनिक्स तेश्रो वर्षमा अध्ययनरत विवेक अधिकारी निजर ढकाल टंकराज ओझा पवन ढकालद्धारा निमिर्त फिंगर प्रिन्ट वेष्ट भोटिंग मेशिन रहेको थियो ।

प्रहरी हिरासतमा रहेका थुनुवा अस्पतालको झ्याल फुटाएर फरार

सुरुंगा । लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो । बिर्तामोडस्थित कनकाई अस्पताल पुर्याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “लागुऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पुर्याइएकामा त्यहाँबाटै भागेछ ।” ‘प्रहरी उपरीक्षक श्रेष्ठले भने । उनकोे खोजीकार्य शुरु गरिएको छ ।’ रासस

नक्कली प्रहरी बनेर लुट्ने दुई गिरोह पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । “सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने । पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

वर्षाका कारण काभ्रेमा २६४ घर र ८५० मिटर पक्की सडक पूर्ण क्षति

बनेपा । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताएका छन् । अविरल वर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहहरुलाई पत्राचार गरेको साढे दुई हप्ता बितिसकेको भएपनि अझै यथार्थ विवरण भने नबुझाएको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिएका छन् । “अझै पनि केही स्थानीय तहबाहेक अझैसम्म पनि विवरण प्राप्त भएको छैन”, उनले भने, “हामीले त्यसरी पत्राचार गर्दासमेत विवरण नबुझाएपछि जिल्ला समन्वय समितिमार्फत सो विवरण सङ्कलन गर्न अनुरोध गरेका छौँ ।” यसरी, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो अवस्थामा सङ्कलन गरेको विवरणमा अविरल वर्षाका कारण जिल्लामा बनेपा नगरपालिकामा दुई र रोशी गाउँपालिकामा एक गरी तीन जनाको मृत्यु भएको र दुई घाइते भएको उल्लेख छ । त्यस्तै, घर पूर्ण क्षति भएको मध्ये सबैभन्दा बढी महाभारत गाउँपालिकामा ४७, खानीखोला गाउँपालिकामा ४३ र सबैभन्दा कम धुलिखेल नगरपालिकामा एक घर पूर्णरूपमा क्षति भएको छ भने तेमाल गाउँपालिकामा ४१, रोशी गाउँपालिकामा ३०, पनौती नगरपालिकामा ३०, बेथानचोक गाउँपालिकामा २८, चौरीदेउराली गाउँपालिकामा ११ र नमोबुद्ध नगरपालिकामा १० घर पूर्णरूपमा क्षति भएको छ । त्यसैगरी, जिल्लाभरिमा एक हजार २४१ वटा घर आंशिक क्षति भएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी रोशी गाउँपालिकामा पाँच सय घर, नमोबुद्ध नगरपालिकामा १ सय ५० घर, चौरीदेउराली गाउँपालिकामा एक सय घर, बनेपा नगरपालिकामा एक सय ३० घर र महाभारत गाउँपालिकामा ९५ घरमा आंशिकरूपमा क्षति भएको हो । सबैभन्दा कम भूम्लु गाउँपालिकामा पाँच घरमा आंशिक क्षति भएको छ । यसरी जिल्लाभरिमा एक सय ८२ वटा गोठ पूर्णरूपमा क्षति भएको छ भने दई सय ६२ वटा गोठ आंशिक क्षति भएको छ । सार्वजनिक संरचना (विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन) गरी ९४ वटा भवनमा क्षति पुगेको जनाइएको छ । सडक सञ्जालमा विभिन्न स्थानीय तहका गरी ८ सय ५० मिटर पक्की सडक क्षति भएको छ । रोशी गाउँपालिकाको विपी राजमार्गका विभिन्न स्थानमा गरी दुई सय ६० मिटर, धुलिखेल नगरपालिकामा पाँच सय २० मिटर, बनेपा नगरपालिकामा ३७ मिटर, पनौती नगरपालिकामा २० मिटर र पाँचखाल नगरपालिकामा १३ मिटर सडक बाढी पहिरोका कारण क्षति भएको जनाइएको हो । कच्ची सडकतर्फ तेमाल गाउँपालिकामा सात किलोमिटर, महाभारत गाउँपालिकामा चार किलोमिटर, नमोबुद्ध नगरपालिकामा पाँच किलोमिटर र खानीखोला गाउँपालिकामा दुई किलोमिटर सडक क्षति भएको छ । अन्य गाउँपालिका र नगरपालिकाहरूमा गरी कुल ४३ किलोमिटर कच्ची सडक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । यसरी, वर्षाका कारण जिल्लामा ४१ वटा पशु चौपायको मृत्यु हुनाका साथै एक सय ६ वटा पशु चौपाया घाइते भएको समितिले जनाएको छ । रासस

झापाबाट बेपत्ता दिदीबहिनी भारतको पूर्णियामा फेला

सुरुंगा । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेका थिए । विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको र सूचना पाएलगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । बेपत्ता बनेका किशोरी दिदी बहिनी हुन् । मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशील रुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको नायब उपरीक्षक थापाले बताएका छन् । “बेपत्ता बनेका दिदी बहिनीले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो”, प्रहरी नायब उपरीक्षक थापाले भने, “लखनउमा छन् भन्ने भएपछि हामीले तत्काल भारतीय प्रहरीलाई जानकारी गरायौँ, जसका कारण उनीहरु मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको सम्पर्कमा पुगेका हौँ ।” भारतको पूर्णियामा फेला परेका किशोरीलाई आज नेपाल ल्याइने प्रहरीले जनाएको छ । रासस

सुन तोलाको ६७ हजार ८ सय, एकै दिन १५ सय रुपैयाँले बढ्याे

काठमाडौं । सोमबार प्रतितोला सुनको मूल्य ६७ हजार ८ सय पुगेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एक्कै दिनमा १ हजार ५ सय रुपैयाँले बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जानकारी दिएको छ । । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन आइतबार ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर घरेलु बजारमा परेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको हो,’ उनले भने ‘बजार भन्न सकिने अवस्थामा छैन ।’ अझै उकालो लाग्न सक्छ ।’ महासंघका अनुसार यस अघि २०७० साउनमा एकै दिन प्रतितोला सुनमा ३ हजार ५ सय रुपैयाँले बढेको थियो । सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन १२ अमेरिकी डलरले बढेर १ हजार ४ सय ५३ डलर पुगेको छ । आइतबार बाह्य बजारमा प्रतिऔंस सुनको भाउ १ हजार ४ सय ४१ अमेरिकी डलर थियो । अमेरिकी फेडल रिजर्भ बैंकले गत जुलाई ३१ मा ब्याजदर घटाएर ०.२५ प्रतिशतमा झारेपछि लगानीकर्ताको ध्यान सुनमा आकर्षण हुँदा मूल्य बढेको हो । त्यसरी अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ अर्ब मूल्य बराबरको सामानमा १० प्रतिशतले भन्सार महसुश बढाएका कारण यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुन बजार मह्गिएको उनले बताए । ‘पछिल्लो अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ,’ शाक्यले भने ‘यसले पनि घरेलु बजारमा सुनको मूल्य बढाउन सहयोग गरेको हो । ३० प्रतिशतपनि छैन सुन व्यापार पछिल्लो समय सुन मह्गो भएपछि सुन बजार घट्दै गएको छ । बजारमा ग्राहकको चहलपहल घट्दा त्यसको प्रत्यक्ष असर सुन बजारमा परेको हो । बिहीबार ६५ हजार रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबारसम्म आइपुग्दा चार दिनको अवधिमा दुई हजार ८ सय रुपैयााँले वृद्धि भएको छ । साउन महिना त्यसै पनि सुन कारोकारका त्यति राम्रो मानिदैन,’ उनले भने ‘अझ भाउ उकालो लागेपछि बजार ३० प्रतिशतमा सीमित भएको छ ।’ भाउ माथि जाँदा कारोबार तल ओर्लिएको छ उनले भने ‘अहिले अन्य समयको भन्दा ३० प्रतिशतभन्दा कम सुन बिक्री हुन थालेको छ ।’ चाँदीको मूल्य पनि बढ्यो चाँदीको मूल्य पनि एक्कै दिन २० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य सात सय ९५ रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।