विकासन्युज

नेपाली सेनाले सञ्चालन गर्यो छ रङका पट्टा, कसलाई कुन रङ……

काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिकका लागि छ रङका पट्टासहित छ किसिमको कल्याणकारी निवृत्तिभरण सञ्चालन गरेको छ । सकल दर्जाका सैनिकलाई अवकाशपछि आर्थिक राहत पुर्याउने उद्देश्यले सेनाले ४४ वर्षअघि अर्थात् २०३२ सालमा शान्तिसेनामा खटिएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट सैनिक कल्याणकारी कोष स्थापना गरेको थियोे । अर्धवार्षिक रुपमा रु दुई हजार ५०० तथा वार्षिकरुपमा रु पाँच हजारका दरले साधारण निवृत्तिभरण प्राप्त गर्ने सकल दर्जालाई पहेँलो रङको पट्टाको व्यवस्था गरिएको छ । सत्तरी वर्ष उमेर नाघेका भूतपूर्व सैनिक तथा आश्रित परिवारका लागि एक हजारका दरले ज्येष्ठ सैनिक कल्याणकारी निवृत्तिभरण पाउनेलाई हरियो रङको पट्टा उपलब्ध गराइएको छ । उक्त कोषमा हाल रू ३८ अर्ब ५७ करोड ६० लाख मौज्दात रहेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिएका छन् । उक्त कोषको यथार्थ सम्पत्ति अहिले रू.४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको छ । वीरगति प्राप्त तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु हुने सैनिकका परिवार (श्रीमान÷श्रीमती) विधवा र विदुरका साथै कालगतिले मृत्यु हुने अवकाश प्राप्तका श्रीमतीलाई मासिक रु एक हजार उपलब्ध गराउने व्यवस्थासहित एकल महिला निवृत्तिभरणका लागि नीलो रङको पट्टा प्रदान गरिएको छ । रामेछापको आगलागी, राम्चेको पहिरो र भूकम्प लगायत विभिन्न घटनामा मृत्यु भएका, वीरगति प्राप्त गरेका तथा बेपत्ता भएका सकल दर्जाका लागि कल्याणकारी कोषबाट मासिक रुपमा उपलब्ध गराइएको दुई हजार लिनका लागि खैरो रङको पट्टा दिइएको छ । कोषबाट निवृत्तिभरण सहुलियत खाईपाई रहेका ९० देखि ९८ वर्ष ११ महिना ३० दिनसम्मका हिताधिकारीलाई मासिक रु तीन हजार उपलब्ध गराउँदै अति ज्येष्ठ निवृत्तभरण सहुलियतको सूचीमा राखेर प्याजी रङको पट्टा प्रदान गरिएको निर्देशक सहायकरथी केसीले जानकारी दिएका हुन् । निवृत्तिभरण सहुलियत लिएका ९९ वर्षमाथिका हिताधिकारीलाई अति ज्येष्ठ मासिक निवृत्तिभरण पाउने कोटीमा राखेर नेपाली सेनाले उक्त कोषबाट प्रतिमहीना १० हजार उपलब्ध गराउँदै आएको छ । उक्त कोटीमा रहेका नागरिकलाई रातो रङको पट्टा उपलब्ध गराइएको छ । उक्त कोषबाट हाल ८१ हजार भूतपूर्व सैनिक तथा आश्रित परिवारले सो सुविधा प्राप्त गरिरहेको बताइएको छ । रासस

झापामा विप्लव समूहका १७ कार्यकर्ता पक्राउ

सुरुंगा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । आज बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय (७, ८ र ९) मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन् । मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ । रासस

एक वर्षमा ९ सय ८८ किलोमिटर सडक कालोपत्रे, ७९ अर्ब ९३ करोड खर्च

काठमाडौँ । सडक विभागले गत आर्थिक वर्ष २०७५/०७६ मासडक निर्माण तथा मर्मतमा ७९ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । नयाँ सडक निर्माण, स्तरोन्नती, कालोपत्रे स्तरोन्नती, सडक मर्मत, ग्राभेल, आवधिक मर्मत र पुल निर्माण लगायतका शीर्षकमा विभागले करिब ७९ अर्ब ९३ करोड ९१ लाख ५२ हजार रुपैयाँ खर्च गरेको हो । सरकारले सडक विभागका लागि विनियोजन गरेको १ खर्ब ८ अर्ब ३० करोड ६९ लाख ९४ हजार रुपैयाँ बजेट मध्ये ७३.८१ प्रतिशत मात्रै खर्च भएको हो । गतवर्ष हालसम्मको सबैभन्दा बढी रकम खर्च भएको विभागले जनाएको छ । वैदेशिक अनुदानबाट ४ अर्ब १४ करोड ५३ लाख ४० हजार, वैदेशिक ऋणबाट २० अर्ब ७७ करोड ९० लाख ८२ हजार, नेपाल सरकारबाट ८३ अर्ब ३८ करोड २५ लाख ७२ हजार बजेट विनियोजन भएको थियो । उक्त रकम मध्ये क्रमशः ६६.४५, ३९.१९ र ८२.७९ प्रतिशत खर्च भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सडक विभागले ८१ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ खर्च गरेको थियो । ९ सय ८८ किलोमिटर कालोपत्रे आर्थिक वर्ष २०७५/०७६ मा देशभर ९ सय ८८ किलोमिटर सडक कालोपत्रे भएको छ । सडक विभाग अन्तर्गतका ४ सय ४० किलोमिटर नयाँ ट्रयाक निर्माण, १३ सय ६३ किलोमिटर सडकमा ग्राभेल गरिएको छ । विभागका अनुसार गत आवमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीय सडक पुल अन्तर्गत १ सय ३९ र रणनीतिक महत्वका सडकहरु अन्तर्गत १ सय ४ गरी २ सय ४३ पुलहरु निर्माण भएका छन् । विभागका अनुसार १ हजार किलोमिटर सडकको नियमित तथा १ हजार किमि पटके मर्मत सम्भार र ३ सय ३४ किमि आवधिक मर्मत कार्य सम्पन्न भएको विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए । उनले विगतका वर्षभन्दा गत आर्थिक वर्षमा सडक र पुल बढी निर्माण भएको बताए । आर्थिक वर्ष २०७४÷०७५ मा ९ सय ४ किमि कालोपत्रे, ९ सय ७१ किमि नयाँ ट्रयाक र १३ किमि ग्राभेल भएको थियो । अघिल्ला वर्षहरुमा भन्दा बढी काम भएपनि लक्ष्य अनुसारको कालोपत्रे हुन नसकेको बताउँदै सुवालले निर्माण सामाग्रीको अभाव, मुआब्जा वितरण गर्ने क्रममा स्थानीयहरुबाट चलन चल्तीको दर रेट भन्दा बढी मुआब्जा माग गर्ने प्रचलन र विद्युत प्राधिकरणले समयमै पोल नसारिदिएका कारण काम ढिला हुन गएको उनले बताए ।

दूधकोशी जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका-६ भदौरेको सिमानामा दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागिएको हो । जलाशययुक्त आयोजनाको डिपिआरको काम आगामी कात्तिक अन्तिम तथा मङ्सिर पहिलो हप्ताभित्र पूरा हुने आयोजना प्रमुख वसन्त श्रेष्ठले बताएका छन् । “फिजिबिलिटी प्रतिवेदन तयार भएको, संरचनाको विस्तुत मस्यौदा, बोलपत्रको मस्यौदा कागजात प्राप्त भएको, विज्ञ समूहबाट अध्ययन भएर टिप्पणी प्राप्त भएको छ”, उनले भने, “टिओआर र स्कपिङ कागजात स्वीकृत भएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको छ ।” तीस महिनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इञ्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम शुरु गरेको थियो । लामीडाँडाको रभुँवाघाटमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो । लामीडाँडा विमानस्थलबाट करिब ११ किलोमिटर उत्तर–पश्चिममा पर्ने रभुँवाघाटमा सञ्चालन हुने जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नसमेत तीन जिल्लाका सांसदले माग गरेका छन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले बताए । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताएका छन्”, उनले भने, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाएका हुन् ।” रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार वर्ग किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए । जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ । उक्त जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ । सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इञ्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय परीक्षण र टेन्डरका कागजपत्र बनाउन एडिबीले चालू आवमा रु ३५ करोड अनुदान दिएको थियो । रासस

कम तेल दिने पेट्रोल पम्पमा सिलबन्दी

वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको हेटौंडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले बताएका छन् । यसैगरी हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको हो । पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए । उक्त कार्यालयले आव २०७५÷७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रु ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए । सो कार्यालयले आव २०७५÷७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नुका साथै छ पम्पमाथि मुद्दा दायर गरेको थियो । यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको सो कार्यालयले जनाएको छ । रासस

हरेक बर्ष जाँच गराए पाठेघरको क्यान्सर हुनबाट बच्न सकिन्छः डा. समिरा सफिन खान

डा. समिना सफिन खान स्वास्थ्य हरेक मानिसको लागि निकै नै महत्वपूर्ण बिषय हो । चाहे महिला होस् अथवा पुरुष दुबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु एकदमै आवश्यक छ । नेपालको सन्दर्भमा स्वास्थ्यको ख्याल गर्ने पाटोमा पुरुषहरु महिला भन्दा अगाडि छन्। पुरुषको दाँजोमा महिलाहरु सीप र शिक्षा आर्जन गर्ने अवसरबाट वञ्चित रहेका छन्, जसका कारण महिलाहरु पुरुषले जस्तो अत्यावश्यक स्वास्थ्य सेवा लिने निर्णय आफैँ गर्न सक्दैनन् । जसकारण उनीहरु विभिन्न रोगको सिकार हुन्छन् र ज्यान समेत गुमाउँछन् । महिलाहरु महिनावारी, गर्भवती जस्ता अवस्थाबाट गुज्रिने भएको कारण पनि पुरुषको दाँजोमा महिलाहरुको स्वास्थ्यमा अझै बढी समस्या देखिने गरेको छ । महिला स्वास्थ्यको कुरा गर्दा प्रजनन् अंगमा सबैभन्दा धेरै समस्या देखिने गर्छ । सेतो पानी बग्ने, आङ खस्ने, पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने समस्या हुन् । प्रस्तुत छ महिला प्रजनन् स्वास्थ्यका बिषयमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. समिरा सफिन खानसँग विकासन्यूजको लागि डोमी शेर्पाले गरेको कुराकानीः पछिल्लो समय महिलाको स्वास्थ्यमा सबैभन्दा बढी समस्या के मा देखिएको छ ? पछिल्लो  समयमा महिलाहरुमा सबैभन्दा बढी देखिने समस्या भनेको पाठेघरको संक्रमण हो, जुन प्रजनन् उमेर समूहका महिलामा बढी देखिन्छ । सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी र पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ । यो महिनावारी सुकीसकेका महिलामा पनि देखिने गर्दछ । महिनावारी सुकीसकेको अवस्थामा महिलाहरुको शरीरमा हर्मोनको लेभल कम हुन जान्छ, जसले योनीको छालाहरु पातलो हुन्छ र रोगसँग लड्ने क्षमता पनि कम भएर जान्छ । एउटा महिलाले आफ्नो प्रजनन् अंगलाई कसरी सफा राख्ने ? प्रजनन् अंगलाई सफा राख्नको लागि धेरै उपायहरु छन् । बजारमा अहिले धेरै यस्ता वस्तु आएका छन्, जसले हाम्रा भित्र अंगलाई सफा राख्ने बताईन्छ, तर यी वस्तुहरुको उपयोग गर्न जरुरी नै छैन । त्यसको सट्टा बरु सफा पानीले सफा गर्ने, आफ्नो भित्री वस्त्र मिलेसम्म दिनको दुई पटक नभए एक पटक बदल्ने, सुतीको भित्री वस्त्रहरु प्रयोग गर्ने, महिनावारीको समयमा एउटै प्याड लामो समय प्रयोग नगर्ने र समय समयमा सफा पानीले सफा गरिराखेर महिलाले आफ्नो प्रजनन् अंगलाई सफा राख्न सक्नुहुन्छ । महिलाले आफ्नो योनी सफा गर्दा साबुन प्रयोग गर्नु हुन्छ वा हुँदैन ? योनीमा साबुन, डेटोलहरुको प्रयोग नगर्दा नै राम्रो हुन्छ। किनभने यसमा रसायनहरु बढी हुने गर्छ, जसले योनीमा भएको प्राकृतिक जीवाणु नस्ट हुन्छन् । योनी महिलाको संवेदनशील अंग हो, त्यसैले यसमा साबुनहरु प्रयोग नगरेकै राम्रो । तर यदी गर्नै परेको अवस्थामा रसायन कम भएको साबुनहरु प्रयोग गर्न सक्नुहुन्छ । महिलाको पाठेघरको मुखको क्यान्सर पछिल्लो समय एकदमै बढी देखिएको छ, यसको कारण के हो ? पाठेघरको मुखको क्यान्सर हुनुमा सबैभन्दा पहिलो कारण शिक्षाको अभाव हो । यो रोग पत्ता लगाउनको लागि सबैभन्दा पहिला पाठेघरको मुखको जाँछ गरिन्छ, जसलाई प्याप्समियर भनिन्छ । हरेक बर्ष जाँच गर्दा पाठेघरमा भएका नराम्रो कोशीकहरु सुरुवाती अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदी सुरुवाती अवस्थामै पत्ता लगाउने हो भने यसको उपचार निकै नै सजिलो रहेको छ । तर, हामीहरु जबसम्म शरीरमा केही लक्षणहरु देख्दैनौं, त्यस समयसम्म हामी कहिले पनि डाक्टर कहाँ जाँदैनौं । पाठेघरको मुखको क्यान्सरको त्यस्तो केही लक्षणहरु नै हुँदैन र यसले अन्तिम स्टेजमा मात्र गएर लक्षणहरु देखिन थाल्छ । अर्को कारण सानै उमेरमा विवाह गरेर धेरै बच्चा जन्माउनु, धेर जनासँग यौन सम्पर्क राख्नाले वा आफ्नो पार्टनरले अरु धेर मानिससँग यौन सम्पर्क राख्नाले पनि यो समस्या देखिन्छ । यो ह्युमन प्यापिलोमा भाईरसको कारणले आउने गर्दछ र त्यो यौन सम्पर्कको माध्यमबाट सर्ने गर्दछ । यसलाई पहिलो स्टेजमा पत्ता लगाउन सकियो भने सर्जरीहरु गरेर रोगलाई निको पार्न सकिन्छ । स्टेज बढ्दै गईसकेपछी कहाँ कहाँ फैलियो भन्ने कुराले उपचार सफल हुन्छ वा हुँदैन भन्ने कुराको निर्धारण गर्दछ । यो अवस्थामा रेडियोथेरापी, किमोथेरापी दिईन्छ । र, अन्तिम स्टेजमा पत्ता लागेको अवस्थामा सर्जरी गर्न सम्भव हुँदैन र यो अवस्थामा जीवनलाई सजिलो बनाउन रेडियोथेरापी, केमोथेरापीहरु गराईन्छ । प्रजनन् अंगहरुमा सामान्य घाउहरु आएको अवस्थामा त्यसलाई ध्यान नदिदा के कस्तो समस्या देखिन सक्छ ? यदी हामीले शरीरको कुनै पनि भागमा भएका संक्रमणलाई वेवस्ता गर्ने हो भने त्यो पछी गएर ठूलो भई, पानी जम्ने हुने गर्दछ । यदी पाठेघरमा भएको संक्रमण हामीले वेवस्ता गर्ने हो भने त्यो बिस्तारै सर्दै जान्छ, जुन पछी गएर डिम्ब नलीसम्म जान्छ । सेतो पानी बग्नु भनेको के हो ? सेतो पानी जाने भनेको योनीबाट फोहोर पानी जानु हो, जसको गन्ध पनि फरक हुन्छ, रंग पनि पहेलो वा कुनै अरु रंगको हुन्छ र त्योसँगै चिलाउने, गन्हाउने, तल्लो पेटो दुख्ने संक्रमणको लक्षण हुन् । यो पनि सरसफाइको कमी, जथाभावी यौन सम्पर्कको कारण हुने गर्दछ । यो धेरै महिलाहरुमा देखिने समस्या हो । सहर र गाउँका महिलामा लाग्ने रोगमा के भिन्नता छ ? गाउँ र शहरका महिलामा लाग्ने रोगमा खासै भिन्नता छैन । आङ खस्ने रोग शहरका महिलाको दाँजोमा गाउँका महिलामा बढी देखिन्छ यधपी अन्य समस्याहरु दुवै क्षेत्रका महिलामा समान रुपमा देखिने गरेको छ । गाउँ र शहरभन्दा पनि आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने महिलाहरुलाई संक्रमण कम हुन्छ । महिलाहरुले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न के गर्नुपर्छ ? आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न महिलाहरुले सबैभन्दा पहिला आफु र आफ्नो शरीरमा प्रयोग गर्ने कपडाहरुको सरसफाइमा ध्यान दिनुपर्छ । त्यसपछी आफ्नो शारीरिक क्षमतालाई हेरेर खाने खानेकुराहरु मिलाएर खाने गर्नु पर्दछ । एक भन्दा बढी पार्टनरहरुसँग यौन सम्पर्क नराख्ने र आफ्नो स्वास्थ्य जाँच बर्षमा एकपटक गराउने । यदी यी कुराहरुमा ध्यान दिने हो भने महिलाले आफ्नो प्रजनन् स्वास्थ्यलाई स्वस्थ राख्न सक्नु हुन्छ ।

एशियन कृषि सम्मेलन शुरु, युवालाई आकर्षित गर्न नसकेको मन्त्री खनालको भनाई

काठमाडौं । एशियन कृषि सम्मेलन तथा पर्दर्शनीमा बोल्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताएका छन् । आजदेखी सुरु भएको उक्त सम्मेलनमा बोल्दै १० वर्ष अघि भूटान, बङलादेश, श्रीलंका भारत जहाँ थिए, अहिले त्यहाँ छैनन्, धेरै फड्को मारिसके । तर नेपालको कृषि जुन गतिमा अघि जानू पर्ने थियो-मन्त्री खनालले भने । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आयोजना गरेको उक्त सम्मेलन तथा प्रदर्शनको उद्घाटन गर्दै कृषिमन्त्री खनालले नेपालको कृषि क्षेत्र विकासका लागि अर्गानिक र आधुनिक परियोजनाको विस्तार गर्दै गरेको र अबको १० वर्षमा कृषि उत्पादनमा फड्को मार्ने दावी गरे । त्यसको मतलब कृषिमा केही भएको छैन भन्ने होइन । युवालाई कृषिमा आकर्षित गर्नमा जोड दिए युवा वैदेशिक रोजगारका लागि जान बाध्य नभई देशमा नै कामको सिर्जना गरि राज्य प्रति जिम्मेवार बनाउनु पर्छ-कृषिमन्त्री खनालको भनाई छ । यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ । त्यसको कारण के हो ? त्यस्को दायित्व सरकारले लिनु पर्छ । कृषिमा युवा कार्यक्रमका लागि ५० हजार बजेट विनियोजन भएको छ । त्यसलाई ५ बर्ष सन्चालन गर्छौ । यो वर्ष ५०० युवाबाट सुरु गर्दैछौ । अर्गानिक खेतितर्फ लैजानुको विकल्प छैन । कार्यदलले तयार पारेको प्रतिबेदन तयार भएको छ त्यो प्रधानमन्त्रीलाई बुझाउन मात्र बाँकी छ । किसान समस्यामा छन । बिषादी चेकजाँच फिर्ता लियो भन्ने कुरामा सत्यता नभएकाे जानकारी दिए । बाहिर ६ वटा ल्याब छन, जस्ले २ वटा समुह मात्र चेक गर्छ । हामीसङ संरचना नभएको होइन । काठमाडौमा भएको ल्याबले सबै समूहको चेकजाँच गर्छ । तर हरेक नाकामा हरेक ट्रक चेक गर्ने त्यो बैज्ञानिक पनि होइन सम्भब पनि छैन । बाहिर मात्र होइन हाम्रै देशमा पनि बिषादी प्रयोग भएको छ त्यसलाई पनि निरन्तर चेक गरिन्छ । नेपालको कृषिलाई आधुनिकीकरण गर्ने, यान्त्रिकिकरण र बजारिकरण गरिन्छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम भोलिसम्म चल्नेछ । कार्यक्रममा कृषिमा युवा सहभागिता, नेपाली कृषि उत्पादनको बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृति लगायतका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरुसँग कार्यपत्र प्रस्तुत, प्लेनरी शत्र, अनुभव आदान प्रदान तथा नेटवर्किङ्ग तथा नेतृत्व विकास कार्यक्रम हुने जनाए ।  

चितवनमा तीन हजार ९०० चल्ला नष्ट

भरतपुर । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताएका छन् । चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको बताइएको छ । बिक्री अनुमतिपत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कागजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिए । “चल्ला बिक्री गर्ने कार्टुनमा सबै कुरा उल्लेख हुनुपर्छ”, उनले भने, “तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गरिएको छैन ।” चितवनका कुखुरा व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ ब्वायलर कुखुराका चल्ला नष्ट गरिएको थियो । भारतमा बर्डफ्लुको सङ्क्रमण रहेको हुँदा अहिले भारतबाट चल्ला ल्याउन रोक लगाइएको छ भने नेपालभित्रै पनि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ । रासस