गत वर्ष एक सय २१ तुइन विस्थापन
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिएका छन् । प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ । तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ । यसैगरी, मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ । प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ । मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ । प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा सडक बनेका छन् । पुल निर्माण भएपछि यातायातमा सहज भएको छ । यसैगरी मन्त्रालयले एक हजार २३९ किलोमिटर सडकमध्ये ६०५ किलोमिटर बनाएको छ । प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा ११६, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी निर्माण गरिएको हो । यसरी, मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमी, प्रदेश नं २ मा एक हजार २०० किमी, प्रदेश नं ३ मा एक हजार ३५ किमी, गण्डकी प्रदेशमा एक हजार १५८ किमी, प्रदेश नं ५ मा एक हजार २५० किमी, कर्णाली प्रदेशमा एक हजार १४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९७५ किमी सडक मर्मत गरेको छ । रासस
सनराइज बैंकको ११६ औं शाखा काठमाडौंको नैकापमा
काठमाडौं । सनराइज र्बैकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा काठमाडौंको नैकापमा ११६ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा र एटिएमको उद्घाटन चन्द्गागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा गरेका हुन् । यस बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिदैं आएको हाे । हालसम्म सनराइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ ।
सानिमा इक्वीटी फण्डका इकाईधनीले १० प्रतिशत नगद लाभांश पाउने
काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्वीटी फण्डका इकाईधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।
तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ मध्ये ४ परियोजनाको लगानी स्वीकृत
काठमाडौं । २०७५ चैत १५ र १६ गते सम्पन्न तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ परियोजना मध्ये ४ वटाको लगानी स्वीकृत भएको छ । लगानी बोर्डको हालै सम्पन्न बैठकले ४ वटा परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । बोर्ड बैठकले झापा जिल्लाको दमकमा बन्ने ‘चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । यो परियोजनामा पूर्ण लगानी चाइनाको हुनेछ । औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउन बताइएको छ । यता, विराटनगरमा ‘मल्टी मोडल लजिस्टिक पार्क’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । यो पार्क रेलबाट आएका सामानहरु (कार्गो) राख्ने र भन्सार पास गरेर सामान सप्लाई गर्नका लागि प्रयोग हुनेछ । सीजी ग्रुप र यूएईको सराफबीच भएको सम्झौता अनुसार जनकपुरमा ‘रेल्वे लिङ्क प्राईभेट फ्रेग टर्मिनल’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनकै बेला सो परियोजना सम्बन्धी सम्झौता भएको थियो । यसैगरी, ७६७ मेगावाटको तमोर जलविद्युत आयोजना पनि २ वटा कम्पनीको प्रस्ताव स्वीकृत भएको छ । यो आयोजनाको यसको लागत भने तोकिएको छैन । २ वटा कम्पनीहरु डीपीआर निमार्णका लागि छनोट भएका छन् । ती कम्पनी मध्ये जसले सस्तोमा डीपीआर निर्माण गर्छ, उसले स्वीकृत पाउने लगानी बोर्डले जानकारी दिएको छ । डिपीआरका लागि ग्रीन इन्फास्टक्चर कम्पनी र एचआइडिएसएलको ज्वाइन भेन्चर फुजी इलेक्ट्रिक कम्पनी र जेभी कम्पनीले स्वीकृति पाएका हुन् । लगानी बोर्डका प्रवत्ता बलराम रिजालले डीपीआरका लागि ४ परियोजनाले स्वीकृति पाएको बताए । उनले भने–हाम्रोमा लगानी गर्न आउनेहरुका लागि प्रक्रिया लामो भएकोले थोरै मात्रै परियोजनाको स्वीकृत भएको बताए । बोर्डको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको प्रक्रियामा भएको झन्झटहरुको बारेमा सुझाव दिन निर्देशन दिएको र केही समयमा ती कानूनी झन्झट हट्ने बताए । सरकारले लगानी सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो । ४ वटा परियोजना अस्वीकृत गोसाईकुण्ड केवलकार प्रालि, अन्डर ग्राउण्ड केवल लिकं, वाटर टिटमेण्ट प्लान प्रोजेक्ट, आई इन्डिष्ट्रिल पार्क एण्ड कर्मसियल कम्प्लेक्सको परियोजना खारेज भएको छ । यी परियोजनाको कामको अनुभव र दक्षता नभएको कारण अस्वीकृत गरिएको लगानी बोर्डले जनाएको छ ।
लिलामी नहुँदा कराेडाैं मूल्यका सवारी साधन अलपत्र
बाँके । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी साधनको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् । चलाउन सकिने सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन् । यी साधनको लिलाम गर्नका लागि भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका हुन् । यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इञ्जिनियरले बरामद सवारी साधनको मूल्याङ्कन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । कर्मचारी अभावका कारण जनाउँदै मूल्याङ्कन गर्न ढिलाइ भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ । तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगञ्ज भन्सारले रु दुई करोड ४३ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालू अवस्थाकै गाडी लिलाम गर्न नसकेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियमविपरीत गुडेका मोटरसाइकल र जिप प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुई वटा जिप रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् । मूल्याङ्कन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताएका छन् । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरीका सवारी साधनको मूल्याङ्कन गरी लिलाम बिक्री प्रक्रिया लथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् । धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाइ भएको भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताए । उनले भने, “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौँ ।” उनले पुराना फाइल खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको जानकारी दिए । त्यस्तै, सम्पूर्ण कानूनी प्रक्रिया पुर्याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उनले यसले राजश्व सङ्कलनमा वृद्धि हुने बताए । “सबै काम सकिए जति सक्यो छिटो लिलाम प्रक्रिया अगाडि बढाउने तयारी भएको छ”, सूचना अधिकारी जोशीले भने । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोचेअनुरुप राजस्व सङ्कलन भने नहुने देखिएको छ । लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाउँसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधन प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।” यसरी, सवारी साधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घ प्रतिनिधि रहने प्रावधान रहेको छ । उक्त समितिले लिलाम बिक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । रासस
बालुवाटारको सुबिसु प्रालीमा आगलागी, नियन्त्रण प्रयास जारी
तस्विर: अभिनाश झा काठमाडौं। काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु प्रालीमा आगलागी भएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बालुवाटारको चोकैमा रहेको सुबिसुको कार्यलयमा आगलागी भएको जानकारी दिएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले जानकारी दिएका छन्। नजिकै रहेको पेट्रोलको रिजर्भ ट्यान्कीको कारण आगलागी भएको स्थानियले बताएका छन्।
बिआरआई विश्वकै लागि महत्वपूर्ण परियोजना, नेपाल ल्याण्ड लकबाट ल्याण्ड लिङ्क कन्ट्री बन्ने
काठमाडौं । पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनद्धारा अघि सारिएको महत्वकांक्षी परियोजन बेल्ड एण्ड रोड इनिसियटिभ(बिआरआई) विभिन्न देशहरूबीचको क्षेत्रीय सम्बन्ध र विश्वलाई जोड्ने महत्वकांक्षी परियोजना भएको बताएका छन् । साउथ एसिया इन्स्टिच्युट अफ एडभान्स स्टडीज्ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उक्त महत्वपूर्ण परियोजना अब सर्वस्वीकार्य परियोजना भैसकेको बताएका हुन् । मन्त्री ज्ञवालीले राष्ट्रिय प्राथमिकता निर्धारण गरेर नेपालले पनि यसबाट लाभ लिने गरि तयारी अघि बढाएको बताए । बिआरआईमा सहभागिता जनाएपछि नेपाल ल्याण्ड लक कन्ट्रीबाट ल्याण्ड लिङक कन्ट्रि बन्ने उनले बताए । नेपालले हवाई रुट, रेल, ट्रान्समिसन लाइन र सडक सञ्जाल लगायका क्षेत्रलाई बिआरआईमा समावेश गरेको उनले जानकारी दिए । उनले केरुङ–काठमाडौं रेलवे नेटवर्क गेम चेञ्जर प्रोजेक्ट हुने जानकारी दिए । बिआरआईले एसिया, युरोप र अफ्रिकासहित दक्षिण अमेरिकाका १३० वटा देशले बिआरआईमा सहभागी हुने घोषणा गरिसकेका छन् । कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पनि बिआरआई विश्वका लागि सर्व स्वीकार्य परियोजना भइसकेको बताए । उनले ढिलो छिटो भारत र अमेरिका पनि बिआरईमा समावेश हुने बताए ।
सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीले ११ प्रतिशत प्रतिफल पाउने, भदौ १ गते बुक क्लोज
काठमाडौँ । सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुले ११ प्रतिशत प्रतिफल पाउने भएका छन् । सिद्धार्थ क्यापिटल सञ्चालक समितिको बैठकले आव २०७५/७६ को लागि १६ करोड ५० लाख बराबरको प्रतिफल वितरण गर्ने भएको हो । प्रतिफल प्रयोजनका लागि भदौ १ गते दर्ता किताब बन्द गर्न लागिएको कम्पनी सचिव सन्दीप कार्कीले बताए ।