विकासन्युज

शिखर इन्योरेन्सको १४ औँ साधारण सभा सम्पन्न, यस्ता छन् ३ विशेष निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विशेष निर्णय सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार ४ संचालक नियुक्त गर्ने देखि, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने तथा मर्जरमा जाने निर्णय सार्वजनिक गरेको हो । १४ औँ साधारण सभाको अवसरमा कम्पनीले सो निर्णय सार्वजनिक गरेको हो । बीमा समितिबाट जारी भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार कम्पनीको संचालक समितिको संख्या बढीमा ७ जना हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कम्पनीको नियमावलीको नियम १२ संसोधन गरी शिखर इन्स्योरेन्सले ७ जना संचालक हुने व्यवस्था कायम गरेको हो । साथै संचालकमा एकजना महिला रहनु पर्ने व्यवस्था रहेका छन् । साथै कम्पनीको संचालकमा रमेशकुमार लुईटेल, राजेन्द्रप्रसाद श्रेष्ठ, सौरभ जंग बहादुर राणा र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । सो व्यवस्था कायम हुनु भन्दा अघि संचालक समितिमा ९ जना रहने व्यवस्था थियो । ३० प्रतिशत हकप्रद जारी गर्ने इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने कम्पनीले जनाएको छ । यता, बीमा समितिबाट जारी भएको बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को कम्पनीले पालना गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपप्रकाश पाण्डे भने–‘शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा स्याउको समेत बीमा गरेको छ, कम्पनीले आवश्यकता अनुसारको प्रडण्ट बजारमा ल्याउने छ ।’ आर्थिक वर्ष २०७४/७५ मा मात्रै कम्पनीले १ सय ८७ करोडको दाबी भुक्तानी गरेको जनाएको छ । निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी राजश्वमा ६५ करोड रुपैयाँ योगदान पुर्याउन सफल भएको कम्पनीले दाबी गरेको छ ।

एफवान सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट गु्रपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो । नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको जनाएको छ । बिसिए र बिएससी सिएसआइटी अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी ट्रेनिङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए । आइटीसँग सम्बन्धित पढाई हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् । एफवान सफ्ट गु्रपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा छ । कलेजमा अहिले भर्नाका लागि फर्म वितरण सुरू भएको जनाइएको छ ।

टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा निर्मित विद्यायल हस्तान्तरण

काठमाडौँ । टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट (इन्डिया) तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित “नेपाल अर्थक्वेक रिस्पोन्स प्रोगाम” अन्तर्गत पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित मार्मिङ माध्यमिक विद्यालय उद्घाटन गरिएको छ । नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवनको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमका विशेष अतिथिमा टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइस, सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहाल तथा टाटा सस्टेनिलिटी ग्रुपका नायब महाप्रबन्धक श्रीरंग डाभ थिए । त्यसैगरी सिन्धुपालचोकको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिककी उपाध्यक्ष दाबुटी शेर्पा, सिप्रदी ट्रेडिङका महाप्रबन्धक कृष्णप्रसाद बर्तौला तथा टाटा ट्रस्ट्स नेपालका क्षेत्रीय प्रबन्ध टमलाल पोखरेलको पनि उपस्थिति थियो । पुनर्निमार्ण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेसोरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन् । यो विद्यालय भवन २.७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको हो ।

भीएस निकेतनमा सिटिजन्सको एटीएम सेवा सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भीएस निकेतन स्कूलमा एटीएम सेवा शुरु छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । उक्त सेवाबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित बैंकले विश्वास लिएको छ ।

स्वावलम्बी बन्न सके मुलक आत्मनिर्भर हुन्छ-मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न हरेक नेपाली स्वावलम्बी हुनुपर्ने विचार व्यक्त गरेकी छिन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालयले स्वावलम्बी संस्कारले मूलक आत्मनिर्भर हुने बताइन् । लघुवित्त कार्यक्रम महिलालाई स्वावलम्बी बनाउने अभियानमा जुटेको कारण उनीहरुको आर्थिक सामाजिक अवस्थामा स्तरोन्नतीका लागि उनीहरुलाई लघुउद्यमी बनाउन समेत लघुवित्तले मार्ग प्रशस्त गरेको उनको भनाई छ । केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रले विगत अठ्ठाइस बर्षदेखि न्यून आय भएका वर्गलाई स्थानीय श्रोत र साधनको प्रयोगको माध्यमबाट आर्थिक अबस्थामा सुधार गर्न विभिन्न उद्यमशीलता विकास कार्यक्रम कार्यान्वयन गर्दै आएको र हाल लघुवित्त संस्थाको सवलीकरणका लागि कार्यरत रहेको बताए । हाल लघुवित्तमा देखिएका विचलनहरुलाई न्यूनिकरण गर्न सबै लघुवित्त संस्थाहरु अगाडी बढ्नुपर्ने उनको भनाई थियो । केन्द्रले प्रदान गर्ने लघुउद्यमशीलता विकास पुरस्कारबाट यस वर्ष काभ्रे जिल्ला स्थित मानुषी लघुवित्त वित्तीय संस्था एक लाख नगद सहित पुरस्कृत भयो ।

ग्लोबल आइएमईको क्रेडिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्ने जनाइएको छ ।

एनआईसी एशियाका ग्राहकलाई मर्सी सिटी हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सी सिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र मर्सी सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पठाओले ल्यायो नयाँ ‘कार लाईट’ सेवा

काठमाडाैं । विगत एक वर्षदेखि काठमाडौं उपत्यकामा मोटर साइकल मार्फत यात्रुहरुलाई सेवा दिदै आएको पठाओले अब ट्याक्सी मार्फत पनि सेवा दिने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले गत शुक्रबारबाट ट्याक्सीमार्फत पनि सेवा शुरु गरी सकेको बताएको हो । ट्याक्सी सेवा पनि पठाओ एप्लिकेशन मार्फत नै शुरु गरिएको कम्पनीले जनाएको छ । पहिलो चरणममा ३ सय ट्याक्सीबाट सेवा शुरु गरिएको जनाइएको हो । कम्पनीका अनुसार मोवाइलमा पठाओ एप डाउनलोड गरेर मोटरसाइकललाई आफुले चाहेको ठाउँमा बोलाए जस्तै ट्याक्सीलाई पनि बोलाउन सकिनेछ । यसको भाडादर सरकारले तोके बमोजिम नै हुने बताइएको छ । पठाओ नेपाल प्रा.लिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले सरकारको निति नियमलाई आत्मसाथ गरेर कम्पनी अगाडी बढेको बताउँदै यो सेवाले पर्यटकहरुलाई पनि टेवा पुग्ने बताए ।