विकासन्युज

राति ८ बजे उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुर । भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको शुरुआत भएको बताए । उनले भने, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महिनासम्म लागेका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पुर्याएकामा धन्यवाद भन्न चाहन्छु ।” भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उनले भक्तपुरको कामबाट प्रभावित भई सहयोगीदाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताए । उनले भने, “केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ।” भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको बताउँदै उनले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने भनार्इ राखे । कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको बताए । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताए । उलने बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताए । रासस

मन्त्रालयमा स्वास्थ्य बिमा हेर्ने छुट्टै ईकाइ गठन हुन्छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा स्वास्थ्य बिमालाई देशका ७७ जिललामा लानलाई छुट्टै ईकाइ बनाईने भएको छ। मन्त्री यादवले बिमाको लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्न बिमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीलाई ईकाइ बनाउने निर्देशन दिएका हुन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा सोमबार आयोजित बिमा बोर्ड बैठकलाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारको नीति तथा कार्यक्रम पनि यस आर्थिक बर्षभित्र बिमा सेवालाई देशभर पु¥याउने लक्ष्य रहेको बताए। हालसम्म देशको ६ प्रतिशत जनतामा मात्र बिमाको पहुँच पुगेको छ। बिमा कार्यक्रम सञ्चालन प्रक्रियामा जाँदा कति कभर गरियो, कतिमा पुग्यौ, कतिले प्रिमियम तिरे, कतिले छाडे, किन छाडे जस्ता यसका सबै कारण खोजेर बिश्लेषण गरी सच्चिएर अघि बढ्न पनि निर्देशन दिदेै उनले भने, “किन बिमा गराईराखेका छौ त्यो पनि हेनुपर्छ र सेवा सुबिधा दिने सरकारी अस्पताल कस्ता छन ? बिचार पु¥याउन आवश्यक छ ।’ अहिले स्वास्थ्य बिमा कार्यक्रम चलाउन निजी अस्पतालले पनि ईच्छा राख्दै आएका छन, तिनीहरुको सेवा सुविधाको अवस्था कस्तो छ हेरेर बोर्डले निर्णय गरेर दिनसक्छ भन्दै उनले फार्मेसी छ कि छैन, फार्मेसी र अस्पतालसँगै जोडिनुपर्छ, त्यो छ कि छैन हेर्नुपर्ने बताए । बोर्ड बैठकका क्रममा प्रस्तुत कार्यपत्रमा उठाइएका बिमितबाट दावी रकमको मात्रा ६० प्रतिशत रहेको र दावी किन कमले गरे भन्ने पक्षमा त्यतिमात्रै कसरी भयो ? त्यो पक्षमा ध्यान दिनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री यादवले बिमा बोर्डभित्र मिलाउनुपर्ने बिषय आन्तरिक बिषयमा आबश्यकता अनुसार नीति नियम, जोखिम ब्यवस्थापन, प्रबिधिको प्रयोग, जिम्मेवारी बाँडफाँडलगायत बोर्डले अन्य संघ संस्थासँग राख्नुपर्ने सम्बन्ध, समन्वय, सहकार्य तथा सहयोगसम्बन्धी बिषयमा ध्यान दिन आग्रह गरेका छन्। सो अवसरमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव राम थपलियाले बिमा अभ्यास नयाँ हो, जे गरिन्छ त्यो नयाँ गरिन्छ त्यो अरु संस्था जस्तो नभएको उल्लेख गरे। सो बैठकमा राष्टिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको बिभिन्न क्षेत्रमा भएका काम कारवाहीका बारेमा जानकारी गराएका थिए।

वीर अस्पतालको सेवा विस्तार गर्ने योजना अन्योलमा, सहयोगी चीनको निश्कर्ष-‘ठाउँ उपयुक्त भएन’

काठमाडौं । भक्तपुरमा वीर अस्पतालको सेवा विस्तार गर्ने सरकारको योजना अन्योलमा परेको छ । ६ बर्ष भित्र भक्तपुरमा वीर अस्पताल सेवालाई बिस्तार गर्ने योजना बनेको ३ बर्ष बितिसक्दा पनि सेवा विस्तार गर्ने या नगर्ने भन्नेमा अझै अन्योल रहेको छ । सरकारले अस्पताल निर्माणको लागि चीन सरकारको सहायता मागेको थियो । निर्माण गरिदिने भन्दै चीन सरकारले ३ महिना अघिमात्र दुवाकोटको स्थलगत भ्रमण गरेर प्रतिवेदन पेश गरेको छ । तर, सरकारबाट उक्त प्रतिवेदनको जवाफ नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । यसअघि सरकारले निर्माण गर्ने कि वैदेशिक सहायता लिने भन्ने कुराको निर्णय हुन नसक्दा दुवाकोटमा अस्पताल बन्न नसकेको स्वास्थ्य सचिव डा. पुष्प चौधरीले बताएकी थिईन् । चीन सरकारले अध्ययन गरी पेश गरेको प्रतिवेदन अनुसार भक्तपुरको दुवाकोट अस्पताल बन्नको लागि उपयुक्त स्थान नभएको रिपोर्टिङ आएको चौधरीले बताईन् । अस्पतालसम्म पुग्ने आवश्यक बिकासका सबै पूर्वाधारहरु सरकारले बनाउने सहमति जनाएपछि मात्र काम सुरु हुने चीन सरकारले बताएको उनले जानकारी दिईन् । यसअघि चीन सरकारले अफ्रिकामा पनि ठूलो अस्पताल निर्माण गरेको, तर कर्मचारी व्यवस्थापन हुन नसक्दा अस्पताल ठप्प रहेको कारण चीन केही हच्किएको प्रवक्ता श्रेष्ठले बताए। सरकारले अस्पताल विस्तारको लागि २०७३ सालदेखी रकम विनियोजन गर्दै आएको छ । दुवाकोटमा १ हजार शैयाको अस्पताल र अहिले वीर अस्पतालमा हुन नसकेको विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य सरकारको छ । वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गरी सोहीअनुसार सरकारले भक्तपुरको ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गरेको थियो । तर, ६ बर्षभित्र निर्माण हुने भनिएको गुरुयोजनाको ३ बर्ष बितिसक्दा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुनसकेको छैन । गत आर्थिक बर्ष मात्र सरकारले अस्पतालको डीपीआर निर्माणको लागि १५ करोड रकम विनियोजन गरेको थियो । यो रकमको उपयोग हुन नसक्दा रकम फ्रिज भएको छ । यस्तै सरकारले यस आर्थिक बर्षमा अस्पताल सेवा विस्तारको लागि ४० करोड रकम विनियोजन गरेको छ । उक्त सुविधासम्पन्न अस्पतालको संरचना निर्माण गर्न ३५ अर्ब जस्तो लाग्ने अनुमान गरिएको छ।    

घट्यो तरकारीको मूल्य, रु १४० को गोलभेँडा अब रु ७० मा

विराटनगर । बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महिना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए । अत्याधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्य घटेको छ । स्थानीय रुपमै उत्पादन भएपछि बजारमा हरियो तरकारी सहज रुपमा उपलब्ध हुनुका साथै सस्तोमाका खरीद बिक्री भइरहेको व्यापारी बताउँछन् । विराटनगरस्थित गुद्री तरकारी बजारका व्यापारी बजरङ्ग गुप्ता अरु तरकारीको मूल्य घटेपनि आलु र प्याजको मूल्यमा कमी नआएको बताउँछन् । “पुरानो आलु भारतबाट आयात गर्दैआएका छौँ, नयाँ आलु स्थानीय उत्पादन हो”, उनले भने । अहिले बजारमा पुरानो आलु प्रतिकिलो रु ४० मा तथा नयाँ आलु प्रतिकिलो रु ६० मा खरीद बिक्री भइरहेको छ । यस्तै स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । एक महिना अघि बाढी आउँदा गोलभेँडाको मूल्य प्रतिकिलो रु १४० पुगेको थियो । अहिले भिन्डीको मूल्य रु १०० बाट घटेर रु ६० पुगेको छ । प्याजको मूल्य यथावत छ । अहिले प्याज प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ । गाजरको मूल्य प्रतिकिलो रु २०० बाट घटेर रु १५०, मूला प्रतिकिलो रु १५० बाट रु १२०, तिते करेला प्रतिकिलो रु १२० बाट रु ९०, घिरौला प्रतिकिलो रु ८० बाट रु ५० तथा लौकाको मूल्य प्रतिकिलो रु ५० बाट घटेर रु ३५ पुगेको छ । यस्तै बोडीको मूल्य प्रतिकिलो रु १२० बाट रु ८०, सिमी प्रतिकिलो रु १४० बाट रु १००, पर्वल प्रतिकिलो रु १२० बाट रु ८० र भन्टाको मूल्य प्रतिकिलो रु १०० बाट घटेर रु ७० भएको छ । मूल्य घटेपछि तरकारीको खरीद बिक्री बढेको व्यापारीहरु बताउँछन् । “लगभग सबै तरकारीको मूल्य घटेको छ, व्यापार ह्वात्तै बढेको छ”, तरकारी व्यापारी राम चौधरीले भने । बजारमा हरियो तरकरी सहजै आपूर्ति भइरहेको छ । मूल्य घटेपछि हरियो तरकारी दिनहुँ किन्ने गरेको स्थानीय उपभोक्ता रमा भण्डारीले बताए । “तरकारीको मूल्य घटेपछि राहत मिलेको छ, तरकारी किन्न कन्जुस्याइँ गर्नु परेको छैन”, उनले भने । यस्तै विराटनगरकी मेनुका साह एक महिना अघि पाउमा खरीद गर्ने गरेको तरकारी किलोका दरले किन्न थालेको बताउँछन् । चाडपर्व नजिकिँदा तरकारीको मूल्य घटेकामा उनले खुशी व्यक्त गरे । अर्की गृहणी रन्जु दाहाल भन्छिन्, “एक महिना अघि रु पाँच सयको तरकारी दुई दिन पनि पुग्दैनथ्यो, अहिले मूल्य घटेपछि घरखर्च चलाउन सजिलो भएको छ ।” विराटनगरस्थित थोक तथा खुद्रा बजारमा बिक्रीका लागि राखिएको भिन्डी, गेनारी साग, फर्सीको मुन्टा, परवल, करेला, बोडीलगायत तरकारी मोरङको कदमाहा, नयाँ बजार, हरैचा, सुनसरीको देवानगञ्जलगायत ठाउँबाट ल्याउने गरिएको छ । मूला, गोलभेँडा, धनियाँ, रायो, स्कूस र काउली धनकुटाको हिले र सिधुवाबाट व्यापारीले खरीद गरेर ल्याउने गरेका छन् । रासस

नुवाकोटमा बालुवा निकालेको खाल्डोमा डुबेर दुईको मृत्यु

बेत्रावती । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार सोमबार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन् गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् । रासस

सहुलियत कर्जा कार्यविधि संशोधनको तयारी, तालिम लिन पनि कर्जा पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सोचेजस्तो सहुलियत कर्जा प्रवाह गर्न नसकेपछि सरकारले सो कर्जामा कडाइ गर्न कार्यविधिनै संशोधन गर्ने भएको छ । सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लाई सहजढंगबाट कार्यान्वयन गर्न संशोधनको तयारी थालिएको हो । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा कार्यविधि संशोधन गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयले स्रोतले बताएको छ । बैठकमा बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गर्न कर्जा संख्या नै तोक्ने, तालिमका लागि समेत कर्जा लिन पाउने व्यवस्था गर्ने र वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई प्रदान गर्ने कर्जा सहजीकरण गर्ने विषयमा छलफल भएको छ । अब एउटै बैंकले ५ सय सहुलियत कर्जा दिनै पर्ने व्यवस्था सहित उद्यम गर्नमात्र होइन, तालिम लिन समेत कर्जा लिन पाउने नयाँ व्यवस्था गर्न लागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । कार्यविधि लागू भएपनि अपेक्षित रुपमा कर्जा प्रवाह हुन नसक्नुका साथै वैदेशिक रोजगारीबाट फर्केका कामदारको कार्य प्रकृति नमिल्दा कर्जा प्राप्त गर्न कठिनाइ भएको गुनासो आएको थियो । सो कारण वैदेशिक रोजगारबाट फर्केका युवाले सहजढंगबाट कर्जा लिन सकिरहेका थिएनन् । कार्यविधि लागू भएयता विदेशबाट फर्केका जम्मा ३२ जनाले दुई करोड ३१ लाख कर्जा लिएका छन् । वैदेशिक रोजगारबाट फर्केका युवालाई कर्जा प्रवाह गर्न अप्ठ्यारो परेको गुनासो बैंक तथा वित्तीय संस्थाबाट समेत आएको थियो । बैंक तथा वित्तीय संस्थाबाट वैदेशिक रोजगारीबाट फर्केकालाई कर्जा प्रवाह गर्न गाह्रो भएको गुनासो आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । विदेशबाट फर्केका कामदार सुहाउँदो वा उस्तै प्रकृतिको कामका लागि मात्र कर्जा लिन पाउने व्यवस्थाले अप्ठ्यारो अवस्था आएको गुनासो राष्ट्र बैंकमा परेको रिपोर्टिङ हामीले अर्थ मन्त्रालयलाई गरेका थियौं,’ उनले भने । सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको सात प्रकारको सुहलियतपूर्ण कर्जामा जेठमसान्तसम्म ३४ अर्ब ४१ करोड ऋण प्रवाह भएको छ । सो कर्जामध्ये ६० प्रतिशत कर्जा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । अन्य सहुलियत कर्जा प्रवाह गर्न सजह भएपनि विदेशबाट फर्केकालाई भने कर्जा प्रवाह गर्न कार्यविधिका कारण अप्ठरो परिरहेको उनले बताए । राष्ट्र बैंकले गत आवको दसैंअघि नै सो कार्यविधि कार्यान्वयनमा लैजान निर्देशन दिएको थियो । राष्ट्र बैंकले निर्देशन दिए पनि विना धितोमा कर्जा प्रवाह गर्नुपर्ने भएकाले बैंक तथा वित्तीय संस्थाले सो कार्यविधि कार्यान्वयनमा विभिन्न झझण्टहरू देखाउँदै आएका छन् । सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ । सरकारले सहुलियत कर्जा शीर्षक अन्तर्गतका कर्जाको व्याजमा निश्चित प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सो व्यवस्था अन्तर्गत हालसम्म १ अर्ब २५ करोड ब्याज अनुदान दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कार्यविधिमा उल्लेख भएको ब्याजदर उपलब्ध गराउने छ भने सोभन्दा माथिको ब्याज भने ऋणी आफैले तिर्नुपर्ने हुन्छ ।

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको उदेश्य हो । एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायतापनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ । धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान जनाइएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एनआईसी एशियाले कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर स्थापना गर्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्ने छन् । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै एनआईसी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा उक्त विस्तारित काउण्टर खोल्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।