८.३८ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट चुक्तापूँजी ७ करोड ७५ लाखको ८.३८ प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणका गर्ने निर्णय गरेको हो । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव नरेन्द्र मिश्रले जनाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, कर्मचारीको दक्षता अभिबृद्धि गरिने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले रावा बैंकलाई नियालिरहेको बताए । उक्त सम्झौतापछि आब २०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापाको उपस्थिति रहेको थियो ।
२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा, प्रतिसेयर मूल्य २.२३ रुपैयाँले बढ्यो
काठमाडौंः एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ । एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।
कोका-कोलाको प्रोमोस्नल क्यामपेन, बम्पर उपहारमा टाटा टियागो गाडी जित्ने मौका
काठमाडौँ । कोका–कोला नेपालले सबैभन्दा ठूलो प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अप्ग्रेड गर्ने अवसर प्रदान गरेको छ । प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् । क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात मात्र बम्पर लक्की ड्र का लागि पठाइनेछ । उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नु पर्नेछ । यो योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुने जनाइएको छ ।
मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २२ करोड नाफा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आव ०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । बैंकले नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
गुणस्तर र ताैलमा उपभाेक्ता ठगि गर्ने एशियन पेन्टस् उद्योग माथि मुद्दा दायर
हेटौंडा । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो । उद्योगले नापतौल यन्त्रको खरिद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले जानकारी दिएका छन् । सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानाकाे माग सहित मुद्दा दायर गरेको बताएको छ । यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ । पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ । रासस
वर्षाका कारण अवरुद्ध उदयपुरको पहाडी सडक खुल्यो, धमाधम खाद्यान्न ढुवानी
गाईघाट । वर्षाका कारण भत्किएर एक महिनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ । सदरमुकाम गाईघाट बजार र रौतामाइ गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडक मर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारीसाधानबाट खाद्यान्न पनि ढुवानी गरिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिएका छन् । सडक खुलेसँगै बुधबार बिहानैदेखि ट्र्याक्टरबाट जिल्लाको सदरमुकाम गाईघाट र रौताको मुर्कुची बजारबाट झण्डै २० ट्र्याक्टर लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यान्न ढुवानी गरिसकिएकाले ती स्थानमा खाद्यान्नको समस्या समाधान हुन थालेको उक्त गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताए । गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र व्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सम्पूर्ण सडक ठाउँ–ठाउँमा पहिरोले पुरिएको र भत्किएपछि सवारीसाधन सञ्चालन हुन नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव भोग्दै आउनुपरेको सो क्षेत्रका बासिन्दाको गुनासो थियो । प्रदेश नं १ को सरकारले हेलिकोप्टरबाट ४१ क्विन्टल चामल सो स्थानमा ढुवानी गरेपनि अपर्याप्त हुँदा यहाँका बासिन्दा असन्तुष्ट थिए तर बल्ल एक महिनापछि सवारीसाधनले खाद्यान्न धुवानी गर्न थालेकाले जनजीवन सहज हुन पुगेको लिम्चुङबुङ बराहका कृष्णराज बरालले बताएका हुन् । रौतामाई गाउँपालिकाले रु १५ लाख, लिम्चुङबुङ गाउँपालिकाले रू २५ लाख र प्रदेश नं १ सरकारले रु २० लाख गरेर कूल रु ६० लाखको लागतमा रौतामुर्कुची डिल्लीबर हुँदै लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक व्यवस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताए । साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर तथा जेसिभी र दैनिक पचासौँ मजदुर प्रयोग गर्नाका साथै दिनरात काम गरेर ठाउँठाउँमा भत्किएको तथा पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन आफूहरु सफल भएको उनको भनाइ थियो । लिम्चुङबुङ बराहका देवेन्द्र बरालले भने, “यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनुपरेको थियो । असार अन्तिम सातादेखि वर्षाका कारण एक महिनासम्म सडक अवरुद्ध भएकाले अन्नको अभावमा कष्टपूर्ण तरिकाले दिनरात काट्दै आउनुपरेको थियो तर अब सडक सञ्चालन भएकाले चामल–दाल त किनेर ल्याई खान सकिने भयो ।” रासस
एक्कै दिन १२ सयले बढ्यो सुनको भाउ, प्रतितोला ७१ हजार ५ सयमा कारोबार
काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ । त्यस्तै बिहीबार तेजावी सुनप्रति ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ८४० रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।