विकासन्युज

तीन लाख २६ हजार घुस रकमसहित वन अधिकृत पक्राउ

डोटी । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबाफत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो । अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरे । उनले भने, “यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।” यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरे । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रशाद तिवारीले सहायक वन अधिकृत डिसी यहि साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । रासस

गौतमबुद्ध विमानस्थलमा डेडिकेटेड प्रसारण लाइन बन्ने

काठमाडौँ । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक डेडिकेटेड प्रसारण लाइन निर्माणका क्रममा देखिएका समस्या निरुपण गर्ने उपायको खोजी गर्ने लक्ष्यका साथ छलफल भएको हो । छलफलमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधिकरणले तत्काल शुरु गर्ने, सडक विभागका तर्फबाट गर्नुपर्ने काम पनि तत्कालै शुरु गर्ने र त्यसमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक सहजीकरण गर्ने विषयमा सहमति भएको ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिए । छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिए । “कतिपय निकाय विकासमैत्री हुन नसक्दा समस्या देखिएको छ । राष्ट्रिय गौरवका आयोजना अगाडि बढिरहेको छ । सबै निकायले आ–आफ्नो जिम्मेवाराी समयमै पूरा गरून् भन्ने मेरो अपेक्षा छ”, मन्त्री पुनले भने । यस्तै सो अवसरमा पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत् सेवाका लागि गर्नुपर्ने काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय डा सञ्जय शर्मा, दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको सहभागिता थियो ।

बकर इद पर्व मनाइँदै, देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् । “बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ”, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वान ९बलिदान० दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेका थिए, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि (कुर्वान) दिनुपर्ने धार्मिक विधान छ ।

भ्रमण वर्षको प्रचारमा पर्यटनमन्त्रीको आग्रह- ‘फेसबुक, ट्वीटर र इन्स्टाग्राममा लोगो राखिदिनोस्’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पु¥याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै उक्त अभियानलाई विश्वभर पुर्याउनका लागि सहयोगको आह्वानसमेत गरेका छन् । ‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि सामाजिक सञ्जाललगायतमा यस अभियानको लोगो राखी दिनहुन तथा सार्वजनिक एवम् निजी क्षेत्रका सङ्घसंस्थाले पनि यस कार्यलाई उत्साहका साथ दिनहुन हार्दिक अनुरोध गर्दछु’, मन्त्री भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एक वर्षमै थपिए ७ हजार ७ सय कम्पनी, उद्यमतर्फ बढ्दो युवा आकर्षण

काठमाडौं । कम्पनी दर्ता गरेर उद्यम गर्दै स्वरोजगार बन्नेको संख्या बढ्दै गएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आव २०७५/७६ मा २५ हजार ४ सय ६९ कम्पनी दर्ता भएका छन् । अघिल्लो आव २०७४/७५ मा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी १७ हजार ७ सय ३२ वटा मात्रै दर्ता भएका थिए । कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव भन्दा गत आवमा ७ हजार ७ सय ३७ वटा कम्पनी बढी दर्ता भएका छन् । गत आवमा १ अर्ब माथिका २ वटा मात्रै कम्पनी दर्ता भएका छन् । सरकारले दर्ता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको लगानी रहेने पिङ्गवा ज्वाइन्ट सेन्टर कम्पनी मात्रै १ अर्ब माथिका कम्पनी भएको कार्यालयले जनाएको छ । हालसम्म निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी कार्यालयमा दर्ता भएका छन् । कुन प्रदेशमा कति कम्पनी दर्ता ? आव २०७५/७६ मा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा दर्ता भएका छन् । प्रदेश नम्बर ३ मा निजी १५ हजार ९८३, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने ४५० र विदेशी ४७ वटा कम्पनी दर्ता भएका हुन् । त्यसैगरी प्रदेश नम्बर १ मा निजी २ हजार ६४, सार्वजनिक २ र मुनाफा वितरण नगर्ने २७ वटा कम्पनी दर्ता भएका छन् । विदेशी लगानीका कम्पनी सो प्रदेशमा दर्ता भएका छैनन् । प्रदेश नम्बर २ मा निजी १ हजार ८३८, सार्वजनिक ३६, मुनाफा वितरण नगर्ने २ र विदेशी १ वटा कम्पनी दर्ता भएका छन् । कर्णाली प्रदेशमा निजी १ हजार ६९७, सार्वजनिक ९ र मुनाफा वितरण नगर्ने १६ वटा कम्पनी दर्ता भएका छन् भने प्रदेश नम्बर ५ मा निजी २ हजार ९५, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने २२ वटा कम्पनी दर्ता भएका छन् । यता, सुदूरपश्चिम प्रदेशमा निजी ६०२, सार्वजनिक १ र मुनाफा वितरण नगर्ने ६ वटा कम्पनी दर्ता भएका कार्यालयले जनाएको छ । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार दाहालले युवाहरु कम्पनी खोलेर आफैँ रोजगर बनेका कारणले कम्पनी दर्तामा वृद्धि भएको बताए । उनले भने-देशमा नै केही गर्नु पर्छ भन्ने भावनाको विकास भएकाले पनि कम्पनी दर्ताको संख्या वृद्धि भएको हो ।

२ करोड ३५ लाख खाताको निक्षेप सुरक्षणमा ६ खर्ब २८ अर्ब, निक्षेपकर्तालाई राहत

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख १२ हजार वटा निक्षेप खाता सुरक्षण (बीमा) गरेको छ । कोषले उक्त खातामा रहेको प्रति खाता दुई लाख रुपैयाँका दरले ६ खर्ब २८ अर्ब ५ करोड निक्षेप सुरक्षण गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५ सम्म एक करोड ९३ लाख खाता सुरक्षण भएकोे थियो । उक्त खातामा रहेको चार खर्ब ३० अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरिएको कोषले जानकारी दिएको छ । कोषमा प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेपमा रहेको निक्षेप सुरक्षण हुने व्यवस्था छ । सुरक्षण गरिएको निक्षेप बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्ताले प्रतिव्यक्ति प्रतिबैंक खाता दुई लाख रुपैयाँका दरले फिर्ता पाउँछन् । कोषले प्रतिबैंक दुई लाखका दरले प्रतिव्यक्तिको खाता सुरक्षण गर्दै आएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ को दफा १९ मा कोषले प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था डुबे पनि निक्षेपकर्तालाई प्रतिबैंक प्रति खाता दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति कोषले दिने कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले बताए । मिश्रले भने-‘एउटै बैंकमा धेरै रकम राख्दा बैंक डुब्न गएको खण्डमा निक्षेपकर्ताको धेरै रकम डुब्ने जोखिम हुन्छ । यसबाट निक्षेप डुब्न सक्ने अवस्था न्यूनीकरण हुनुको साथै आम निक्षेपकर्ताको खातामा रहेको न्यूनतम रकम सुरक्षण हुने छ ।’ कुनै पनि निक्षेपकर्ताले एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा संयुक्त निक्षेप खाता भएमा वा तेस्रो पक्ष लाभकारी निक्षेप खाता भएका सबै खातालाई समष्टीकृत गरी एकै खाता सरह मान्यता दिइने प्रावधान छ । ती खातालाई अलग अलग गणना गर्न पाउने छैन । कोषले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा रहेको पुँजी एउटै बैंकमा नराखी ‘क’ वर्गका वाणिज्य बैंकदेखि ‘घ’ वर्गका लघुवित्त बैंकहरूसम्म परिचालन गरेर एउटा बैंकमा एउटामात्र खाता राख्न मार्ग निर्देश गरेको हो । कोषले निक्षेप सुरक्षण बढाउनुको साथै सुरक्षण शुल्क समेत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७५/७६ को असारमसान्तसम्म कोषले निक्षेप सुरक्षणबाट २५ करोड १२ लाख रुपैयाँ शुल्क आम्दानी गरेको छ । गत आवमा एक करोड ९६ लाख ६६ हजार ‘क’ वर्गका वाणिज्य बैंकको खाता सुरक्षण गरिएको छ । ‘उक्त खातामा रहेको पाँँच खर्ब १९ अर्ब २२ करोड निक्षेप सुरक्षण भएको छ,’ मिश्रले भने–‘सो अवधिसम्म कोषमा २९ वटा विकास बैंकमा रहेका खातामध्ये ३२ लाख ८७ हजार खातामा रहेको ९५ अर्ब ३४ करोड निक्षेप सुरक्षण भएको छ ।’ त्यस्तै ‘ग’ वर्गका २२ वटा वित्तीय संस्थाले १२ अर्ब ५४करोड रुपैयाँको निक्षेप सुरक्षण गराएका छन् । सो निक्षेप ५१ लाख ६५ हजार निक्षेपकर्ता हो । ‘घ’ वर्गका २ वटा लघुवित्त वित्तीय संस्थाले ४१ हजार पाँच सय १८वटा खातामा रहेको रकममध्ये प्रतिखाता दुई लाखका दरले ९३ करोड ९८ लाख निक्षेप सुरक्षण गराएका छन् ।

अबैध कल बाइपासमा संलग्न नसिव तामाङ पक्राउ, कैद भुक्तानीपछि पनि उही धन्दामा

काठमाडौँ । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ ।चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ कल बाइपास गरेको आरोपमा विसं २०७२ मा समेत पक्राउ परेका थिए । अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो । तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानूनी धन्दामा लागेको फेला परेको हो । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद लिई तामााङबारे अनुसन्धान थालिएको सिआइबीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने ११० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरुसँग रु १२ अर्ब बिगो मागदाबीसमेत गरेको छ ।

बैंकका लगानीकर्ता माथि राष्ट्र बैंकको ‘कु’

नेपाली समाजमा सबैभन्दा बढी पिल्सिएको वर्ग हो लगानीकर्ता । बुद्धिजीवि मान्छे नपढी बस्न सक्दैन । परिश्रमिलाई काम नगरी हुँदैन । खेलाडीलाई नियमित खेल्नै पर्छ । गायक नगाई बस्न सक्दैन । उल्लेखित वर्ग समूहलाई जस्तै, लगानीकर्तालाई पनि पैसा कमाउने लत हुन्छ । आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा राम्रो लत हो ‘पैसा कमाउने लत’ । कानुन अनुसार लगानी गर्नु, उद्योग व्यवसाय सञ्चालन गर्नु, मानिसका आवश्यकता अनुसार बस्तु तथा सेवा उत्पादन गर्नु, रोजगारी सिर्जना गर्नु, नियमअनुसार कर तिर्नु र आफूले पनि केही लाभांश लिनु लगानीकर्ताकाे कर्म हाे । संसारमा सबैभन्दा बढी सम्मानित पेशा नै उद्यमशीलता हो । तर नेपालमा उद्यमी बन्नु, लगानी गर्नु, रोजगारी सिर्जना गर्नु, राज्यलाई कर तिर्नु सबैभन्दा चुत्थ्यिा काम बन्दैछ, त्यो पनि राजनीति गर्ने र सरकारी जागिर खाने वर्गको नजरमा । उनीहरुले व्यवसायीलाई लगाउने आरोप हुन् कर चोर, शोषक, घटिया व्यापारी आदि-इत्यादि । शासक वर्गको यहि मनोवृत्तिलाई अनुसरण गर्दै पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रका लगानीकर्ता माथि ‘कु’ गरेको छ । लगानीकर्ताको अधिकार खोसेको छ । नियामकले वित्तीय क्षेत्रलाई प्रतिगमनतिर लगेको छ । गत साता राष्ट्र बैंकले बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने र पदमुक्त गराउने जुन काम गरेको छ त्यो घोर अन्यायपूर्ण छ । यो नीति राष्ट्र बैंकको नेतृत्वको पूर्वाग्रह र दुरासयबाट प्रेरित नीति हो । राष्ट्र बैंकको उक्त नीतिका कारण बैंकका सेयरधनीले चुनेर निश्चित अवधिका लागि बनाएका सञ्चालकको पद गुमेको छ । लगानीकर्ताको अधिकार राष्ट्र बैंकले खोसेको छ । बेलायतमा सन् २०२५ देखि चिनीमा लाग्ने करको दर वृद्धि गरिदैछ । उक्त घोषणा सरकारले सन् २०१६ मा गरेको हो । नीति भनेको यस्तो हुनुपर्छ जुन सरोकारवालाले पूर्व जानकारी पाउनुपर्छ र उनीहरूलाइ तयारी गर्न उचित समय दिनुपर्छ । जहाँ यस्तो अवसर हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन, हुकुमी शासन हुन्छ । नेपालको बैकिङ क्षेत्रमा उत्कृष्ट योगदान गरेको भनी छ महिनाअघि अर्थमन्त्री र गभर्नरले खादा लगाएर सम्मान गरेका व्यक्ति हुने एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठ । आज तिनैलाई आज राष्ट्र बैंकले लात हानेको छ । एक वर्षअघि बैकिङ क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर सम्मान गरको शम्भु पौडेललाई नविल बैंकमा छिर्न निषेध गरिएको छ । ५० वर्षसम्म बैकिङ क्षेत्रका काम गरेर महत्वपूर्ण योगदान गरेका नायरणदाश मानन्धरलाई अपमान जनक ढंगले घर पठाईएको छ । के विके श्रेष्ठ, शम्भु पौडेल र नारायणदास मानन्धरले चलाएको बैंक खराव हुन् ? उमेरले बुढो हुन् अपराध हो ? अदालतले दोषी ठहर गरेको अपराधीलाई समातेर झेल निश्चित समय दिइएको हुन्छ । के श्रेष्ठ, पौडेल र मानन्धरले अपराधीको भन्दा खराव काम गरेर उनीहरुमाथि राष्ट्र बैंक यतिसारो निर्दयी बन्नुपर्यो ? आज राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सीईओ नियुक्ती गर्ने अधिकार लगानीकर्ताबाट खोसेको छ । लगानीकर्तालाई धेरै कोणबाट हातबाध्ने काम गरिएको छ । लगानीमा नियन्त्रण गरिएको छ । नाफामा नियन्त्रण गरिएको छ । नाफाको वितरणमा नियन्त्रण गरिएको छ । एनसेलमा लगानी गर्ने विदेशी लगानीकर्तालाई १८००० प्रतिशत लाभांश लैजान स्वीकृत दिने राष्ट्र बैंक नेतृत्व बैंकका सेयरधनीले औषतमा करिव १५ प्रतिशत लाभांश पाउँदै आएकोमा त्यसप्रति प्रतिशोधपूर्ण भावले आगोको भूङ्ग्रो बनेको छ । उनीहरुले पाउने लाभांश नियन्त्रण गर्न स्प्रेडदरमा नियन्त्रणदेखि पुँजीकोष अनुपात वृद्धिसम्ममा कठोर कदम लिएको देखिन्छ । लगानीकर्ताको विकेक, सिर्जनात्मक पक्ष सबै हरण गरिएको छ र बैंकिङ सिस्टममा राणा शासन भन्दा कडा र हुकुमी शैली शुरु भएको छ । कुन दिन राष्ट्र बैंकले के निर्देशन दिन्छ र त्यसको पालना गर्न सबैलाई बाध्य बनाईन्छ, कसैलाई थाहा हुँदैन । (देशविकास साप्ताहिकबाट)