विकासन्युज

स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ४९ करोड

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा १४.२२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब १८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ३ अर्ब ५२ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब २९ करोड रहेको थियो । बैंकको संचालन मुनाफा भने ३ अर्ब ४८ करोड रहेको छ । असार मसान्तसम्म बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतमा सीमित रहेको छ । सीडी रेसियो ७३.१३ प्रतिशत रहेको छ । बैंकका बेसरेट ७.६३ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) ५ अर्ब १७ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४५ प्रतिशत कायम रहेको छ भने बैंकले बेसरेट(आधार ब्याजदरं ७.६३ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ५.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवथ १८७.०८ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६५५ रूपैयाँ रहेको छ ।

ईजी ट्याक्सी नेपालको गाईजात्रे अफर, ‘ट्याक्सी चढ्नुस् रकम फिर्ता पाउनुस्’

काठमाडौं । ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर पारेर आफ्ना यात्रुहरुलाई क्यास ब्याक अफर ल्याएको छ । एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ । कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो । पछिल्लो दिनहरुमा एप्समार्फत ईजीट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो । फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राईडमा प्रयोग गर्न सक्नेछन् । ईजी ट्याक्सीले आफ्नो मोबाइल एपमा नयाँ अपडेट ल्याएसँगै यो अफर पनि सार्वजनिक गरेको छ । गाईजात्रे अफरअन्तरगत ईजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ । चालकहरुका लागि प्रतिकिलोमिटर रु.२ को दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ । ईजी ट्याक्सी नेपालका अपरेशन हेड दामोदर श्रेष्ठले ईजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्देश्यले यो योजना ल्याएको बताए । ‘ईजी ट्याक्सी नेपालमा २७०० भन्दा बढी ट्याक्सी चालक तथा व्यवसायीहरु आबद्ध भएको ईजी ट्याक्सी नेपालका अपरेशन हेड श्रेष्ठले बताए । ईजी ट्याक्सीले फिर्ता दिने रकम बैंक एकाउन्टमा समेत ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ । ईजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम रु. २००/-(दुई सय रुपैयाँ) सम्म मात्र प्राप्त हुने जनाइएको छ ।

एउटै वडाका ६० जनामा डेङ्गु सङ्क्रमण, नियन्त्रण अभियानमा लाग्यो सेना–प्रहरी

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाको वडा नं ४ मा मात्रै ६० जनालाई डेङ्गु सङ्क्रमण भएको पाइएको छ । डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट लामखुट्टे नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ मा सहभागी भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिएका छन् । नियन्त्रणको प्रयासका बाबजुद पनि मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि बृहत सचेतना, सरसफाइ तथा डेङ्गु सार्नसक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने कार्य सञ्चालन गर्न थालेको महाशाखा प्रमुख कार्कीको भनाइ छ । रासस

‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना साउन २८ गतेदेखि ३२ गतेसम्म

काठमाडौँ । भक्सवागन कम्पनीको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले साउन २८ गतेदेखि ३२ गतेसम्म ‘भक्सवागन एक्सचेञ्ज अफर’ योजना सञ्चालन गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले भक्सवागनका शो रुमहरुमा पुरानो कार एक्सचेञ्ज गरी नयाँ लिन सक्ने कम्पनीले जनाएको छ ।

नविल बैंकको नाफा ४ अर्ब २९ करोड

काठमाडौं । नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा करिब ८ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ९८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानीमा गरेको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ८ करोड रहेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशत र सीडी रेसियो ७२.९० प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ८.०९ प्रतिशत रहेको छ । नविल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ९ अर्ब ३३ करोड रहेको छ । नविलको प्रतिसेयर आम्दानी भने गएको आवमा घटेको छ । बैंकको अघिल्लो आवमा प्रतिसेयर आम्दानी ४९.५१ रुपैयाँ थियो भने गएको आवमा यस्तो आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ । बैंकको स्प्रेडदर ४.४३ प्रतिशत कायम रहेको छ भने बैंकले आधार ब्याजदर ८.०९ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ । बैंकको साधारण सेयर मूल्य प्रतिकित्ता ८ सय रूपैयाँ छ भने प्रवद्र्धक सेयर मूल्य ७७२ रुपैयाँ रहेको छ ।

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले बृद्धि, १ अर्ब ७१ करोड नाफा आर्जन

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको छ । बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घि हो । बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा बृद्धि गर्न बैंक सफल भएको छ । असार मसान्त २०७५ को तुलनामा २०७६ आषाढ मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ, जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरुमध्ये कै उच्चतम वृद्वि रहेको छ । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो । आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा बैंकले कर्जा तथा ब्याज असुलीमा गरेको प्रभावकारी कार्यबाट निस्क्रिय कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याइ उक्त अनुपात ०.८६ प्रतिशत कायम राख्न सफल रहनुका साथै व्यवसायको आकारमा (निक्षेप तथा कर्जा) पनि उल्लेख्य बृद्धि गर्न सफल रहेकोले नै खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ ।

स्थानीय तहका पदाधिकारी ताक्छन् अमेरिका र चीन, को कहाँ गए(सूचीसहित)

काठमाडौँ । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए । वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । काठमाडौ महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्की संयुक्त राज्य अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मङ्गोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अष्ट्रेलियाको भ्रमणमा गएका छन् । काठमाडौँका प्रमुख शाक्य अमेरिका गत भदौमा जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा गएको बताइएको छ । उनी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर गत भदौमा अमेरिका गएका थिए । काठमाडौँका प्रमुख शाक्य भगिनीसम्बन्ध रहको अमेरिकाको फ्रेडरिकवर्ग शहरको अवलोकन गर्न र चीनमा भने चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज् कन्फरेन्समा भाग लिन गएका हुन् । यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गरेका छन् । उनले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गरेका हुन् । यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसकेका छन् । चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरेका हुन् । सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी जापानको भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुख÷उपप्रमुख सहभागी थिए । वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत थिए । यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१÷२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिए । पोखराका प्रमुख जीसीले गत वर्षको साउन १४ देखि १८ गतेसम्म गरेको वैदेशिक भ्रमणमा महानगरका पदाधिकारीसहित कर्मचारीसमेत गएका थिए भने लमहीका प्रमुख चौधरीको तीन दिनको चीन भ्रमण टोलीमा अन्य स्थानीय तहका प्रमुख रहेका थिए । भ्रमणमा जानेमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ । भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया छन् । पदाधिकारीहरुले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ । प्रवक्ता बरालले निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ । “जथाभावी भ्रमणलाई हामीले रोक लगाएका छौँ, उनले भने , “निर्देशिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेका छौँ ।” स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पुर्याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृती दिने उनले जानकारी गराए । रासस

अरुणखोलाको पुल भाँच्चियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कावासोती । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए । ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । रासस