३४ विमानस्थल स्तरोन्नति हुँदै, २ अर्ब ८४ करोड बजेट मध्ये ५९.१० प्रतिशत खर्च
काठमाडौँ । देशभरका ३४ विमानस्थलको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । अहिलेसम्म ती विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ९० प्रतिशत भएको जनाइएको छ । विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, पर्खाल निर्माण लगायत संरचनाहरुको स्तरोन्नति गर्ने काम ९० प्रतिशत सकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको हो । विमान र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा विभिन्न ठाउँका विमानस्थलहरु बिस्तार र स्तरोन्नति गर्ने गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । देशभरका विभिन्न प्रमुख ठाउँहरुका विमानस्थलहरु स्तरोन्नतिको प्रक्रियामा रहेको उनले बताए । ‘कतिपय विमानस्थलहरुमा स्तरोन्नतिको काम सम्पन्न भइ सकेको छ’ उनले भने–‘काम तीब्र रुपमा भइरहेको छ, सकेसम्म छिटो गर्दैछौँ ।’ उनले विभिन्न विमानस्थलहरुमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, एप्रोन ग्राभेलिङ, हेलिप्याड तथा चेनलिंक फिनिसिङको कार्य लगायतका संरचनाहरु स्तरोन्नति गर्ने काम भइरहेको बताए । पौड्यालका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १९ वटा विमास्थलहरुको स्तरोन्नतिको काम भएको छ भने १५ वटा विमानस्थलहरु चालु आवमा स्तरोन्नतिका लागि ठेक्का दिइएको छ । ३४ विमानस्थलमा १ अर्ब ६७ करोड खर्च नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार देशभरका ३४ वटा विमानस्थलहरु स्तरोन्नतिमा १ अर्ब ६७ करोड ८८ लाख २१ हजार खर्च भएको छ । विमानस्थलहरुका लागि विनियोजन भएको २ अर्ब ८४ करोड २८ लाख ४२ हजार बजेट मध्ये ५९.१० प्रतिशत खर्च भएको हो । विमानस्थलको लागि नेपाल सरकारले ८८ करोड ४९ लाख ५५ हजार र प्राधिकरणले १ अर्ब ९५ करोड ७८ लाख ८७ हजार रुपैयाँ छुट्याएको थियो । सूचना अधिकारी पौड्यालका अनुसार विमानस्थल स्तरोन्नतिमा निर्माण सामाग्रीहरुको ल्याव परीक्षण, निर्माण सामाग्रीहरुको अभाव, जनशक्तिको अभाव लगायत समस्याहरु झेल्नु परेकाे छ । कुन विमानस्थलको प्रगति कति ? सूचना अधिकारी पौड्यालले गत वर्षमा विमानस्थलहरुको स्तरोन्नतिमा सन्तोषजनक प्रगति भएको बताउँदै नेपालगञ्ज विमानस्थलको गुरुयोजना तयार पारेको, रुम्जाटार विमानस्थलको टर्मिनल निर्माण, विराटनगर विमानस्थलको एर्पोन विस्तार र ट्याक्सी वे निर्माण सम्पन्न भएको बताए । धनगढी विमानस्थलको लागि झण्डै ४ करोड, विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि ११ करोड, जोमसोम विमानस्थलका लागि २ करोेड ६६ लाख, डोल्पाको मेसिनेचौर विमास्थलका लागि २ करोड १२ लाख, मुगुको रारा विमानस्थलका लागि ४ करोड ५६ लाख खर्च भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा फाल्गुनन्द विमानस्थलको स्तरोन्नतिका लागि छुट्याएको १ करोड ७६ लाख रुपैयाँमा ७७ लाख खर्च भएको जनाएको हो । यस्तै बहुवर्षे आयोजना अन्तर्गत चन्द्रगढी विमानस्थलको फेन्सिङ तथा खोला डाइभर्ट गर्ने कार्य सम्पन्न भएको जनाइएको छ । यस्तै राजविराज विमानस्थलको स्टक्चर र रुफिङ, उदयपुर विमानस्थलको धावनमार्ग विस्तार तथा विमानस्थल स्तरोन्नति कार्यको इआइए कार्य सम्पन्न भएको छ । रोल्पा विमानस्थलको फेन्स, डोल्पा विमानस्थलको सवसे, धनगढी विमानस्थलको धावन मार्ग, दाङ विमानस्थलको प्राथमिकता अध्ययन र सिन्धुली विमानस्थलको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । विमानस्थलहरुले हालसम्मको समस्टिगत भौतिक प्रगतिमा चन्द्रगढी विमानस्थलको ४० प्रतिशत, राजविराज विमानस्थलका ३०, रोल्पा विमानस्थलको ४०, धनगढी विमानस्थलको २५, दाङको ५०, सिन्धुलीको शत प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।
सौराहामा महालक्ष्मीले गर्यो राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आयोजना गरेको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । साउन २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गरेका थिए । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरु कार्यक्रममा सहभागी थिए । उक्त अवसरमा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५–१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि शोभा खरेलले उत्प्रेरणात्मक तालिम प्रदान गरेकी थिइन् । २०७६ असार मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखा र उपशाखा तथा २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको जनाएको छ । यो आर्थिक वर्ष भित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली १ अर्ब भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको सिईओ भट्टराईले बताए । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।
मेगा बैंकले नेपाल प्रहरीलाई दियो ५ हजार पकेट डायरी
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।
फाप्लु विमानस्थलमा परीक्षण उडान भर्दै निगम
सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानकारी दिएका छन् । विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करिब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उनको भनाइ थियो । हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ । रासस
भदौ १० देखि १४ गतेसम्म तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला हुँदै
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भदौ १० देखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । मेलाको आयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ । यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुने जनाइएको छ । यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको र भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहने छन् । प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ । प्रर्दशनीमा विभिन्न व्यवसायिक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ । मेलामा अन्तराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउने जनाइएको छ । नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन् ।
कास्कीको नापी कार्यालयमा मोबाइल एपको शुरुवात, घरमै बसी सेवा लिन सकिने
कास्की । मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप हुने गर्दछ । दिनहुँ भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ । तर, जिल्ला नापी कार्यालयले भने सेवालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रयोग गरी मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई दिन शुरु गरेको छ । देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको कार्याल यप्रमुख इञ्जिनीयर खिमलाल गौतमले बताएका छन् । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने विश्वास लिइएको छ । गौतमका अनुसार ‘नापी पोखरा एप्सको माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् । सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् । सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको गौतमले जानकारी दिएका हुन् । एपबाट टोकन लिइसकेपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाको बटममा क्लिक गरी सेवा चयन गर्न सक्नेछन् । सेवाग्राहीले आफूलाई अनुकूल मिति र समय पेश गरेको सूचना सम्बन्धित फाँटवालाले स्वीकार गरेपछि सेवा लिन आउनुपर्ने समय र मितिका बारेमा सेवाग्राहीले मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन् । दर्ता स्रेस्ता मिलाउनका लागि दिने निवेदन, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रेखाङ्कनका लागि दिने निवेदन ढाँचा, नक्साको ब्लुप्रिन्टका लागि चाहिने निवेदनलगायत कार्यालयका लागि आवश्यक १५ वटा निवेदनको ढाँचा एप्लिकेशनमा राखिएकाले सेवाग्राहीलाई सहज हुनेछ । अरू कसैको सहायता आवश्यक नपर्ने तथा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट समयको बचत हुने बताइन्छ । कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् । कार्यालयप्रमुख गौतमले भने, “जमिन नाप नक्सा तथा अद्यावधिकको कामलाई समयानुकूल प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने र समय चापको व्यवस्थापन गरी सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ने बित्तिकै सेवा प्रदान गर्ने उद्देश्यले एप्स निर्माण गरेका हौँ ।” एप्सको प्रयोगबाट गैरकानूनी कार्यलाई निरुत्साहित गर्न र सुशासन स्थापनामा सहयोगी हुने साथै कार्यालय प्रमुख, सेवाग्राही र सम्बन्धित फाँटवालाबीच समन्वयका लागि एप्लिकेशनमा तीनवटा ‘लग इन’ सहितको आन्तरिक संरचना रहेकाले पनि तत्कालै सेवा प्रवाह र गुनासोको सम्बोधन गर्न सघाउनेछ । १५औँ आवधिक योजनाको प्रस्तावित आधारपत्रमा भूमि व्यवस्थालाई आधुनिक, प्रविधियुक्त, सरल र पारदर्शी बनाउने तथा जग्गा प्रशासनको क्षेत्रमा देखापरेका कमीकमजोरीहरुलाई सुधार गरेर सेवा प्रवाहमा थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यमा सो एपबाट सहयोग पुग्ने विश्वास कार्यालयको छ । एप्लिकेशन रु तीन लाख लागतमा पाथओए टेक्नोलोजी सर्भिसेजले तयार पारेको हो । रासस
खेलमा सहभागिता जनाउन आइपुग्याे अफगानी टोली नेपाल
काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरेका छन् । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगिताकाे हो । एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् । रासस
गरिमाको नाफा ५९ करोड २२ लाख, प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ
काठमाडौं । गरिमा विकास बैंक गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंक गत आवमा कमाएको नाफा २६.३२ प्रतिशतले बढी हो । बैंकले गएको आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४० करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८५ करोड ६६ लाख रहेको छ । असार मसान्तसम्ममा बैंकले ३३ अर्ब १३ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०९ प्रतिशत रहेको छ । गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ४९ करोड रहेको छ । गरिमाको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.४६ पैसा छ । बैंकको प्रतिकित्ता सेयर मूल्य २२४ रूपैयाँ छ ।