सिभिल अस्पतालमा अब लाइन बस्नु पर्दैन, प्रभु पे बाट घरमै बसेर टिकट काट्न सकिने
काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपीडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ । मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिलो हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा शुरु गरेको छ । अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने–‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’ कार्यकारी निर्देशक डा. आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपीडीमा आउने गरेका बताइएको छ । अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए ।
प्राइम बैंकको बिशेष साधारण सभा सम्पन्न, कन्काईलाई प्राप्ती गर्ने प्रस्ताव पारित
काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा संख्या ९४ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने निमित्त कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जनाएका छन् ।
बिक्री शुरु भएको छोटै अवधिमा बिक्री भए २२२ निसान किक्स
काठमाडौँ । नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री बितरण शुरु गरेको छोटो अवधिमा २२२ भन्दा बढी निशान किक्स मोटर नेपाली बजारमा बिक्री गर्न सफल भएको छ । नेपाली बजारमा किक्स गाडीको बिक्री प्रारम्भ गरेको छोटो समयावधिमा नै ग्राहकहरुले निकै रुचाएको कम्पनीले जनाएको छ । अहिले पनि निसान किक्सको परिवारमा ग्राहकहरु निरन्तर थपिदै गएका छन् र भविष्यमा यसले नयाँ कीर्तिमान कायमगर्ने विश्वास गरिएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा प्रदान गरेको परिणामस्वरुप छोटो अवधिमा उल्लेखनीय सफलता प्राप्त गरेको जनाइएको छ । यसको फराकिलो भित्रीभाग, आकर्षक बाहिरी बनावट, आरामदायी र सुरक्षित बनावटले गर्दा ग्राहकहरुको रोजाईमा पर्न सफल भएको बताइएको छ ।
वाईवाई ग्लोकल ट्वान्टी अण्डर ट्वान्टीका लागि २० जनाको सूची सार्वजनिक
काठमाडौँ । ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजनामा नेपालका २०वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिभाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ । ती किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशीलता, वन्यजन्तु संरक्षक जस्ता विविध क्षेत्रमा कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ। सुची निकाल्नेक्रममा ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन्- हामीले यो तेश्रो बार्षिक सूची निकाल्दा सम्म यी किशोर किशोरीले गरेका कामले समाजलाई टेवा पुर्याएको देख्दा अत्यन्त खुशी लाग्छ । चयन भएका २० युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको भव्य कार्यक्रम १ सेप्टेम्बरमा गरिने छ । यी युवाहरुको कथा ग्लोकल खबरमा प्रकाशित हुनेछ । वाई वाई ग्लोकल टिन हिरो जुन किशोर किशोरीहरुको प्रतिभालाई पहिचान गरि सम्मान गर्ने एकमात्र मंच हो, त्यसको अन्तिम ६ प्रतियोगीहरुको सुची पनि चाडै प्रकाशन हुने जनाइएको छ ।
३८० वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न, २१ अर्ब २६ करोड रुपैयाँ खर्च
काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा छन् । यी सम्पदाहरुको पुनर्निर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनर्स्थापना तथा तलेजु मन्दिर मुख्य छन् । त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनर्स्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने बताए। ‘सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं’–उनले भने । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६ ०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए । पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन् । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरुले पनि सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन् । भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् । पुनर्निर्माण सम्पन्न ९६ वटा विश्व सम्पदा सूचीभित्रका रहेका छन् भने २८४ विश्व सम्पदा सूचीबाहिरका हुन् । चालु आर्थिक वर्षमा १५० कार्यक्रम परेका परेको पुनर्निर्माण विभागले जानकारी गराएको छ ।
सातौं फर्निचर तथा फनिर्सिङ एक्स्पो ‘फर्नेक्स २०१९’ को तयारी अन्तिम चरणमा
काठमाडौँ । भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पो आगामी भदौ २५ गतेदेखि २९ गतेसम्म संचालन हुनेछ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । फर्नेक्स २०१९ को शीर्ष प्रायोजकमा फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र जेन्शा कार्पेट रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसिएशनको समेत सहयोग प्राप्त छ । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागी हुने एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । एक्सपोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामाग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । एक्सपोमाप्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिने छ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुनेछ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए । एक्स्पोको व्यवस्थापनइभेण्ट सोलुसनप्रालिले गर्नेे छ । इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा आयोजना हुने एक्सपो फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्ने विश्वास व्यक्त गरे ।
४ सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गर्यो कारवाही
काठमाडौं । गुणस्तरीय उत्पादन नगर्ने र नीति नियम नमान्ने चार कम्पनीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । तीन ओपिसी सिमेन्ट, एक पिपिसि सिमेन्टमा उद्योगले गुणस्तरहीन उत्पादन गरेकाले विभागले कारवाही गरेको हो । मोरङमा रहेको रहेका नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि, भैरहवामा रहेको नेपाल अम्बुजा सिमेन्ट उद्योग, सुनसरीको जानकी सिमेन्ट ई प्रालि र परासीमा रहेको चितवन सिमेन्ट उद्योगलाई विभागले कारवाही गरेको जनाएको छ । कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।
बाग्लुङ्गकोे काँठेखोलामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।